खाना आफैमा कुनै धर्म होइन । खाना केवल शरीर र मनको ऊर्जाको स्रोत हो । तथापि खाना धर्म, संस्कृति आदिसँग पनि जोडिन्छ ।पृथ्वीमा अस्तित्वमा रहेका सबै खाले जैविक, अजैविक पदार्थमा औषधीय गुण हुन्छ । यसलाई कुनै न कुनै रुपमा औषधि बनाएर प्रयोग गर्न सकिन्छ । तर ती सबै पदार्थलाई खानाको रुपमा प्रयोग गर्न सकिँदैन । कुनै पनि चिजलाई खानाको रुपमा प्रयोग गर्नु र औषिधको रुपमा प्रयोग गर्नु फरक दृष्टिकोण र अभ्यास हुन् ।
प्राचीनकालदेखि नै वैदिक समाजले दैनिक खानपानमा प्याज र लसुनको प्रयोगलाई वर्जित गर्दै आएको छ । व्रत, पूजापाठ, अनुष्ठान आदिको बेलामा मात्र नभएर जुठो परेको बेला क्रियापुत्रीलाई पनि प्याज र लसनु विशेषरुपमा निषेध गरिन्छ । लसुन र प्याज मानिसको लागि महत्वपूर्ण हुँदाहुँदै पनि किन वर्जित गरिँदै आएको हो ? आखिर त्यसपछाडिको विज्ञान के हो त ?
खानालाई औषधिको रुपमा प्रयोग गर्न सम्भव हुन्छ । तर हरेक औषधीय तत्व भएको पदार्थलाई खानाको रुपमा प्रयोग गर्नु घातक हुन्छ, मूर्खता हुन्छ । औषधि थौरै मात्रामा खाइन्छ, निश्चित अवधिका लागि खाइन्छ, निश्चित समयमै खाने विधान हुन्छ । खानाको मात्रा व्यक्तिपिच्छे फरक–फरक हुन्छ, जीवनभरि प्रत्येक दिन खाइन्छ । भोक लागेपछि खाइन्छ ।
स्वास्थ्यका दृष्टिले, औषधीय गुणको दृष्टिले प्याज र लसुन अत्यन्तै गुणकारी मानिन्छ । लसुन (रसोन) छालारोग, हृदयरोग, पाचनसम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या, वातरोग, पक्षघात, साइटिका, फेसियल प्यारालाइसिस, ज्वर, सुन्निएको एवं दुखाइ घटाउन, टाइफाइड, डिप्थेरिया आदि रोगमा विशेषतः औषधिको रुपमा प्रयोग गरिन्छ । लसुनको पात, कन्द र तेल प्रयोग गरिन्छ । अंग्रेजीमा गार्लिक भनिने लसुनको विशिष्ट गन्ध भएकोले यसलाई उग्रगन्धा पनि भनिन्छ ।
प्याजको पात, कन्द र बीज औषधिको रुपमा प्रयोग हुन्छ । स्नायु प्रणालीसम्बन्धी रोगहरुमा यसको प्रभावकारी प्रयोग हुन्छ । यसको गन्ध पनि निकै उग्र हुन्छ । लसुनको प्रयोग हुने प्रायः रोगमा प्याजको प्रयोग पनि उपयोगी मानिन्छ । प्याजलाई संस्कृतमा प्लाण्डु र अंग्रेजीमा ओनिअन भनिन्छ ।
गुणको आधारमा आयुर्वेद एवं वैदिक मान्यता अनुसार खानालाई तीन प्रकारले वर्गीकरण गरिएको छ । सात्विक, राजसिक र तामसिक । ताजा दूध, घिउ, चामल, पीठो, दाल, सागसब्जीहरु सामान्यतः सात्विक बुझिन्छ । सात्विक चिजले शरीर एवं मनलाई न उत्तेजित गर्छ, न निरुत्साहित गर्छ । सहज र एकाग्र स्थितिमा राख्दछ ।
तारे–भुटेको, पिरो, अमिलो, चटपटा, नुनिलो आदि स्वादप्रधान भोजन राजसिक खाना मानिन्छ । राजसिक खानाले शरीर एवं मनलाई असन्तुलितरुपमा उत्तेजित बनाउँछ । शरीर र मनको असन्तुलित सक्रियताको कारक हुन्छ, राजसिक गुण र चिज । बासी, सञ्चय गरी राखिएको, पटक–पटक तताएर राखिएको, प्रशोधन गरिएको आदि खानालाई तामसिक खाना मानिन्छ । शरीर र मनको जडताको कारक हुन्छ, तामसिक गुण र चिज ।
सात्विक खानाले सत्वगुण, राजसिकले रजोगुण र तामसिकले तमोगुण बढाउँछ । श्रीमद् भागवद्गीताको १८ अध्यायमा भनिएको छ कि व्यक्तिले जस्तो भोजन गर्छ उसले त्यस्तै प्रकृतिको शरीर र मन प्राप्त गर्दछ (यु आर ह्वाट यु इट) । सात्विक खानाले प्रसन्नता, उत्साह, सकारात्मकता, शान्ति, संयमता, पवित्रता, बुद्धि, ज्ञान आदि भावको उत्पादन गर्दछ । राजसिक खानाले साहस, सौर्य, अहंकार, क्रोध, जोश आदि भावको उत्पादन गर्दछ ।
