के हो महिनावारी सरसफाइ ?



प्रा. डा. सुमनराज ताम्राकार स्त्रीरोग विशेषज्ञ

महिनावारीसम्बन्धी भ्रम चिर्न, अन्धविश्वास हटाउन तथा स्वस्थ महिनावारी व्यवस्थापनबारे जनचेतना जगाउन सन् २०१४ देखि प्रत्येक वर्ष मे २८ को दिनलाई महिनावारी सरसफाइ दिवसको रुपमा मनाउने गरिन्छ । महिनावारीसम्बन्धी गलत प्रचलनविरुद्ध मौनता तोड्नका लागि यसरी सामाजिक सञ्चार अभियान चलाउन थालिएको हो । मे महिना पाँचौँ अंग्रेजी महिना भएको र बढीजसो महिलाको मासिक चक्र २८ दिनको हुने कारण पनि मे २८ का दिन प्रतीकात्मक रुपमा यो दिवस मनाउन थालिएको हो ।

महिनावारी सामान्यतः स्वस्थ जैविक प्रक्रिया हो । महिलाको जननेन्द्रियबाट प्रत्येक महिना रगत निस्कने प्रक्रियालाई महिनावारी, मासिक श्राव, मासिक धर्म वा रजस्वला भन्ने गरिन्छ । किशोरी अवस्थामा पुगेपछि प्रत्येक महिना पाठेघरको छेउका डिम्बाशयमा रहेका डिम्ब परिपक्व हुँदै मासिक चक्रको मध्यतिर एउटा डिम्ब निष्कासन भई डिम्बवाहिनी नली हुँदै पाठेघरमा पुग्छ ।

यसका लागि डिम्बाशयबाट उत्पादन हुने इस्ट्रोजेन नामक हर्मोनको मुख्य भूमिका हुन्छ । यसै हर्मोनको प्रभावले पाठेघरको भित्री तह पनि बाक्लिँदै जान्छ । मासिक चक्रको दोस्रो भागमा प्रोजेस्टेरोन नामको अर्को हर्मोनले थप बल प्रदान गर्दछ । तर डिम्ब निष्कासन भैसकेपछि कारणवश शुक्रकीटको संसर्गमा नआई गर्भ नरहेमा प्रोजेस्टेरोन हर्मोन उत्पादन हुने प्रक्रिया कम हुँदै जानुका साथै पाठेघरको भित्री तह भत्किन शुरु हुन्छ, जुन महिनावारीका रुपमा योनिमार्ग हुँदै शरीरबाट बाहिर निस्किन्छ ।

पछिल्लो समयमा पौष्टिक खानेकुराको उपलब्धताका साथै आधुनिक सञ्चारमाध्यमको प्रभावले १०–११ वर्षकै उमेरमा महिनावारी प्रक्रियाको शुरुवात हुन थालेको छ । तर यससम्बन्धमा उनीहरुलाई उचित ज्ञान भएको भने पाइँदैन, जुन अति जरुरी छ ।

यससम्बन्धमा भारतमा एउटा सर्वेक्षण गरिएको थियो । सो अध्ययन अनुसार करिब ४२ प्रतिशत सहभागीलाई महिनावारी कसरी शुरु हुन्छ र स्यानिटरी प्याड के हो ? भन्ने कुरा थाहा नै नभएको पाइयो । नेपालको परिदृश्य पनि भारतको भन्दा खासै फरक छैन ।

प्रत्येक दिन विश्वभरिका १५ देखि ४९ वर्ष उमेर समूहका करिब ८० करोड किशोरी तथा महिलाहरुलाई रजस्वला भइरहेको हुन्छ । अधिकांश महिलाले आफ्नो जीवनको ६–७ वर्ष त रजस्वलामै बिताउँछन् । रजस्वलासम्बन्धी विषयको गहिराइ निकै नै छ ।

