मधुमासमा मेहन्दीको रौनक



सुष्मा महरा

साउन महिनाको शुरुवातमै प्रायः महिलाको दिमागमा हरियो, रातो र पहेँलो तीन रंग आउँछ । उनीहरुले साउन महिनामा गरिने आफ्नो शृङ्गारमा यही रंगका कपडा, चुरा, पोते बढी प्रयोग गर्ने गरेको पाइन्छ । विशेष गरी साउनको सोमबार महिलाहरु ऊभन्दा म के कम भन्दै सजिएका देखिन्छन् । यो क्रम प्रायः भदौमा पर्ने हिन्दू नारीहरुको महान् चाड तीजसम्म नै जारी रहन्छ ।

सूर्य दक्षिणायण लागेपछि अर्थात् साउन १ गतेदेखि विशेष चार्डपर्वको शुरुवात हुने गर्छ । पूर्वीय संस्कृति अनुसार साउनको सोमबारलाई झनै विशेषरुपमा महिलाहरुले लिने गरेको पाइन्छ । साउनको हरेक सोमबार भगवान् शिवको पूजा–अर्चना गर्दा मनोकांक्षा पूरा हुने विश्वास र आस्थाका साथ महिलाहरु हरियो वा रातो पहिरनमा सजिएर व्रत बस्ने गर्छन् । साथै विवाहित महिला मात्र नभएर अविवाहित किशोरीहरुले समेत यस महिनामा मेहन्दी लगाएर सजिने गरेको देखिन्छ ।

साउन महिनामा मेहन्दीको निकै चर्चा हुने भएकाले यस महिनालाई मेहन्दीको मौसम पनि भनिन्छ । साथै यस महिनालाई मधुश्रावणी वा मधुमास भन्ने पनि गरिन्छ । महिलाहरुले यस महिनामा आफ्नो शृङ्गारमा मेहन्दीलाई महत्वका साथ समावेश गरेको देखिन्छ । पूजा–आराधना गर्नुअघि हात–खुट्टामा मेहन्दी लगाउनु पवित्र एवं शुभ मानिने भएकाले यस महिनामा मेहन्दीको धेरै डिमान्ड हुने गरेको छ ।

साउन महिना लागेपछि घर–घरमा मेहन्दी लगाउन शुरु हुन्छ । सोमबारे व्रत बस्नेहरुले मात्र नभई व्रत नबसेका किशोरीहरुले पनि मेहन्दी लगाएको देखिन्छ । घरमा मात्र नभई साउन महिनामा सडकपेटीदेखि पार्लरहरुमा समेत मेहन्दी लगाउने ग्राहकको ताँती लाग्छ । यसरी अन्य महिनाको तुलनामा साउन महिनामा मेहन्दी लगाउने माहोल तीव्ररुपमा बढ्ने गरेको छ ।

दिन–प्रतिदिन नै मेहन्दीको लोकप्रियता बढिरहेको छ । केही वर्षयता मेहन्दी फेसनको रुपमा ह्वात्तै बढे पनि यसको शुरुवात भने ५ हजार वर्षअघिदेखि नै भएको हो । एउटा संस्कारका रूपमा विकास भएको मेहन्दी लगाउने चलन अहिले फेसनका रूपमा परिणत भएको छ । फेसनका रुपमा होस् वा संस्कृतिका रुपमा, जुन रुपमा प्रयोग गरे पनि यसले मानिसको स्वास्थ्यमा पनि फाइदा पु¥याउँछ । मेहन्दी अर्थात् हिना दक्षिण एसियाका महिलाहरुले शरीरका विभिन्न भागलाई सजाउन प्राचीन कालदेखि नै प्रयोग गर्दै आएको वनस्पतीय सामग्री हो । यसलाई विशेष गरी हात–खुट्टामा विभिन्न बुट्टा बनाई लगाइन्छ भने कपाल रङ्गाउन र स्वस्थ राख्नसमेत यसको प्रयोग गरिन्छ ।

सन् १९९० को दशकदेखि पश्चिमी देशहरूमा पनि मेहन्दी लगाउन थालिएको छ । नेपालमा समेत साउन महिनामा विदेशी महिला पर्यटकहरुले नेपाली महिलाजस्तै गरी हातमा मेहन्दी लगाइरहेका देखिन्छन् । नारीको सोह्र शृङ्गार मेहन्दीविना अपूरो मान्नेहरु पनि छन् । मेहन्दी विभिन्न चाडपर्व, उत्सव एवं विशेष समयमा बढी प्रयोग हुन्छ ।

कसरी तयार पार्ने मेहन्दी ?

