टार्न नसकिने झन्झट रजस्वला



श्रीरामसिंह बस्नेत

एकक्षण कल्पना गरौं, यदि पुरुषले पनि महिलाले जस्तै प्रत्येक महिना रजस्वलाको झन्झट भोग्नुपर्ने भए पुरुषवर्गको तुजुक कहाँ पुग्थ्यो होला ? त्यसैले पुरुषवर्ग प्रकृतिप्रति अनुगृहित हुनुपर्दछ र रजस्वलाको पिरलो भोग्नुपर्ने प्राकृतिक बाध्यता व्यहोरिरहेका आफ्ना आमा, दिदी, बहिनी, पत्नी, छोरी, महिला साथी, सहकर्मीलगायत तमाम महिलाप्रति विशेष संवेदनशील र सहयोगी हुनुपर्दछ । तर यो विवेक पुरुषशासित समाजमा कहाँ पाउनु ?

महिनावारी, रजस्वला, मासिक धर्म, नछुने हुनु, छुई हुनु, छाउ, मिन्स, पिरियड आदि विभिन्न नामले बुझिने यो प्राकृतिक प्रक्रियाले प्रत्येक महिलाको जीवनमा अत्यन्तै महत्व राख्दछ । अंग्रेजीमा यसलाई ‘मेन्सुरेसन’ भनिन्छ । यो शब्द ग्रिक भाषाबाट आएको हो । रोमन धार्मिक विश्वासमा रजस्वलाकी पनि देवी छिन्, जसको नाम ‘मेन्स’ हो । उनैको नामबाट रजस्वलालाई मेन्सुरेसन नाम दिइएको हो । यसकै छोटकरी रुप ‘मिन्स’ शिक्षित महिलाहरुबीच प्रचलित छ । रोमन धर्ममा मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषय वा क्रियासँग सम्बन्धित देवी, देवता मान्ने चलन छ, जस्तै निद्राकी देवी, सपनाकी देवी, भोजनका देवता, खेलकुदका देवता आदि ।

किशोरावस्थाको प्रारम्भदेखि शुरु भई प्रौढावस्थासम्म जारी रहने रजस्वलाले महिलाको शारीरिक, भावनात्मक, यौनिक, पारिवारिक र सामाजिक पक्षमा धेरै प्रभाव पार्दछ । जसरी मानिसको शरीरभित्र उत्पादन भएका काम नलाग्ने पदार्थ जस्तै– दिसा, पिसाब, पसिना, सिँगान, थुक आदि शरीरबाट नियमित रुपमा बाहिर फ्याँकिनु अनिवार्य छ, त्यसै गरी महिलाको पाठेघरभित्र काम नलाग्ने पदार्थको रुपमा परिणत भएको रजस्वला पनि योनिमार्गबाट बाहिर निस्कनु अनिवार्य हुन्छ । यसको कारण र प्रक्रियाबारे स्वयम् कतिपय महिलाहरु अनभिज्ञ छन् । उनीहरुले यसलाई महिला भएपछि भोग्नै पर्ने अप्ठ्यारो वा भगवान्को लीलाको रुपमा मात्र बुझ्ने गरेका छन् । पुरुषहरुले त झन् यसलाई बेसरोकारको विषय मान्दछन्, जो ठीक धारणा होइन ।

महिलाको रजस्वलाको पीडा नबुझ्ने र त्यस्तो बेला सहयोग नगर्ने पुरुषलाई विवेकशील मान्न सकिँदैन ।

किन हुन्छ रजस्वला ?

रजस्वला खासमा महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित छ । रजस्वला शुरु हुनु भनेको शरीरमा प्रजनन क्षमता प्राप्त भएको संकेत हो र प्रौढावस्थामा पुगेर रजस्वला सधैँका लागि बन्द (रजोनिवृत्त) भएपछि प्रजनन क्षमता पनि अन्त्य हुन्छ । अर्थात् रजस्वलाको क्रम जारी रहेसम्म मात्र महिलामा प्रजनन क्षमता कायम रहन्छ ।

