मुटुरोग उल्टाउने जीवनशैली



प्रा. डा. प्रकाशराज रेग्मी

हिजोआज मुटुरोगबारे व्यापक चर्चा छ । उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, युरिक एसिड, मधुमेह, हृदयघात घर–घरको समस्या भैसकेको छ । मुटुका रोगीहरुले अस्पतालहरु खचाखच भरिएका छन् । नयाँ–नयाँ निजी अस्पतालहरु खुलिराखेका छन् । लगानीकर्ताहरु स्वास्थ्य सेवामा पैसा लगाउन इच्छुक देखिन्छन् । फस्टाइरहेको देखिन्छ स्वास्थ्य सेवा व्यवसाय । बढी रहेको छ मुटुका रोगीहरुको संख्या । महँगो छ मुटुरोग उपचार सेवा ।

सन् १९७५ ताका अमेरिकामा मेडिसिनमा अध्ययनरत एक विद्यार्थीको दिमागमा यस्तो महँगो मुटुरोगलाई कसरी सस्तो तरिकाले उपचार गर्न सकिएला भन्ने कुरा खेल्न थालेछ । त्यस बेला अमेरिका र युरोपमा मुटुरोगको महामारी थियो । हृदयाघात मृत्युको प्रमुख कारण बनेको थियो । बाइपास सर्जरी एकमात्र उपचार पद्धतिका रुपमा स्थापित थियो । बाइपास सर्जरी नै नगराईकन हृदयघातसम्बन्धी रोग, मुटुको रक्तनली साँगुरिने रोगलाई कसरी ठीक पार्न सकिएला भन्ने चिन्तनको शुरुवात अमेरिकी डाक्टर डिन ओर्निसले गरेका हुन् । यी डाक्टरले गहिरो अध्ययन र अनुसन्धानहरुद्वारा मुटुको रोगलाई धेरै हदसम्म उल्टाउन सकिन्छ भन्ने प्रमाणहरु विश्वसामु प्रस्तुत गरिदिए ।

अमेरिका र युरोपजस्ता आर्थिकरुपले सम्पन्न ठाउँमा उनको चिन्तन र कार्यले त्यति ठूलो प्रभाव पार्न सकेन तर नेपाल र भारतजस्ता आर्थिकरुपले पिछडिएका ठाउँमा भने यो चिन्तनले आज ठूलो प्रभाव पार्दै ल्याएको अनुभव गरिएको छ । हुन पनि हो, लाखाै रुपियाँ खर्च गरी उपचार गर्नुपर्ने रोगलाई पैसा खर्च नगरी खानपान नियन्त्रण, व्यायाम, ध्यान, प्राणायाम आदि गरेर पूरै उल्टाउन सकिन्छ भने त्यसको पछाडि को नलाग्ला ? सबैले खोजेको कुरा हो, सस्तो मूल्यमा राम्रो र विश्वासिलो उपचार सेवा । तर के यो साँच्चिकै सम्भव होला र ?

स्व. राजा वीरेन्द्रलाई हृदयघात भएपछि डा. मृगेन्द्रराज पाण्डेको प्रयासमा डा. डिन ओर्निस वि.सं. २०५५ मा नेपाल आएका थिए । उनले त्यस बेला एकदमै मीठो शैलीमा जीवनशैली परिवर्तन, खानपान, व्यायाम र योगबाट मुटुरोगलाई उल्टाउन सकिने तथ्यहरु प्रस्तुत गरेका थिए । एउटा विदेशीले आएर हामीलाई हाम्रो स्वदेशी उपज योग, शाकाहार आदिका बारेमा सिकाएर मुटुरोगलाई यिनीहरुको प्रयोगबाट उल्टाउन सकिन्छ भनी ठोकुवा गरिदिए ।

