‘मेरो दायाँ हात दुखेर चलाउन सकिन, गर्दनमा गाह्रो भइरहेको छ, कम्मर दुख्ने समस्या छ ।’ आजकल अफिसमा काम गर्ने र विद्यार्थीहरुले यस्तो किसिमको गुनासो गर्ने गरेका छन् । युवा अवस्थामा नै यस्तो समस्या किन पर्छ होला ? भन्ने कतिपयको मनमा लाग्ने गर्छ । अहिले यस्तो किसिमको समस्या वृद्धि हुनुमा मोबाइल, आइप्याड र कम्प्युटरको अधिक प्रयोग हुनु हो भन्ने कुरामा विशेषज्ञहरु एकमत हुन थालेका छन् ।
मेरुदण्डको समस्याले कसै–कसैलाई रिँगटा लाग्ने, कहिलेकाहीँ हात झमझम गर्ने हुन्छ ।
हाडजोर्नी विशेषज्ञहरुका अनुसार ढाड, घाँटी दुख्ने समस्या भएर उपचारका लागि आएका २५–३० वर्षका युवायुवतीहरुको दैनिक जीवनशैलीबारे जानकारी लिँदा उनीहरु दिनरात कम्प्युटरमा झुकेर काम गर्ने गरेको पाइन्छ । पहिले–पहिले ढाड, घाँटी दुख्ने समस्या भएर उपचारका लागि आउने बिरामीहरुको उमेर प्रायः ५० वर्षभन्दा माथि हुने गरेको उनीहरुको अनुभव छ ।
उनीहरुको भनाइ अनुसार हाल कम उमेरका युवायुवतीहरुलाई पनि यस्तो भएपछि यसको कारण के हो भनेर अनुसन्धान गर्दा एकै ठाउँमा एउटै आसनमा धेरैबेर बस्ने, एउटै तरिकाले काम गरिरहने, हिँडडुल नगर्ने गरेको पाइएको छ । यसरी ढाड, घाँटीको समस्या हुनेहरुमध्ये कतिपयमा त यस्तो जटिलता आएको छ कि उपचारले सामान्य अवस्थामा फर्र्काउनै गाह्रो हुन्छ ।
यस्तो समस्या नेपालमा मात्र होइन भारत, चीन, युरोपियन मुलुकलगायत अमेरिकामा पनि वृद्धि भइरहेको छ । गर्दन दुख्ने, रिँगटा लाग्ने, टाउको भारी हुनेजस्ता समस्या त अहिले अफिसमा काम गर्नेहरुमध्ये धेरैलाई हुने गरेको पाइन्छ । यति मात्र होइन, मोबाइल चलाइरहने लत लागेका घरमा रहने महिला तथा पुरुषहरुलाई पनि यस्ता समस्या बाक्लै देखिने गरेको छ ।
ढाड, घाँटी दुखेर उपचारका लागि जाने व्यक्तिहरुको दिनचर्या र जीवनशैलीका बारेमा सोधेपछि थाहा हुन्छ कि कम्प्युटर र मोबाइलमा धेरै समय बिताउने, शारीरिक व्यायाम नगर्ने, एउटै आसनमा बसिरहने उनीहरुको बानी हुन्छ । साथै उनीहरुमा हिँडडुल गर्न फुर्सद नहुने, काम तथा कार्यक्रमले गर्दा व्यस्त भइरहेका जस्ता निहुँ देखाउँछन् । यसले गर्दा उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा समेत खराब असर परिरहेको हुन्छ ।
अरु केही वास्ता नगरी लगातार कार्यालयमा र घरमा बस्दा कि कम्प्युटर, कि मोबाइल चलाएर बसिरहने बानी भएकालाई ‘इन्टरनेट, मोबाइल कुलत’ भएको भनेर मान्न थालिएको छ । कम्प्युटर, मोबाइल चलाउँदा एउटै आसनमा बसेपछि देखा पर्ने समस्याले अब बिस्तारै महामारीको रुप लिन थालेको छ । कोरोनाको महामारीपछि यो समस्याले बालबालिकालाई पनि गाँज्न थालेको छ ।
