के हामीले तीतो खानु जरुरी हुन्छ ?



डा. रामदेव पण्डित आयुर्वेद चिकित्सक

मानव शरीरको बल, वर्ण र व्याधि क्षमत्व सम्पूर्णतः उसले खाने खानामा निर्भर हुन्छ । हामीले खाने सबै खाले खाद्यपदार्थ पञ्चतत्व (आकाश, वायु, अग्नि, जल र पृथ्वी) ले बनेको हुन्छ । ती सबै पदार्थहरुमा षड्रस अर्थात् गुलियो, अमिलो, नुनिलो, पिरो, तीतो र टर्रोमध्येको कुनै न कुनै रस निहित हुन्छ ।

यसरी हेर्दा वास्तवमा शरीरको बल, वर्ण र व्याधि क्षमत्व आहारभित्रको षड्रसको नियन्त्रणमा हुन्छ । मानव शरीरको सम्पूर्ण जैविक प्रक्रिया एवं प्रतिक्रियाहरुलाई सन्तुलित राख्न षड्रस (६ प्रकारका रस) को महत्वपूर्ण भूमिका हुन्छ । अतः आहारमा षड्रसको प्रयोगसम्बन्धी ज्ञान सबैले बुझ्नु जरुरी हुन्छ ।

सामान्यतः मानिसले आफ्नो जिब्रोलाई प्रिय लाग्ने वस्तु मात्र खाने र अप्रिय लाग्ने वस्तुको बेवास्ता गर्ने गर्दछन् । जस्तै– करेला सोच्ने वा देख्नेबित्तिकै धेरैलाई करेलाको अप्रिय तीतो स्वादको याद आउँछ । तीतो स्वाद स्मरण हुनेबित्तिकै तिनीहरुले नखाने निर्णय गर्दछन् ।

तीतो स्वादकै कारण धेरैले करेला नखाने तरकारीको सूचीमा राख्छन् । के यसरी प्रकृतिमा पाइने तीतो फलफूल नखाएर पनि व्यक्ति स्वस्थ रहन सक्छ त ? तीतो खाद्यवस्तुको कुनै औचित्य नै छैन त ? औचित्य छैन भने त्यस्तो तीतो तरकारी किन खानुप¥यो त ? धेरैको मनमा यस्तो आउँछ पनि ।

करेला, नीम, चिराइतोलगायत अन्य तीतो हुने फलफूल वा औषधीय जडीबुटीको सम्पूर्ण बोट वा फल वा फूल तीतो हुनुको कारण त्यसमा हुने ‘मोमोरडिसिन’ नामक एक खालको तत्वले गर्दा हो ।

अप्रिल २०१३ मा एसिया प्यासेफिक जर्नल अफ ट्रपिकल डिजिजमा प्रकाशित भएको ‘एन्टी–डायबिटिक इफेक्टस् अफ मोमोडिका चरन्सिया एन्ड इट्स मेडिकल पोटेन्सी’ नामक अध्ययन रिपोर्टका अनुसार करेलामा २२५ प्रकारका औषधीय गुण भएका तत्व पाइन्छन् । यसबाट मानव जातिमा व्याप्त धेरै रोगको उपचार गर्न सकिन्छ । विशेषतः मधुमेह रोगमा करेलाले चामत्कारिक चिकित्सकीय लाभ दिन्छ । करेलामा एन्टी अक्सिडेन्टको मात्रा पनि अधिक रुपमा पाइन्छ ।
मानिसको जिब्रोमा हुने चार प्रकारको स्वाद पारखी विशेष कोषहरुको आधारमा आधुनिक चिकित्सा विज्ञानले चार थरी रसलाई मानेको पाइन्छ ।

गुलियो, अमिलो, नुनिलो र तीतो । आयुर्वेद अनुसार आहारमा पाइने रसको आधारमा आहारहरुलाई ६ प्रकारमा विभाजन गर्न सकिन्छ । गुलियो, अमिलो, नुनिलो, पिरो, तीतो र टर्रो यी छ रसलाई षड्आहार रस भनिएको छ । यी ६ वटै रसको मानव शरीरमा आ–आफ्नै खालको प्रभाव र कार्य हुन्छ । शरीरमा कुनै एकको सम्पूर्ण रुपले अभाव हुँदा शरीरको सञ्चालन ठीक ढंगबाट हुन सक्दैन । शरीरको सन्तुलित विकास र सम्यक स्वास्थ्यको लागि यी ४ वा ६ थरीकै स्वादहरु आवश्यक भएको हुने भएरै ती सबै स्वादलाई ग्रहण गर्ने विशेष कोषहरुको व्यवस्था प्रकृतिले मानव जिब्रोमा गराएको हो ।

