१. नियमित रुपमा सिंगो अण्डा खाँदा युरिक एसिड बढ्ने, कोलेस्ट्रोल बढ्ने खतरा धेरै हुन्छ भन्ने सुन्दै आएको हो । तर अहिले आएर यो कुरा गलत हो, असर गर्दैन भन्ने पनि सुन्छु । वास्तविकता बताइदिन अनुरोध छ ।
– रमेश दवाडी, दादिङ ।
रमेशजी, युरिक एसिड तथा कोलेस्टेरोल बढ्ने कुरा खानेकुरामा पनि भर पर्छ । त्यस्तै कसै–कसैको वंशाणुगतरुपमा पनि कोलेस्टेरोल बढी पाइने गरेको हुन्छ । हामीले गर्न सक्ने भनेको पथपरहेजमा रहने हो । जेनेटिक रुपमा आएको कोलेस्टेरोललाई हाम्रो भूमिका केही हुँदैन । अण्डाको पहेँलो भाग बढी कोलेस्टेरोल तथा युरिक एसिड हुने भाग हो भने सेतो भाग बढी प्रोटिन हुने भाग हो । त्यसैले पहेँलो भाग कम सवेन गर्ने वा नखाने गर्न सकिन्छ ।
अर्को कुरा, कोलेस्टेरोलको मात्रा बढाउने यस्ता धेरै किसिमका खानेकुरा मनपरी खान पो नहुने हो त, यसो अलि–अलि अण्डा खानै नहुने भन्ने होइन । अलि–अलि त शरीरलाई पनि चाहियो नि ∕ हामीले ख्याल गर्ने भनेको जीवनशैलीमा सुधार हो । शारीरिक रूपमा सक्रिय हुने, नियमित व्यायाम गर्ने र शरीरको आवश्यकता अनुसार खाना खाने हो भने सबै ठीकठाक भैहाल्छ ।
२. पढ्न–लेख्न गाह्रो हुन थालेपछि जँचाएर चश्मा लगाउने गरेको छु । तर बेला–बेलामा चश्मा झर्ने, फुट्ने, मिस प्लेस हुने गर्दा कठिनाइ हुन्छ । यसको सट्टा आँखामा राख्ने लेन्स पनि पाइन्छ भन्छन् । के यो चश्माभन्दा बढी उपयोगी होला ? सुझावको लागि अनुरोध छ ।
– विवेककुमार ढकाल, इटहरी ।
विवेकजी, तपाईंले आफ्नो उमेरचाहिँ भन्नुभएन । सिद्धान्त त साधारण फ्रेमवाला चश्मा र आँखाको नानीमा लगाउने सानो शिशाको ‘कन्ट्याक्ट लेन्स’ को काम उही भए पनि लगाउने तरिका, उद्देश्य अनि जिम्मेवारी फरक–फरक हुन्छ । जसलाई फ्रेमवाला चश्मा मन पर्दैन उनीहरुले कन्ट्याक्ट लेन्स लगाउँछन् ।
खास पर्दावाला नाटकका पात्रहरु वा विशेष सेलिब्रेटी व्यक्ति भएमा अथवा देखिने फ्रेमवाला चश्मा लगाउने इच्छा नभएमा त्यस्ता व्यक्तिले बढीजसो कन्ट्याक्ट लेन्स लगाउने गरेको पाइन्छ । तर कन्ट्याक्ट लेन्स लगाउँदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस किसिमको लेन्सलाई सधैँ विशेष किसिमले सफा गर्ने अनि विशुद्ध पानीमा राख्ने गर्नुपर्छ । सुख्खा हुनबाट बचाउनुपर्छ । लगाउँदा विशेष ख्याल गर्नुपर्छ । सफा हातले मिलाएर सीपसहित लगाउनुपर्छ ।
यसले कसै–कसैलाई एलर्जी हुन सक्छ वा बिजाउन पनि सक्छ । त्यसैले यसको प्रयोग गर्दा स्वास्थ्य सुरक्षाको विशेष ख्याल गर्नुपर्छ । यो लगाएपछि सम्बन्धित चिकित्सकसँग नियमित सम्पर्कमा हुनु पनि जरुरी छ । यदि कन्ट्याक्ट लेन्स मिलेन भने वा पावर परिवर्तन भएमा अथवा आँखामा फिट नभएमा फेरि दोहो¥याएर मिलाउनुप¥यो । त्यसैले फ्रेमवाला चश्माभन्दा यो लेन्स लगाउन अलि झन्झटिलो हुन्छ । जहाँसम्म झर्ने, फुट्ने वा हराउने भन्ने कुरा असावधानीको कारणले हुने हो, ख्याल गर्ने हो भने यसलाई खासै समस्या मानिदैन । उपयोगिता तथा छनोट भन्ने कुरा आ–आफ्नो विचार हो । त्यसैले विशेषज्ञको परामर्शमा चाहेको लेन्स वा चश्मा लगाएर लेखपढ गरी प्रफुल्ल हुनुहोस् ।
३. म ३१ वर्षको मात्र भएँ । मेरो कतै–कतै कपाल फुल्न लागेको छ । यो उमेरमै कपाल फुल्दा चिन्ता लाग्नु स्वाभाविक नै हो । यसको रोकथामका लागि मैले के गर्नुपर्ला ?
