दमित यौनेच्छा र त्यसको असर



डा. राजेन्द्र भद्रा
अंग्रेजी दैनिक द काठमाडौं पोस्टको सन् २०१९ मे २४ मा छिरिङ गुरुङको प्रकाशित लेखमा बलात्कृत भएकी एक किशोरीले उक्त घटनापछि कोशिशको बाबजुद पनि भन्नै नसकेको कुरा छ ।
यही लेखमा अधिकारीहरूले ‘यस्ता यौनहिंसाका घटना भोगेका व्यक्तिहरु बोल्दैनन्’ भनेका कुरा पनि उल्लेख छ । त्यसै गरी परिवारले पनि यस्ता घटना वा प्रमाण मेटाउने कुरा उल्लेख गरिएको छ । एक सौन्दर्य प्रतियोगिताकी उपविजेता सुस्मिता रेग्मीले आफैँमाथि गरिएको बलात्कारका घटना बाहिर ल्याउन निकै लामो समयको अन्तरालपछि मात्रै सक्षम भइन् । त्यसै गरी सन् २०२१ मार्चमा प्रसिद्ध पत्रिका गार्जियनमा प्रकाशित एक रिपोर्टमा धेरै नै फरक किसिमको यौैन परिचय भएका व्यक्तिहरूले कार्यक्षेत्रमा आफ्नो यौन परिचय लुकाउने गरेको र यसमा वृद्धि भएको उल्लेख गरेको थियो ।
नेपालमा होस् वा अन्य देशमा, यौनसम्बन्धी कतिपय घटना सामाजिक मूल्य मान्यताको कारणले सहजरुपमा आफ्ना इच्छा, भावना अनि विचारलाई परिवार वा समुदायसामु ल्याउन सक्दैनन् । कतिपयले यसैसँग आउने यौन भावनालाई पनि सक्दो दबाएर राख्ने गर्दछन् । यसरी यौन भावना वा यौनेच्छा वा विचारलाई दबाएर राख्दा के–कस्तो असर पर्दछ ? छोटकरीमा चर्चा गर्ने प्रयास गरिँदै छ ।
इच्छाको दमन के हो ? 
विचार वा भावनाको सक्रिय दमन(supression)पनि एक किसिमको व्यक्तिको मनोवैज्ञानिक सुरक्षा प्रणालीको एक प्रकार हो । यसमा व्यक्तिले चेतनरुपमा अनिच्छित विचार र भावनालाई उसको सचेतनावाट नै हटाउने प्रयास गर्दछ । केही विशेष कार्य गर्दा यसले दायाँ–बायाँ अर्थात् विचलित नभईकन गर्न सहयोग गर्दछ । तनाव, चिन्ता वा अन्य नकारात्मक भावनाको सामना गर्न सहयोग गर्दछ ।
अचेतनरुपमा नै अप्रिय विचारहरू, भावनाहरू अनि आवेगहरूलाई दबाउने एक अर्को मनोवैज्ञानिक सुरक्षा प्रणालीलाई अंग्रेजीमा रिप्रेसन (repression) भनिन्छ र हामी त्यसलाई नेपालीमा स्वदमन भन्न सक्छौं ।
दमनको असर 
अनिच्छित विचार तथा भावनालाई व्यक्तिले दबाउने प्रयास गरे पनि कमै मात्र सफल हुन्छन् । कतिपय परिस्थितिमा यी अनिच्छित विचार र भावनालाई दबाउने क्रममा त्यसमा धेरै केन्द्रित हुँदा त्यसले नै  तनाव उत्पन्न गर्दछ । हामीले यसरी भावना वा विचारलाई दबाउँदा हामीलाई लाग्छ कि ती भावनाहरू हराएर जान्छन् र आफूलाई असर गर्दैन । तर दुर्भाग्यवश यस्तो हुँदैन, किनकि मानव मस्तिष्क त्यसरी काम गर्दैन । यसरी आवेगहरुलाई दमन गर्दा नकारात्मक
असरहरूलाई झनै बढाउने गर्दछ । 
यसबारे गरिएका अध्ययनहरूले निम्न प्रमुख प्रभावहरू पर्ने देखाएको छ ।
