इन्द्रिय नियन्त्रणको उपाय: प्रत्याहार



डा. क्षितिज बराकोटी प्राकृतिक चिकित्सक

अष्टाङ्ग योगको पाँचौँ अंगको रुपमा प्रत्याहारलाई लिइन्छ । यसले इन्द्रियहरुलाई नियन्त्रण गरी अन्तर्मुखी बनाउने कुरा सिकाउँछ । प्रत्याहार शब्द ‘प्रति’ र ‘आहार’ मिलेर बनेको छ । प्रति शब्दले विपरीत र आहार शब्दले भोजनलाई जनाउँछ । ज्ञानका पाँच इन्द्रियहरु ः कान, आँखा, जिब्रो, नाक र छालाका प्रकृति बहिर्मुखी हुन्छन् र उनीहरुको आहार उनीहरुकै सम्बन्धित विषयहरु हुन् । यसलाई पाँच तन्मात्राः शब्द, रुप, रस, गन्ध र स्पर्शका रुपमा लिइन्छ । ज्ञानेन्द्रियकै निर्देशनमा कर्मेन्द्रिय र एघारौं इन्द्रिय मन पनि चल्दछ । तसर्थ बाह्य वासना र आशक्तिमा रम्न रुचाउने इन्द्रियहरुलाई वशमा पारेर नियन्त्रण गरी सम्पूर्णरुपले बाह्यवृत्तिलाई हटाएर अन्तर्मुखी बनाउँदै त्यससँग सरोकार भएका विषयहरुप्रति विमुख गर्नु नै प्रत्याहार हो ।

महर्षि पतञ्जलिको योगसूत्र अनुसार इन्द्रियहरुलाई विषय विकारबाट अलग्याई मनलाई भित्री साधनातिर उन्मुख गर्नु नै प्रत्याहार हो । प्रत्याहारले इन्द्रियहरुलाई पूर्णरुपले वशमा राख्न सकिने महर्षि पतञ्जलि बताउँछन् । मनलाई यसो गर् भन्दा गर्ने र नगर् भन्दा नगर्ने प्रक्रिया प्रत्याहार सिद्धिबाट प्राप्त हुने हुँदा यसको अभ्यासले शीघ्र धारणाको अभ्यास लाग्ने र मन सहजै ध्यानस्थ हुन सक्छ ।

प्रत्याहारको पालना नगर्दा

इन्द्रियलाई आप्mनो नियन्त्रणमा नराख्दा हाम्रो जीवनका हरेक पक्षमा नराम्रो प्रभाव पर्ने देखिन्छ । इन्द्रियहरु लोभी हुन्छन्, त्यसले मनमा आशक्ति उत्पन्न गर्दछन् । कान रमाइलो कुरा सुन्नमा र वास्तविक सत्यका पछि नलागी रमझममा मात्र अगाडि बढ्ने स्वभावको हुन्छ । आँखाको ध्यान राम्रा विषय–वासनामा मात्र केन्द्रित रहन्छ र राम्रो हेर्ने ध्याउन्नमा फस्छ । यसरी नै जिब्रो स्वादको पछि लाग्छ, शरीरमा कुनै रोग छ भने रोगका विपरीत समस्या बढ्ने गरी वा निरोगी अवस्थामा पनि रोग उत्पन्न हुने गरी स्वादकै पछि लागेर मन अनियन्त्रित हुन पुग्दछ । नाकसमेत मीठो वासना वा सुगन्धमा पछि लाग्छ । यही क्रममा छालाको सुन्दरतालगायत यौनिकताको पछि लागि आलिंगन एवं स्पर्शको मजामा रुमल्लिएर कैयौँ व्यक्तिहरु आपूmलाई बर्बादीतिर डो¥याइरहेका हुन्छन् । ज्ञानेन्द्रियकै अनियन्त्रित कार्यले कर्मेन्द्रियहरुको व्यवहार भैरहेको हुन्छ । अस्वस्थ, अप्राकृतिक र अस्तव्यस्त जीवनशैली निर्माणमा इन्द्रियहरुको अनियन्त्रित अवस्थाले ठूलो भूमिका खेलेको पाइन्छ ।

प्रत्याहारको पालना गर्दा

इन्द्रियलाई आप्mनो नियन्त्रणमा राख्दा योग साधनामा मात्र हैन, यसबाट हाम्रो जीवनशैलीमा सकारात्मक लाभ प्राप्त हुने निश्चित छ ।

