जुन १०, २०२३ मा एउटा समाचार विश्वभरिका प्रमुख सञ्चारमाध्यमलगायत सामाजिक सञ्जालमा पनि व्यापक चर्चाको विषय बन्यो । यसरी चर्चित बनेको समाचार कोलम्बियाको घना जङ्गलमा गत मे महिनामा हराएको एक सानो विमानसँग सम्बन्धित थियो । उक्त विमान कोलम्बियाको घना जङ्गलमा दुर्घटनाग्रस्त भएर हराएपछि खोजी गर्दै जाँदा त्यस विमानमा सवार बालबालिका जीवितै भेटिएको घटना विश्वभरका सञ्चारमाध्यमको प्राथमिकतामा परेको थियो ।
उक्त विमानमा सवार विमान चालकसहित अन्य वयष्क व्यक्तिहरुको मृत्यु भए पनि बालबालिका भने बाँचेको हुन सक्ने अनुमानका आधारमा खोजी कार्यलाई जारी राखिएको थियो र ४० दिनपछि उनीहरूलाई जीवितै भेटियो पनि । यो एक चमत्कारसरह नै थियो । १३ वर्षकी बालिकाले आफ्ना ९ वर्ष र ४ वर्षका भाइ–बहिनी मात्रै होइन १२ महिने शिशुलाई पनि जङ्गली वातावरणको हिंस्रक जनावर, सर्प अनि किरा–फट्याङ्ग्रासँग बचाउँदै आवश्यक आहाराको व्यवस्था गरेकी थिइन् ।
प्राकृतिक वातावरणमा हुर्केका यी स–साना बालबालिका शहरी सभ्य समाजमा अध्ययन–अध्यापन गरेर धेरै सिकाइएका भन्दा बाँच्न आवश्यक सीपको हकमा भने पक्कै नै अब्बल प्रमाणित भएका थिए । जैविक तथा मानसिक तवरमा हेर्ने हो भने यो जीवन शक्ति एक गजबको शक्ति हो, जसले हामीलाई निरन्तररुपमा बाँच्नको लागि अभिप्रेरित गर्दछ । प्रत्यक्षरुपमा यो घटना यौन क्रियाकलापसँग सम्बन्धित देखिन्न तर यो जीवन शक्ति नै हो भन्नेमा शंका छैन । मानवलगायत जीवहरूको बाँच्ने क्रममा सन्तान जन्माउन प्रयत्न गर्ने कुरा पनि सत्य हो ।
त्यसै गरी २०७९ मंसिर २० मा घटेको अर्को एक घटनामा विवाहको कुरा छिनिसकिएको कुरालाई तोडिएपछि पुष्पा न्यौपानेले आत्मदाह गरी जीवन अन्त्य गरिन् । प्रेम सम्बन्धमा आफूले चाहेजस्तो नभएपछि हिंसाको प्रयोग भएका घटना प्रशस्तै देखिन्छन् । कतिपय स्थितिमा आफ्नो प्रेम प्रस्ताव स्वीकार नगर्ने व्यक्तिलाई हानि पु¥याउन (अपहरण, यौन हिंसा वा एसिड आक्रमण) वा आफैँलाई हानि पु¥याउने (विष खाने, हातको नसा काट्ने) लगायतका विधि प्रयोग गरेर आत्महत्याको प्रयास गर्दछन् ।
पहिलो घटनामा चर्चा गरिएको जीवन शक्ति हाम्रो जीवनमा फरक–फरक पाटोमा प्रस्फुटित भएर आउँछ । शायद यही नैसर्गिक शक्तिलाई नै मनोविश्लेषक सिग्मन्ड फ्रायडले इरोस ९भ्चयक० भनेर व्याख्या गरेका छन् । दोस्रो घटनामा भएको जस्तो त्यसको विपरीत प्रवृत्ति पनि हामीमा भएको चर्चा उनले गरेका छन् । हामी यही जीवन शक्ति र त्यसको विपरीत शक्तिको बारेमा संक्षिप्त चर्चा गर्ने प्रयास गर्नेछौं ।
नैसर्गिक जीवन प्रवृत्ति
