तपाईंका घरमा हाम्रा डक्टर



१. मधुमेह हुने मानिसले एक छाक गहुँको रोटी खानु भन्छन्, कसैले चामल र गहुँमा केही फरक छैन बरु एक छाक मकैको भात खानु भन्छन् । सही सुझावका लागि अनुरोध छ ।

– सुदांशु बिडारी, चितवन ।

बिडारीजी, मधुमेह वा सुगरको समस्या हुनेले यो खाने, ऊ नखाने भन्ने होइन कि चिनीको मात्रा बढाउन सक्ने खानाहरुको व्यवस्थापन गरेर नियन्त्रित खाने हो । जस्तो– हामी सरदर नेपालीको भौतिक सक्रियता तथा क्यालोरी आवश्यकता हेर्ने हो भने हामीलाई चाहिने दैनिक क्यालोरी १८००–२००० जति हुन्छ । त्यसमा आफ्नो तौल घटाउनुपर्ने भए क्यालोरीको मात्रा घटाउनुपर्ने हुन्छ । हरेक एक ग्राम चिल्लोले ९ क्यालोरी दिन्छ भने एक ग्राम कार्बोहाइड्रेटले ४ क्यालोरी दिन्छ । त्यस्तै एक ग्राम प्रोटिनको पनि ४ वा कम क्यालोरी प्राप्त हुन्छ । यसरी कुन कति खाइन्छ सो अनुसार दिनभरिको खानाको सरदर अन्दाज गरेर पनि हिसाब गर्न सकिन्छ ।

त्यस्तै अर्को कुरा, चिनीजन्य पदार्थको प्राप्तिको प्रतिशत हेर्दा चिनीको ९९ प्रतिशत हुन्छ भने चामलको ८०–८२ प्रतिशत हुन्छ । त्यस्तै मकै, गहुँ वा जौको करिब ४५–४८ प्रतिशत हुन्छ । अनि त सजिलै भन्न सकिन्छ कि मकै, जौ वा कोदोमा तात्विक फरक छ, शरीरमा चिनीको मात्रा थुपार्नको लागि । यसरी सबै हिसाबकिताब गर्न अप्ठ्यारो र बुझन पनि गाह्रो हुनाले हामीले व्यावहारिक सल्लाह दिँदा, बिहान भात ठिक्क खानुस्, धेरै नखानुस् । त्यो एकछाक चामलको भात खाएपछि अफिसमा काम गर्ने भए दिनभरिको लागि चाहिने क्यालोरीको ७५–८० प्रतिशत पूरा हुन्छ । यसमा आफ्नो शारीरिक सक्रियता अनुरुप अरु चामल, मैदा वा आलु पदार्थ थपथाप गर्न सकिन्छ । त्यो चामल एकछाक नखाएमा अरु शक्तिवर्धक खाना प्रतिस्थापन गर्न सकिन्छ । जस्तो– आलुको परिकार, हलुवा, अझ त्यसमाथि एक वा दुईवटासम्म लालमोहन नै खाएर पनि केही हुँदैन यदि आटाको रोटी, मकैको च्याँख्ला तथा रायोको साग मात्रै खाने हो भने । यसको अर्थ यसरी लगाउनुप¥यो– खानै नहुने कुनै खानेकुरा हुँदैन, बरु आफ्नो शरीरको आवश्यकता र अनुमति हेरेर खाने हो । अर्को कुरा, आफ्नो चिनीको मात्रा नियन्त्रित वा नियन्त्रणनजिक अथवा अनियन्त्रित छ भने त्यसलाई पनि ख्याल गरी निर्देशित हुनुपर्ने हुन्छ । अब त स्पष्ट हुनुभयो होला ।

२. एकपटक डेंगु भएपछि फेरि हुँदैन भनेको सुनेँ । के साँच्चै एकपटक डेंगुको बिरामी भएपछि त्यसको डर हुँदैन, हो ?

– हरिकला बस्नेत, चाँगु ।

हरिकलाजी, यहाँले भनेको सही हो । तर तीन प्रकारका डेंगुमध्ये जुन प्रकृतिको संक्रमण भएको हो त्यो प्रकृतिको डेंगुले फेरि संक्रमण हुँदैन । किनभने एकपटक भएको संक्रमणले जीवनभरिको लागि स्थायी प्रतिरक्षा प्रणाली विकसित हुन सक्छ । तर अर्को प्रकृतिको डेंगुचाहिँ सहजै सर्ने हुन्छ । यसरी हेर्दा जीवनभरिमा एउटा व्यक्ति तीनपटकसम्म डेंगुको संक्रमणको सिकार हुन सक्ने सम्भावना सैद्धान्तिक रुपमा रहिरहन्छ । गर्मी बढेको छ, लामखुट्टे घुमिरहेका छन्, तपाईंलाई भइसकेको प्रकृतिको डेंगुभन्दा फरक प्रकृतिको डेंगु हुन सक्छ । त्यसैले यसबाट बच्ने उपायहरु अपनाउनुस् ।

३. म ५२ वर्षको भएँ । हाल शरीरको तौल पनि ठिक्क छ । मैले नियमित दुईवटा ठूलो कोसा केरा खाने गरेको छु । यसले मेरो तौल वृद्धि गर्छ कि गर्दैन ?
– महेश्वर सापकोटा, गुल्मी ।

