गर्भदेखिको रेकर्ड राख्ने पुस्तक ‘कमिङ इन्टु द वल्र्ड’



रोहिणी घिमिरे

बच्चाको मुस्कानलाई विश्वको सबैभन्दा सुन्दर दृश्यका रुपमा लिइन्छ । मुस्कानमात्र नभएर उसले रोएको, खेलेको, तोते बोलेको, टुकुटुकु हिँडेको, लतपत गरी खाएको यावत् कुराले बाबुआमालाई प्रभावित पारेको हुन्छ । बच्चाका यस्ता गतिविधि देखेर मग्न हुने भएकाले नै उसलाई हुर्काउँदाका कठिन क्षणहरु बाबुआमाले बिर्संदै जान्छन् । गर्भमा रहँदा गरिएको भिडियो एक्सरे, बेबी सावर अनि जन्मेपछिका भए÷गरेका न्वारन, पास्नीजस्ता आफूसँग सम्बन्धित जुनसुकै क्रियाकलाप स्वयं बच्चाको स्मरणमा पनि रहँदैनन् ।

यी सबै कुरालाई हृदयङ्गम गरी कामना न्युज पब्लिकेसन्सकी क्रिएटिभ डाइरेक्टर बिनी श्रेष्ठले ‘कमिङ इन्टु द वल्र्ड’ नामक बच्चाको मेमोरी बुक नै तयार गर्नुभएको छ । वास्तवमा यो बुक डायरी, एल्बम र पुस्तकको संयुक्त रुप हो भन्दा पनि हुन्छ । अमेरिकास्थित मिनेसोटा स्टेट युनिभर्सिटीबाट मास कम्युनिकेसन्समा स्नातक गरेकी श्रेष्ठले सिर्जनात्मक सोच र विशेष कला प्रयोग गरेर तयार पारेको यस किसिमको पुस्तक सम्भवतः नेपालमै पहिलो हो ।

आमाको पेटमा रहँदा अनि यस धर्तीमा पदार्पण हुँदादेखिकै बाल्यावस्थाका आफ्ना हरेक गतिविधि ठूलो भएपछि बच्चाले थाहा पाओस् भन्ने उद्देश्यले यो मेमोरी बुक तयार गरेको पुस्तकका सर्जक श्रेष्ठ बताउनुहुन्छ । कामना न्युज पब्लिकेसन्सद्वारा अङ्ग्रेजी भाषामा प्रकाशित यो ‘कमिङ इन्टु द वल्र्ड’ शायद नेपालमा प्रकाशित सबभन्दा रमाइलो र अद्वितीय स्मृति–पुस्तक हो । श्रेष्ठ भन्नुहुन्छ– ‘फोटो एल्बमसहितको यो पुस्तकले अभिभावक र बच्चाबीच भावनात्मक सम्बन्ध सुदृढ एवं रमाइलो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएकी छु । कुनै पनि क्षणमा आमाबुबा र बच्चाहरू निराश हुने वातावरण पैदा भएमा यो किताबका पानाहरू पल्टाउनासाथ उनीहरुको अनुहारमा खुशीको भाव छचल्कनेछ ।’

बच्चाले अधिकांश घटना वा गतिविधिहरु क्षणभरमै बिर्सन्छ । अलि थाहा पाउने उमेर भएपछिका कुरा पनि बिस्तारै बिर्सिंदै गएको हुन्छ । त्यसैले बचपनका विभिन्न महत्वपूर्ण घटना एवं मिति टिपेर राख्नेदेखि जुन दिन बच्चा बामे सर्न, बस्न, हिँड्न शुरु गर्छ आदि ऊसँग सम्बन्धित कुराहरुलाई लिखित-चित्रित दस्तावेजका रुपमा राख्ने प्रचलन विश्वमा शुरु भइसकेकाले यस किसिमको पुस्तकको सृजना गरिएको श्रेष्ठको भनाइ छ ।

आफ्ना बच्चाको हरेक गतिविधि रेकर्ड गरेर राख्न यो पुस्तकले अभिभावकलाई मुख्य आधार दिन्छ । बच्चा पेटमा आउँदादेखिको बच्चाको हरेक गतिविधिलाई सिर्जनात्मक र व्यवस्थित किसिमले अभिलेखीकरण गर्ने व्यवस्था पुस्तकमा मिलाइएको छ । आमा गर्भवती भएदेखि बच्चाको जन्म र त्यसपछि हुर्कंदै गरेको बच्चाको हरेक पलको फोटो तथा मिति सम्झनास्वरूप सिर्जनात्मक ढंगले रेकर्ड गर्न सकिने गरी किताब डिजाइन गरिएको छ ।

