मानव दुग्ध बैंक किन चाहियो ?



भगवती तिमल्सिना

सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा ‘परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने’ उल्लेख गरेको छ । मानव मिल्क बैंकका सम्बन्धमा सो अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलगायत अन्य सम्बन्धित विज्ञसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :
मानव मिल्क बैंक भनेको के हो र किन आवश्यक छ ?

मानव मिल्क बैंक भनेको आमाको दूध नआएर खान नपाएका बच्चाहरुलाई खुवाउने उद्देश्यले निरोगी आमाबाट संकलन गरिएको दूध प्रशोधन गरी जम्मा गर्ने व्यवस्थित स्थान हो । आमाको दूध खान नपाएका बच्चालाई मिल्कबैंकको दूध खुवाउँदा बच्चा स्वस्थ हुनुका साथै बाल मृत्युदर घट्छ । यसकै लागि सरकारले धेरै बच्चा जन्मने प्रसूति गृहमा मिल्क बैंक स्थापना गरेको हो ।
यो नेपालको लागि आमाको दूध संकलन गर्ने पहिलो दूध बैंक हो । यो परियोजनालाई नेपाल सरकार, संघीय तथा स्थानीय सरकारले पनि निःसन्तान उपचार सेवाजस्तै बिस्तारै विस्तार गर्दै लान जरुरी छ । आमाको दूध खुवाउने विषयलाई प्राथमिकता दिई कृत्रिम दूधलाई निरुत्साहित गराउन, विज्ञापनहरु बन्द गराउन सरकार लाग्नुपर्छ र अनुगमन पनि निरन्तर हुनुपर्छ ।

मानव मिल्क बैंकको व्यवस्थापन कसरी गरिन्छ ?
मिल्क बैंक स्थापना गरेपछि यसका लागि आवश्यक पर्ने सीएलएमसी मेनेजर, एकजना नर्सिङ इन्चार्ज, पाँचजना परामर्शदाता राखिएको छ । आमाको दूध सजिलै निकाल्न १२ वटा पम्पहरु राखिएको छ । यसको सञ्चालन र व्यवस्थापनलाई चुस्त–दुरुस्त राख्ने प्रयत्न भएको छ । दिनमा ७ सय एमएलदेखि डेढ लिटरसम्म आमाको दूध संकलन गरिन्छ । आमाको दूध भनेको नवजात शिशुका लागि अमृत हो । आमाको दूधको थोपा–थोपाको महत्व छ ।

बच्चा जन्मिएपछि कृत्रिम दूध खाँदा त्यसले बच्चाको आन्द्रामा असर गर्ने, संक्रमण गराउने, झाडापखाला लाग्ने र बच्चाहरु कुपोषण हुने समस्या आउँछ । आमाको दूधमा पोषण युमिनोग्लोबेलिडदेखि भिटामिन आएको हुन्छ । शुरुको दूधमा बच्चाको शरीरको प्रतिरक्षाका लागि आवश्यक पर्ने सबै तत्व रहेको हुन्छ । बच्चालाई आमाको दूध खुवाउनु जरुरी भएकोले मिल्क बैँक स्थापना गरिएको हो ।
मिल्क बैँकमा संकलन गरिएको दूध एनआईसीयु, आईसीयुमा बसेका बच्चाहरुका साथै आमाहरु आईसीयुमा बसेका कारण दूध खान नपाएका शिशुलाई प्राथमिकता दिएर खुवाइन्छ ।

