
अनुहारमा भएको कालो कोठीलाई धेरैजसोले आ–आफ्नो हिसाबले अथ्र्याउने गर्छन् । मानिसको अनुहार तथा शरीरमा जन्मजात नै आएका वा पछि उमेर बढेसँगै आएका यस्ता कोठीलाई कतिपयले शुभ-अशुभको प्रतीक पनि मान्ने गरेको पाइन्छ ।
परम्परागतरुपमा मानिआएका हाम्रा धर्मग्रन्थले पनि कोठीलाई आफ्नै हिसाबले बयान गरेका हुन्छन् । गाला तथा ओठमाथि भएको कालो कोठीलाई सुन्दरताको प्रतीक मान्नेहरु पनि छन् । यस्ता कोठीलाई जोडेर विभिन्न गीत पनि बनेका छन् । त्यसैले एकातिर कोठीलाई सुन्दरता र अर्कोतिर कुरुपताका रुपमा लिने गरिएको छ ।
सामान्यतया अनुहार तथा शरीरका कुनै पनि भागमा आएका काला, खैरा वा राता रंगका दानालाई नै कोठी भनिने गरिएको छ । यस्ता कोठी विभिन्न प्रकारका हुन्छन् । कुनै कोठीमा रगत, कुनैमा ठोस पदार्थ त कुनैमा पानी भरिएको हुन्छ । कुनै कोठी मुसाजस्तो ज्याद्रो र सर्ने खालको पनि हुन्छ । कुनैचाहिँ नरम पनि हुन्छ ।
कुनै कोठी फैलिने किसिमको हुन्छ भने कुनैचाँहि डल्लो आकारमा बढेर आएको हुन्छ । कोठी आउने स्थान अनि कोठीको आकार र रुपअनुसार कतिपय अवस्थामा यसलाई सुन्दरताको रुपमा लिइने गरेको अघि नै भनियो । कतिपय अवस्थामा भने अनुहारका विभिन्न स्थानमा आएका कोठीले हैरान नै बनाएको पनि हुन्छ ।
हुन पनि सफा र कुनै दाग नभएको अनुहार सबैको रोजाइमा पर्छ । सबैले कोठीजस्ता थेग्ला नभएको सफा अनुहारको चाहना गरेका हुन्छन् । तर अनुहारमा आएका विभिन्न रंगका अनावश्यक कोठीले सुन्दरतामा बाधा उत्पन्न गर्ने भएकाले त्यस्ता कोठी हटाएर स्किन सफा देखाउने चाहना धेरैको हुन्छ ।
कोठी कसरी हटाउने त ?
प्रायः किशोरीहरुले राम्री बन्ने होडबाजीमा विशेषज्ञको सहायतामा आफ्नो अनुहारमा आएका कोठी निकाल्ने गर्छन् । हुन त कतिपय हिरोइन वा मोडलहरुले राम्री देखिन नक्कली कोठी बनाउने गरेका पनि हुन्छन् । यसरी कोठी हटाउने वा नक्कली कोठी बनाउने घरेलु उपाय पनि हुन्छन् । तर आजको युगमा मानिसहरु प्रविधिको सहायताले आफूलाई मन पर्ने स्थानमा कोठी बनाउने र मन नपरेको स्थानको कोठी हटाउने गर्छन् ।
यसमध्ये कोठी हटाउने एउटा तरिका लेजर प्रविधि हो । लेजर मेसिनको माध्यमबाट कोठी हटाउन धेरै दक्ष व्यक्तिको आवश्यकता पर्छ । किनभने हाम्रो छालाको इपिडर्मिस, डर्मिस र हाइपोडर्मिसको भित्र कोठीको लेयर कतिसम्म छ, त्यसलाई कसरी निकाल्ने र शरीरको महत्वपूर्ण नसा त्यस स्थानबाट गएको छ कि छैन भन्ने ज्ञान दक्ष व्यक्तिलाई मात्र हुन्छ । त्यस्ता व्यक्तिको सहयोगमा लेजर प्रविधिबाट कोठी हटाउँदा छाला सुरक्षित हुन मद्दत पुग्छ ।