यस प्रक्रियामा महिलाको अण्डाशय, अण्ड, अण्डबाहिनी नली, पाठेघर, योनिको प्रत्यक्ष भूमिका रहन्छ । प्रत्येक महिलाको गर्भाशयको दाहिने र देब्रेतिर एक–एक गरी दुईवटा अण्डाशय रहेका हुन्छन् । ती दुईमध्ये एउटाबाट हरेक चार हप्ताको अन्तरालमा एउटा अण्ड निस्कन्छ र अण्डवाहिनी नलीको बाटो गरी पाठेघरभित्र पुग्छ । यो यात्रा पूरा गर्न अण्डलाई करिब ७२ घन्टा लाग्छ । यसबीच पुरुष र महिलाबीच यौनसम्पर्क भई पुरुषको वीर्यमा रहेको शुक्रकीट र अण्डको मिलन भयो भने अण्ड निषिक्त भई स्त्रीमा गर्भ रहन्छ र त्यो निषिक्त अण्ड पाठेघरमै रहेर हुर्किंदै नौ महिना पुगेपछि नवजात शिशुको रुपमा जन्म लिन्छ ।

यदि यौनसम्पर्क भएन र भएर पनि अण्ड निषिक्त भएन भने त्यो अण्ड आफैं पाठेघरभित्रै नष्ट हुन्छ र पाठेघरभित्र जम्मा भएको अन्य रक्तकणसँग मिसिएर योनिमार्गको बाटो बाहिर निस्कन्छ । यसरी नष्ट भएको अण्ड र रक्तकण तरल वा अर्धतरल रुपमा योनिद्वारबाट बाहिर निस्कनु नै रजस्वला हुनु हो । यो रक्तश्राव समान्यतया चार दिनसम्म र बढीमा सात दिनसम्म जारी रहन्छ । गर्भवती नभएसम्म प्रत्येक महिना यो प्रक्रिया दोहोरिने भएकोले यसलाई महिनावारी भनिएको हो । गर्भवती भएपछि शिशु नजन्मिएसम्म रजस्वला स्थगित हुन्छ । पुनः रजस्वला शुरु भएपछि महिला फेरि गर्भवती बन्ने सम्भावना पनि शुरु हुन्छ । यौनसम्पर्कपछि रजस्वला हुनुपर्ने आफ्नो मासिक चक्रअनुसार नभई रजस्वला रोकिनु गर्भवती भएको प्रमुख लक्षण हो ।

परिवार र विद्यालयको दायित्व

नवकिशोरीहरु पहिलोपटक रजस्वला हुँदा परिवारका परिपक्व महिला अभिभावकहरु जस्तै– आमा, दिदी, भाउजू आदिले पूर्ण सहयोग गर्नुपर्दछ । रजोवती किशोरीमाथि यसो नगर, उसो नगर भनेर अनेकौं चाहिने नचाहिने नियम लाद्नुहुँदैन । पहिलोपटक रजस्वला हुँदा किशोरी आत्तिरहेकी हुन्छिन्, पहिला कहिल्यै नभएको शारीरिक पीडा पनि भइरहेको हुन्छ । तसर्थ यस्तो अवस्थामा उनलाई कसरी सजिलो र सुविधा हुन्छ त्यसै गरिदिनुपर्छ ।

सामान्यतया ९ वर्षको उमेर देखि १६ वर्षको उमेरभित्र केटीहरुमा रजस्वला प्रक्रिया शुरु हुन्छ । यो उमेर समूहका केटीहरु विद्यालय जीवन बिताइरहेका हुन्छन् । तसर्थ यस विषयमा विद्यालयको पनि प्रमुख जिम्मेवारी रहन्छ । यसमा विद्यालयको मुख्यतया दुई किसिमको जिम्मेवारी रहन्छ– ज्ञानमूलक र व्यवस्थापकीय । ज्ञानमूलक जिम्मेवारीमा सबै विद्यालयले रजस्वला हुने अवस्थामा पुगेका आफ्ना छात्राहरुका लागि रजस्वला प्रक्रिया र यसको व्यवस्थापनबारे कक्षा नै लिएर आवश्यक ज्ञान दिनुपर्दछ । सहजताका लागि छात्राहरुलाई मात्र अलग कक्षामा राखी शिक्षिका वा विद्यालय नर्सले रजस्वलाका सबै पक्षबारे विस्तृत जानकारी दिने व्यवस्था गर्न सकिन्छ । पाठ्यक्रममै यौन शिक्षा समावेश गरेर छात्रछात्रा सबैलाई यसबारे जानकारी दिनु अझ लाभदायक हुन्छ ।

