मधुमेहको व्यावहारिक व्यवस्थापन



श्रीरामसिंह बस्नेत

मधुमेह संस्कृतबाट बनेको शब्द हो । मधुको अर्थ गुलियो हो भने मेहको अर्थ अधिक अर्थात् रगतमा गुलियोको मात्रा चाहिनेभन्दा अत्यधिक हुने अवस्था नै मधुमेहको समस्या हो । भ्रम र यथार्थ विगतमा धनी र विलासी मानिसहरुलाई मात्र मधुमेह, उच्च रक्तचाप, हृदय रोग आदि हुन्छ भन्ने धारणा रहेकोमा अहिले यी समस्याले धनी–गरिबबीचको पर्खाललाई नाघिसकेको छ । विश्व मधुमेह महासंघका अनुसार विश्वमा हरेक १० सेकेन्डमा मधुमेहका तीनजना नयाँ बिरामी थपिन्छन् । नेपालमा जनसंख्याको १२ प्रतिशतमा यो समस्या रहेको औसत अनुमान गर्दा पनि करिव ३६ लाख नेपाली यस समस्याबाट ग्रसित छन् ।

तर यति हुँदाहुँदै पनि मधुमेह प्राणघातक र मानिसको नियन्त्रणभन्दा बाहिरको समस्या भने होइन । त्यसैले योसँग डराएर होइन, बुद्धि पु¥याएर व्यावहारिक रुपमा यसको सामना गर्नुपर्दछ । मधुमेहको लक्षण देखिएको ४०–५० वर्षपछिसम्म पनि आफ्नो सामान्य जीवन व्यतीत गर्न सफल मानिसहरु पनि प्रशस्त छन् भने यसलाई व्यवस्थापन गर्न नसक्दा मधुमेह देखिएको केही वर्षभित्रै मिर्गौला गुमाउन वा आँखाको ज्योति गुमाउन वा मुटुरोग निम्त्याउन पुगेका मानिसहरु पनि प्रशस्त छन् । लामो समय मधुमेहबाट ग्रस्त भएका कारण अल्जाइमर्सजस्तो जटिल समस्या भोग्न बाध्य हुनुपरेका उदाहरण पनि कम छैनन् ।

चिकित्सकहरुका अनुसार वास्तवमा मधुमेह आफैंमा कुनै रोग होइन, यो शरीरभित्र उत्पन्न हुने एक विशेष अवस्था हो, जसबाट शरीरमा अरु जटिल समस्या पैदा हुन्छ । यो कुनै भाइरस वा ब्याक्टेरियाबाट फैलिने रोग होइन । मधुमेह दुई किसिमका हुन्छन्– टाइप १ र टाइप २ । टाइप १ को मधुमेहमा शरीरको भित्री अंग प्यान्क्रियाजले इन्सुलिन नै पैदा गर्दैन । यस्तो समस्या प्रायजसो जन्मजात वा बाल्यावस्थादेखि नै शुरु हुन्छ । यो निकै जटिल समस्या हो । टाइप २ मधुमेहमा भने प्यान्क्रियाजले इन्सुलिन त पैदा गर्छ तर चाहिनेभन्दा धेरै कम मात्रामा । विश्वमा यो टाइप २ मधुमेहको समस्या नै धेरै व्यापक भइरहेको छ ।

 

विशेष गरी शारीरिक परिश्रम नगर्ने, गरिष्ठ र धेरै भोजन गर्ने, खानामा गुलियो स्वादका परिकार बढी खाने, खानाको समय अनियमित हुने जुनसुकै उमेरका व्यक्तिहरुमा मधुमेहको समस्या बढी देखिने गरेको छ । मधुमेहीको मिर्गौला, मुटुमा गम्भीर असर पर्न सक्छ भने आँखाको नानीभित्रका कोशिकाहरुमा असर पर्न गई सधैँका लागि दृष्टि गुमाउनुपर्ने अवस्था आउन सक्छ । यसले नसामा पार्ने असरका कारण पक्षघात हुन सक्छ भने खुट्टामा कुनै कारणवश घाउ भएमा घाउ निको नभई खुट्टाका औंला वा खुट्टा नै काट्नुपर्ने स्थिति पनि आउन सक्छ । मधुमेह पीडितमा देखिने एउटा समस्या शरीरको कुनै भागमा चोट लागेमा त्यो घाउ निको नहुनु वा निको हुन धेरै समय लाग्नु पनि हो । मधुमेहले अनुहारको ताजापन नष्ट गरिदिन्छ भने यौन क्षमतामा समेत ह्रास ल्याउँछ ।