प्रत्याहारको साधनाबाट इन्द्रियहरु नियन्त्रण हुन्छन् । गलत आहारविहारमा इन्द्रियहरु आशक्त हुँदैनन् । इन्द्रियका रागयुक्त विषयहरु जस्तै– मधुर शब्द, सुन्दर रुप, मीठो स्वाद, मीठो वासना र हानिकारक स्पर्शहरुबाट मनलाई विमुख राख्न सकिने हुँदा हाम्रो जीवनशैलीलाई सही दिशामा लैजान प्रेरणा मिल्दछ । यसबाट सात्विकता, नियमितता, उत्साहपूर्ण जागरुकताजस्ता आदर्शहरु प्राप्त हुन्छन् । गलत बानी व्यवहारमा अंकुश लाग्दछ । आत्मनियन्त्रणको शक्ति पाउन सकिन्छ ।

प्रत्याहारका केही अभ्यास विधिहरु
क) इन्द्रियका विषयहरुप्रति जागरुकता: ज्ञानेन्द्रियका विषयहरु जस्तै– शब्द, रुप, रस, गन्ध र स्पर्शप्रति जागरुकता वा सचेतताका लागि सोही विषयमा ध्यान केन्द्रित गर्न सकिन्छ । विधि: कुनै पनि एक ध्यानात्मक आसन (सुखासन, अर्धपद्मासन, पद्मासन, वज्रासन, सिद्धासन आदिमध्ये एक) मा बस्नुहोस् । हातलाई ज्ञान, चिन वा अन्य कुनै मुद्रामा राख्नुहोस् । अब बाहिर आएको आवाजप्रति सजग हुनुहोस् । कानले सुनेका सबै आवाजहरुलाई एक–एक गर्दै सुन्दै जानुहोस् । सबै आवाजहरु जस्तै– गाडीको आवाज हर्न, चराचुरुंगीको आवाज, काम गर्दा उत्पन्न आवाज, यन्त्र चलेको आवाज, गीतसंगीतको आवाज, हावाको आवाज आदि जे–जस्ता आवाजहरु छन् सुन्ने प्रयास गर्नुहोस् ।

सबैभन्दा मीठो आवाज र सबैभन्दा कर्कस आवाज के छ सुन्नुहोस् । अब ठूलो आवाजबाट ध्यानलाई सूक्ष्म आवाजतिर केन्द्रित गर्नुहोस् । बाहिरी वातावरणमा भएका सबैभन्दा मसिनो, सानो आवाज पत्ता लगाउनुहोस् र केहीबेर त्यसप्रति सजग हुनुहोस् । अब बाहिरी आवाजबाट भित्री आवाजमा सजग हुनुहोस् । भित्री आवाजमा श्वास लिँदाको आवाज, मुटु ढुकढुकीको आवाज, रगत बगिरहेको आवाज सुन्ने प्रयास गर्नुहोस् । परिकल्पना गर्नुहोस् कि श्वासप्रश्वासको आवाज यस्तो छ, म सुन्दै छु, मुटुको धड्कन यस्तो छ, म सुनिरहेको छु, रक्तनलीमा रगत शान्त किसिमले सञ्चार भैरहेको सूक्ष्म आवाज आइरहेको छ, म सुनिरहेको छु भन्ने कल्पनासहित श्रवण गर्ने अभ्यास गर्नुहोस् । यसरी नै नबोलीकन ‘ओम्’को उच्चारणलाई कल्पना गर्दै सुन्ने, कुनै वाद्यवादन वा संगीतको धुनको कल्पना गर्दै सुन्नुहोस् ।

साथै मन्त्रको ध्वनिलाई पनि मनन गर्दै आपूmभित्रै कल्पनामा गुञ्जिएको आवाज सुन्ने प्रयास गर्ने । आवाजप्रति ध्यान केन्द्रित गरेपछि अब आँखाको विषय रुप अर्थात् दृष्टिमा आप्mनो ध्यान केन्द्रित गर्नुस् । आँखा बन्द गरेकै अवस्थामा आँखीभुइँको बीच आज्ञाचक्रमा उदाउँदो सूर्यको परिकल्पना गरी मनमनै त्यसमा ध्यान दिने वा मनको आँखाले हेर्ने । यसरी नै पञ्चमहाभूतहरु जस्तै– पृथ्वी, जल, वायु, आकाश र अग्नितत्वलाई सम्झेर मनमनै त्यसलाई हेर्ने । कुनै इष्टदेव, ईश्वरको स्वरुपलाई हेर्ने, ओम्को स्वरुपलाई हेर्ने, शरीर प्रकाशवान् भएको कल्पना गर्दै हेर्ने, ज्योतिको स्वरुपलाई हेर्ने आदि गर्न सकिन्छ ।