हरेक विद्यालयले गर्नै पर्ने अर्को महत्वपूर्ण व्यवस्थापकीय कार्य हो– स्वच्छ, सफा र पर्याप्त पानी भएको महिला शौचालयको व्यवस्था । यसका साथै स्यानिटरी प्याड, साबुन, फोहोर प्याड विसर्जन गर्ने उचित व्यवस्था आदि पनि सुनिश्चित हुनुपर्दछ । कुनै छात्रा विद्यालयमा रहेकै अवस्थामा पहिलोपटक रजस्वला भएमा उसलाई सुरक्षित रुपमा घरसम्म पु¥याइदिने वा अभिभावक बोलाएर जिम्मा लगाउने दायित्व पनि विद्यालयकै हुन्छ । साथै रजस्वलाको कारण छात्राहरुको महत्वपूर्ण परीक्षामा असर पर्न नदिने गरी व्यवस्थापन गराउनु पनि विद्यालयकै दायित्वमा पर्दछ । परिवारबाट टाढा आवासीय विद्यालयको छात्रावासमा रहेका छात्राहरुको रजस्वला अवधिलाई सहजीकरण गर्ने पूरै दायित्व छात्रावास व्यवस्थापनमा निहित रहन्छ ।

रजस्वलामा पीडा

रजस्वलाको सबैभन्दा नकारात्मक पक्ष यसमा महिलालाई हुने पीडा र असहजता नै हो । यो पीडालाई डिस्मेनोरिया भनिन्छ । रजस्वलामा पीडा प्रायः सबैजसो महिलालाई हुन्छ । तर पीडाको प्रकृति भने फरक–फरक हुनसक्छ । कसैलाई रजस्वला हुनुभन्दा दुई–तीन दिनअघिदेखि तल्लो पेट, तिघ्रा, टाउको, कम्मर, नितम्ब, खुट्टा दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, स्तन भारी हुने र रजस्वला भएपछि आफैं बिस्तारै ठीक हुने हुन्छ । कसैलाई रजस्वला अवधिभर नै पीडा हुन्छ । शारीरिकका अतिरिक्त भावनात्मक असजिलो पनि हुन्छ । जस्तै– झर्को लाग्ने, स–सानो कुरामा रिस उठ्ने, चिडचिडापन, थकान महसुस, खानामा अरुचि, अनिदो रात आदि ।

रजस्वला हुने र भइरहेको बेलामा पाठेघर खुम्चने र पाठेघरवरिपरि र तिघ्राका मांसपेशीहरु तन्किन्छन् । यही खुम्चने र तन्किने कारणले नै ती भागहरुमा पीडा हुन जान्छ । पीडाका कारण अरु पनि हुन सक्छन्, जस्तै– अति दुर्बल शरीर, कुपोषण, क्षयरोग, थाइराइड, रक्तअल्पता, असन्तुलित हरमोन, पाठेघर वा अण्डवाहिनी नलीमा समस्या, यौन अंगमा संक्रमण आदिमध्ये कुनै कारण । रजस्वलाको पीडा दुई–चार दिनमै ठीक हुन्छ भने त्यो सामान्य हो तर हरेक महिना रजस्वला हुँदा बिरामी नै परिन्छ भने त्यो असामान्य हो र त्यस्तो भएमा स्त्रीरोग विशेषज्ञसँग अविलम्ब सम्पर्क गरिहाल्नुपर्दछ ।

भर्खर–भर्खर रजस्वला शुरु हुँदा र रजोनिवृत्त हुने बेलामा अलि बढी पीडा हुने गर्दछ । औषधिमा पहुँच भएका महिलाहरुले रजस्वलाको  पीडाबाट राहत पाउन दुखाइ कम गर्ने पेन किलर औषधि सेवन गर्ने गरेको पाइन्छ । तर यो ठीक उपाय होइन । हरेक महिना यसरी पेन किलरको सहारा लिँदा त्यसको प्रतिकूल असर पर्दछ, खास गरी मिर्गौलामा । रजस्वलाको पीडाबाट मुक्ति पाउन नियमित रुपमा कम्मर, तल्लो पेट, नितम्ब, तिघ्रा, योनिभाग आदिमा कसरत हुने किसिमका व्यायाम वा योगाभ्यास गर्नु उचित हुन्छ । पीडा भइरहेको बेला पीडा भएको अंगमा तातो पानीको ब्यागले सेकाउने, मनतातो तागतिलो झोल पदार्थ खाने, आराम गर्नेतर्फ बढी ध्यान दिनुपर्छ, पेन किलर खानेतर्फ होइन ।

