क्लिनिकल प्रशासक नै किन ?



भगवती तिमल्सिना

क्लिनिकल डाक्टरले प्रशासन र व्यवस्थापन सम्हाल्नुपर्छ अनि मात्र मेडिकल विषयको आवश्यकता र मर्मको सही सम्बोधन हुन्छ भन्ने विश्वव्यापी मान्यतालाई नेपालले पनि आरम्भ गर्न थालेको छ । नेपालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सन् २०१२ देखि एमबीबीएसपछि प्रशासन लक्षित (एमडीएचए) ३ बर्से कोर्स पढाउने व्यवस्था गरिएको छ । यद्यपि नेपालमा एमडीएचए गरेका व्यक्ति न्यून संख्यामा छन् ।एमडीएचए अध्ययन पूरा गर्ने नेपालको पहिलो महिला क्लिनिकल डाक्टर जुन कक्षपति कार्कीसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार:

तपाईं एमडीएचए विषयमा कसरी आकर्षित हुनुभयो ?
मैले काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेजबाट सन् २०१२ मा एमबीबीएस गरेपछि २ वर्ष मेडिकल अफिसरका रुपमा काम गरँे । त्यसपछि एमडीको तयारीमा लागेँ । एमडीको पढाइ धेरै खर्चिलो हुने भएकाले छात्रवृत्तिमा अमेरिकामा पढ्नका लागि २ वर्ष एकदम खटेर तयारी गरेँ । यस क्रममा मलाई क्लिनिकलरुपमा मात्र काम गरिरहँदा काम पाउन चुनौतीपूर्ण हुन्छ भन्ने महसुस भयो । त्यसैले मैले एमडी गरे पनि अरुको भन्दा फरक काम गर्नुपर्छ । कहाँ काम गर्ने, कसरी गर्ने भनेर सोच्दासोच्दै अस्पताल प्रशासन भन्ने विषय पत्ता लगाएँ । त्यो अस्ट्रेलियामा थियो । त्यो कार्यक्रम राम्रो लाग्यो र निवेदन दिइरहेकी थिएँ । त्यति नै बेला धरानमा पनि यो कार्यक्रम (एमडीएचए) शुरु भएको मेरो साथीमार्फत थाहा पाएँ ।डाक्टरहरुलाई क्लिनिकल कुरामात्र नभई अस्पताल प्रशासन, व्यवस्थापन, स्वास्थ्य नीति, नियमहरु बुझेर अस्पताल चलाउनका लागि यो विषय धेरै राम्रो लाग्यो । त्यसपछि म यो विषयप्रति आकर्षित भएँ ।
एमबीबीएस गरेपछि मेडिकल विषयबारे थाहा हुने नै भयो । त्यसपछि प्रशासनिक पक्षमा पनि जानकार हुने अवसर पाइयो । यो अत्यन्तै व्यावहारिक लाग्यो । यो ३ वर्षको कोर्स हो । त्यसमा ६ महिनादेखि १ वर्ष भारतको नयाँ दिल्लीको एम्स अस्पतालमा पोस्टिङ हुन्थ्यो । धरानमा पढेर एम्समा सिक्न पाउनु धेरै राम्रो कुरा हो । परीक्षा दिएँ, भाग्यवश खुल्ला प्रतिस्पर्धामा मेरो नाम छात्रवृत्तिमा निस्कियो र मेरो इच्छा अनुसार मैले पढ्न पाएँ । धरानमा यो विषयमा एउटामात्र सिट छ । धरानमा फ्याकल्टीहरु नभएको कारणले स्कुल अफ पब्लिक हेल्थ कम्युनिटी मेडिसिन डिपार्टमेन्ट अन्र्तगत एमडीएचए पढाइ हुन्छ ।

भारतमा एमडीएचए अध्ययन गर्दाका महत्वपूर्ण केही स्मरणहरु सुनाइदिनुहुन्छ कि ?