महिनावारीलाई लिएर विश्वभरि ५ हजारभन्दा बढी विभिन्न किसिमका अपशब्द प्रयोग गर्ने गरिएको छ । इरानका आधाजसो महिला तथा भारतका करिब १० प्रतिशत महिला महिनावारीलाई रोगका रुपमा लिन्छन् । यो कुरा हाम्रै देशका शहरवासी तथा शिक्षित वर्गलाई अनौठो लाग्न सक्छ । तर महिनावारी भएका बेला पँधेरामा पानी लिन जान नहुने, मन्दिरमा जान नहुने, पूजाआजामा सहभागी हुन नहुने, भान्छा एवं भण्डारकोठामा पस्न नहुनेजस्ता व्यवहार हाम्रै घरछिमेकमा अभैm पनि छ । सुदूर पश्चिम एवं कर्णाली प्रदेशमा विगतमा प्रचलित छाउपडी प्रथालाई स्वस्थ महिनावारीका दृष्टिले अस्वस्थ एवं असामाजिक कार्य मानिएको छ ।

महिनावारी भनिए पनि महिनावारी चक्र जहिले पनि प्रत्येक ३०–३० दिनमै हुन्छ भन्ने छैन । सामान्यतः २१ देखि ३५ दिनसम्ममा हुने महिनावारीलाई सामान्य मान्न सकिन्छ । तर महिनावारी हुने समय विशेष परिस्थिति अनुसार परिवर्तन भइरहन सक्छ ।

अत्यधिक मानसिक पीडा, थकान, लामो यात्रा, हावापानी, वातावरण फेरिँदा पनि महिनावारीको समयमा परिवर्तन आउन सक्छ । तर पनि स्वस्थ महिलाको महिनावारी रोकिने प्रमुख कारणचाहिँ गर्भावस्था हुन सक्छ भन्ने हेक्का राख्नुपर्दछ । कुनै–कुनै महिलामा अत्यधिक कुपोषण वा रक्तअल्पता भए पनि महिनावारी रोकिन सक्छ । यसका साथै तीन महिने सुई (डिपोप्रोभेरा), नरप्लान्टजस्ता गर्भनिरोधका साधनहरुका कारण पनि महिनावारी गडबडी हुन सक्छ । सुत्केरी भएपछि बच्चालाई दूध ख्वाइरहने महिलालाई पनि लामो समयसम्म महिनावारी नहुन सक्छ ।

महिनावारी हुँदा तथा हुनुअगावै पनि किशोरी तथा महिला विशेषलाई अनेक थरीका समस्या आइपर्न सक्छन् । खुट्टा कट्कटी खाने, टाउको दुख्ने, ढाड दुख्ने, स्तन भारी हुनेजस्तो हुने, डण्डिफोर आउने, तल्लो पेट दुख्ने, वाकवाकी लाग्ने हुन सक्छ । कतिपय महिलालाई भने महिनावारीअगावै रिस उठिरहने, जे कुरामा पनि झर्को लाग्ने, काम गर्न अल्छी लाग्ने हुन्छ, जसलाई महिनावारी हुनुभन्दा अगाडिको तनावका रुपमा लिइन्छ । मुख्य कुरा त महिनावारीको बेला रोगसँग लड्न सक्ने क्षमतामा पनि ह्रास आइरहेको हुन्छ ।

रजस्वलाका बेला यथोचित सररसफाइ गरिएन भने जननेन्द्रियमा नकारात्मक असर पुग्न सक्छ । त्यसैले पनि महिनावारीको बेला सरसफाइमा बढ्ता नै ध्यान दिइनुपर्दछ । विकासोन्मुख राष्ट्रका स्कुले छात्रा यसकै कारण महिनामा सरदर ५ दिन स्कुल छुटाउँछन् ।