तामसिक खानाले उत्तेजना, आलस्यता, तन्द्रा, निद्रा, अज्ञानता आदि भावको उत्पादन गर्दछ । कुनै पनि तत्व जसले तत्काल उत्तेजित बनाउँछ, कालान्तरमा त्यसले स्वाभाविकरुपमा निरुत्साह आमन्त्रित गर्दछ । लसुन र प्याज प्राथमिकरुपमा उच्च राजसिक चिज हुन्, जसले कालान्तरमा तामसिक भाव उत्पन्न गराउँछन् । खाद्य पदार्थहरुमध्ये स्नायु प्रणालीलाई उत्तेजित बनाउने सबैभन्दा श्रेष्ठ चिज हो लसुन, त्यसपछि आउँछ प्याज । त्यसपछि भण्टा, कफी, चिया आदि पर्छ ।
स्नायु प्रणलीलाई उत्तेजित बनाउने लसुन र प्याजको श्रेष्ठ गुण निश्चित मात्रामा, निश्चित समयको लागि औषधिको रुपमा प्रयोग गरिनु बुद्धिमानी मानिन्छ तर खानामा लसुन र प्याजको दैनिक प्रयोग गर्नु शरीर र मनलाई प्रत्येक दिन पटक–पटक असन्तुलितरुपमा उत्तेजित बनाउनु, शरीरमाथिको शोषण, असंवेदनशीलता हो ।
स्वादे जिब्रोको कुलतमा फसेर शरीर र मनलाई प्रत्येक दिन लसुन र प्याजद्वारा पटक–पटक उचाल्नु र पछार्नुजस्तै हो । खानामा यस्तो उत्तेजनायुक्त पदार्थ बारम्बार प्रयोग गर्नु स्वयंको शरीरमाथिको अपराध मान्नुपर्छ । स्वास्थ्यको दृष्टिकोणले पनि दैनिकरुपमा पटक–पटक लसुन र प्याजको प्रयोग गर्नु अहितकारक हो ।
सन् १९८० को दशकमा डा. रोबर्ट सी. बेकले लसुनमा हुने सल्फोन हाइड्रोक्सिल आयोनहरु मानव शरीरको बल्ड ब्रेन ब्यारियरलाई छेदन गर्ने क्षमतायुक्त रहेको पाएका थिए, जसले मस्तिष्कका कोषहरुलाई विषाक्त बनाउने गर्दछ । उनका अनुसार सन् १९५० मा मस्तिष्क कोषहरुलाई विषाक्त बनाउने लसुनको प्रभावको कारण मस्तिष्क तरङ्ग खुम्चिने कुरा थाहा पाइएको थियो ।
फलतः लसुनको सेवन गर्ने पाइलटको रियाक्सन टाइम (केही क्रिया हुँदा त्यसको पतिक्रिया आउने बीचमा लाग्ने समय) तीन गुनाले घट्छ । यही कारणले पाइलटहरुलाई प्लेन चलाउन जानु ७२ घण्टाअघिबाटै लसुनको सेवन नगर्नू भन्ने निर्देशन दिइएको हुन्छ । धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक दृष्टिले लसुन र प्याजलाई अशुद्ध मान्ने धेरै कारण हुन सक्लान् तर मूलरुपमा लसुन र प्याजको उत्तेजक स्वभाव नै हो । धार्मिक, आध्यात्मिक कार्यहरुमा शरीरभन्दा पनि मनस्थिति बढी महत्वपूर्ण । जहाँ मनमा सात्विक गुण अपेक्षित हुन्छ । भगवान्लाई लसुन र प्याजसँग लिनुदिनु शायदै केही होला ।
बौद्धिक कार्य गर्नेले वा आध्यात्मिक साधकले इन्द्रियलाई संयममा राख्न लसुन र प्याजको सर्वथा प्रयोग छोड्नुपर्छ । जुठो परेको बेलामा, शोकमा परेको क्रियापुत्रीका लागि लसुन र प्याजका साथै अन्य धेरै पदार्थ वर्जित गर्नुको कारण पनि यही नै मान्न सकिन्छ । लसुन र प्याजको सेवन छोडेपछि क्रियापुत्रीको इन्द्रियहरु नियन्त्रणमा रहन्छन्, उत्तेजित हुन पाउँदैनन् । फलतः मनमा सकारात्मकता, शान्ति र एकाग्रता कायम हुन्छ । यसले गर्दा मृतकको चिर शान्ति र परलोकको सहज यात्राको लागि शुद्ध भावले कामना गर्न सकिन्छ । साथै क्रियापुत्रीले जीवनको सार्थकता र मृत्युको सत्यतालाई अनुभव गर्न मनस्थितिले सहयोग पु¥याउँछ ।
मनको संयमता र सकारात्मकताको लागि इन्द्रिय संयमता अनिवार्य हुन्छ । स्वादे जिब्रोलाई नियन्त्रणमा राख्नु अनिवार्य हुन्छ । यसका लागि उत्तेजक पदार्थहरुको प्रयोग सर्वथा निषेध गरिएको हुन्छ । तामसिक पदार्थहरु पनि वर्जित गरिन्छ । त्यसैले लसुन र प्याज यौगिक एवं वैदिक संस्कृतिमा अशुद्ध मानिन्छ । लसुन र प्याजको सेवन वर्जित गरिन्छ । वैदिक समाजले दैनिक खानामा लसुन र प्याज वर्जित गर्नुको विज्ञान यही नै हो ।