अध्ययनका क्रममा मैले ६ महिना भारतमा प्रयोगात्मक अध्ययन गरे। त्यसमा पल्मोनरी मेडिसिन विभागमा भर्ना भएका बिरामीले कति पैसा तिर्नुपर्छ, आफूले कति र सरकारले कति खर्च गर्दो रहेछ भनेर अध्ययन गरेकी थिएँ । समग्रमा यो एकदमै राम्रो थियो । यो व्यावहारिक पक्षको महत्वपूर्ण विषय थियो । त्यसपछि दुबईमा गएर पनि केही समय अस्पताल व्यवस्थापनका विषयमा अवलोकन गरँे । त्यसपछि नेपाल फर्किएर नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स परीक्षा दिएँ । लाइसेन्स प्राप्त गरेपछि नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा एकवर्ष काम गरेँ ।

तपाईंले सिकेका कुरा अस्पतालमा कत्तिका व्यावहारिक भए त ?
वास्तवमा मैले ठ्याक्कै प्रयोगमा ल्याउन पाएँ । भारतमा सरकारी अस्पतालमा सिकेँ, नेपाल फर्किएर प्राइभेट अस्पतालमा सीपलाई प्रयोगमा ल्याउन पाएँ । यो निजी क्षेत्रबाट सञ्चालित एकदम राम्रो लगानी गरेर खोलिएको अस्पताल हो । यो अस्पताल गुणस्तरमा केन्द्रित छ । मैले साधारण कर्मचारीदेखि विभागीय प्रमुख, बिरामी, बिरामीका आफन्तहरुसँग नजिक बसेर काम गरेँ ।

अस्पतालका विभिन्न विभागहरु बनाउँदा तपाईंहरुको भूमिका के हुन्छ ?
कुनै पनि नयाँ विभाग बनाउनुअघि सबै टिम बसेर व्यवस्थापन पक्षमा छलफल हुन्छ । अस्पताल सञ्चालानका लागि इन्जिनियरसमेतको ठूलो समूह बस्छ । त्यसभित्र डाक्टर, लेखा हेर्ने व्यक्ति र अरु नर्स, प्रशासनसँग सम्बन्धित विभागका पनि हुन्छन् । त्यसपछि के गर्ने भनेर निष्कर्ष निकालिन्छ । सम्बन्धित विभागका मान्छे बसेर छलफल गरी दीर्घकालीन योजना बनाइन्छ । यो योजना, विषय कसरी एक्सनमा ल्याउने भनेर तय गर्ने हाम्रो काम हुन्छ ।

एमडीएचए गरेकाहरुको संख्या र रोजगारीको स्थिति के छ नि ?
नेपालमा ४ जना छौँ, जसमा २ जना पुरुष र २ जना महिला । पहिलो डा. शरदहरि गजुरेल न्युरो अस्पतालमा हुनुहुन्छ । दोस्रो म आफैँ छु । मपछि अध्ययन गर्न‘भएका डा. नितन अग्रवाल सिलिगुडीमा हुनुहुन्छ । उपमहानिर्देशक, मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गरिरहनुभएको छ । एमडीएचए गरेका चारजनामध्ये एकजना डाक्टर सोनाली शाह हाल बिदामा हुनुहुन्छ । हामीले मेडिकल बुझेकाले प्रशासन तथा व्यवस्थापनमा फरक केही गरौं, अस्पताललाई स्वास्थ्यनीतिमा सुधार गरौं भनेर लागेका छौं र गरिरहेका छौं ।