शिशुको मुख्य आहार भनेकै आमाको दूध हो

– डा. कल्पना उपाध्याय सुवेदी
बालरोग विशेषज्ञ, नवजात शिशु विभाग प्रमुख, प्रसूति गृह
विश्व स्वास्थ्य संगठनले
दिएको स्वास्थ्यको गाइडलाइन अनुसार पनि भर्खर जन्मेको नवजात शिशुको मुख्य आहार भनेकै आमाको दूध हो । सबै बच्चाले कुनै न कुनै कारणले आमाको दूध खान नपाउन पनि सक्छन् । पहिलो प्राथमिकता भनेको नवजात शिशुलाई आमाको स्तनबाट चुसाउने हो । बच्चाले आमाको दूध चुस्न सक्दैन भने आमाले आफ्नो स्तन निचोरेर त्यही दूध बच्चालाई दिनु दोस्रो उत्तम उपाय हो । त्यो पनि सम्भव भएन भने बच्चा बिरामी हुन्छ । दूध चुस्न नसकेपछि आमाको दूध आउँदैन । यस्ता बच्चालाई आफ्नो आमाको दूध नआएको अवस्थामा अरुको आमाको भए पनि दूध निकाली प्रशोधन गरेर दिने तेस्रो उपाय अपनाउनुपर्छ ।
प्रोटिन बढी हुने भएकाले गाई–भैँसीको दूध शुरुमा दिनुहुन्न भन्ने नीति छ । यो बैंक स्थापना हुनुअघि प्रसूति गृहमा पनि आफ्नो आमाको दूध आएन भने बट्टाको दूध नै खुवाउनुपर्ने बाध्यता थियो । वि.सं. २०७९ भदौ महिनामा प्रसूति गृहमा मिल्क बैंक स्थापना भएपछि अरु आमाको दूधलाई प्रशोधन गरेर बृहत् स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ ।
यो बैंकले तीनवटा काम गर्छ । पहिलो काम हरेक बच्चाले आफ्नो आमाकै दूध पाओस् । जन्मेको एक घण्टाभित्र आमाको दूध चुसाइसक्नुपर्छ भन्ने मान्यताको पालना गर्नु÷गराउनुपर्छ । दोस्रो यदि कुनै आमाले आफ्नो बच्चालाई दूध खुवाउन सक्नुभएन भने तिनै आमाको दूधलाई निचोरेर सुरक्षितसँग फ्रिजमा राखी बच्चाले खान सक्ने भएपछि त्यो दूध खुवाउनुपर्छ । तेस्रो भनेको अरु आमाको दूध संकलन गरी प्रशोधन गर्ने प्रणाली अपनाएर थोरै–थोरै गरेर बच्चालाई खुवाउनुपर्छ ।
प्रसूति गृहमा दिनमै सयजनासम्म बच्चा जन्मिन्छन् । केही शल्यक्रिया गरेर जन्मेका बच्चा, शुरुको अवस्थामा आमाको दूध नै नआउने, तौल कम जन्मेका बच्चालाई प्राथमिकतामा राखेर दिनुपर्छ । प्रसूति गृहमा आईसीयुमै ४० बेड छ । यहाँ आमाको दूध तान्न नसक्ने बढी गम्भीर बच्चा हुन्छन् र उनीहरुलाई पहिलो प्राथमिकता हुन्छ । बच्चाले आमाको दूध नतानेपछि दूध नै बन्दैन । त्यस्ता बच्चालाई अमृतकोष (मिल्क बैंक) को दूध दिने हाम्रो प्राथमिकता हो । त्यसपछि मात्र अन्य बच्चालाई दिने हो ।
परामर्शकर्ताको काम र दाता कस्तो व्यक्ति हुन सक्छ ?
परामर्शकर्ताहरुले आमाहरुसँग प्रत्यक्ष भेटेर बच्चालाई दूध खुवाउन समस्या छ भने हेर्नुहुन्छ । कहिलेकाहीँ आमाको दूध गान्निएको हुन्छ । खुवाउने तरिका नै नमिलेर पनि बच्चाले राम्रोसँग दूध नचुस्दा आमाहरुले बच्चाले दूध खाएन भनेर विकल्प खोजेको पनि हुन्छ । दूध नआएका, धेरै आएका र समस्या भएका आमाहरुलाई बृहत् दूध संकलन केन्द्रमा ल्याई परीक्षण गर्ने र परामर्श दिने गर्नुहुन्छ । यदि आमाको दूध आउँछ भने खुवाउन सिकाउने, पम्पले निकालेर बच्चालाई पठाउने र धेरै भए आमाको स्वीकृति लिएर दान गर्न लगाइन्छ । यो पूर्णरुपमा मानवीय सेवा तथा धर्म हो । यसका लागि पाँचवटा परीक्षण गरिन्छ ।
पहिलो आमा गर्भवती हुँदा नै परीक्षण गरिने एचबीएसईजी स्क्रिनिड हेपाटाइटिस बी, एचआईभीको लागि परीक्षण गरेको हुन्छ । दोस्रो दीर्घ रोग नभएको टीबीको लागि परीक्षण भएको र नेगेटिभ रिपोर्ट आएको हुनुपर्छ । तेस्रो सामान्य रुघा, खोकी, ज्वरो आएको छ भने तत्कालका लागि दिन सक्नुहुन्न । चौथो आमालाई क्यान्सर छ, किमोथेरापी लिइरहनुभएको छ भने दिनुहुन्न । पाँचौँमा अंग प्रत्यारोपण गरेको छ, कुनै औषधि नियमित खाइरहेको छ, कुनै संक्रमण भएको छ भने दाता अयोग्य हुन्छ । यी सबै ठीक भए मात्र दाता बन्न सक्छन् ।