पुस्तकमा बालसुलभ व्यवहारहरु समेटिएका छन् । त्यस्तै बामे सर्दै गरेको, बसेको, हिँडेको अनि जन्मदिनका अविष्मरणीय क्षणहरूलाई पनि सङ्गृहीत गर्न मिल्नेछ । यस पुस्तकले आमाहरूलाई आफ्ना सन्तानको बाल्यकालका सम्झनाहरू सिर्जनात्मकरूपमा सङ्गृहीत र प्रस्तुत गर्न सहयोग पु¥याउने देखिन्छ ।

नयाँ आमाबुबालाई बच्चाको खोप तालिकाको बारेमा जानकारी दिनुका साथै बच्चाको महिनैपिच्छेको शारीरिक तथा मानसिक वृद्धि सन्तोषजनक छ-छैन भन्ने बारेमा बुझ्नसमेत यस पुस्तकले मद्दत गर्नेछ । त्यति मात्रै होइन, बच्चा जन्मेपछि गरिने धार्मिक संस्कार र परम्पराको स्पष्ट अभिलेखीकरण राख्ने व्यवस्था पनि यसमा छ ।

सर्जक श्रेष्ठका अनुसार बच्चाको पहिलो ८ वर्षसम्म मस्तिष्कको विकास हुन्छ । त्यही विकास भविष्यका लागि आधार बन्छ । त्यो आधार राम्रो भयो भने भविष्यका लागि कार्यदक्षता हुन्छ । आवश्यक कुरा सिक्न सक्छन् । मोबाइलका तस्वीरहरु लामो समयसम्म सुरक्षित राख्न कठिन छ, साथै सम्झनामा आउन पनि गाह्रो हुन्छ । तर यस पुस्तकमा समाविष्ट गरिएका तस्वीर एवं तथ्य–तथ्यांकहरु जहिल्यै स्मरण भइरहने पुस्तकका सर्जक श्रेष्ठको भनाइ छ । त्यसैले यो पुस्तक बच्चाको भविष्यका लागि एक किसिमको इतिहास बन्ने निश्चित छ ।

यसमा बच्चाको व्यक्तिगत विवरणलाई महत्व दिइएको छ । ‘लाइफ अन द इन्साइड’ अर्थात् पेटभित्र रहँदाको जीवनबाट नै यस पुस्तकको शुरुवात हुन्छ । शुरुवातमै बच्चा गर्भमा हुँदा गरिएका अल्ट्रासाउन्ड परीक्षणका तस्वीरसहित विवरण प्रस्तुत गरिएको हुन्छ । आफू पेटमा रहँदाको अवस्थालाई पछि उसले अवलोकन गर्न सकोस् भन्ने उद्देश्यले पुस्तक सर्जकले यसको परिकल्पना गरेको हो भन्ने अनुमान गर्न गाह्रो पर्दैन ।

परिवारमा सबैभन्दा खुशीको दिन बच्चा जन्मिएको दिनलाई मानिन्छ । ‘फस्ट डे इन्टु द वल्र्ड’ भनेर बच्चाको बर्थ डिटेल, आमाबाबुको परिचय र भनाइ, बच्चाको पहिलो तस्वीर आदिले पुस्तकको महत्व बढाउने देखिन्छ । यसै गरी ‘ब्लेसिङ्स÷कङ्ग्राचुलेसन्स’ भन्ने शीर्षकमा बच्चाको मुख हेर्ने कार्यको विवरण राखिएको छ । मुख हेर्न को–को आए, के भने, उपहार के ल्याए भन्ने कुरा यहाँ प्रविष्ट गर्नुपर्छ । छैठीका कुरा अनि न्वारनका क्रियाकलापलाई पनि समेट्न छुटाइएको छैन ।