महेश्वरजी, तपाईंको प्रश्नको आंशिक उत्तर माथि १ नं.मै आइसकेको छ । सुगरका पीडितको खाना, खानाको क्यालोरी मान अनि शरीरको आवश्यकताका बारेमा व्याख्या गर्दा केही कुरा आइसकेका छन् । थप कुरा गर्नुपर्दा, फलफूलले अन्य शक्तिदायक खानाले जस्तो सीधै त्यत्तिसारो तौल बढाउँदैन । तर पनि शरीरभित्र ऊर्जाको प्रक्रियामा जानको लागि फलफूलबाट बन्ने फ्रुक्टोज आखिरमा ग्लुकोजमै परिणत हुन्छ । तपाईंको तौल ठिक्क छ, शारीरिक सक्रियता छ र सुगर छैन भने दुईवटा केरा खान सकिन्छ नै । तर निष्क्रिय जीवनशैली हुने, बिहान–बेलुका नै एक–एक थाल भात खाने, आलुको तरकारी खाने अनि खाजामा चिउरा खाने गरेको छ भने त तौल नबढ्ने भन्ने कुरै हुँदैन । त्यस्तोमा केरामात्रै किन, भात नै कम गर्नुपर्ने वा रोक्नुपर्ने हुन्छ । तौलको अलावा कोलेस्टेरोल पनि परीक्षण गर्नुप¥यो । त्यस्ता शक्तिदायक प्रकृतिका खानाले कार्बोहाइड्रेट, ट्रिग्लिसेराइड भन्ने कोलेस्टेरोल बढ्ने हुन्छ । त्यसैले केरामात्र नभएर समग्र खानेकुरालाई हेरेर कुन के–कति खाने भन्ने निक्र्योल गर्नुपर्ने हुन्छ ।

४. मेरो उमेर ४३ वर्ष भयो, महिनावारी अनियमित (कहिले २५ दिन कहिले ४० दिनमा पनि) हुन थालेको छ । के यो सुक्नका लागि भएको नियमित प्रक्रिया हो ? जानकारी दिनका लागि अनुरोध छ ।

– मधु, सोह्रखुट्टे, काठमाडौं ।

मधुजी, तपाईंले भनेको कुरा शतप्रतिशत सही हो । यो महिनावारी सुक्ने लक्षण हो । साधारणतया महिनावारी सुक्ने समय ४५–५५ वर्ष मानिएको छ । किनभने बहुसंख्यकमा (८० प्रतिशतसम्ममा) त्यो मानिएको समयमै सुक्ने हुन्छ । अरु २० प्रतिशतमा ३८ वर्षदेखि ६० वर्षसम्मै यो अवधि तन्किएको भेटिन्छ । त्यसर्थ तपाईं त्यो २० प्रतिशतमा पर्नुभयो भन्न पनि सकिन्छ अथवा यो अनियमितता लम्बिएर अरु तीन–चार वर्ष जान पनि सक्छ । अन्य स्वास्थ्य समस्या नभएमा महिनावारी सुक्ने शुरुवातका लक्षण (पसिना आउने, गर्मी हुने, शरीर तात्ने, मुड परिवर्तन हुने) अलि–अलि देखिएमा त्यसकै कारण होला भन्न सकियो । त्यति भन्दाभन्दै पनि तपाईं यहीँ काठमाडौंको सोह्रखुट्टेमै भएकोले शिक्षण अस्पताल वा प्रसूति गृह गएर सम्बन्धित स्त्रीरोग विशेषज्ञको परामर्श लिनुभएमा बढी ढुक्क हुन सकिन्छ ।

५. म ४६ वर्षका भएँ । मेरो गालामा चाउरीपन देखिन थालेको छ । मभन्दा १० वर्ष जेठो मानिसको गाला ठिक्कै देख्छु । तर ममा के कमजोरी भएर यस्तो भयो होला ? कुनै उपाय भए बताइदिन अनुरोध छ ।

– सुमन, चरिकोट ।

सुमनजी, गालामा अलि–अलि चाउरी देखियो भन्नुभयो । सन्तुलित आहार नभएर, छालाको लचकता कम भएर वा पहिलेभन्दा दुब्लाएर त्यस्तो भएको हुन सक्छ । त्यसको बारेमा तपाईंले केही उल्लेख गर्नुभएन । अर्को कुरा, मानिसको आ–आफ्नो छालाको प्रकृति वा वंशाणुगत गुण अनुसार पनि त्यस्तो देखिन सक्छ, जसलाई हामीले केही गर्न सकिने कुरा भएन । यत्तिले चिन्तित हुने वा अरुभन्दा मेरो कम आयु होला भनेर सोच्न जरुरी छैन । जहाँसम्म छालाको कुनै त्यस्तो समस्या होला कि भन्ने शंका निवारणको लागि एकपटक काठमाडौं आएर वीर अस्पताल वा शिक्षण अस्पतालको छाला विभागबाट परामर्श लिन सल्लाह दिन्छु ।

प्रतिक्रिया दिनुहोस्