शरीरमा अम्लीय (एसिडिक) खानालाई जसरी क्षारीय (अल्कलाइन) खानपिनले सन्तुलित बनाउँछ, त्यसरी नै रसहरुका बीचमा पनि एउटा रसले अर्को रसको सन्तुलन गर्ने काम शरीरमा गर्दछ । अमिलो रसको गुण नरम (स्निग्ध), तातो (उष्ण) र भारिलो (गुरु) हुने अनि त्यसको विपरीत तीतो रसको गुण खस्रो (रुक्ष), शीतल (शीत) र हलुका (लघु) गुण हुने हुँदा शरीरमा अमिलो रसयुक्त खानपिनको नकारात्मक प्रभावलाई तीतो रसयुक्त खानपानले सन्तुलन गर्दछ । त्यसरी नै मधुरसको सन्तुलन त्यसको विपरीत गुण भएको पिरो रस (कटु रस)ले गर्दछ भन्ने आयुर्वेदीय सिद्धान्त हो ।

पाञ्चभौतिक सिद्धान्त अनुसार पनि षड्रसमा फरक–फरक महाभूतको प्रधानता हुन्छ । तीतो रसमा अग्निको, टर्रो रसमा पृथ्वी र वायुको, पिरो रसमा आकाश र वायुको, गुलियो रसमा पृथ्वी र जलको, अमिलो रसमा पृथ्वी र अग्निको र नुनिलो रसमा जल र अग्निको प्रधानता रहेको हुन्छ । त्यसरी सबै रसमा फरक–फरक भौतिक संगठन भएको हुँदा सबै रसको आ–आफ्नै विशिष्ट महत्व र कर्म हुन्छ, जसको आपूर्ति अन्यत्रबाट सम्भव हुन्न ।

प्रायः धेरैले नखाने तितेकरेला एक अद्भूत तरकारी हो । हेल्थलाई डट्कमका अनुसार ९४ ग्राम (एक कप) करेलामा २० क्यालोरी ऊर्जा प्राप्त हुन्छ । त्यसबाहेक ४ ग्राम कार्बोहाइड्रेट र २ ग्राम फाइबर पाइन्छ । यस्तै गरी दैनिक रुपमा ग्रहण गरिनुपर्ने कुल भिटामिनहरुमध्ये एक कपबाट ९३ प्रतिशत भिटामिन सी, ४४ प्रतिशत भिटामिन ए, १७ प्रतिशत फोलेट, ८ प्रतिशत पोटासियम, ५ प्रतिशत जिंक र ४ प्रतिशत आइरन प्राप्त गर्न सकिन्छ ।

मधुमेहको उपचारमा करेलाको फलभन्दा विशेष

रुपले करेलाको बीउको सेवन अधिक लाभकारी मानिन्छ । बीजलाई प्राकृतिक इन्सुलिन नै मानिन्छ । त्यसको अलावा बीजमा उड्डयनशील तेल पनि पाइन्छ, जसमा ६० प्रतिशतसम्म इल्योस्टिेरिक एसिड पाइन्छ । त्यस बीजको तेलको प्रयोग उल्टी रोक्न, अल्सर उपचार गर्न, भाइरल रोगको उपचार गर्न, पेटको हावा निकाल्न, ज्वरो घटाउन आदिका लागि पनि प्रयोग गरिन्छ ।‘जर्नल अफ इथ्नोफर्माक्लोजी’को जनवरी २०११ को अंकमा प्रकाशित एउटा शोधका अनुसार चिनी रोग (मधुमेह प्रकार

२) का बिरामीहरुले ४ हप्तासम्म २ हजार मि.ग्रा. करेलाको सेवन गर्दा रगतमा ग्लुकोजको तह व्यापक रुपमा सुधार आएको थियो ।करेला वा करेलाजस्तै तीतो फलफूलहरुले पनि अन्य विभिन्न किसिमका फाइदा दिन्छन् । जस्तो– भोक जगाउँछ, खाना रुचि बढाउँछ ।

जुसले शीतल दिन्छ, शरीरको तापक्रम घटाउँछ, हातखुट्टा पोल्नेलाई शान्त पार्छ । त्यस्तै कलेजोको बोसो कटाउँछ, रगतको विकार सफाइ गराई छालासम्बन्धी रोग ठीक पार्छ । तीते करेलाको पात पिसेर लेप बनाई लगाएमा छालाको सङ्क्रमण, चिलाउने घाउखटिरा हराउँछ, कब्जियत खोल्न सधाउँछ, पिसाब पोल्ने समस्यामा राहत दिन्छ, खराब कोलेस्ट्रोल घटाउँछ, तौल नियन्त्रण गर्दछ, पेटको जुका पनि मार्छ आदि ।

करेलाको अधिक रुपमा प्रयोग गर्दा समस्या पनि आउने हुन्छ । निम्न रक्तचाप हुने रोगीले सेवन गर्दा थप रक्तचाप घटाउँछ र बेहोससम्म गराउँछ । गर्भवती महिलाले तीते करेलाको सेवन गर्नु उचित मानिन्न । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ । अतः यसको सेवन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्दछ ।

छान्दोग्य उपनिषद्का अनुसार ‘आहार शुद्धौ सत्वशुद्धिः सत्वशुद्धौ ध्रुवा स्मृतः’ असल मन एवं बुद्धिका लागि शुद्ध एवं सन्तुलित खानपिन खाने गर्नुपर्छ । शुद्ध बुद्धिबाट नै सम्यक् स्मृति एवं जीवन प्राप्ति हुन्छ । यदि कसैले विचार र व्यवहार सही चाहन्छ भने आहार पनि यही अनुसार मिलाएर गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्