बजारमा अहिले प्राकृतिक एवं पौष्टिक खाजा पाउन ग्राहो छ । खाजाकै रुपमा गाँउदेखि शहरसम्म चाउचाउ, चाउमिन, मम, समोसा, पकौडा, डुनट, पाउरोटी आदिको विकल्प मुस्किलले पाउन सकिन्छ । मांसाहारीहरुका लागि पनि अस्वस्थकररुपमा तयार पारिएको अण्डा, माछा र मासु पाइन्छ, जुन दैनिकरुपमा सेवन गर्दा रोगी बनाउने हुन्छ । साथै ती खाजा खर्चिला पनि हुन्छन् ।
नेपाल एवं भारतमा पारम्परिक, सांस्कृतिक एवं मौलिक खाजाका रुपमा सातु खाने चलन रहिआएको थियो । उत्तरी भारतका धेरै स्थानमा र नेपालको तराई क्षेत्रका केही स्थानहरुमा विशेषतः गर्मी महिनामा बिहान र दिउँसो ठेलागाडामा सातु घोलेर अहिले पनि बेच्ने गरेको पाइन्छ । विहारमा सातुलाई देशी हर्लिक्स पनि भन्ने गरिन्छ ।
नेपालको पहाडी क्षेत्रमा आंशिकरुपमा विशेषत ब्राह्मण समुदायमा सातुको प्रयोग गरिएको पाइन्छ । पूजापाठ गर्दा प्रयोग हुने अपुङ्गो पनि सातुकै एक स्वरुप हो । तराई क्षेत्रमा वैशाखको पहिलो दिनमा मनाइने जुड शीतलमा नयाँ अन्नको सातुको प्रसाद बनाएर ग्रहण गरिन्छ भने प्रायः वैशाख महिनामा पर्ने अक्षय तृतियामा देशभरि नै इम्युनिटी वृद्धिका लागि सातु प्रसादका रुपमा ग्रहण गरिन्छ ।
सातु खानु मानव स्वास्थ्यको लागि सधैँ हितकारी देखिएको छ । सातु बनाउन चाहिने सामग्री सबैतिर सबै मौसममा सुलभ र सस्तै मूल्यमा उपलब्ध हुन्छ । सातुलाई एउटा पौष्टिक एवं स्वस्थकर खाजाको रुपमा सबैले प्रयोग गर्न सक्ने अवस्था छ । कुनै बेला सातु गरिबहरुको खाना मानिन्थ्यो तर अहिले यसमा व्यापारीकरणको कारण यो महँगो बनेको छ । हर्लिक्स, बर्नभिट्टा, बुस्ट, सेर्लेक, ओट्स आदि सातुकै व्यापारिक संष्करणहरु हुन् । तर घरेलुरुपमा सातु तयार गर्दा यो अहिले पनि सस्तो नै पर्न जान्छ ।
सातुलाई विश्वकै प्राचीन (वैदिककालदेखि प्रयोगमा रहेको) तयारी खाजा मानिन्छ । हिमालदेखि तराई सबै स्थानमा सबैका लागि उपयुक्त सातुमा विशेषरुपमा कालो चना (देशी चना) प्रयोग भएको हुन्छ । विभिन्न स्वादमा सातुको सर्बत र हलुवा अहिले क्लब, जीम घर र स्टार होटेलहरुमा पनि प्रयोग भएको पाइन्छ । बरफ, कागती, पुदिना, तुलसी, मह, सख्खर, दूध, फलफूल, चिनी, नुन, खुर्सानी, प्याज, फुराएको जीरा आदिसँग मिसाएर पनि सातु प्रयोग गरिएको पाइन्छ । भारतको पञ्जाबमा सातुमा चनाको सट्टा जौको प्रयोग गरिन्छ । सातुको पीठोबाट रोटी, पराठा, लिट्टी, लड्डु आदि बनाएर पनि प्रयोग गर्ने गरिन्छ ।
सातुलाई खाजा बनाउन कुनै पनि इन्धन चाहिँदैन । भाडाँकुँडा, सब्जी, तेल, मसला पनि आवश्यक पर्दैन । सातुलाई पानीमा घोलेर तत्काल पिउन वा खान सकिन्छ । सातुमा कति पानी मिसाउने भन्ने कुनै निश्चित नभए पनि एक भाग सातुमा चार गुणा पानी मिसाएर सेवन गर्ने चलन छ । सातुको पौष्टिकताले गर्दा यो सामान्यजनको खाजामात्र सीमित नरही यो अहिले मध्यमवर्ग र उच्चवर्गको खाजा बन्दै गएको छ । सातुका प्रकारहरुमा पनि विविधता र आधुनिकता आएको छ । निरोगी व्यक्तिहरुले सातुलाई पौष्टिकरुपमा सन्तुलित बनाउन चनासँग मकै, भटमास, जौ, गहुँ, चामल आदिसमेत मिसाई सातु बनाएर प्रयोग गर्ने गरेको पाइन्छ । सातुमा आइरन, म्याग्नेसियम, सोडियम, क्याल्सियम, फाइबर आदि विशेषरुपमा पाइन्छ ।