त्यसपछि डा. डिन ओर्निसको बाटोबाट हिँड्ने अभियानको भारत र नेपालमा शुरुवात भयो । औषधि र चिरफारविना मुटुरोगलाई उल्टाउन सकिन्छ भन्ने अटल विश्वास लिएर विभिन्न थरीका उपचार प्याकेजका साथ योगपिठहरु, प्राकृतिक चिकित्सा केन्द्रहरु खुल्ने क्रम जारी छ । भारतमा डा. डिन ओर्निसलाई पनि उछिनेर मुटुरोगलाई समाजबाटै समाप्त पार्ने, सबै खाले दीर्घ रोगहरुलाई जरैबाट उखेलेर निर्मूल पार्ने अभियानमा आज स्वामी रामदेवजी महाराज जोडतोडका साथ लागि परेका छन् ।

यस्तै गरी भारतका डा. मनचन्दा र डा. विमल छाजेडले पनि यो पद्धतिलाई आफ्नो मेडिकल प्राक्टिसमा लागू गरे । आज यो पद्धति मुटुरोगको जीवनशैली उपचार पद्धतिका रुपमा स्थापित छ र चिकित्सा विज्ञानले यसलाई स्वीकार गरेको छ । यो सिद्धान्त र पद्धतिको अनुशरण गरेमा मुटुरोग उल्टने, नियन्त्रण हुने, जरैदेखि उखेलिएर निर्मूल हुने अथवा अन्य के–कसो हुने हो, त्यो गर्नेले नै भोग्ला । तर मूल कुरो यो हो कि स्वास्थ्यका लागि र मुटुरोगीका लागि फाइदा धेरै हुन्छ ।

डा. डिन ओर्निसले हामीलाई कुनै नयाँ कुरा सिकाएका होइनन् । उनले हामीले बिर्सेका हाम्रै संस्कृति र परम्पराका राम्रा स्वास्थ्यवद्र्धक कुराहरुलाई पूmलबुट्टा भरेर, ताजा बनाएर हाम्रा सामु मीठो शैलीमा राखिदिएका मात्र हुन् । के हुन् मुटुरोगलाई उल्टाउन सक्ने शक्ति भएका ती तरिकाहरु ? ती हुन्– शाकाहार, खराब चिल्लोमुक्त आहार, धूमपान त्याग, योगासन, प्राणायाम, ध्यान, तनाव व्यवस्थापन, उत्तेजना नियन्त्रण, सकारात्मक चिन्तन र व्यवहार ।

यो पद्धतिबारे चर्चा गर्नुभन्दा पहिले यो बुझ्नु जरुरी छ कि, के यसबाट सबै खाले मुटुका रोगहरु उल्टिन सक्छन् ? यो भ्रममा कोही पनि बस्नुहुँदैन कि सबै खाले मुटुका रोगहरु औषधि र चिरफारविना निर्मूल पार्न सकिन्छ । यदि यो सम्भव हुँदो हो त आधुनिक चिकित्सा विज्ञानको कुनै पनि आवश्यकता पर्ने थिएन होला । हृदयघातजस्तो कोरोनरी मुटुको रोग प्राणघातक छ । यसको उपचार धेरै महँगो छ र उपचार गर्न चिरफार वा एन्जियोप्लास्टीको आवश्यकता पर्दछ । विनाचिरफार यो रोगको उपचार गर्न सकिन्छ भन्ने बलियो आधार भएको खण्डमा कोरोनरी मुटुको रोगबाट पीडित, एन्जियोप्लास्टी वा बाइपास सर्जरीद्वारा उपचार गर्नुपर्ने अवस्थामा पुगेका धेरै बिरामी यसबाट लाभान्वित हुन सक्ने थिए । के यो सम्भव होला ?