मेहन्दीका लागि हिना नामक बिरुवाको पातलाई सुकाई पिसेर धूलो बनाइन्छ । सो धूलोलाई दुई–तीनपटक छानिन्छ । आवश्यकता अनुसारका पानी लिई त्यसमा इमली र चियाको पात हालेर उमाल्नुपर्छ । त्यसपछि पानीजति छानेर सो पानीमा आवश्यक मेहन्दीको धूलो हाली भिजाउनुपर्छ । भिजाएको मेहन्दीलाई प्लास्टिकको कागजको कोन बनाई आफूले चाहेको बुट्टा बनाएर प्रयोग गर्न सकिन्छ ।

अर्कोतिर कागतीको रस र चिनीको मिश्रण तयार गर्नुपर्छ । हातखुट्टामा लगाएको मेहन्दी सुकेर नखसोस् भनी यो मिश्रण पटक–पटक मेहन्दीमा लगाउनुपर्छ । लगाएको मेहन्दी चार–पाँच घन्टापछि निकाल्नुपर्छ । मेहन्दी निकालेपछि १२ देखि १४ घन्टासम्म त्यो भागमा पानी पार्नुहुँदैन । यसो गर्दा मेहन्दीको रंग गाढा हुन्छ । मेहन्दी निकालेपछि तोरीको तेल लगाउनुपर्छ । चारवटा ल्वाङको चूर्ण बनाएर हातमा घस्ने र त्यसपछि हातलाई आगोको रापमा सेक्ने गर्दा मेहन्दीको रंग आकर्षक र गाढा देखिन्छ । एउटा कागतीको रसमा १० थोपा नीलगिरीको तेल हालेर मिश्रण बनाई लगाउनाले पनि मेहन्दीको चमक बढ्छ ।

मेहन्दी लगाउँदा ध्यान दिऔं

मेहन्दी लगाउँदा गाढारुपमा बस्यो भने आफ्नो श्रीमान् तथा प्रेमीले धेरै गाढा माया गर्ने हुन्छ भन्ने पुरानो भनाइ छ । यो भन्दा पनि मेहन्दी गाढा बनाउन प्रयोग गरिने विधिले मेहन्दीकोे रंग गाढा देखिन्छ भन्ने कुरा बुझ्न जरुरी छ । मेहन्दी गाढा बनाएर लगाउन् भनेर नै यो भनाइको सिर्जना भएको हुन सक्छ । मेहन्दी हटाउनासाथ पानीमा काम गर्नुहुँदैन । यसले गर्दा मेहन्दीको रंग फिक्का हुन्छ । धेरै समयसम्म पानी नचलाउँदा मेहन्दी गाढा र लामो समयसम्म बस्छ । त्यसैले मेहन्दीको रंग र मायामा कुनै सम्बन्ध छैन ।

मेहन्दी गाढा बनाउनका लागि कतिपय दिदीबहिनीहरु मेहन्दीमा पेट्रोल, डिजेल, मट्टीतेल तथा विभिन्न किसिमका एसिड मिसाउँछन् । यसो गर्नु हाम्रो शरीरका लागि हानिकारक हुन्छ । यस्ता केमिकलले छालामा एलर्जी हुने, हात पोल्नेजस्ता विभिन्न किसिमका समस्या देखा पर्न सक्छ । त्यसैले सकेसम्म केमिकलरहित प्राकृतिक मेहन्दी प्रयोग गर्नुपर्छ ।

कसै–कसैलाई मेहन्दी हानिकारक पनि हुन सक्छ । त्यसैले यसको प्रयोग गर्नुभन्दा पहिले शरीरको कुनै पनि भागमा एक थोपा लगाई परीक्षण गर्नुपर्छ । चिलाउने र फोका आउने गरेमा मेहन्दीको एलर्जी हुने रहेछ भन्ने बुझ्नुपर्छ र त्यस्तो व्यक्तिले मेहन्दीको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

प्राकृतिकरुपमा तयार पारिने र रसायन हालेर तयार पारिने दुई खालका मेहन्दी हुन्छन् । त्यसैले मेहन्दीको रंग र डिजाइन आकर्षक देखिए पनि यसले हाम्रो स्वास्थ्यमा पार्ने असरबारे सचेत रहन जरुरी छ । सकेसम्म प्राकृतिकरुपमा तयार पारिएको मेहन्दी प्रयोग गर्नुपर्छ । बजारमा किनेर प्रयोग गरिने मेहन्दी लगाउनुभन्दा २४ घण्टापहिले शरीरको कुनै भागमा प्रयोग गर्ने र असर गरेन भने मात्र लगाउनुपर्छ । विश्वासिलो ब्युटी पार्लरमा गएर चाहेअनुसारको मेहन्दी लगाउन पनि सकिन्छ । साउनमा मेहन्दी लगाएर सजिनुस्, स्वस्थ रहनुस् ।

(लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्