उपचारमा अन्धविश्वास: केही रोचक प्रसंगहरु



प्रा. डा. प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ

म विज्ञानको विद्यार्थी हुँ । सत्य, असत्य सबैलाई विज्ञानको कसीमा जाँचेर हेर्छु । चिकित्सा सेवा मेरो पेसा हो । दिनदिनै थरी–थरीका रोगीहरुको स्वास्थ्य परीक्षण गर्छु र उनीहरुलाई उपचार सल्लाह दिन्छु । चिकित्सा पेसामा रहँदा हाम्रो समाजमा विभिन्न रोगको उपचार प्रक्रियामा अन्धविश्वासले जरा गाडेको पाएको छु । पाठकहरुलाई सचेत गराउने उद्देश्यले हाम्रो समाजमा विद्यमान केही प्रमुख चिकित्सा (मेडिकल) अन्धविश्वासबारे यहाँ वर्णन गरेको छु ।

१. पिनास हुँदा खरानीले फुक्ने

म सानो छँदा मलाई रुघाखोकीले खूबै सताउँथ्यो र पिनास भैहाल्थ्यो । घरेलु उपचारबाट ठीक नभएपछि मेरी आमाले मलाई घरछेउकै एकजना पुरोहित बाजेको घरमा लिएर जानुहुन्थ्यो । ती बाजेले अँगेनाबाट थोरै खरानी हातमा लिएर मेरो निधार, नाकको टुप्पा र घाँटीको रुद्रघण्टीमा लगाइदिन्थे र मेरो नाकै अगाडि सातपल्ट फुफु गर्दै फुकिदिन्थे । त्यसपछि मेरी आमाले उनलाई घरको बोटबाट टिपेर ल्याएको एउटा मेवा दिनुहुन्थ्यो । उनले लिन्थे र हामीआमा–छोरा घर फर्किन्थ्यौँ । अर्को दिन मेरो पिनास रोग चट हुन्थ्यो अनि मेरी आमा खुशीले गद्गद् हुँदै भन्नुहुन्थ्यो, ‘यो बाबुको पिनास पल्ला घरे बाजेले फुकेपछि मात्र ठीक हुन्छ ।’ प्रत्येकपल्ट रुघाखोकी ठीक नहुँदा पिनास भएको भन्दै तिनै बाजेकहाँ फुकाउन जाने चलन थियो ।

आज मेरो उमेर ६० वर्ष काटिसकेको छ । आधा शताब्दीभन्दा बढी बितिसक्दा पनि गाउँघरमा अझै पनि पिनास रोग लाग्दा फुकाउन जाने चलन कायमै छ । यो चिकित्सा अन्धविश्वास हो भन्नेमा दुईमत छैन । खरानीले फुकेर पिनास रोग ठीक भएको घटनालाई विज्ञानको कसीमा राखेर जाँची हेरौं । रुघा, खोकी, ज्वरो भाइरसबाट लाग्ने रोग हो ।

यो रोग औषधि गरे पनि, नगरे पनि सात दिनमा ठीक हुन्छ । भाइरसको जात र उपजात हेरीकन रोगको लक्षण फरक पर्न सक्छ । कसैलाई रुघा नलाग्ने तर टाउको दुख्ने हुन सक्छ । यसैलाई अज्ञानताले पिनास भनिएको हो । कसै–कसैलाई रोग लम्बिएर सात दिनभन्दा बढी जान सक्छ । पाँच दिनसम्म ठीक नभएपछि लौ पिनास भयो भनेर घरेलुबाहेक अन्य उपचार विधि खोज्न थाल्दा खरानीले फुकेर पिनास ठीक पार्ने पुरोहित बाजेजस्ताकहाँ पुग्ने गरिन्छ ।