आँखा चिम्लँदा हुने अँध्यारो वा मसिना उज्यालोका कण, रंगीबिरंगी धर्सा वा कणहरुप्रति विचार गर्ने पनि गर्नुहोस् र अन्त्यमा शून्यमा वा केही नभएको विषयमा पनि मनमनै हेर्नुहोस् । यसका साथै मनमनै बाहिरी शरीरलाई हेर्नुहोस्, भित्री अंगहरुलाई हेर्नुहोस्, मुटु, फोक्सो, आन्द्रा आदि अंगहरु यसरी काम गर्दै छन् भन्ने पनि कल्पनामा हेर्नुहोस् ।

अब नाकको विषयमा केन्द्रित हुनुहोस् । बाहिरी वातावरणमा आइरहेको गन्धप्रति सचेत हुनुस्, सुगन्ध वा दुर्गन्ध के छ विचार गर्नुहोस्, आप्mनो शरीरको गन्धप्रति सचेत हुनुहोस् । अब कुनै पूmलको कल्पना गर्दै वासना ग्रहण गर्नुहोस्, कुनै सात्विक भोजनको कल्पना गर्दै त्यसको वासना अनुभव गर्नुहोस्, शरीरमा नै ऊर्जादायी अमृत स्राव भएको कल्पना गर्दै मधुर वासनाको अनुभव गर्नुहोस् । अब स्वादको अनुभव गर्नुहोस् । मुखभित्रको खल्लो, अमिलो आदि कस्तो स्वाद छ विचार गर्नुहोस् ।

कल्पनामा फरक स्वादको अनुभव गर्नुहोस् । अमिलो, नुनिलो, गुलियो, टर्रो, तीतो, खल्लो, पिरो सबै स्वाद मुखभित्र आइरहेको कल्पनाबाट अनुभूति गर्नुहोस् । अब ध्यानलाई स्पर्शमा लैजानुहोस् । शरीरमा लुगाले कहाँ–कहाँ स्पर्श गरेको छ विचार गर्नुस्, हावाको स्पर्श, तापको स्पर्श आदिप्रति विचार गर्नुहोस् । नाकबाट श्वास भित्र जाँदै छ भन्ने विचार गर्दै चिसो हावाको स्पर्श अनुभव गर्नुहोस्, छोडेको श्वाससँगै तातो हावा बाहिर निस्कँदै छ भन्ने तातो हावाको स्पर्श अनुभव गर्नुहोस् ।

ख) योग निद्राको अभ्यास:योग निद्रा सुत्ने र निदाउने होइन, जागरुक हुने अवस्थाको नाम हो । विधि ः शवासनमा सुत्नुस् (उत्तानो सुत्ने, दुवै गोडा एक–डेढ हात परक पार्ने, हातलाई कम्मरको दायाँ–बायाँ सीधा राखी हत्केला उत्तानो पार्ने, आँखा चिम्लने, स्थिर भई आरामपूर्वक पल्टिने) । यसलाई विभिन्न किसिमले अभ्यास गर्न सकिन्छ । यहाँ एक सामान्य सहज विधि दिइएको छ, सिकौं । अब शरीरका अंगहरुमा मनलाई केन्द्रित गर्ने अभ्यास गर्नुस् । सम्झँदा अंगको स्थिति र अवस्थामा ध्यान दिने । विचार गरेका अंगहरु स्वस्थ र बलियो भएको अनुभव गर्ने । शवासनमा रहेर शरीरको दायाँ भागको गोडाबाट ध्यान केन्द्रित गर्न शुरु गर्नुस् । मनमनै दाहिने गोडाको पैताला, कान्छी औंलादेखि बूढी औंलाका प्रत्येक भागको अवस्थामा ध्यान दिनुस्, मेरा यी भागहरु ठीक छन् भन्ने सोच्नुहोस् । यसरी नै क्यामराले भिडियो खिचेझैँ सरसर्ती मनको आँखाले हेर्दै माथि–माथि बढ्नुहोस्, पैताला र औंलाभन्दा माथि, गोलिगाँठोवरिपरि र जोर्नी, पिँडौला र वरिपरिको सबै भाग, घुँडाको जोर्नी, तिघ्राका हाडमासु, नशा सबैमा ध्यान केन्द्रित गर्दै तिघ्राको जोर्नीमा ध्यान दिने । अब देब्रे गोडाको पैताला, औंला, गोलिगाँठो र वरपरको भाग, जोर्नी, पिँडौला, तिघ्रा र जोर्नीमा ध्यान दिने । दुवै गोडाको सम्पूर्ण भागमा पालैपालो र एकसाथ ध्यान दिने । अब यौनांग क्षेत्रका अंगमा ध्यान दिने । नितम्बमा ध्यान दिने ।