अस्पताल प्रशासन एउटा चुनौतीपूर्ण विषय मानिन्छ । ननक्लिनिकल सपोर्टिङ सिस्टम कार्यक्रमका विषयमा धेरै मान्छेलाई थाहा हुँदैन । यो व्यवस्था नभएकै कारण अस्पतालमा धेरै गुनासो आउँछ । बिरामीले अस्पताल चलाउने डाक्टर, नर्स नै हुन् भन्ने मात्र बुझेका हुन्छन् । अस्पतालको गेटबाट भित्र प्रवेश गरेदेखि बाहिरिँदासम्म गर्ने व्यवहार, सहयोग, सपोर्टलगायतका हरेक कुरामा चुनौती र अवसर हुन्छ । व्यवस्थापनले समस्या देख्यो भने खुशी हुनुपर्छ, किनकि त्यहाँ अवसर र समाधान पनि छ । समाधानका विषयमा ग्रुपमा छलफल गरेर काम गर्नुपर्छ ।

सरकारीमा पढ्नुभयो, प्राइभेटमा काम गर्दै सामुदायिक तथा शिक्षण अस्पतालमा काम गर्दै हुनुहुन्छ ? कस्तो अन्तर पाउनुभएको छ ?

मैले सन् २०१७ मा पढाइ सकेर छोटो समयमा नै नयाँँ र धेरै अनुभव गर्न पाएँजस्तो लागेको छ । सरकारी, प्राइभेट हेरेर यो सामुदायिक शिक्षण अस्पतालमा हेर्दा सबैको फरक–फरक सञ्चालन विधि छ । सरकारी भन्नेबित्तिकै राष्ट्रिय, अन्तर्राष्ट्रियको ठूलो सहयोग हुन्छ । राम्रो बजेटले काम गर्न सजिलो हुन्छ । त्यहाँ नीति, नियम, विधान हुन्छ । तर चाहँदा चाहँदै पनि कहिलेकाहीँ नीति–नियमले बाँधेर काम गर्न दिँदैन, त्यो बेफाइदा छ । सरकारीमा राजनीतीकरण बढी छ । सरकारको सपोर्ट भए पनि हस्तक्षेपका कारण राम्रो परिणाम ल्याउन निकै समय लाग्ने रहेछ । चाहँदा चाहँदै पनि बिरामीको गुणस्तरीय उपचार र सही व्यवस्थापन गर्न कठिन छ ।

धुलिखेल अस्पताल अलिकति फरक पाएँ । मैले पार्ट अफ मेनेजमेन्ट हेर्छु । यहाँ व्यवस्थापनको ठूलो समूह छ । राम्रो तह छुट्याइएको छ । बोर्ड अफ डाइरेक्टरमा डाक्टर र नर्स नै छुट्याइएको छ । मेरो अफिस अफ ग्लोबल इन्गेजमेन्ट डिपार्टमेन्ट अफ पब्लिक हेल्थ र कम्युनिटी प्रोग्राम अन्तर्गतको एउटा शाखा हो ।

यसमा तपाईंको भूमिका कस्तो छ ?

काम गर्नका लागि माथिल्लो तहदेखि तल्लो तहसँग समन्वय गर्छु । टप टु बटम, बटम टु टप अर्पोज सजिलो पनि हुन्छ । धुलिखेल अस्पताल भनेको सामुदायिक संस्था हो । स्थापनाकालदेखि नै नेपाल मेड अस्ट्रिया, धुलिखेल स्वास्थ्य सेवा संघ, धुलिखेल नगरपालिका ३ वटा संस्थाको सहकार्यमा बनेको धुलिखेल सामुदायिक अस्पताल हो यो । डा. रामकण्ठ माकजु श्रेष्ठ धुलिखेल अस्पतालका संस्थापकको अस्ट्रिया पढ्दा राम्रो सम्बन्ध भएकाले उहाँले सम्बन्ध विस्तार, विकास गर्नुभयो ।