उनले फुकिदिन्छन्, रोगीको आत्मबल बढ्छ, एक–दुई दिनमै भाइरस निष्क्रिय हुने समय पनि हुन्छ अनि रोग ठीक हुन्छ । वास्तवमा त्यो फुकेर ठीक भएको होइन । भाइरसका विरुद्ध सात दिनमा एन्टिबडी बन्छ र त्यसले भाइरसलाई निष्क्रिय पार्छ । आज पनि जान्नेबुझ्नेले दुई–तीन दिनमै रुघा, खोकी, ज्वरो ठीक भएन भने एन्टिबायोटिक किनेर खाने गर्छन् । यो खाएको दुई–तीन दिनमा रोग ठीक हुन्छ ।

 

वास्तवमा रुघाखोकीको उपचारमा खरानीले फुक्नु र एन्टिबायोटिक खानु एउटै कुरा हो । दुवैको काम छैन, रोग सात दिनमा आफैँ ठीक हुन्छ ।

२. दाँत दुख्दा काठमा कीला ठोक्ने

दाँतको दुखाइ अलि कडा र असह्य हुन्छ । महाभारतका बलवान् भीमलाई दाँत दुखेको एउटा प्रसंगबारे कहाँ हो पढेको थिएँ । एकपल्ट भीमको दाँत दुखेछ । एउटा सानो दाँतको दुखाइले त्यो विशाल बलवान् शरीर भएका भीमलाई असह्य बनाएछ । उनी पीडाले छटपटाउन थाले । मामुली दाँतको दुखाइ पनि सहन नसक्ने भनी अरुले भन्लान् कि भन्ने सोचाइले उनी लज्जित भए । तर पीडाले छटपटाउँदै के गरुँ, कसरी दुखाइ ठीक पारुँ भन्ने भयो । त्यसपछि एकाएक उनले एउटा चुच्चो भाला हातमा लिएर आफ्नो शरीरको विभिन्न भागमा घोच्न थाले । शरीर रगताम्य भएपछि बल्ल उनले दाँतको दुखाइ बिर्से ।

काठमाडौं उपत्यकामा दाँत दुख्दा काठमा कीला ठोक्ने चलन छ । सो गर्दा दाँत दुखेको ठीक हुन्छ भन्ने विश्वास गर्ने व्यक्तिहरु आज पनि धेरै संख्यामा छन् । काठमाडौंको असननजिकैको एउटा मन्दिरछेउको ठूलो काठमा एकजनाले दाँत दुखेको ठीक पार्न एउटा लामो कीला ठोकेछ । त्यसपछि उसलाई पछ्याउँदै दाँत दुख्ने रोगीहरुले त्यसै ठाउँमा कीला ठोक्दै गएछन् । हुँदा–हुँदा यति धेरैले त्यहाँ कीला ठोके कि त्यो ठाउँको नाम नै कीलागल हुन गयो ।

आज दाँत दुख्दा दाँतको डाक्टरकहाँ जानेभन्दा किलागलमा गएर लामो कीला ठोक्ने काठमाडौंवासीको संख्या कम छैन । के साँच्चै कीला ठोकेर दाँतको पीडा कम होला ? महाभारतका भीमले पीडा कम गर्न आफ्नो शरीरमा भालाले रोपेका थिए । यहाँका मान्छेले आफ्नो शरीरमा होइन, काठमा कीला ठोक्छन् । भीमको तरिकालाई विज्ञानले व्याख्या गर्न सक्छ तर किलागलमा कीला ठाक्नुलाई सक्दैन ।

जहाँसम्म भीमको कुरा छ, शरीरलाई भालाले रोपेपछि शरीर दुख्न र पोल्न थाल्छ, सोचाइजति भालाले रोपको ठाउँको पीडातर्फ मोडिन्छ अनि दाँत दुखेको बिर्सिन्छ । यदि तपाईंलाई टाउको दुखेको छ भने आफ्नो खुट्टामा एउटा ठूलो ढुंगाले बजाउनोस्, तपाईंको टाउको दुखेको ठीक हुन्छ । किनकि नयाँ पीडातर्फ सोचाइ मोडिएपछि पुरानो पीडा बिर्सिन्छ । दाँत दुख्यो भनी अन्धविश्वासको पछि लागेर कीला ठोक्ने, ढुंगाले बजाउने अथवा शरीरमा भाला रोप्ने होइन, दाँतको डाक्टरकहाँ जानुपर्छ र उपचार गराउनुपर्छ । किनकि तपाईंको दाँतमा कीरा लागेको हुन सक्छ ।

