यसरी गरौँ कपालको स्याहार



सुष्मा महरा

महिला हुन् वा पुरुष, सुन्दर कपालको चाहना सबैलाई हुन्छ । समय–परिस्थिति तथा मानिसको विचार अनुरुप सुन्दरताको परिभाषा अलग हुने गरे तापनि धेरैजसोले कपाललाई सुन्दरताको मानक मान्ने गर्दछन् । त्यसैले कपाल सुन्दर बनाउनका लागि धेरै अघिदेखि विभिन्न प्राकृतिक विधिहरु अपानाउँदै आएको पाइन्छ ।

आजको आधुनिक युगमा भने कपाललाई सुन्दर बनाउनका लागि विभिन्न खालका स्याम्पु, हेयर कलर, ट्रिटमेन्ट क्रिम आदिको प्रयोग गर्ने गरिन्छ । कपाललाई राम्रो बनाएर आफू राम्रो या राम्री बन्ने होडमा कपाल स्वस्थ भएमा मात्र कपालको स्थायित्व हुन सक्छ भन्ने कुरा पनि भुल्नुहुँदैन । कपाललाई राम्रो देखाउने ध्याउन्नमा यसको स्वास्थ्यमा ध्यान नदिँदा अधिकांश मानिसमा तालुपना अर्थात् कपाल झर्दै गई फेरि नउम्रने समस्या पनि आउने हुन्छ ।

अहिले हाम्रो फेसियल हाउसमा आउनुहुने ग्राहकमध्ये अधिकांश कपालको समस्या लिएर आउने गर्नुहुन्छ । प्रायः सबैले मेरो पहिला त बाक्लो र राम्रो कपाल थियो तर धेरै जेल प्रयोग गरेर अनि कपाल स्ट्रेट गर्दा स्ट्रेट क्रिम बढी प्रयोग गरेर कपाल झ¥यो र त्यसपछि आएन भनेको सुनिन्छ । हो,

हाम्रो कपालमा कुनै पनि केमिकल प्रयोग गरिन्छ भने लगाउने तरिका, मात्रा तथा त्यसलाई कति समय राख्ने भन्ने कुराको राम्रो ज्ञान हुनुपर्छ । यदि ज्ञानको अभावमा जथाभावी केमिकलयुक्त सामग्री प्रयोग गरियो भने केही समयलाई कपाल सुन्दर भए पनि दीर्घकालीन रुपमा भने कपाल झर्ने, टुक्रने तथा ड्राइ हुने समस्याले सुन्दरताभन्दा विरुपता थप्न सक्छ ।

यसरी नलेजविना प्रयोग गरिएका प्रोडक्टहरुले कपाल झर्ने रेसियो बढी हुन्छ र तक्लु बन्ने समस्या हुन्छ । यसलाई छोप्नका लागि कतिपयले साधारण टोपी, क्याप, सल आदि लगाएका हुन्छन् भने कतिपयले विनाकपालमै पनि सहज महसुस गरिरहेका हुन्छन् । कपालमा कलर लगाउँदा पनि जरालाई छोडेर वा जराको भागमा थोरै समय मात्र राखेर लगाउने गर्नुपर्छ । यदि कपाल कलर गर्नका लागि पार्लर जानु छ भने राम्रो ज्ञान भएको व्यक्ति हो कि होइन, राम्ररी बुझेर मात्र जानुपर्छ । कतिजनाले लापरबाही तरिकाले केमिकल प्रयोग गरिदिएर र कतिपयले चाहिँ आफूखुशी घरमै विभिन्न केमिकलयुक्त हेयर कलरहरु प्रयोग गर्दा त्यसमा भएको केमिकलको असरले कपाल बिग्रिएको भनेर धेरै ग्राहक मकहाँ आउने गर्नुहुन्छ ।

त्यस कारण एकचोटि कपाल हाइलाइट गर्दैमा वा स्टे«ट गर्दैैमा राम्रो भएँ भन्ने मात्र नसोचौं, त्यो केमिकलले कपाललाई दीर्घकालीन रुपमा कति हानि गर्छ र हानि कम गर्न के–कस्ता उपाय गर्ने भन्नेमा पनि सोच्नुपर्छ । त्यस्तै कपाललाई नराम्रो असर गर्ने अर्को कुरा भनेको कपाल सेट गर्न जेलको गलत तरिकाले प्रयोग गर्नु पनि हो । हामीले पार्लरमा कपाल सेट सही तरिकाले लगाइदिने गरे पनि धेरैजसोले घरमै जेल लगाउँदा जराभन्दा माथिको भागमा मात्र लगाउनुपर्ने जेल जरादेखि नै लागाउने गर्नुहुन्छ । हरेक पटक जेल लगाउँदा कपालको जरामा तेलजस्तै गरी पटक–पटक लगाउँदा त्यसले कपाल टुक्रने र झर्ने हुन्छ ।