शौचालयमा साधारण खालको छुट्टै बाल्टिन नभएका कारण प्रयोग गरिएका स्यानिटरी प्याड वरिपरि छरिएर वातावरण नै प्रदूषित हुने तथा यसका कारण किशोरीहरुकै बेइज्जती हुने गरेको छ । बंगलादेशमा सञ्चालित विद्यालयस्तरीय स्वस्थ रजस्वला सामग्रीसहितको स्यानिटरी कार्यक्रमले पनि छात्राहरुको स्कुल हाजिरीमा सकारात्मक प्रभाव देखिएको थियो ।

पछिल्लो समय किशोरीको लागि स्कुल तथा कलेजमा एवं कतिपय महिलाको कार्यस्थलमा महिनावारीको बेला सफा शौचालय, सफा पानी, हात तथा यौनाङ्ग धुन साबुन, सफा स्यानिटरी प्याड उपलब्ध हुन थालेबाट महिनावारीकै कारण स्कुल छुटाउने कार्यमा कमी आउन थालेको छ । तर पनि विश्वव्यापी तवरमा एक तिहाइ स्कुले किशोरीहरु सुविधाजनक शौचालयको पहुँचमा छैनन् ।

महिनावारीलाई महिलाको अपवित्र अवस्थाको रुपमा लिने चलन धेरै जातिमा छ । त्यसो त किशोरीमा महिनावारी शुरु हुनु भनेको उनीहरुको प्रजनन क्षमता परिपक्व हुनु तथा उनीहरु गर्भावस्थाका लागि तयार हुनु पनि हो । प्रकृतिको सामान्य नियम नबुझेरै महिनावारी हुँदा कतिपय खानेकुरा खान प्रतिबन्ध लगाउने र तिनलाई बेग्लै राख्ने चलन हामीकहाँ व्याप्त छ ।

नेपालका कतिपय जातिमा पहिलोपल्ट महिनावारी हुँदा किशोरीलाई अँध्यारो कोठामा राख्ने, पुरुषलाई छुन नहुने, हेर्न नहुने चलन छ । यो राम्रो चलन होइन । अभिभावकहरुले आफ्नो सन्ततिलाई महिनावारीबारे सही जानकारी दिनुपर्दछ । त्यसैले त कतिपय किशोरी पहिलोपल्ट महिनावारी शुरु हुँदा रुने, कराउने र आत्तिने गर्छन् ।

उनीहरुलाई आफ्नो यौनाङ्गको सरसफाइ कसरी गर्ने, कस्तो प्याड लगाउने वा कपडा प्रयोग गर्ने भन्ने सामान्य जानकारीसम्म पनि हुँदैन । यसैले यस्तो बेला लाजले तथा यौनाङ्ग कसरी सफा राख्ने भन्ने थाहा नपाउनाले धेरै किशोरीले संक्रमणको पीडाबाट गुज्रिनुपर्ने हुन्छ । महिनावारी हुँदा धेरै रगत बाहिर आएन भने यो रगत मुटुमा जान्छ र त्यहाँ जमेर मुटुको रोग लाग्छ भन्ने कुरा सत्य होइन ।

सारांशमा प्रत्येक ४ घण्टामा प्याड वा ट्याम्पुन फेर्नुपर्दछ । पुनः प्रयोग गरिने कपडा वा प्याड राम्ररी धोई पखाली गरेर सफा राख्नुपर्दछ । प्रत्येकपटक कपडा वा प्याड फेर्नुअघि सफा साबुन–पानीले यौनाङ्ग सफा गर्नुपर्दछ । एकैपटक दुईवटा प्याड प्रयोग गर्नु राम्रो होइन । यसले ४ घण्टाको अन्तरालमा प्याड फेर्नुपर्ने कार्यमा कमी ल्याई ब्याक्टेरिया वा ढुसीजन्य संक्रमणलाई बढावा दिन्छ । महिनावारीको बेला प्याड वा ट्याम्पुन प्रयोग गरेपछि सजिलो एवं सफा प्यान्टी लगाउने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्