३. कोखा दुख्दा हलुवाईको खातामा नाम लेखाउने
कोखा दुख्ने समस्या धेरैलाई हुन्छ । यो समस्याबाट महिलाहरु बढी मात्रामा पीडित छन् । कोखा दुख्ने कारणहरु धेरै छन्– पेटमा ग्यास भरिने, एसिडिटी बढ्ने, पित्तथैली वा मिर्गौलामा पत्थरी हुनेदेखि लिएर पेटको ट्युमरसम्म यसका कारणहरु हुन सक्छन् । कहिलेकाहीँ मांसपेशी बाउँडिएर पनि कोखा दुख्ने हुन सक्छ । काठमाडौंको हनुमानढोका क्षेत्रको वसन्तपुर टोलमा कुनै बेला एकजना भान्दास नाम गरेका वैद्य थिए । उनी खूबै सिपालु थिए । कोखा दुखेका रोगीहरुको उनले राम्रो उपचार गर्थे । उनीकहाँ जँचाउन सयौंको संख्यामा भीड जम्मा हुन्थ्यो । सबै बिरामीलाई एकै दिनमा जाँचेर नभ्याउने भएपछि उनले बिरामीहरुको नाम र जाँच्ने पालो (दिन र समय) एउटा रजिस्टरमा लेख्न थाले । यसरी उनले अपोइन्टमेन्ट रजिस्टर बनाए । बिरामीहरुलाई उनीप्रति यति धेरै विश्वास थियो कि उनले छोएपछि कोखा दुखेको ठीक भैहाल्थ्यो । बिरामीहरुको भीड यति धेरै भयो कि उनलाई जँचाउन धेरै दिनको पालो कुर्नुपर्ने भयो । त्यसपछि एउटा अचम्मको घटना घट्यो । एउटा बिरामीले जँचाउने पालो पाँच दिनपछि मात्र पायो । तर पालो नआउँदै दुई दिनमा उसको कोखा दुखेको ठीक भयो । उसले यो सोच्यो कि भान्दास वैद्यको अपोइन्टमेन्ट रजिस्टरमा नाम लेखाए मात्र पनि रोग ठीक हुने रहेछ । वैद्य बूढो हुँदै गए, बिरामी हेर्न नसक्ने भए, तैपनि कोखा दुखेकाहरुले त्यो अपोइन्टमेन्ट रजिस्टरमा नाम लेखाउन छाडेनन् । गर्दा–गर्दा यतिसम्म भयो कि वैद्य मरेर गएपछि उनको छोरा हलुवाई भएर मिठाई पसल राखे । त्यो मिठाई पसलमा उनले आफ्ना वैद्य बुबाले बनाएको अपोइन्टमेन्ट रजिस्टरमा नाम लेखाउने कामलाई निरन्तरता दिए । सुन्छु, आज पनि वसन्तपुरको एउटा हलुवाईको पसलमा कोखा दुखेकाहरुका लागि नाम लेखाउने रजिस्टर छ
रे ∕ मान्छेहरुमा आज पनि त्यस रजिस्टरमा नाम लेखाए मात्र पनि कोखा दुखेको ठीक हुन्छ भन्ने अन्धविश्वास रहेको पाइन्छ ।
यसबारे वैज्ञानिक धारणा बताइरहनुपर्दैन होला । कतिपय रोगहरु सामान्य हुन्छन्, जुन एक–दुई दिनमा आफैं ठीक भएर जान्छन् । हाम्रो शरीर पनि एउटा अस्पताल नै हो । शरीरको गडबडीलाई शरीर आफैंले मर्मत गर्छ । यसैलाई इम्युनिटी भनिन्छ । शरीर आफैंले रोगको उपचार गर्न नसकेको खण्डमा डाक्टर र चिकित्सा शास्त्रका विधिहरुको सहयोग लिनुपर्छ ।