मानिसको दश वर्षसम्म एकदमै धेरै मात्रामा कपाल बढ्ने र उम्रने हुन्छ भने दशदेखि तीस वर्षसम्म कपाल न्यूनरुपमा बढ्ने हुन्छ । तीस वर्षपछि भने बढ्नेभन्दा झर्ने समस्या शुरु भइरहेको हुन्छ । त्यसमाथि हामीले प्रयोग गर्ने विभिन्न हेयर प्रोडक्टमा हुने केमिकल तथा हाम्रो आनिबानीका कारणले पनि कपाल झर्न बल पुग्छ । त्यसकारण कपाल झरिसकेपछि पछुताउनुभन्दा उमेर अनुसार कपालको केयर गर्नुपर्ने हुन्छ ।
जाडोमा कपालमा चाया बढी आउँछ भने गर्मीमा चायाको समस्या कम भए पनि ड्राइ भएर कपाल टुक्रने समस्या बढी हुन्छ । कपालकै स्याहारका लागि भनेर सधैँ पार्लर जान पनि सकिँदैन । हप्तामा कम्तीमा दुईपटक नुहाइन्छ भने एकदिन भने पनि कपाललाई समय दिनुपर्छ । त्यसको लागि नुहाउनुभन्दा आधा घन्टाअगाडि आलमन्ड ओयल, कोकोनट ओयल, भिटामिन ‘ई‘ आदि मिसाएर लगाउने गर्नुपर्छ । तर फुर्सद छ भन्दैमा अघिल्लो दिन कपालमा तेल लगाएर रातभरि राख्ने र भोलिपल्ट मात्र नुहाउनेचाहिँ गर्नुहुँदैन । तेल लगाउन जति बेर लाग्छ त्यति बेरसम्म औँलाले कपालमा मसाज गर्दा ताप निस्किने भएकाले सोही समयसम्म मात्र तेल तथा भिटामिन पोर्समार्फत भित्र छिर्ने र जरा बलियो हुने हुँदा तेल लगाएर धेरै समय राख्दा बढी काम गर्छ भन्ने हुँदैन, बरु चिसोचाहिँ लाग्छ ।

जुन पायो त्यही र सल्ट भएको स्याम्पु प्रयोग गर्नुहुँदैन । हामीले स्याम्पु किन्दा सल्ट फ्री स्याम्पु रोज्नुपर्छ, जसले कपाललाई जराबाट बलियो बनाएर झर्न तथा टुप्पाबाट टुक्रिनबाट बचाउँछ । साथै कपालको सुख्खापन कम गर्छ र चाया पनि हराउँछ । कपाललाई मुलायम राख्नका लागि कन्डिसनर, ट्रिटमेन्ट क्रिम तथा क्याराटिन ट्रिटमेन्ट आदि प्रयोग गर्न सकिन्छ । त्यस्तै हेयर प्रोटिन पनि पाइन्छ । धेरै लेभलमा ड्राइ भएर टुक्रिन लागेको छ भने प्रोटिन अप्लाइ गर्न सकिन्छ । यसले झरिरहेको कपाललाई रोक्छ ।

यसरी कपालको स्याहार गर्दा होसियार भई कपाल हेल्दी बनाउन सकियो भने आफूलाई रहर लागेका कलरहरु लगाउँदा पनि टिक्छ । यदि कपाल टुक्रिने र तन्किने गरी बिगारिसकेको छ र कलरचाहिँ फेसनेबल चाहियो भनेर कलर गरियो भने कपालले थेग्दैन । यस्तो अवस्थामा आउनेलाई नलेज भएको पार्लर हो भने ‘तपाईं अहिले कलर नहाल्नुस्, कपालले थेग्दैन, स्याहार्नू अनि राम्रो भएपछि हाल्नू‘ भन्ने सल्लाह दिन्छन् । तर नलेज छैन भने त ‘पैसा आउने काम हो, गदिआंै न त‘ भन्नेहरु पनि हुन्छन् । यसो गर्दा भएको कपाल पनि जान सक्छ । त्यस कारण कपालको स्याहार र बचाउका लागि बेलैमा ध्यान दिएमा पछि आउने कपालसमन्धी समस्यालाई पन्छाउन सकिन्छ ।
(लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्