– यस्तो प्रयासपछि तुरुन्तै अनिच्छित विचारहरू झन् एक्कासी बेस्सरी बढ्ने हुन सक्छन् ।
– समय बित्दै जाँदा यस्ता अनिच्छित विचारहरूले अन्य विचारहरूमा पनि बढ्दो रुपमा अतिक्रमण गर्न सक्छ ।
– यस्ता अनिच्छित विचार तथा भावना आउने क्रम झनै बढ्दै जान सक्छ ।
यसको निष्कर्ष यो हो कि यस्तो किसिमलेदमन गर्न खोज्दा झनै उल्टो (paradoxical) प्रभाव पर्दछ । अर्थात् व्यक्तिले जति यस्ता नकारात्मक भावनालाई हटाउन खोज्छ त्यति नै त्यस्ता नकारात्मक भावना प्रबल बनेर आउँछन् । यस्तो किन हुन्छ ? यकिनका साथ थाहा नभए पनि कतिपयले हाम्रो मस्तिष्कको केही भागले यस्ता नकारात्मक विचार तथा भावनाका बारेमा सोच्न चाहन्छ भन्ने ठान्छन् । यसरी जबरजस्ती दबाउन
खोज्दा, यी भावनाहरूको बारेमा सोच्ने कार्यको उद्देश्य पूरा गर्ने प्रक्रियालाई बाधा पु¥याउँछ । त्यसैले हामीले दबाउन खोजेको विचार तथा भावनालाई हाम्रो मस्तिष्कले यी कुरालाई बारम्बार ल्याउने गर्दछ । अर्को एक वैकल्पिक सिद्धान्तका अनुसार जब हाम्रो विचारलाई हामी दबाउन खोज्छौं, हाम्रो मस्तिष्कमा त्यसलाई एक खराब कुराको रुपमा लिने गर्दछौं । । दुर्भाग्यवश हाम्रो मस्तिष्कमा एक अचेतन प्रक्रिया पनि हुने गर्दछ, जसले हाम्रो खराब कुरामा दृष्टि राख्छ । त्यसैले पनि मस्तिष्कले हाम्रो मनमा यी विचार तथा भावनालाई राख्छ ।
यौनेच्छालाई दमन किन गरिन्छ ?
प्राकृतिक रुपमा नै आउने यौनेच्छा वा यौन आवेगलाई रोक्न खोज्नु नै यौनेच्छाको दमन हो । प्रायः यस्ता व्यक्तिले यौनसम्बन्धी विषयमा नकारात्मक सोच राख्छन् र यीसँग सम्बन्धित सबैजसो नै क्रियाकलाप गलत हो भन्ने ठान्छन् । हाम्रो लगायत
कतिपय समाजमा यौन तथा यौनिक कुरालाई वर्जित तथा अनैतिक ठान्ने गरिन्छ । त्यसमा पनि विशेष गरी यौनको मामिलामा कट्टर विचार राख्ने धार्मिक वा समुदायमा यस्तो स्थिति कुरा झनै प्रखररुपमा देखिन सक्छ । यस्ता कुराको प्रभाव व्यक्तिमा विभिन्न रुपमा पर्दछ । प्रसिद्ध मनोविश्लेषक सिग्मन्ड फ्रायडले यस किसिमको
 दमनलाई मनोरोग तथा यौन असन्तुष्टिसँगको सम्बन्धलाई 
चर्चा गर्दै त्यसका जोखिमको बारेमा चर्चा गरेका थिए । किशोरावस्थामा यौन विकासको क्रममा परिवर्तनसँगै यसबारे जिज्ञासा जागृत हुँदा यसबारे खोजिनिती शुरु गर्दछ तर यो एक वर्जित विषय तथा नराम्रो हो भनेर प्रस्तुत गरियो भने नकारात्मक धारणा विकास हुन्छ र लामो समयसम्म निरन्तरता पाएमा  यौन भावनाको दमनको स्थिति आउन सक्छ । त्यसै गरी यदि कुनै व्यक्तिको पहिलो यौन अनुभव नै आघातपूर्ण भयो भने पनि यौनका सम्बन्धमा नकारात्मक सोचको विकास हुन्छ । अनि यौन भावनाको दमन शुरु हुन थाल्छ । कतिपय स्थितिमा यी कुरा व्यक्तिलाई थाहा नै नभई हुन सक्छ ।