अरु रोगमा जस्तो मधुमेह हुँदा शरीरमा कतै दुख्ने, ज्वरो आउने, बाहिरी लक्षण देखिने नहुने हुँदा मानिसले आफूलाई मधुमेहले समातेको पत्तै नपाउन सक्छन् । यसका सामान्य लक्षण भने पानी प्यास धेरै लाग्ने, मुख सुख्खा हुने, राति पिसाब गर्न पटक–पटक उठ्नुपर्ने, काम गर्न जाँगर नलाग्ने, दिउँसो पनि आलस्यले निद्रा लागेजस्तो हुने, खाना खाए पनि भोक लागिरहेको जस्तो हुने, पुरुषमा यौनचाहना भए पनि उत्तेजना नहुने, महिलामा यौनचाहना नहुने, शरीरको तौल घट्दै जाने, खुट्टा झमझमाउनेजस्ता प्रारम्भिक लक्षणहरु देखा पर्दछन्, तर धेरैले यो मधुमेहका कारण भएको हो भन्ने बुझ्दैनन् ।

मधुमेह भए-नभएको रगत जाँच गरेपछि पत्ता लाग्छ । सामान्यतया रगतमा चिनीको मात्राको स्थिति पत्ता लगाउन चार प्रकारका जाँच प्रचलनमा छन्– खाली पेटमा बिहान गरिने रगत जाँच (फास्टिङ टेस्ट), खाना खाएको ठीक दुई घण्टापछि गरिने जाँच (पीपी टेस्ट), विगत तीन महिनामा रगतमा चिनीको मात्राको स्थितिबारे जानकारी दिने जाँच (एचबी ए १ सी ) र कुनै पनि बेला तत्कालै रगत जाँच गरी रगतमा चिनीको मात्राबारे सामान्य जानकारी लिने ¥यान्डम टेस्ट ।

सामान्यतया खाली पेट (फास्टिङ टेस्ट) को नतिजा ७० देखि ११० भित्र हुनुपर्छ भने खानापछि (पीपी टेस्ट) को ७० देखि १४० भित्र हुनुपर्छ । यसै गरी एचबीए १ सी ४.२ देखि ६.२ प्रतिशतभित्र हुनुपर्छ । आजकल डाक्टरहरु तत्कालको मात्र नतिजा देखाउने फास्टिङ, पीपी, ¥यान्डम टेस्टभन्दा विगत तीन महिनाको ट्रेन्ड बताउने यो टेस्टलाई बढी विश्वसनीय मान्दछन् । यो टेस्टको नतिजा ५.५ देखि ६.८ प्रतिशतभित्र छ भने त्यसलाई मधुमेह राम्रो नियन्त्रणमा रहेको, ६.८ देखि ७.८ सम्म छ भने त्यसलाई सावधान हुनुपर्ने अवस्था र ७.८ भन्दा पनि बढी छ भने त्यो चिन्ताजनक अवस्था मानिन्छ ।

यद्यपि यो मापदण्ड (रेफरेन्स रेन्ज) मा प्याथोलोजी ल्याबअनुसार केही अन्तर पाइन्छ । तर आधारभूत मापदण्डमा खासै अन्तर हुँदैन । आजभोलि घरमै बसेर पनि आफ्नो वा परिवारको मधुमेह जाँच गर्न सकिन्छ । औंलामा विशेष किसिमको सियोले घोचेर एक–दुई थोपामात्र रगत निकाली आफैंले मधुमेह जाँच गर्न सकिन्छ । प्याथोलोजी ल्याबमा भने सिरिन्जमा रगत निकालेर जाँच गरिन्छ । यी दुई तरिकाबाट गरिएको टेस्टको नतिजामा करिव १० अंकजति फरक पर्छ ।