यस्तै कार्यालयमा काम गर्ने व्यक्तिहरु मात्र नभई गृहिणीमा पनि उमेर नपुग्दै त्यस्तै समस्या देखिन थालेको छ । कतिपय महिलाहरु काम सिद्धिएपछि घरमा मोबाइलमा सामाजिक सञ्जालमा गफ गर्ने, फेसबुक मात्र चलाएर पनि बस्ने गरेका छन् । घरमा पनि सहायता गर्ने मानिसहरु भएकोले अहिले गृहिणीहरुलाई धेरै शारीरिक काम गर्न पर्दैन । उनीहरुलाई धेरै फुर्सद हुन्छ अनि बिस्तारै ‘फेसबुक इन्टरनेट कुलत’ समस्या शुरु हुन थाल्छ । कतिपले त यसको लतमा फसेर बालबालिकालाई ख्वाउन, पिलाउन, स्याहार गर्न पनि बेवास्ता गर्न थालेका छन् ।
मोबाइल, कम्प्युटर वा अरु कुनै कारणले शरीर दुख्ने, गर्दन दुख्ने समस्या हुनेले धेरै हलचल नगरी धेरैबेर कम्प्युटर वा मोबाइल चलाएर एउटै पोजिसनमा बसेपछि त्यो समस्या झन् बढ्दै जान्छ । शुरुमा गर्दनको मांसपेशी कक्रक्क हुन्छ, अनि यो वास्ता नगरेपछि दुख्न थाल्छ । त्यो पनि औषधि खाएर सहिन्छ अनि बिस्तारै घाँटी र ढाडको हड्डीको आकार परिवर्तन हुन्छ । लगातार यसो हुँदा त हड्डी खिइँदै नसामा असर पर्छ । कहिलेकाहीँ त निको हुन नसक्ने अवस्था पनि पुग्छ ।
घाँटी कक्रक्क पर्न थाल्यो र दुखाइ शुरु भयो भने यसको उपचारका लागि ढिलो नगरी सोचविचार गरिहाल्नुपर्ने सम्बन्धित चिकित्सकहरुको राय छ । यो भनेको आराम, व्यायाम गर्नुको साथै मोबाइल र कम्प्युटर हेर्दा आसन परिवर्तन गरिरहनु हो । साथै लगातार कम्प्युटरमा काम नगर्नु पनि हो । यदि यसलाई पनि बेवास्ता गरिए बाँचुन्जेल दुख्ने समस्या हुने सम्भावना हुन्छ । यसरी उपचार गर्दा पनि कहिलेकाहीँ सामान्य अवस्थामा फर्किन नसकिने गरी खिइएको हड्डीले गर्दा दुःखचाहिँ भइरहन्छ ।
त्यसैले यस्तो समस्याको रोकथाम गर्नु नै एकमात्र उपाय हो । यसमा ‘कम्प्युटर, मोबाइलको कुलत’ बाट बच्नु महत्वपूर्ण उपाय हो । साथै व्यायाम, हिँडाइ आदि शारीरिक सक्रियता गर्नु पनि आवश्यकता नै हो । मानिसको गर्दनमा भएको मेरुदण्डका हड्डीहरु चलाइराख्नुपर्छ । बोल्दै, हिँड्दै, हाँस्दै गर्दा हामीले थाहा नै नपाई ती चलिरहेका हुन्छन् । तर निहुँरिएर एकोहोरो मोबाइल चलाउँदा वा कम्प्युटर चलाउँदा वा अरु कुनै काम गरिरहँदा मेरुदण्डको त्यो भाग राम्ररी चल्न पाउँदैन । यसरी चल्न नपाउँदा त्यसलाई बोझ पर्छ । अनि बिस्तारै दुखाइ शुरु हुन्छ ।
मेरुदण्डले मस्तिष्कलाई स्नायु प्रणालीसँग जोड्ने भएकोले हड्डीमा समस्या उत्पन्न भए पूरै शरीरमा समस्या पर्छ । तर यो सामान्य तथ्य प्रायः हामीलाई थाहा हुन्न । योचाहिँ जटिल अवस्थामा पुगेको लक्षण हो । यस्तो भएपछि उपचारमा निकै समय लाग्ने र उपचार नै गर्दा पनि पूर्ण ठीक हुने सम्भावना कम हुन्छ ।
यसबाट जोगिने कसरी त ?