मुटुमा रक्तसञ्चार गराउने तीनवटा प्रमुख रक्तनलीहरु छन् । यी रक्तनलीहरुको भित्री भागमा चिल्लो पदार्थ (कोलेस्टेरोल) जम्मा हुन गएको खण्डमा रक्तनली साँगुरिँदै जान्छ र कुनै अवस्थामा रक्तनली पूर्णरुपले बन्द हुन सक्छ । यस्तो भएमा मुटुका मांसपेशीहरुमा रक्तसञ्चारमा कमी आउँछ, मांसपेशीहरु क्रमिकरुपले मर्न थाल्छन् र हार्ट फेल हुन्छ । यो रोगलाई कोरोनरी मुटुको रोग भनिन्छ । रक्तनली पूरै बन्द भएको खण्डमा हृदयघात हुन्छ ।

धेरै साँगुरिएको वा बन्द भएको रक्तनलीलाई एन्जियोप्लास्टी वा बाइपास सर्जरीबाट उपचार गर्नुपर्छ । यो आजको आधुनिक चिकित्सा विज्ञान (एलोप्याथी) ले सिकाएको पाठ हो । एलोप्याथीले यो पनि सिकाएको छ कि यो रोग निर्मूल हुँदैन । यस कारण खानपानमा नियन्त्रण, व्यायाम, तनाव मुक्ति, धूमपान त्यागका साथै औषधिहरुको सेवन जिन्दगीभर गर्नुपर्दछ ।

एलोपेथीमा कोरोनरी मुटुको रोगको उपचारका तीन प्रमुख खम्बाको रुपमा औषधि सेवन, जीवनशैली परिवर्तन र एन्जियोप्लास्टी वा बाइपास सर्जरीलाई लिइएको छ । यी तीनवटै उपायहरु अपनाएको खण्डमा मात्र उपचार पूर्ण हुन्छ भन्ने मान्यता एलोप्याथीमा रहेको पाइन्छ । हृदयघातको उपचारमा प्रयोग हुने औषधिहरु महँगा छन् । एन्जियोप्लास्टी र बाइपास सर्जरीलाई लाखौं रुपियाँ खर्च लाग्छ । सस्तो र आफैँले गर्न सक्ने भनेको जीवनशैली परिवर्तन हो ।

कोरोनरी मुटुरोगको मुख्य कारण भनेको रक्तनलीहरुमा चिल्लो जम्मा हुनु हो । यि चिल्लो पदार्थ भनेको कोलेस्टेरोल र ट्राइग्लासेराइड हुन् । भोजनबाट यस्ता चिल्लो पदार्थहरु शरीरभित्र प्रवेश गर्दछन् । यसका साथै शरीरभित्र पनि यिनीहरुको उत्पादन हुन्छ । घिउ, तेल, बोसो र गुलियो पदार्थबाट कोलेस्टेरोल र ट्राइग्लाइसेराइडको निर्माण हुन्छ । खानामा यस्ता पदार्थहरुको नियन्त्रण गरेमा शरीरमा चिल्लो पदार्थ बढ्न र जम्मा हुन पाउँदैन, प्रशस्त शारीरिक व्यायाम गरेको खण्डमा शरीरमा भएको बोसो पग्लिन्छ र रगतमा चिल्लो पदार्थको मात्रा घट्छ ।

चुरोट–सुर्ती नखाने, सागपात र फलपूmल धेरै खाने, मानिसक तनाव नलिने भएमा रक्तनलीभित्र बोसो जम्मा भई रक्तनली साँगुरिँदै जाने र बन्द हुने प्रक्रिया कमजोर हुन थाल्छ । अब एकपल्ट गहिरिएर विचार गरौँ, मासु नखाने (शाकाहारी बन्ने), खाराब चिल्लो नखाने, चिनी र मिठाई नखाने भएमा रगतमा चिल्लो पदार्थ एकदमै कम हुन पुग्छ । यसमाथि व्यायाम र योग पनि गरेको खण्डमा रक्तनलीमा पहिलेदेखि जमेर बसेको चिल्लो पदार्थ पग्लिन थाल्छ र साँगुरिएको रक्तनली खुल्न थाल्छ । चुरोट–सुर्ती नखाने, मानिसक तनाव नहुने, हरियो सागपात र फलपूmल धेरै खाने गरेमा रक्तनली एकदम सफा हुन थाल्छ । यही सिद्धान्त हो मुटुरोगलाई चिरफार, औषधिविना उल्टाउने भनेको ।