सुरक्षित बनाउने तरिका
पाश्चराइज, क्लिनिङ, अटोक्लेप गरेर त्यसलाई पनि स्टेरलाइज गर्र्छौं । स्टोरेजका लागि माइनस २० डिग्रीको र २ देखि ८ डिग्रीको फ्रिजसहितको चारवटा कोठा छन् । जसमा रजिस्ट्रेसन, एक्सप्रेसन, पास्चराइजेसन, लेबलिङ र अफिस छ । यसको निगरानीका लागि पाँचजना काउन्सिलर र एकजना मेनेजर हुनुहुन्छ । पोस्टनेटल वार्डका आमाहरु यहाँसम्म दान गर्न नआउने हुनाले नजिकै संकलन गर्ने कोठाको व्यवस्था गरिएको छ । यो अस्पतालबाहिर सुत्केरी भएको धेरै दूध आएर दान गर्न चाहने आमाको दूध पनि लिन्छौँ । तर बाहिर घरमा संकलन गरेको दूध भने लिँदैनौँ । किनकि जोखिमयुक्त बच्चालाई खुवाउन स्वास्थ्य सुरक्षाको दृृष्टिकोणले अस्पतालमै संकलन हुनुपर्छ । आफ्नो बच्चा राम्रो भएन, दूध आइरहेको छ र आमा दूध दान गर्न इच्छुक हुनुहुन्छ भने दिन सकिन्छ । भारतमा घरघरमै भ्यान गएर संकलन गर्ने गरेको पनि पाइयो । तर नेपालमा भर्खरै शुरु भएकाले हाललाई त्यो सम्भावना छैन ।

मानव दूध बैंक सञ्चालनका लागि धुलिखेल अस्पताल सक्षम छ

– डा. नारायणचरण श्रेष्ठ
बालरोग विशेषज्ञ, काठमाडौं विश्वविद्यालय,
धुलिखेल अस्पताल
धुलिखेल अस्पतालमा मानव दूध बैंक बनाउन प्रयास गरेका थियाँै । यो प्रस्तावना ल्याउँदा नेपालमा कुनै पनि मानव मिल्क बैंक थिएन र म आफैँले प्रस्ताव अघि सारेको थिएँ । तर त्यति बेला नेपालमा कानुन नै बनी नसकेकाले ५ वर्षअघि कानुनविद्को सहायतामा मानव मिल्क बैंकका बारेमा संसद्मा प्रस्ताव लगी कानुन पारित गरियो ।
कानुन पारित भएपछि स्वास्थ्य मन्त्रालय र पोषण विभागसँग समन्वय गरी एउटा प्रपोजल तयार पारेर पेस ग¥यौँ । विश्व स्वास्थ्य संगठनले पनि आमाको दूध नै बच्चाको लागि अमृतसरह हुने प्रमाणित गरेकाले यसैलाई आधार मानी सरकारलाई घचघच्यायौँ । यही अवधारणाका आधारमा प्रसूति गृहमा पहिलो मानव दूध बैंक स्थापना गरेको हो ।
यसमा दुई किसिमको सीसीएलएम र एलसीसीएम हुन्छ । एलसीसीएम भन्नाले जिल्ला स्तरमा आमाको दूध जम्मा गर्ने र ल्याक्टोजिनलाई विस्थापित गरेर आमाको दूध–मैत्री अस्पताल बनाउने हो । धुलिखेल अस्पतालले एलसीसीएम मोडलको प्रयास गरेको थियो, कोभिड १९ का कारण सफल भएन । अब हामी प्रसूति गृहसँग समन्वय गरी धुलिखेल अस्पतालमा पनि मिल्क बैंक स्थापना गर्ने प्रयासमा छाँै ।