यदि कोठी निकाल्ने बेला ब्लड आएर रोकिएन भने कसरी सेफ्टी अपनाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । कोठी छालाको गहिरो भागसम्म गएको छ भने सो कोठी निकाल्दा खाल्डो पर्छ भने कसैको छालाको सतहबराबर पनि रहन्छ । यसरी कोठी निकाल्दा सावधानी अपनाउनुपर्ने हुन्छ । मधुमेहका बिरामीले झुक्किएर पनि विनासावधानी कोठी निकाल्नुहुँदैन ।
फेसियल हाउसमा पनि कतिपय ग्राहकहरु ‘मेरो यो बढ्ने कोठी हो, ननिकाली नहुने भयो’ भन्दै आउने गर्नुहुन्छ । तर हामी सकेसम्म कोठी ननिकाल्ने सल्लाह दिन्छौं । यदि निकाल्नै पर्ने हो भनेचाहिँ डाक्टरसँग चेकअप गराएर कोठी निकाल्न हुन्छ भनी लेखेको कागज लिएर आउनुस् भन्छौं ।
यसरी डाक्टरको सिफारिसमा भने हामीले कोठी निकालिदिने गरेका छौं । हैन भने ग्राहकले भनेको भरमा हामी कोठी निकालिदिँदैनौं । सुगर भएका व्यक्तिको कोठी निकाल्दा बनेको घाउ निको भएन भने स्वास्थ्यमा अर्को समस्या आउँछ । समस्या आउन नदिनका लागि आफूले पहिले नै सावधानी अपनाउनुपर्छ ।
कोठी निकालेको ठाउँमा हल्का दाग बस्न सक्छ । छालामा लामो समयदेखि टाँसिएर रहेको कुरालाई निकाल्दा त्यहाँ केही न केही दाग त बस्छ नै । तर दाग धेरै बस्ने हो कि टाढाबाट हेर्दा नदेख्ने गरी अलि–अलि भन्ने कुराचाहिँ कोठी निकाल्ने ग्राहकमा भर पर्छ । किनभने कोठी निकालेपछिको महत्वपूर्ण कुरा भनेको घरमा गरिने केयर नै हो ।
यदि घरमा गर्नुपर्ने केयर र औषधिको प्रयोग मिलेन भने कोठी निकालेको ठाउँमा दाग–धब्बा आउने र फेरि मासु पलाउने हुन सक्छ । यसो भएमा सो सफा गर्न फेरि त्यही अगाडिकै प्रोसेस दोहो¥याई दाग जाने औषधि लगाउनुपर्छ । कोठी निकाल्दा खाल्डो परेको छ भने कस्तो औषधि दिने, खाल्डो नपरेकोलाई कसरी केयर गर्ने भनेर ग्राहकलाई सिकाउनुपर्छ ।
पछिल्लो समय कोठी निकाल्ने चलन धेरै बढेको छ । हामीले पनि फेसियल हाउसमा १६ वर्ष अघिदेखि नै कोठी रिमुभ गर्दैै आएका छौं । मेरो कोठी निकालिदिनूस् भनेर आउने ग्राहकलाई हामी सीधै हुन्छ भन्दैनौं ।
ग्राहकलाई कोठी कसरी निकालिन्छ र यसको रिजल्ट कस्तो हुन्छ अनि निकालिसकेपछि कसरी केयर गर्नुपर्छ भनेर राम्रोसँग बुझाउने गरिन्छ । त्यसपछि उहाँहरु कोठी निकाल्नका लागि रेडी हुनुभयो भने मात्र बल्ल निकालिदिने स्वीकृति दिइन्छ । उहाँहरु मानसिक रुपमा समेत पूर्ण तयारी भएपछि कोठी निकालिदिइन्छ । खर्चको कुरा गर्नुपर्दा यति नै भन्ने हुँदैन । यो सामान्य खर्च हो । कोठीको साइज अनुसार सामान्य घटी–बढी हुन जान्छ ।
(लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।)