नैसर्गिक जीवन प्रवृत्तिको सिद्धान्त (Drive Theory) अनुसार प्रत्येक जीवहरू केही मनोवैज्ञानिक आवश्यकताहरूका साथ जन्मन्छन् तर यी आवश्यकता पूरा नभएको स्थितिमा नकारात्मक स्थिति पैदा हुन्छ । ती आवश्यकता पूरा भएको स्थितिमा भने सो जीव समस्थिति (homeostatic) हुन्छ । यो सिद्धान्त अनुसार समय बित्दै जाँदा ड्राइभ (drive) बढ्दै जान्छ । यौनिक क्रियाकलाप सन्तान जन्माउन गरिने क्रियाकलाप भएकोले मात्र जीवन प्रवृत्ति भएको होइन । यही जीवन प्रवृत्तिबाट नै आफ्नो सुरक्षाको लागि हामीले भोजनको साथै शरीरलाई तातो–चिसोबाट बचाउन लुगा र सुरक्षित आश्रय स्थल विकास गरेका छौं ।
फ्रायडले आफ्ना बिरामीको अवलोकनको आधारमा उनले मानिसमा दुई विपरीत प्रवृत्ति -urges वा instincts) हुने कुरा बताएका थिए । एकलाई उनले इरोस (Eros) भनेका छन्, जसले जीवनलाई संवद्र्धन गर्ने कार्य गर्छ भनेर व्याख्या गरे भने अर्को यसको विपरीत प्रवृत्तिलाई थानटोस (Thanatos) नामकरण गरेका थिए, जसले विनाश गर्ने गर्दछ ।
यौनेच्छा: एक जीवन प्रवृत्ति
मानव समाजमा जहिले पनि यौनेच्छा एक विशेष चासो र चिन्ताको विषय रहेको पाइन्छ । समुदाय अनुसार केही भिन्नता हुने भए पनि यौनेच्छालाई कायम बनाइराख्न परम्परागतरुपमा नै जीवनशैलीदेखि खानपान अनि विभिन्न औषधिमूलोको प्रयोग भएको पाइन्छ । अहिले कतिपय व्यक्तिको चासो आफ्नो यौनेच्छा कम भएकोमा छ । यसको वृद्धिका लागि अनेक सोधखोज र उपचारका विधी अपनाउने गरेको पाइन्छ ।
यौन र यौनिकताको सन्दर्भमा कुरा गर्दा, यौनेच्छा यसको महत्वपूर्ण पाटो हो । हामीमा हुने यौनेच्छा हाम्रो यौनसम्पर्क राख्ने इच्छा मात्रै सोच्ने गर्दछौं । तर यो प्रवृत्ति फराकिलो रुपमा हेर्न आवश्यक हुन्छ । फ्रायडका अनुसार कामेच्छा एक नैसर्गिक प्रवृत्ति(drive) हो । प्रसिद्ध मनोविश्लेषक सिग्मन्ड फ्रायडले यसलाई जनाउन लिबिडो (Libido) शब्दको प्रयोग गरे । उनका अनुसार यो एक जीवन प्रवृत्ति(Eros)हो । फ्रायडको लागि नैसर्गिक प्रवृत्तिको स्रोतको रुपमा जैविक उत्तेजना (biological stimulus)चाहिन्छ तर यो नैसर्गिक प्रवृत्ति भने एक मानसिक चित्रण हो ।
फ्रायडको जीवन प्रवृत्ति (भ्चयक) लाई कतिपयले प्रणय प्रवृत्ति वा यौनको एक महत्वपूर्ण पक्षको रुपमा चिन्ने गर्दछन् । जीवनको सकारात्मक पक्ष समेटेकोले होला यो एक प्रकारले सुख (pleasure) सिद्धान्त पनि हो । यही जीवन प्रवृत्तिले मानिसलाई भौतिकरुपमा नजिक ल्याउँछ, जसलाई हामीले कामेच्छा वा यौनेच्छा भनेर पनि चिन्दछौं । यो एउटा यस्तो शक्ति वा आवेग हो जुन जीवन प्रवृत्तिको एक महत्वपूर्ण पाटो हो । यो यस्तो आवेग हो जसले यस संसारमा जिउन र रहन सहयोग गर्दछ । यसैले हाम्रो जातिको संरक्षण र हेरचाहमा सहयोग गर्दछ । यसले कुनै पनि जीवित वस्तुको संवद्र्धन गर्दछ । यौनजीवन नै जीवन प्रवृत्तिको महत्वपूर्ण पाटो हो । गहिरिएर फराकिलो रुपमा हेर्ने हो भने यो जीवन प्रवृत्ति नै सबै नै सृजनशीलता तथा बौद्धिकताको स्रोत हो ।
मृत्यु प्रवृत्ति