रजस्वला भएका बेलामा चिसो चिज खानुहुँदैन भने पचाउन कठिन हुने गरिष्ठ भोजन गर्नुहुँदैन । अपच भई पखाला लाग्यो भने असाध्यै गाह्रो हुन्छ । हाम्रा गाउँघरतिर रजस्वला भएकी महिलालाई दूध, दही पौष्टिक तत्व खान नदिने, दियो भने गाईभैंसी बिरामी हुन्छन् भन्ने अत्यन्तै गलत चलन र अन्धविश्वास रहेको पाइन्छ । त्यस्तो बेलामा महिलालाई अरु बेलाको भन्दा अझ बढी पौष्टिक आहार खान दिनुपर्छ । विशेष गरी प्रोटिन र आइरनयुक्त खानेकुरा लाभदायक हुन्छ ।

सरसफाइ

रजस्वलामा अर्को महत्वपूर्ण पक्ष सरसफाइ हो । शरीरबाट दूषित पदार्थ बाहिर निस्कने भएकोले सरसफाइमा विशेष ध्यान दिनै पर्छ । अक्सर हाम्रो समाजमा महिलाहरुले रजस्वला भएको चौथो दिनमात्र चोखिने औपचारिकता पूरा गर्न नुहाउने गरेको पाइन्छ । वास्तवमा रजस्वला अवधिभर हरेक दिन नुहाउनु धेरै उपयुक्त हो, चिसो मौसममा बाहेक । यस अवधिमा योनिबाट रक्तश्राव भइरहने हुनाले योनिको सफाइ राम्रोसँग गर्नुपर्दछ ।

हिजोआज रजस्वलामा प्रयोग गर्न स्यानिटरी प्याडको निकै चलन आएको छ । नेपालमा पनि कतिपय विद्यालयमा छात्राहरुलाई यस्तो प्याड सरकारले नै निःशुल्क उपलब्ध गराउने गरेको छ । यो प्याडमा अर्बौंको व्यापारिक कारोबार भइरहेको छ र यस व्यापारमा राजनीतिक चलखेल पनि हुने गरेको पाइएको छ । हाम्रा हजुरआमा, आमाहरुका पालासम्म स्यानिटरी प्याडको चलन आएको थिएन । उनीहरुले घरमै उपलब्ध कपडाका टुक्राहरुलाई यस प्रयोजनमा प्रयोग गर्थे । अहिले सजिलो प्याडको चलन आएकोले त्यसको प्रयोग गर्नु उचित हो । तर केवल नाफा कमाउने उद्देश्यले उत्पादन गरिएका गुणस्तरहीन प्याडको प्रयोग गर्नु हानिकारक छ । बजारमा उपलब्ध प्याडभन्दा आफैंले बनाउन सकिने प्याड बढी विश्वसनीय हुन सक्छ । यसमा तरल पदार्थ राम्रोसँग सोस्न सक्ने सुतीको कपडा प्रयोग हुनुपर्छ ।

प्लास्टिकजन्य पदार्थ र छालामा असर पार्ने खालका पदार्थ प्रयोग भएको हुनुहुन्न । अहिले विश्वका विभिन्न मुलुकमा स्यानिटरी प्याडको उत्पादन र बजारीकरणमा एकप्रकारको होडबाजी नै चलिरहेको देखिन्छ । त्यसैले गुणस्तरमा सचेत हुनु जरुरी छ । सित्तैमा वा सस्तोमा पाइन्छ भन्दैमा आफ्नो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार भएका वस्तुमा हेलचेक्र्याइँ गर्नुहुँदैन । यो पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने गरी दुई प्रकारका हुन्छन् । सुती कपडाबाट बनाइएका र कप पुनः प्रयोग गर्न मिल्छ भने स्यानिटरी प्याड, टेम्पोन आदि एकपटक मात्र प्रयोग गर्न मिल्छ । उपयुक्त सामग्री प्रयोग गरिएन भने योनि र पाठेघरमा संक्रमण हुन सक्छ । रजस्वला अवधिमा हरेक ४ देखि ६ घन्टामा आफूले योनिमा प्रयोग गरिरहेको सामग्री फेर्नुपर्दछ ।