फाइबर अधिक हुने सातुमा प्रोटिन भरिपूर्ण हुन्छ । यो बोसोरहित खाना भएकोले चिकित्सकहरुले सबैखाले चिनी–रोगीहरुलाई यसको प्रयोग गर्न सल्लाह दिन्छन् । सातुले मांसपेशी वृद्धि गराउँछ र शरीरलाई बनाउँछ । सातुले पाचन प्रणलीलाई तन्दुरुस्त राख्छ, कब्जियत हटाउँछ, मोटोपन नियन्त्रण गर्दछ, रक्तचाप सन्तुलित राख्छ, पेटमा सञ्चित विष (टक्सिन) निकाल्छ, आदि । बिहान खाली पेटमा र दिउँसो भोक लागेको बेला खाइएको सातुले शरीरलाई ऊर्जा र मनलाई पनि सन्तुष्टि प्रदान गर्दछ । जौको सातु मस्तिष्क क्षमता वृद्धिका लागि पनि उपयोगी मानिन्छ ।
चनालाई पखालेर सुकाइन्छ । सुकेको चनालाई तावामा बालुवासँग राखी भुटिन्छ र भुटिएको चनालाई मिलमा वा जाँतोमा राखेर पिसिन्छ । त्यसरी पिसेर बनेको पीठोलाई सातु भनिन्छ । स्वाद बढाउन वा पौष्टिकताका हिसाबले सन्तुलित बनाउन चनाको सातुमा अन्य केही अनाजका पीठो मिसाएर प्रयोग गरिन्छ । सातुले शरीरमा तत्काल शीतलता दिन्छ । अतः यसको प्रयोग बढीजसो गर्मी स्थान र मौसममा गरिन्छ ।
सातु भन्नेबित्तिकै चनाकै बुझिन्छ तर अन्य अनाजबाट पनि सातु तयार गर्न सकिन्छ । प्रतिदिन एकजना स्वस्थ व्यक्तिलाई १८ सयदेखि २२ सय क्यालोरी ऊर्जा आवश्यक (कार्बोहाइड्रेट, प्रोटिन, फ्याट आदि सबैबाट) हुन्छ ।
हेल्थलाइन डटकमका अनुसार एकजना निष्क्रिय पुरुषका लागि ५६ ग्राम प्रोटिन र महिलाका लागि ४६ ग्राम प्रोटिन आवश्यक पर्दछ । एक आउन्स चना (२८ ग्राम चना) बाट ८ ग्राम कार्बोहाइड्रेट, २ ग्राम चिल्लो र ३ ग्राम प्रोटिन प्राप्त हुन्छ । साथै २८ ग्राम चनाबाट ४६ क्यालोरी ऊर्जा प्राप्त हुन्छ । चनाको पीठोमा कोलेस्टेरोल हुँदैन ।
सातुमा भएको फाइबरले कब्जियत खुलाउँछ । सजिलै पच्ने र अवशोषण हुने हुँदा यसले तत्कालै ऊर्जा दिन्छ । सातुमा भएको पोटासियम र म्याग्नेसियमले भोक जगाउँछ । शरीरको कुनै अंगमा पानी वा हावा जमेर सुन्निएकोमा राहत दिन्छ । शरीरको मेटाबोलिजम प्रक्रियालाई सन्तुलित बनाउँछ र तौल नियन्त्रण गर्दछ । रगतको रातो रक्तकोषिकाहरुको अक्सिजन बोक्ने क्षमता बढाउँछ । रक्तकोषिकाहरुलाई सन्तुलित र सक्रिय तुल्याउँछ, जसबाट रोग–प्रतिरोधात्मक क्षमता पनि बढ्छ । सातुमा भएको आइरनले रक्तअल्पता हुनबाट पनि बचाउँछ । कमजोर पाचन प्रणली भएका बच्चा र वृद्धहरुको पेटमा पनि सातु सजिलै पच्छ । अतः बच्चाहरुका लागि स्कुलको टिफिनमा सातुको खाजा पठाउनु उत्तम विकल्प हुन सक्छ ।
आयुर्वेदशास्त्र अष्टाङ्गसंग्रह सूत्रस्थान अध्याय ७ मा सातु कण्ठरोग, नेत्ररोग, भोक, प्यास, थकान, उल्टी हुँदाको अवस्थामा हितकारक हुन्छ भनिएको छ । छिट्टै पच्ने भएर लघु भोजन भनिएको छ । दैनिकरुपमा सातु सेवन गर्नेलाई प्रमेह, कुष्ठरोग, राजयक्ष्मा नहुने बताइएको छ । संग्रहकै अनुसार सातु खाइरहँदा बीच–बीचमा पानी नखानु, एकै दिन दुईपटक सातु नखानु, राति सातु नखानु, दाँतले चपाई–चपाई सातु नखानु र अत्यधिक मात्रामा सातु नखानु भनी निर्देश गरिएको छ ।गलत खानपानले अस्तव्यस्त बनेको हाम्रो दिनचर्यामा नेपालीले पत्रु तयारी खाजा एवं खानाको विकल्पको रुपमा परम्परागतरुपमा बनेको सातुलाई जोड्न सके सर्वथा हितकारी हुनेछ ।