बोसो भरिएर साँगुरिएको मुटुको रक्तनलीलाई शाकाहार, व्यायाम र तनाव मुक्तिबाट सफा गरी साँगुरोपनालाई घटाउँदै लग्ने उपाय हो यो । छोटकरीमा भन्ने हो भने, जीवनशैली परिवर्तनबाट मुटुरोगको उपचार गर्ने एक सशक्त पद्धति हो यो । के साँच्चिकै यो प्रभावकारी छ त ? के जीवनशैली परिवर्तनबाट बन्द भएको मुटुको रक्तनली खुल्न सक्छ ?

मुटुका जन्मजात रोगहरु (प्वाल परेको, मुटुको बनावटमा त्रुटि भएको, नसाहरु उल्टा भएको आदि) लाई जीवनशैली परिवर्तन गरेर ठीक पार्न सकिँदैन । यस्तै गरी बाथ मुटुको रोगबाट बिग्रिएका भल्भहरुलाई ठीक पार्न पनि जीवनशैली परिवर्तनबाट सम्भव छैन । हो, कोरोनरी मुटुका रोगीहरुको साँगुरिएको रक्तनली, बढेको रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई जीवनशैली परिवर्तनबाट धेरै हदसम्म घटाउन सकिन्छ । एकदमै लागेर प्रयास ग¥यो भने ९० प्रतिशत साँगुरिएको मुटुको रक्तनलीलाई ७० प्रतिशत वा सोभन्दा कमसम्म पनि खुलाउन सकिन्छ । व्यायाम र योग अभ्यासबाट नयाँ रक्तनलीहरुको निर्माण भई प्राकृतिक बाइपास बन्ने सम्भावना पनि प्रशस्त रहन्छ तर क्याल्सियम जमेर कडा भैसकेको नसा भने खुल्दैन । हामीले स्पष्टसँग बुझ्नुपर्दछ कि

केही प्रतिशत कोरोनरी मुटुका रोगीहरुलाई औषधि र चिरफारविना ठीक पार्न सकिन्छ तर यसमा जोखिम प्रशस्त छ ।

कुनै पनि बेला हृदयघात हुन सक्ने सम्भावना सधैँ रहन्छ । जीवनशैली परिवर्तन गर्दा पनि छाती दुख्ने कम नभएमा, बढेको रक्तचाप नियन्त्रणमा नआएमा, रगतमा कोलेस्टेरोल नघटेमा औषधिको सेवन गर्नै पर्छ । औषधिको सेवनबाट पनि हृदयघातको सम्भावना नघटेमा बाइपास सर्जरी, एन्जियोप्लास्टीको विकल्प छैन ।

अन्त्यमा कोरोनरी मुटुका रोगीहरु जसको मुटुको रक्तनली साँगुरिएको छ, उनीहरु औषधि वा चिरफारविना रोगलाई उल्टाउन प्रयास गर्न चाहन्छन् भने जीवनशैली परिवर्तनका निम्न लिखित बुँदाहरुलाई नियमितरुपमा कडाइका साथ लागू गर्नुपर्दछः १. शाकाहारी बन्ने, २. धूमपान नगर्ने, ३. शरीरको तौल घटाएर आवश्यकभन्दा केही कममा राख्ने (दुब्लाउने), ४. दैनिक व्यायाम, प्राणायाम र ध्यान गर्ने, ५. हरियो सागपात र फलपूmल धेरै खाने, ६. खराब चिल्लो पदार्थ नखाने, ७. मानसिक तनावबाट मुक्त हुने, ८. उत्तेजित नहुने, ९. सकारात्मक चिन्तन र व्यवहार गर्ने, १०. उच्च रक्तचाप, मधुमेह र उच्च रक्त कोलेस्टेरोललाई नियन्त्रणमा राख्ने ।

प्रतिक्रिया दिनुहोस्