नाभीको बीच भाग, पेटको माथिल्लो भाग, बायाँ भाग, तल्लो भाग, दायाँ भागलाई मनको आँखाले हेर्ने । पेटको ठीक पछाडिको कम्मरको भागमा हेर्ने । छातीको दायाँ भाग, मध्यभाग, बायाँ भागमा मनमनै हेर्ने । ढाडको पछाडिको दायाँ, मध्य र बायाँ भागमा हेर्ने । मेरुदण्डको गर्दनदेखि हिपको तल्लो भागको मेरुदण्डको भागसम्म हेर्ने । दायाँ हातको हत्केला, हत्केलापछाडिको भाग, औंला र प्रत्येक जोर्नीहरु, नाडीको जोर्नी, पाखुरा र वरिपरिको भाग, कुहिनाको जोर्नी, कुहिनामाथिको हातको भाग र काँधको जोर्नीमा क्रमिकरुपले ध्यान केन्द्रित गर्ने ।

अब ध्यान बायाँ हातमा लैजाने र हत्केला, हत्केलापछाडिको भाग, औंला र प्रत्येक जोर्नीहरु, नाडीको जोर्नी, पाखुरा र वरिपरिको भाग, कुहिनाको जोर्नी, कुहिनामाथिको हातको भाग र काँधको जोर्नीमा मनमनै हेर्ने अर्थात् विचार गर्ने । दुवै हातलाई पालैपालो र एकसाथ हातका सबै अंगलाई पूर्ण स्वरुपमा हेर्ने । यसपछि घाँटी र गर्दनमा ध्यान पु¥याउने । अब चिउँडो, तल्लो ओठ, मुखभित्र हेर्नुस् । तलको दाँत कतिवटा छन् गन्ने, जिब्रोको टुप्पोलाई भित्रतिर बटार्ने र कतै नछुवाईकन राखी टुप्पोमा ध्यान दिने, माथिल्लो दाँतको संख्या, अवस्था र स्थितिमा ध्यान दिने, सकारात्मक सोच्ने । अनुहारमा ध्यान दिने, दायाँ र बायाँ कानमा क्रमशः ध्यान दिने, बन्द आँखामा ध्यान दिने, टाउकाको सबै भागमा ध्यान दिने । अब मनलाई टाढा लगेर सुतिरहेको शरीरलाई हेर्ने ।

यसलाई बिस्तारै, धेरैबेर लगाएर अभ्यास गर्ने अर्थात् कमसेकम २० र बढीमा एक घण्टा लगाएर अभ्यास गर्न सकिन्छ । योग निद्राको अभ्यास एकपटक गुरुकै प्रत्यक्ष सम्पर्कमा अभ्यास गर्ने वा रेकर्डिङ गरिएको अडियो सुन्दै पनि अभ्यास गर्न सकिन्छ । यसको अभ्यासले इन्द्रिय तथा मनलाई नियन्त्रण गर्न सकिन्छ ।

मनले नै बन्धन र मोक्षमा पु¥याउने कार्य गर्छ र इन्द्रियले नै मनलाई बहकाउने गर्छ । प्रत्याहारले इन्द्रियलाई नियन्त्रण गरी मनलाई सकारात्मक जीवनशैली अपनाउनेतिर उन्मुख गर्दछ । यहाँ दिइएका दुईबाहेक प्रत्याहारका अनेकौं अभ्यासहरु छन्, त्यसको प्रयोग र साधना गर्न सकिन्छ ।
(यस स्तम्भका विगतका अंकहरुमा स्वस्थ जीवनशैलीका लागि महर्षि पतञ्जलिले सूत्रबद्ध गरेका अष्टांग योगका विभिन्न अंगहरु जस्तै– यम, नियम, आसन र प्राणायामका विषयहरुबारे चर्चा गरिएको थियो । थप योगांगहरुका बारेमा पनि आगामी अंकहरुमा जानकारी दिइनेछ ।)

प्रतिक्रिया दिनुहोस्