रगतमा चिनीको मात्रा बढी हुन थालेर प्यान्क्रियाजले इन्सुलिन कम उत्पादन गर्न थालेपछि यो समस्यालाई फेरि निमिट्यान्न गर्न प्रायः सकिँदैन । चिनीको मात्रा नियन्त्रणमा राख्न र इन्सुलिन उत्पादनलाई सन्तुलित बनाउन भने सकिन्छ । मधुमेहको उपचार भनेकै यही नै हो । यो उपचार जीवन शैलीमा आधारित हुन्छ । मधुमेहलाई नियन्त्रणमा राखी जोखिमबाट बच्नका लागि अपनाउनुपर्ने प्रमुख उपायहरु हुन्– रगतको आवधिक जाँच, डाक्टरले तोकिदिएको औषधिको नियमित सेवन, अनुशासित खानपिन, नियमित शारीरिक व्यायाम, पर्याप्त पानी पिउने बानी आदि । उच्च रक्तचाप र मधुमेहलाई जोडी मानेर एउटा भएपछि ढिलोचाँडो अर्को पनि भइहाल्छ भन्ने धारणा पनि धेरैमा पाइन्छ । तर यो अर्धसत्य मात्र हो ।

वजन र भोजन

मधुमेह पीडित व्यक्तिले आफ्नो शरीरको वजन र भोजनबारे गम्भीररुपमा ध्यान दिनै पर्छ । शरीरको वजन सामान्यतया शरीरको अग्लाइ, उमेर, खानपिन आदिमा भर पर्दछ । वजन र भोजनबीच गहिरो सम्बन्ध हुन्छ । मधुमेहीले आफ्नो शरीरको वजन अधिक बढ्न दिनुहुँदैन । त्यसका लागि वजन बढाउने भोजनबाट टाढा रहनुपर्छ । अर्कोतर्फ लामो समयदेखि मधुमेह भोगिरहेका मानिसहरुमा शरीरको वजन आफैं घट्दै जाने गरेको पाइन्छ ।

त्यसैले मधुमेहीहरुले वजन धेरै बढ्न पनि नदिन र घट्न पनि नदिई सन्तुलित राख्न हरसम्भव प्रयास गर्नुपर्छ । यसको मुख्य तरिका भोजनमा सन्तुलन नै हो भने शारीरिक परिश्रम अर्को प्रमुख तरिका हो । मधुमेहले छोएपछि सबैभन्दा दिक्क लाग्दो पक्ष नै के खाने, के नखाने भन्ने हो । यसमा कतिपय भ्रमहरु पनि हामीबीच व्याप्त छन् ।

कतिपय मधुमेहीहरु खानेकुरालाई यति धेरै कडाइका साथ पालना गर्न खोज्छन् कि उनीहरुलाई खाने चिज नै पाउन कठिन हुन्छ । अर्कोतर्फ कोही मधुमेहीहरु औषधि नियमित सेवन गरेपछि जे खाए पनि हुन्छ भन्ने भ्रममा परेर जे पनि र जति पनि खान अघि सर्छन् । यो दुवै ठीक होइन । मधुमेहीले परहेज गर्नुपर्ने मुख्य खानामा कार्बोहाइड्रेड हो । भात, चिउरा, रोटी आदिमा कार्बोहाइड्रेड धेरै पाइन्छ । त्यसैले यसको मात्रा कम गर्नुपर्दछ । तर यसको मतलब पटक्कै खानै हँुदैन भन्ने होइन । भात, रोटी कति खाने भन्ने कुरा रगतमा सुगरको मात्रा कति छ, त्यसमा भर पर्दछ ।

कतिपय मानिसमा मधुमेह भएपछि भात खानै हुँदैन, गहँुको रोटी मात्र खानुपर्छ भन्ने भ्रम पाइन्छ । गहुँ पनि कार्बोहाइडे«ड नै हो । त्यसैले भात नखाई रोटी मात्र खानुको कुनै तुक छैन । मुख्य रुपमा के भन्दा पनि कति खाने भन्नेमा ध्यान दिनु जरुरी हुन्छ । थोरै मात्रामा खाएको कुनै पनि चिजले सामान्यतया बेफाइदा गर्दैन तर एउटै चिज धेरै मात्रामा र पटक–पटक खाएमा अवश्य बेफाइदा गर्छ । कतिपय मधुमेही र उनका आफन्तहरुमा मधुमेह भएपछि जमिनमुनि फल्ने चिज जस्तै– आलु, पिँडालु, सखरखण्ड आदि पटक्कै खानुहुँदैन भन्ने सोच रहेको पाइन्छ । तर कहिलेकाहीँ थोरै मात्रामा यी प्राकृतिक उत्पादन खान डराउनुपर्दैन ।