– शिवकुमार, बनेपा ।
शिवकुमारजी, यो उमेरमा तपाईंको कपाल फुल्नु भनेको नर्मल कपाल फुलाइ पक्कै होइन । यसलाई प्राकृतिकरुपमा अर्थात् नर्मल अवस्थामा ल्याउने उपाय पनि अहिलेसम्म पत्ता लागेजस्तो लाग्दैन । यदि कालो कपालकै चाहना भएमा त्यसलाई कलर गर्ने मात्रै उपाय छ । कताकति मात्र कपाल फुलेको भए त्यसलाई मतलब नगर्नुस् । कपाललाई जस्तो छ त्यस्तै रहन दिनुस् । त्यत्तिकै राख्दा कलरबाट हुने साइड इफेक्टको डर पनि भएन । मेरो सल्लाह मान्नुहुन्छ भने कपालको चिन्ता नगरी सधैँ सकारात्मक सोच्नुस् ।
४. मेरी ९ वर्षकी छोरीको खुट्टा (घुँडामुनि) अलि बांगोजस्तो देखिन थालेको छ । पहिला यस्तो थिएन । के कारणले यस्तो हुँदै गयो होला ? यसको उपचारका लागि कहाँ सम्पर्क गर्ने होला ? उचित सल्लाह पाए आभारी हुने थिएँ ।
– मिथिला श्रेष्ठ, साँखु ।
मिथिलाजी, पहिले–पहिले यो उमेरमा भिटामिन ‘डी’को कमी भएर रिकेट्स भन्ने हुन्थ्यो अनि खुट्टा बांगिएकाहरु छ्यापछ्याप्ती भेटिन्थ्यो । आजकल यो समस्या एकदमै कम भेटिन्छ । हुन त तपाईंको भनाइ अनुसार रिकेट्स नहोला भन्न पनि सकिएन । तर अन्य हड्डीको समस्या भएर पनि त्यस्तो भएको हुन सक्छ । तपाईंहरु यहीँ काठमाडौंमै भएकाले र अर्थोपेडिक अस्पताल पनि त्यहीँ जोरपाटीनजिकै हुनाले त्यहाँ गएर हड्डी विशेषज्ञलाई भेटी परामर्श लिन सल्लाह दिइन्छ । मुख्य कुरा, ढिलो नगरी छिटो जानुहोला । समयमा निदान एवं उपचार भएमा उपचार प्रभावकारी र पूर्ण हुनेछ ।
५. मैले उच्च रक्तचापको औषधि सेवन गरिरहेको २ वर्ष भयो । रक्तचाप नियन्त्रणमै छ । तर खुट्टा सुन्निने र पोल्ने समस्याले छोडेन । यो समस्या औषधिको कारणले उत्पन्न भएको हो कि ? अब मैले यसको उपचार कसरी गराउने होला ?
– हरिराज, ललितपुर ।
हरिराजजी, उच्च रक्तचापको समस्या भएर तपाईंले यसको औषधि नियमित सेवन गरिरहनुभएको रहेछ । औषधि सेवनपछि रक्तचाप नियन्त्रणमा आएको राम्रो पक्ष हो । जहाँसम्म खुट्टा सुन्निने अनि पोल्ने समस्या छ त्यो कुनै रक्तचापको औषधिको साइड इफेक्ट हुन पनि सक्छ । अन्य शारीरिक समस्याले पनि यस्तो हुन सक्छ । साथै मुटुको समस्या वा मृगौलाको समस्याले पनि यो लक्षण देखिन सक्छ । तपाईंले खाएको औषधिको नाम थाहा नभएकोले यही नै कारण हो भन्नचाहिँ सकिएन । बढी सम्भावना रक्तचापको औषधिसँग भएकोले उपचार सहज छ, औषधि परिवर्तन गरे सबै ठीक भइहाल्छ । त्यसैले नजिकैको अस्पतालमा गएर मुटुरोग विशेषज्ञसँग भेट्नुस् । उहाँले अवश्य पनि तपाईंको समस्या समाधान गरिदिनुहुनेछ ।
६. म मधुमेहको समस्या भएको व्यक्ति हुँ । नियमितरुपमा यसको औषधि सेवन गरिरहेको छु । मधुमेह भएकाले यो पनि खानुहुँदैन, त्यो पनि खानुहुँदैन भनेर परिवार, साथीभाइले मलाई तर्साउने गर्छन् । आखिर मधुमेहीले खानै नहुने र खान हुने के–के हुन् त ? सल्लाह–सुझाव पाऊँ ।
– सीताराम खतिवडा, नारायणगढ, चितवन ।
सीतारामजी, मधुमेहीले खान नहुने भन्ने केही हुँदैन, सबै खान हुन्छ । तर मात्र खानेकुराको मात्रा अनि चिनीको गुणात्मक स्तर (ग्लाइसेमिक इन्डेक्स) हेरेर खानुपर्ने हुन्छ । शरीरको आवस्यकता, जीवनशैली, शारीरिक तौल, शारीरिक सक्रियता सबै हेरेर कति ऊर्जायुक्त खाना चाहिन्छ भन्ने निक्र्योल गरी पोषणविदले खानाको मेनु दिन्छन् ।
सोही अनुसार खाने हो र खुवाउने हो । सधैँ सुगर बढाउन सक्ने खानाहरु जस्तो– भात, चिउरा, आलु, चिनी, मिठाईजस्ता खानेकुरा खान नहुनेमा पर्छन् । साथै सुगर नबढाउने खानामा त्यति कडाइ नहुने हुन्छ । स्वतन्त्ररूपमा खान पाइने हुन्छ । मिलाएर खानु अनि हिँडडुल गर्नु आफैंमा उपचार नै हो, कुनै ट्याब्लेट खाएसरह नै यसको फाइदा हुने अध्ययनले देखाएको छ ।