-जति व्यस्त भए पनि आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने आत्मसात् गर्ने ।
-लामो समय कम्प्युटर वा मोबाइल नचलाउने । एउटै आसनमा बसेर लगातार काम नगर्ने, बालबालिकालाई पनि सानैदेखि यस्तो कुलत नलागोस् भनेर हिँड्ने, खेल्ने, उफ्रिने प्रोत्साहन गर्ने । घर बसेको बेला जति मोबाइल हेर्न दिए पनि हुन्छ, जति कम्प्युटर चलाए पनि हुन्छ भन्ने विचार ठीक होइन ।
-हरेक घण्टा काम गरेको ठाउँबाट उठेर केही बेर घाँटी, ढाड, पाखुरा चलाउने, मेचमा बसेर गर्ने योगासन समय–समयमा गर्ने । अफिसमा नै साथीहरुसँग कुरा गर्दा फोनबाट होइन, भेटेर नै कुरा गर्ने ।
-कुर्सीमा बस्दा खुट्टा भुइँमा छोएको हुनुपर्छ ।
– काम गर्दा सामान्य खालको कुर्सीमा ढाड सीधा राखेर बस्ने, लगातार निहुँरिएर काम नगर्ने ।
-हरेक दिन बिहान र बेलुका घरमा घाँटी, ढाड, औँलाको उत्तम व्यायाम गर्ने ।
अफिसमा लगातार कम्प्युटर र मोबाइल चलाउँदा ढाड र गर्दनमा मात्र नभई आँखामा पनि समस्या बढेको आखाँका डाक्टरहरुले भनेको सुनिन्छ । बालबालिकाले पनि लगातार कम्प्युटर र मोबाइल प्रयोग गर्दा चश्मा लगाउनुपर्ने समस्या हुन्छ । लामो समय कम्प्युटरमा हेरिरहँदा आँखामा सुख्खापन हुन्छ । खास गरी अनेक खेल खेल्ने बच्चाहरुको टाढा नदेखिने समस्या (मायोपिया) बढ्दै गरेको देखिन्छ । प्रविधिले मानिसलाई स्वस्थ बनाउनुपर्ने हो तर अविवेकशील तरिकाले प्रयोग गर्दा दुःख दिन थालेको छ ।
किन आँखा खराब ?
कम्प्युटरमा काम गर्दा लामो समयसम्म एकै ठाउँमा हेर्दा सामान्यतया आँखाको परेला धेरै झिम्काइन्न । त्यसले गर्दा आँखाका मांसपेशी थाक्छन् । सुख्खापन बढ्छ । अनि आँखा दुख्न शुरु हुन्छ । टाउको भारी हुन्छ अनि काममा बाधा हुन्छ ।
आराम, ब्यायाम नगरी दिनमा दुई घण्टाभन्दा बढी लगातार कम्प्युटरमा काम गर्नेहरुलाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’ हुन्छ भन्ने नेत्ररोग विशेषज्ञहरुको भनाइ छ । तर आँखा सुख्खा हुने, पोल्ने, बिझाउने समस्या नहोस् भनेर यी उपायहरु प्रयोग गर्दा आँखा र शरीर दुवैलाई फाइदा गर्छ ।
-लामो समयसम्म कम्प्युटरमा काम गरी नरहने, बीच–बीचमा आँखालाई आराम दिने । यसको अर्थ कम्प्युटरमा बसेको ठाउँबाट उठेर हिँड्ने, आँखाको व्यायाम गर्ने । काम गरिरहँदा पनि बीच–बीचमा आँखालाई आराम दिन हातले आँखा छोप्ने र आँखाको व्यायाम गर्ने ।
-काम गरिरहँदा परेला झिमझिम गरिरहने ।
-आँखा सुख्खा हुने वा बिझाउँदा आँखामा सुख्खा हुन नदिने औषधिका थोपाहरु हाल्ने ।
-चश्माको पावर ठीक छ वा छैन जाँच गर्ने ।शरीर र आँखा स्वस्थ रहे मात्र आनन्दको जीवन बिताउन सकिन्छ भनेर मोबाइल र कम्प्युटरको लत नलागोस् भन्नेतिर विचार गर्ने कि ?
(विभिन्न अनुसन्धान रिपोर्ट र समाचारहरुमा आधारित)