बच्चाको पास्नीलाई हाम्रो समाजमा महत्वपूर्ण संस्कारका रुपमा लिइन्छ । आफूले पहिलोपटक भात खाएको र त्यसमा के–के गरियो अनि को–को आएका थिए, गिफ्ट के ल्याएका थिए भनेर बच्चाले पछि ठूलो भएपश्चात् यही पुस्तक हेरेर थाहा पाउनेछ । ‘माइलस्टोन्स अफ माई ग्रोथ’ अन्तर्गत म बस्न सक्छु, बामे सर्न सक्छु, उभिन सक्छु, हिँड्न सक्छु भनेर बच्चाका ती अवस्थाहरुको मितिसहित तस्वीर राख्नका लागि स्थान दिइएको छ । त्यसै गरी बच्चाले फस्ट टाइम गरेका क्रियाकलापका विवरणलाई पनि स्थान दिइएको छ । पहिला कुन दाँत कहिले निस्कियो र क्रमशः अरु कुन दाँत कहिले निस्किए भन्ने कुरालाई चार्टमा भर्न सकिन्छ । कुन खोप कतिपटक कहिले लगाउने भन्ने जानकारी पनि यसमा छ । खोप लगाउँदै गरेको तस्वीरसमेत यसमा अट्याच गर्न सकिनेछ ।

बच्चाको ‘ग्रोथ चार्ट’मा उसको विभिन्न उमेरमा भएको उचाइ र तौलको मापन दिइएको छ । यसले गर्दा पछि बच्चाको स्वास्थ्य अवस्था बुझ्न पनि चिकित्सकलाई मद्दत मिल्नेछ । बच्चाको हरेक वर्षको जन्मदिनका क्रियाकलाप, आएका पाहुना आदिका विवरण पनि भविष्यमा बच्चाका लागि महत्वपूर्ण हुनेछन् । बच्चा स्कुल जाने उमेर भएपछि पहिलो स्कुल, सो स्कुलका शिक्षक तथा साथीहरुको विवरणलाई पनि पुस्तकमा सुरक्षित गर्न सकिनेछ । बच्चाका मन परेका खेलौना, उसले अभिभावकसँग घुमेका स्वदेश एवं विदेशको विवरणका लागि पनि प्रशस्त स्थान छुट्याइएको छ ।

यसै गरी आमाको दूधमा क्यालोरीको मात्रा धेरै हुने भएकाले मसल वृद्धिमा मद्दत पुग्ने जानकारी पुस्तकमा दिइएको छ । यस्तै स्तन चुसाउँदा कस्तो पोजिसन हुनुपर्छ भन्ने कुराले आमाहरुलाई सजग गराउनेछ । दूध चुसाउँदा आमा र बच्चाको स्वास्थ्यमा पर्ने प्रभावका बारेमा राम्रो जानकारी हासिल गर्न सकिन्छ । बच्चाले जे कुरा पनि सिक्नुपर्ने हुन्छ र ऊ सिक्न पनि खोज्छ । त्यसैले कुनै वस्तु अरुलाई शेयर गर्न, साथीहरुसँग मिलेर खेल्न, अर्काको सम्मान गर्न बच्चालाई सिकाउनुपर्छ । यस्ता धेरै कुरा पुस्तकमा चित्रसहित निर्देशित गरिएको छ । शिशु स्याहारका कुरा पनि यसमा समेटिएका छन् । कति महिनाको शिशुलाई के–कसरी कस्तो स्याहार गर्नुपर्छ भन्ने कुरा बुँदागतरुपमा दिइएको छ ।

जति वर्ष बित्दै जान्छ, त्यति यस मेमोरी बुकको महत्व बढ्दै जाने हुन्छ । पछिका पुस्ताका लागि पनि यो पुस्तक इतिहासको रुपमा दर्ज हुनेछ । रंगीन कलेबरमा मुद्रित

‘कमिङ इन्टु द वल्र्ड’ मातापिता बन्न लागेका दम्पतीलाई दिन सकिने सार्थक उपहार हो,

बिनी श्रेष्ठको भनाइ छ ।आफू आमा बनेपछि यो ‘कमिङ इन्टु द वल्र्ड’को कल्पना र यसको डिजाइन गर्न प्रेरित भएको उहाँ बताउनुहुन्छ । यस पुस्तकमा उल्लिखित कुराहरुको संकलन, सम्पादन र डिजाइन बिनी आफैंले गर्नुभएको हो भने चित्रहरू शोभित बानियाले बनाउनुभएको हो । यस्तै ग्राफिक-लेआउट यमन मानन्धरले गर्नुभएको हो । उच्च गुणस्तरको रंगीन कलात्मक कागजमा प्रिन्ट गरिएको यस पुस्तकको मूल्य रु. २०५०।– रहेको छ । आफ्ना बच्चाहरूका लागि अभिभावकले तयार पारेर राख्ने सुन्दर उपहारका रूपमा यो उत्कृष्ट नमुना हो ।

प्रतिक्रिया दिनुहोस्