तर यसैले मात्र पेट भर्न खोज्नु वा दिनका दिन खानु घातक हुन जान्छ । फलफूलमा गुलियो धेरै नभएको फलफूल खान सकिन्छ । मधुमेहीहरु आँप खान डराउँछन् । तर फलफूलको राजा मानिएको आँप पनि खाने तरिका छ । रगतमा सुगरको मात्रा सामान्यभन्दा अलिकति मात्र बढी छ भने सिजनमा राम्रोसँग पाकेको, औषधि नहालिएको आँपको एकपाटो खान सकिन्छ । तर मधुमेहको समस्या नभएको मानिसले जस्तो सिजनभर नै हरेक दिन आँप खान हुँदैन, कम्तीमा पनि दुई–तीन दिनको फरकमा एकपाटो मात्र आँप खान मिल्छ । तर सुगर अलि बढी नै भएकाहरुले भने आँप खाने लोभ गर्नुहुँदैन ।

 

मधुमेहीका लागि सबभन्दा उत्तम फल मेवा र स्याउ हो भने सबैभन्दा घातक उखु हो । यसै गरी सुगर लेभल बढी नै छ भने जामुन (कालो)को फल खाँदा फाइदा गर्छ । यो पनि एकैपटक धेरै र दिनका दिन भने खानुहुँदैन । मोमो विशेष गरी काठमाडौं उपत्यकाको सर्वाधिक लोकप्रिय खाजा हो । तुलनात्मकरुपमा सस्तो, स्वादिलो र आडिलोसमेत भएकोले यो सबैका बीच निकै प्रिय छ । तर रातो मासु (राँगा, खसी, बोका आदि) बाट बनेको मोमोलगायत सबै परिकार मधुमेहीका लागि उचित हुँदैनन् । कतिपय मानिस शाकाहारी (भेज) मोमो खाने गरेकोले मधुमेहको चिन्ता नभएको ठान्छन् ।

तर मोमो जेको भए पनि त्यो बनाइने मैदाबाट हो । त्यसैले मोमो, चाउमिन आदि मैदाबाट निर्मित खानेकुराको अधिक प्रयोग मधुमेहीका लागि निकै हानिकारक हुन जान्छ । मधुमेहीहरुको नियमित खानामा हरियो तरकारी, चना, करेला, मेथी, पाकेको फर्सी, रामतोरियाँ, तीते करेला, खैरोचामल, फापर, कोदो, ओट्स, अण्डा, माछा, कुखुरा, सादा दही आदि विशेष लाभदायी हुन्छन् । मधुमेहीहरुले खान हुने चिनी नामधारी एउटै मात्र चिज हो– दालचिनी । दालचिनीको धूलो वा टुक्रा बेलाबेलामा मुखमा लिइराख्नाले फाइदा गर्छ । साथै बिहान खाली पेटमा एक गिलास पानीमा दुई चम्चा जौको सात्तु घोलेर खानु उचित हुन्छ ।

मधुमेहीहरु मदिरा सेवनबाट टाढै रहनु सुरक्षित हुन्छ । मधुमेहीहरुलाई पोषण विज्ञ (डायटिसियन)ले क्यालोरीको हिसाब गरी खानाको सिफारिस गर्ने गरेको पाइन्छ । मधुमेहीहरुले पेट चर्कने गरी एकैपटक धेरै कहिल्यै खानुहुँदैन । थोरै–थोरै खाने, पटक–पटक खाने गर्नुपर्दछ । जतिसुकै मीठो लागेको परिकार भए पनि धेरै खानुहुँदैन । त्यसैले ‘मधुमेहीहरुले परिकार खाने होइन, चाख्ने मात्र हो’ भनिन्छ । विशेष गरी भोज, भत्तेरमा र कसैको घरमा पाहुना लाग्न जाँदा खानामा संयमित हुनु अति जरुरी छ । चिनी हालिएका चिया, कफी, जुस, चिसो पेय, मिठाई आदिबाट टाढै रहनुपर्छ भने आजकल बजारमा पाइने ‘सुगर फ्री’ विशेषणधारी खानेकुरा पनि विश्वसनीय हुँदैनन् ।