आमाको दूध बच्चाका लागि प्रकृतिले दिएको अमृत हो । यसलाई सेतो रगत पनि भनिन्छ । आमाको दूध बच्चासँग रगतको नाता बढाउने प्रकृतिले दिएको वरदान नै हो । बच्चा जन्मिएपछि ६ महिनासम्म आमाको दूधले नै पुग्ने हुन्छ । बच्चालाई जति धेरै दूध चुसायो आमाको दूध त्यति नै आउँछ । आमाको दूधले बच्चाको शारीरिक विकास, मानसिक विकास हुन्छ । ल्याक्टोजिन, गाई–भैँसीको दूधले जति विकास हुनुपर्ने हो त्यति हुँदैन । मानव दूधको महत्व वैज्ञानिक रुपमै अति उत्तम प्रमाणित भएकाले दूध बैंक स्थापनाका लागि सरकारले नै अवधारणा अघि सारेको हो । काभ्रे जिल्लाका १३ वटा पालिकामा साना–ठूला धेरै नै बर्थिङ सेन्टर छन् । धुलिखेल अस्पताल रिफरल अस्पतालका रुपमा रहेको छ ।
यो कार्यक्रम कार्यान्वयनमा ल्याउन जनशक्ति र परामर्शदाताको परामर्श चाहिन्छ । यसमा बच्चा कसरी लिने, दूध कसरी खुवाउने भन्ने बारेमा तालिम दिइन्छ । तालिमप्राप्त जनशक्तिले बच्चालाई दूध खुवाउनुपर्छ । सरसफाइ, माइक्रोबायोलोजिस्ट लगायत सबैले यो गर्न धुलिखेल अस्पतालले योजना अघि सारेको छ । जहाँ एनआईसीयु छ त्यहाँ सप्लाइ गर्न सकिन्छ । जुन अस्पतालमा धेरै बच्चा जन्मिन्छन् र एनआईसीयु धेरै छ त्यो स्थान नै आमाको दूध बैंक स्थापना गर्न उपयुक्त हुन्छ । यो आधारमा धुलिखेल एकदमै उपयुक्त हुन्छ । यहाँ प्रतिमहिना २ हजार प्रसूति हुन्छन् । मानव दूध बैंकको अवधारणा विश्वमा अस्ट्रियाको राजधानी भियनाबाट १ सय वर्षपहिला वि.सं. १९०९ मा शुरु भएको हो । सरकारले धुलिखेल अस्पतालमा आमाको दूध बैंक राख्यो भने सञ्चालन गर्न सक्ने क्षमता छ । आमाको दूधबाहेक अन्य दूध खुवाउनेमा दिमागलगायत शारीरिक विकासमा कमी आएको प्रमाणित भएसँगै अमेरिकाले आमाको दूधमा जोड दिएको छ । विगत केही वर्षदेखि आमाको दूध बैंकमा राखेर खुवाउँदै छ ।
अरुको कोख भाडामा लिएर बच्चा जन्माउने र वास्तविक आमाहरुले दूध खुवाउने गरेका धेरै उदाहरण छन् । आमाको दूधको महत्व यति धेरै छ । बच्चालाई आमाकै दूध खुवाएर राम्रो मान्छे बनाउनुपर्छ । आफ्नै दूध खाएको बच्चा मात्र आफ्नो हुन्छ । वास्तवमै आफ्नो बच्चा बनाउन आमाकै दूध खुवाउनुपर्छ । नेपालको आमाको एन्टिबडी अत्यन्तै राम्रो छ भन्नेबारेमा जापानले अनुसन्धान गरेर प्रमाणितसमेत गरिसकेको अवस्थामा आमाहरुले भने ल्याक्टोजिन खुवाउनेतर्फ आकर्षित हुनु दुःखद कुरा हो ।

प्रतिक्रिया दिनुहोस्