यसको लाभ अस्पताललाई पनि भयो । नेपालमा भर्खरै ग्लोबल इन्गेजमेन्ट अवधारणा आएको छ । डा. माकाजुले धुलिखेल अस्पतालमा २५–२६ वर्षपहिला नै शुरु गरिसक्नुभएको थियो । शुरुवाती दिनदेखि नै धुलिखेल अस्पतालको भौतिक संरचना निर्माण, सञ्चालन, सरसफाइसम्म उहाँकै इन्टरनेसनल सहयोगी साथीहरु थिए । युरोपका मान्छेलाई नेपालमा सीप सिकाउन ल्याउने र नेपालका मान्छेलाई सीप सिक्न युरोप पठाउने काम शुरु गर्न‘भएको थियो र आजसम्म पनि निरन्तर छ । ग्लोबल इन्गेजमेन्ट विषयमा बल्ल हामी थाहा पाउँदै छौं । अहिले धुलिखेल अस्पतालमा इन्टरनेसनल मात्र नभई सरकारी तहका साथीहरुसँग सहकार्य पनि गर्छौं । अस्पताललाई व्यवस्थित र जनशक्तिलाई क्षमतावान् बनाउन थुप्रै व्यक्तिहरु तालिमको लागि, युरोप, अमेरिका र अन्य देश पठाउने गरिएको छ ।

यस्तो अवसर पाई विभिन्न तालिम लिएर आएपछि यहाँ धुलिखेल अस्पतालमा सेवा विस्तार गरी बिरामीलाई एड्भान्स र सुरक्षित सर्भिस दिने गरिन्छ । बच्चाको विभागमा धेरै तालिमप्राप्त जनशक्ति तयार गरिएको छ । गाइनोकोलोजी, सर्जरी, दन्त, ग्यास्ट्रो, इन्टर्नल मेडिसिनजस्ता अन्य विभिन्न विषयमा जनशक्तिको विकास र अनुसन्धान, तालिम सिकाइलगायत विषयमा अन्तर्राष्ट्रिय निकायसँग सम्झौता गरेको छ । त्यसको प्रतिफलस्वरुप बिरामीलाई गुणस्तरीय सेवा दिन सकिएको छ । मेरो जिम्मेवारी यही काममा संयोजन गर्ने हो ।

बिरामीलाई दिने सेवा, अन्यलाई दिने सेवा फरक हुन्छ । यो विषय पढ्नुपहिला मैले क्लिनिकल विषय मात्र हेर्थें । यसभित्रै अन्य विषय पनि जोडिएको छ भन्ने थाहा नै थिएन । जब मैले यो विषय पढेँ तब मलाई थाहा भयो । यो अस्पतालको भुइँ पुछ्ने, लुगा धुने, सरसफाइ गर्ने, एम्बुलेन्स चलाउने मान्छेको कति महत्व रहेछ भन्ने । पहिला यो विषयमा पढाइनै हुँदैनथ्यो । जब मैले यो विषयमा पढँे अनि आँखा खुल्यो, उनीहरु त कति महत्वपूर्ण रहेछन् भन्ने । उनीहरुले गर्ने काम गरेनन् भने बिरामीलाई कति ठूलो असर पर्ने रहेछ भन्ने । किनकि त्यो काम डाक्टर, नर्सले त गर्दैनन् नि ∕ उनीहरु अस्पतालमा बिरामी ल्याउनेदेखि अस्पतालको वातावरण स्वच्छ राख्नको लागि धेरै नै महत्वपूर्ण हुने गर्छन् ।

बिरामीको स्वास्थ्य राम्रो बनाउन अस्पतालमा नर्स, डाक्टर, ल्याब टेक्निसियनदेखि सबै विभागका जनशक्तिको महत्वपूर्ण भूमिका हुन्छ ।

सबै एकजुट भएर काम गरेमा मात्र बिरामीलाई सही उपचार, सुरक्षित वातावरणमा दिन सकिन्छ । यो कुराको मर्म क्लिनिकल प्रशासकले राम्ररी बुझेको हुन्छ भन्ने मलाई लाग्छ ।

प्रतिक्रिया दिनुहोस्