देखिने लक्षणहरू 
-यौनसम्बन्धी कार्य वा कुराकानी गर्न असहज मान्ने, यदि कुराकानी गर्नुपरेमा चिन्ता वा तनाव हुने ।
-यौनसम्बन्धी कार्यमा संलग्न हुन परेमा ग्लानि वा लाजको अनुभूति हुने र यो पीडादायी हुने ।
– यौन कार्यलाई गलत ठान्ने भएको यौन क्रियाकलापवाट आनन्द प्राप्त गर्न नसक्ने र वैवाहिक वा भनौं यौनजीवन पनि सुखदायी नहुने ।
– यसका साथै आफ्नो नग्नता मात्रै होइन अन्य नग्न तस्वीरले पनि असजिलो बनाउने ।
यौनेच्छा दमन गर्दा पर्ने असर 
यसरी यौनेच्छा वा यौन भावनाको दमन गर्दा वा हुँदा विभिन्न किसिमका असरहरू पर्दछन् । यौनजस्तो प्राकृतिक रुपमा स्वाभाविक हुने प्रक्रिया जब ग्लानि वा निरासाका भावना जोडिन्छन्, विभिन्न यौन, भावनात्मक वा शारीरिक प्रभावहरू देखिन्छन् ।
यौन र यससम्बन्धी कुरामा नै नकारात्मकता आउन सक्छ । कतिपय स्थितिमा त यौनजोडी र आकर्षक व्यक्तिलाई हेर्दा मात्रै पनि नकारात्मक भावना आउन सक्छ ।
-कतिपय स्थिति जस्तै कि धार्मिक कारणले दबाइएको स्थितिमा यौनको सन्दर्भमा सकारात्मक प्रतिक्रिया प्राप्त भएमा त्यसले नैतिक अलमलको स्थिति आउन सक्छ । व्यक्ति आफैँले पवित्र नभएको ठान्ने स्थिति आउने गर्दछ ।
– यौन क्रियाकलापमा संलग्न हुँदा यौन भावनाको दमनको कारणले निकै नै चिन्ता र तनाव हुन सक्छ, जसले यौन क्रियाकलाप नै पीडादायी हुने गर्दछ ।
यौन क्रियाकलाप स्वस्फूर्त र स्वाभाविक तथा दबाबरहित हुनुपर्ने भए पनि अन्तरङ्ग सम्पर्कको बेलामा दमनको प्रभावका कारणले यौन कार्य सक्षमताको चिन्ताले सताउँछ र यौन क्रियाकलाप राम्ररी सम्पन्न गर्न सक्दैन ।
– व्यक्तिको यौन तथा लैंगिक परिचय फरक–फरक हुन सक्छ तर यौन भावनालाई दबाउने क्रममा आफ्नो यौन परिचयको सन्दर्भमा कस्तो लिंगी व्यक्तिप्रतिको आकर्षण हो भनेर खुलस्त बाहिर आउन सक्दैनन् ।
के गर्नुपर्ला त ? 
यौन भावनाको दमन शारीरिक, भावनात्मक वा मानसिक कारणले हुन सक्छ । यसको उपचार गरिएमा अन्ततः यौन भावनाको दमन गरिएको स्थिति भए पनि यौन सुख प्राप्त गर्न सक्ने स्थितिमा पुग्ने गर्दछन् ।
पहिलो कुरा त यौन भावनाको दमन भएको वा गरिएको कुरालाई नै स्वीकार गर्नु हो । यसको लागि आफँैले वा विशेषज्ञको सहयोगमा दमनको सामना गर्न निम्न कुराहरू मद्दतगार साबित हुन सक्छन् ।
– आफ्ना भावनाहरूलाई लेख्ने ।
– स्वीकार्यतालाई अभ्यास गर्ने ।
– संज्ञानात्मक पुनः मूल्यांकन(cognitive reappraisal)गर्ने प्रयास गर्ने ।
– व्यायाम गर्ने ।
प्रतिक्रिया दिनुहोस्