पहिले यौनजस्तो जीवन प्रवृत्ति मात्र भएको सोच राखेका फ्रायडले यसको विपरीत प्रवृत्ति हुने कुराको अवलोकन गरे, जसलाई मृत्यु प्रवृत्ति -(death instincts) अर्थात् थानटोस (Thanatos) नामकरण गरे । फ्रायडले मानसिक रोगीमा जीवन र मृत्यु प्रवृत्ति साथसाथै रहेको पनि पाए । जस्तै कि प्रेम र घृणा अनि आनन्द र पीडा वा जीवन र मृत्यु । फ्रायडका अनुसार जीवन र मृत्यु यी दुई प्रवृत्ति प्रमुख हुन् र अन्य प्रवृत्ति यसैबाट आएका हुन् । यो प्रवृत्तिमा भएको शक्तिले जैविक(organic) रुपमा भएको कुरालाई अजैविक (inorganic) स्थितिमा लाने देखिन्छ ।
कतिपय जीव वैज्ञानिकहरुले फ्रायडको मृत्यु प्रवृत्तिलाई स्वीकार गर्दैनन् । उनीहरूको विचारमा जीवन प्रवृत्तिले नै जीवलाई जिउन उत्प्रेरित गर्दछ, जे गर्छ उसले जिउनको लागि गर्दछ । उनीहरूका अनुसार हामी जीवित वस्तु हौं । हामीमा मृत्यु प्रवृत्ति छ भने हामी कसरी जीव भयौं ? कतिपय मनोवैज्ञानिकको दृष्टिकोणमा पनि यो मृत्यु एक भिन्न प्रवृत्ति हुन सक्दैन ।
द्विविधा, जीवन र मृत्यु प्रवृत्तिको समिश्रण
कतिपय स्थितिमा प्रेमको कुरा गर्दा आक्रामताको कुरा पनि गरिन्छ । जीवन प्रवृत्ति र मृत्यु प्रवृत्तिहरु एक–अर्काबाट स्वतन्त्र छैनन् । जीवन प्रवृत्तिमा मृत्यु प्रवृत्तिका केही अंश हुन्छन् भने मृत्यु प्रवृत्तिमा जीवन प्रवृत्तिका अंशहरू । त्यसैले कुनै एक व्यक्तिमा वा व्यक्तिप्रति दुवै नै धारणा हुन सक्छन् । जीवन प्रवृत्ति मृत्यु प्रवृत्तिमाथि हाबी हुँदा जीवनले निरन्तरता पाउने गर्दछ । मृत्यु त्यस बेला हुन्छ जब जीवन प्रवृत्तिले मृत्यु प्रवृत्तिलाई निष्प्रभावी गर्न सक्दैन ।
यी सिद्धान्त अनुसार एक व्यक्तिले अर्को व्यक्तिलाई प्रेम गर्न सक्दैन, यदि त्यसमा केही घृणाका कुरा छैनन् भने । यस अर्थमा एक व्यक्तिले अर्को व्यक्तिलाई शतप्रतिशत प्रेम वा घृणा गर्न सक्दैन । कुनै बेला एक भावना हाबी हुन्छ भने अरु बेला अर्को । एक मनोविद् अलेक्जेडरले भनेका छन्– प्रेम गुमाउने भयले हामीमा ईष्र्याको भावना हुन्छ, जसले आक्रामकतालाई जन्माउँछ । यो नैसर्गिक होस् कि पछि सिकिएका, प्रेम र घृणा दुवै नै जहिले पनि हामीसँग छन् ।
शायद यसै कारण एक–अर्कालाई अति नै प्रेम गर्ने जोडीमा पनि धेरथोर जे भए पनि एक हदको असन्तुष्टि हुन्छ । यसैले होला उनीहरू पनि एक–आपसमा झगडा गर्दछन्, एक–अर्कोप्रति केही आक्रामक व्यवहार देखाउँछन् । कतिले प्रेममा नै पीडाको अंश भएको ठान्छन् । यौनसम्पर्क आफैँमा जीवनको शुरुवात गर्ने क्रियाकलाप भएकोले, यो जीवन शक्तियुक्त र प्रेममय हुनुपर्ने हो । यहाँ पनि प्रेमको साथसाथै पीडा हुन्छ । कतिपय स्थितिमा यौनसुख प्राप्त गर्न यौनसाथीलाई पीडा दिने (sadistics) व्यवहार पनि गर्ने गर्दछन् । कतिपयले हाम्रो सम्पूर्ण जीवन नै एक प्रेम तथा घृणा, जीवन तथा मृत्यु अनि सुख (आनन्द) तथा पीडा (दुःख) बीचको विरोधाभास वा सम्झौता हो भनेर व्याख्या गरेका छन् ।