४.जनै खटिरामा सिंह लेखाउने चलन

जनै खटिराको घाउ र पीडा कडा खालको हुन्छ । यसको प्रभावकारी उपचार पद्धति पनि छैन । धेरैजसो रोगीले दुःख पाउँछन् । जनै खटिराले वृद्ध नागरिकलाई बढी मात्रामा सताएको पाइन्छ । यसको घाउ फैलिँदै जान्छ र दुःख–पीडा पनि बढ्दै जान्छ । जनै खटिरालाई फैलिँदै जानबाट रोक्न काठमाडौं उपत्यकामा एउटा गजबको उपचार विधिको अभ्यास गरिँदै आएको छ ।

यो विधि परापूर्वकालदेखि अभ्यास गरिँदै आएको पाइन्छ । यसमा नेवार समुदायका गुभाजुहरुले विशेष प्रकारका रंगहरुको प्रयोग गरी जनै खटिरा फैलिँदै गएको बाटोमा सिंहको चित्र कोरेर त्यसको तगारो बनाइदिन्छन् । त्यो सिंहको चित्रले जनै खटिरालाई खाइदिन्छ, रोकिदिन्छ र ठीक पारिदिन्छ भन्ने आम विश्वास रहिआएको पाइन्छ । मेरो बुबालाई पनि ८२ वर्षको उमेरमा छातीमा जनै खटिरा आएर दुःख दियो । अनेक औषधि गरियो तर ठीक भएन । मेरी दिदीले पाटन मंगलबजारका एकजना गुभाजुलाई ल्याएर सिंह लेखाइदिनुभयो । त्यसपछि खै कसरी हो मेरो बुबाले सजिलो महसुस गर्नुभयो ।

अब म यो विधिलाई विज्ञानको कसीमा राखेर सोच्छु । सिंह लेख्दा प्रयोग हुने रंग मामुली रंग होइन, जडीबुटीबाट बनेको हुँदो रहेछ । यसले जनै खटिरामाथि मलमको काम गर्दो रहेछ र फैलिनबाट रोक्दो रहेछ । जनै खटिरा फैलिने निश्चित समय अवधि हुन्छ । पहिलो सात दिन यो छिटो फैलिन्छ, ७–१४ दिनमा खटिरा फुट्ने र फैलिने क्रम कम हुँदै जान्छ ।

यदि पहिलो दुई–तीन दिनमा सिंह लेखायो भने पनि यो फैलिन्छ । सिंहको असर सात दिनपछिको समयमा प्रभावकारी हुन्छ, जुन बेला खटिरा फुट्ने र फैलिने क्रम स्वतः घट्दै गएको हुन्छ । यसकारण हामीले यो बुझ्नुपर्दछ कि सिंह लेखाउने चलन पनि चिकित्सा अन्धविश्वास नै हो तर यसमा केही मात्रामा जडीबुटी र आत्मविश्वासले काम गरेको हुन्छ । जनै खटिरा भाइरसको संक्रमणबाट हुन्छ, जसको कुनै उपचार छैन । यो पनि रुघाखोकीजस्तै निश्चित समयसम्म रहन्छ र आफैं ठीक भएर जान्छ । यसले नसाका जराहरुमा असर पार्ने भएको हुनाले दुखाइ घाउ ठीक भएपछि पनि लामो समयसम्म रहिरहन्छ ।

चिकित्सा क्षेत्रमा यस्तै धेरै अन्धविश्वासहरु छन्, जसबारे पछि पनि लेख्दै गरुँला । अन्धविश्वासको पछि लाग्दा कहिलेकाहीँ स्वास्थ्य जटिलताहरु उत्पन्न भई ज्यानसमेत जान सक्छ । यसकारण आजका दिनमा कुनै पनि रोगको उपचारका लागि चिकित्सा विज्ञानले प्रमाणित गरेको बाटोमा
हिँड्नुपर्छ भन्ने मेरो सल्लाह र सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्