यस्ता सामग्रीको विसर्जन कहाँ, कसरी गर्ने भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । फोहोरयुक्त ती सामग्रीलाई जथाभावी फ्याँक्नुहुँदैन । शौचालयको प्यान वा कमोडमा हाल्नुहुँदैन । पुनः प्रयोग गर्न मिल्ने सामग्रीलाई राम्ररी धोएर, सुकाएर अर्को पटक प्रयोग गर्नलाई आफ्नो मात्र पहुँच हुने गरी जतनले राख्नुपर्दछ । पुनः प्रयोग गर्न नमिल्ने प्याड वा टेम्पोनलाई अरु फोहोरसँग नमिसाई अलग्गै गाड्ने वा कुहिने फोहोरमा विसर्जन गर्नुपर्दछ ।

रजस्वला अवधिमा योनिलाई कम्तीमा दिनको तीनपटक सफा पानीले सफा गर्नुपर्दछ । सफा गर्दा साबुन, ह्यान्ड वास आदि कुनै पनि वस्तु प्रयोग नगरी पानीले मात्र सफा गर्नुपर्दछ । तर योनि सफा गरेपछि हात धुँदा साबुन प्रयोग गर्नै पर्दछ । आधुनिक शौचालयमा सजिलोसँग योनि सफाइ गर्न मिल्ने विशेष प्रकारको (कमोडजस्तै) साधन पनि उपलब्ध हुने गरेको छ । अथवा आजकल दिसा धुन व्यापकरुपमा प्रयोग भइरहेको स्प्रेलाई योनिको सफाइमा पनि सजिलै प्रयोग गर्न सकिन्छ ।

रजस्वला टार्न नसकिने एक अनिवार्य प्राकृतिक प्रक्रिया भएकोले यसलाई हैरानीको रुपमा नलिई सकेसम्म सहज र स्वाभाविक बनाउन स्वयं महिला र परिवारजनले भूमिका निर्वाह गर्न सक्छन् । आजका महिला घरभित्र मात्र सीमित नरही कार्यक्षेत्रमा सक्रिय रहनुपर्ने हुनाले कार्यालयलगायतका क्षेत्रमा कार्यरत महिलाहरुले भोग्नुपर्ने रजस्वलाको विशेष संवेदनशील अवस्थाप्रति कार्यालयका प्रमुख, पुरुष सहकर्मीहरु र कार्यालयको व्यवस्थापन आदि विवेकशील हुनु जरुरी छ । यसमा मुख्यतः हरेक कार्यालयमा स्वच्छ महिला शौचालयको व्यवस्था हुनु अनिवार्य छ ।

महिला कर्मचारीलाई रजस्वलाको पीडा हुँदा आराम गर्ने वातावरणका साथै काममा सहुलियत दिने व्यवस्था आदि हुनुपर्दछ ।
आजका महिलाहरुले रजस्वलालाई आफ्ना आमा, हजुरआमाको पालामा जस्तो महत्व दिएर प्रत्येक महिनाको चार दिन खेर फाल्न सम्भव छैन । रजस्वला अवधिमा धार्मिक–सांस्कृतिक पूजापाठमा सहभागी नहुने र कडा परिश्रम पर्ने काम नगर्ने, यी दुई कार्यबाहेक अरु सबै कार्यमा सरिक हुन कुनै बाधा छैन ।

रजस्वलामा हुने पीडालाई स्वअभ्यासबाट न्यूनीकरण गर्ने, व्यक्तिगत सरसफाइलाई उच्च प्राथमिकता दिने, पौष्टिक खानपिनमा जोड दिने, रजस्वलासँग सम्बन्धित अवैज्ञानिक र हानिकारक अन्धविश्वासलाई साहसपूर्वक परित्याग गर्ने र आफ्नो दैनिक जीवन अनि जिम्मेवारीलाई स्वाभाविक रुपमा सञ्चालन गर्ने आत्मविश्वाससहित क्रियाशील रहेमा महिलाहरुले टार्न नसकिने रजस्वलाका कारण केही पनि हार्नुपर्दैन । अर्को अंकमा रजोनिवृत्तबारे चर्चा गरौंला ।
अन्त्यमा, महान् कवि भूपी शेरचनको एउटा सान्दर्भिक कविता–
शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको
मानौं, प्रथम रजस्वलापछि स्नान गरेर
शारदीय घाममा आफ्नो कौमार्य छरेर
थकित–थकित झैँ, चकित–चकित झैँ
एक्लै–एक्लै मुस्कुराइरहेकी
अनुहार हो यो कुनै सुन्दरी नवयुवतीको ।
(‘मैनवत्तीको शिखा’ कविता)

प्रतिक्रिया दिनुहोस्