कतिपय चिकित्सकहरुले आफूकहाँ जँचाउन आएका मानिसमा सुगरको मात्रा अलिकति बढी देख्दैमा औषधि शुरु गराइहाल्ने गरेको पनि पाइन्छ । यसलाई व्यावहारिक मानिदैन । केही समय उसलाई खानपिन र शारीरिक व्यायामबाट सुगर नियन्त्रण गर्ने समय दिनुपर्छ र त्यसबाट नियन्त्रण भएन भने मात्र औषधि शुरु गर्दा राम्रो हुन्छ ।

कतिपय मानिसहरु सुगर नियन्त्रण नहुँदा पनि औषधि शुरु गरेपछि जीवनभर खानुपर्छ भनेर औषधि शुरु गर्न मान्दैनन् र जोखिम निम्त्याउँछन् । कोही भने औषधि खान थालेपछि सुगर घटेको देखेर ‘अब त ठीक भइहाल्यो नि’ भनेर चिकित्सकको सल्लाहविना औषधि खान आफैं छोड्छन् र परिणामस्वरुप केही समयपछि नै अस्पतालको इमर्जेन्सीमा पुग्छन् । औषधि खान, छोड्न, मात्रा घटाउन, बढाउन, फेर्न डाक्टरको सिफारिस अनिवार्य हुन्छ ।मधुमेहीहरुले शरीरलाई चलायमान राख्नुपर्दछ । यसका लागि हरेक बिहान स्वच्छ हावामा करिब एक घण्टा मध्यम गतिमा हिँड्ने गर्नुपर्दछ ।

सावधान ⁄

अक्सर मधुमेहीहरुले सुगर घटाउन अनेकौं प्रयास गरिरहेका हुन्छन्, जो स्वाभाविकै पनि हो, तर सुगर घटाउने प्रयास गर्दा अत्यावश्यक मात्राभन्दा पनि घट्न गयो भने (७० भन्दा पनि कम) ठूलो सङ्कट आउन सक्छ । यस्तो भएमा सामान्य असर पर्ने मात्र नभई ज्यान नै जान सक्ने स्थिति पनि आउन सक्छ । कैयौं मानिसहरुले यसरी पनि ज्यान गुमाएका छन् ।

सुगर लेभल अस्वाभाविक रुपमा घट्दा केही लक्षणहरु प्रस्ट देखिन्छन् । जस्तै– रिंगटा लाग्नु, चिट्चिट पसिना आउनु, बेहोस हुनु, आँखा खोल्न नसक्नु, दृश्य धमिलो देखिनु, खुट्टाको भर नहुनु, ढुकढुकी तीव्र हुनु, शरीर शिथिल हुनु, वाकवाकी लाग्नु आदि । यस्तो हुँदा तत्कालै गुलियो पदार्थ खाइहाल्नुपर्छ । सबभन्दा उत्तम ग्लुकोज पाउडरको फाँको मार्नु वा पानीमा ग्लुकोज घोलेर पिउन हुन्छ । ग्लुकोज उपलब्ध हुन सकेन भने चिनी, मिश्री वा गुलियो जुस, चियो पेय, चक्लेट आदि खाइहाल्नुपर्छ ।

यतिखेर मधुमेहीहरुले सुगर लेभल बढ्ला भनेर चिन्ता गर्नुपर्दैन । सुगर नियन्त्रण गर्ने औषधि नियमित खाइरहेका, इन्सुलिन सुई लगाइरहेका, खानपिनमा धेरै परहेज गरिरहेका मधुमेहीहरुको सुगर लेभल कतिखेर स्वाट्टै घटेर आपत्कालीन स्थिति आइपर्छ भन्न सकिन्न । त्यसैले त्यस्तो अवस्था आउन नदिन मधुमेहीहरु विशेष चनाखो हुनै पर्दछ । सुगर घटाउने मात्र एकोहोरो धुन चढ्दा जीवन जोखिममा पर्न सक्छ ।

मधुमेहको लक्षण देखिँदैमा डराउनुपर्दैन । मधुमेह भएको थाहा भएपछि जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न बाध्य हुनुपर्ने भएकोले पहिला अस्वस्थकर जीवनशैली बिताइरहेका मानिसहरु पनि मधुमेह भएपछि स्वस्थकर जीवन अपनाई दीर्घजीवी र सिर्जनशील बनेका धेरै उदाहरण पाइन्छन् ।
(वरिष्ठ पत्रकार बस्नेतले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)

प्रतिक्रिया दिनुहोस्