हुम्लाको स्वास्थ्य अवस्था र सरकारको भूमिका दुवै कमजोर



भगवती तिमल्सिना

कर्णाली प्रदेश, हुम्ला जिल्लाका बासिन्दाको स्वास्थ्य अवस्था अत्यन्तै दयनीय रहेको पाइएको छ । त्यसमा पनि ज्येष्ठ नागरिक, महिला र बालबालिकाको स्वास्थ्य अवस्था अत्यन्तै कष्टकर छ । सिमकोटस्थित जिल्ला अस्पताल पुग्न यहाँका बासिन्दालाई ३ दिनसम्म हिँड्नुपर्छ । जिल्ला अस्पतालमा पनि त्यहाँका बिरामीको समस्याअनुसार दक्ष जनशक्ति, उपकरण, औषधि पाउनु त ‘आकाशको फल आँखा तरी मर्’ भन्ने उखान चरितार्थ गर्नुजत्तिकै छ । हुम्ला जिल्लालाई अर्को जिल्लाबाट मोटर बाटोले अहिलेसम्म छिचोलेकै छैन

प्रारम्भ सामाजिक संस्था र सिंगापुर रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा हुम्लाको सिमकोटमा २०८० जेठ २५ देखि २७ गतेसम्म तीनदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । यो बृहत् स्वास्थ्य शिविरको आयोजना सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले गरेका थिए । उक्त शिविरमा विशेष गरी ३ पालिकाका करिब ६ हजार बिरामीले सेवा लिएका थिए । शिविरमा मुटुरोग, प्रसूति तथा स्त्रीरोग, जनरल फिजिसियन, हाडजोर्नी, नसा, नाक, कान तथा घाँटी, बालरोग, अकुपन्चरलगायतका सेवा उपलब्ध गराइएको थियो ।

साथै पाँचजना बिरामीलाई सर्जरी सेवासमेत दिइएको थियो । शिविरमा काठमाडौंबाट गएका ६ जना विषय विज्ञ चिकित्सकहरु र जिल्ला अस्पतालका चिकित्सकहरु स्वास्थ्य परीक्षणका लागि खटिएका थिए । काठमाडौंबाट हुम्ला स्वास्थ्य शिविरमा पुग्नुभएकी स्त्रीरोग विशेषज्ञ डा. रश्मी बस्ताकोटी भन्नुहुन्छ, ‘तीनदिने स्वास्थ्य शिविरमा करिब ३ हजार महिलाको परीक्षण गरिएकोमा अधिकांशको स्वास्थ्य समस्या जटिल पाइयो । अधिकांश महिलाको संक्रमणको समस्या पाइयो, चिसोका कारण अधिकांशले ननुहाएकै १ देखि ४ महिना भैसकेको बताए ।

पानी कम खाने र सरसफाइमा ध्यान नदिनाले पिसाबको समस्या, योनिबाट फोहोर पानी बग्ने, चिलाउने, गन्हाउनेजस्ता समस्या धेरै देखियो । यसका साथै स्वास्थ्य संस्था नै नगएका गर्भवती महिला धेरै पाइए । पैसा नहुने बिरामीले समयमा उपचार नपाएर ज्यानै गुमाउनुपर्ने स्थिति रहेको पनि धेरै पाइयो । बाँझोपन भएका महिलाहरुले कहाँ, कसरी, के उपचार गर्ने भन्ने जानकारी नै नभएको बताए ।’

सीमकोट अस्पतालको अवस्था पनि राम्रो छैन । गम्भीर बिरामीका लागि नभई नहुने आईसीयु, भेन्टिलेटर, बच्चाको लागि आवश्यक पर्ने एनआईसीयु, विशेष वार्डहरु नभएका कारण जटिल अवस्थाको गर्भवतीलाई जहाजमा राखेर नेपालगन्ज पठाउनुको विकल्प नै छैन । प्रतिकूल वातावरणका कारण जहाज पनि भन्नेबित्तिकै उड्ने सम्भावना कम नै हुन्छ । यस्तो अवस्थामा बिरामीको ज्यान जाने सम्भावना निकै हुनु स्वाभाविक नै हो ।

तीनदिने स्वास्थ्य शिविरका अवसरमा गर्भपतन गराउँदा जटिलता आएको केस पनि ल्याइएको थियो । ती महिलाको अत्यधिक रक्तश्राव भई रगत नथामिएपछि स्वास्थ्य शिविरमा पुगेकी डा. रश्मीसमक्ष ल्याइएको थियो । स्थानीय अस्पतालको अपरेसन कोठामा लाइट पनि नहुँदा मोबाइलको लाइट बालेर उपचार गरिएको थियो । त्यसपछि बिरामीलाई रगत चढाएर अस्पतालमा राखियो ।

तीनदिने स्वास्थ्य शिविरमा आएका हुम्लाका स्थानीय बिरामीको पीडादायी अवस्था देख्दा आफूलाई रातभरि निद्रा नै नलागेको डा. रश्मी बताउनुहुन्छ । डा. रश्मी भन्नुहुन्छ, ‘हुम्लाका धेरै किशोरीहरु १६ वर्षको हुँदा गर्भवती भैसकेको हुने र २५ वर्षको हुँदा ४ देखि ५ वटा बच्चा जन्माइसक्ने गरेको पाइयो ।

यो निकै डरलाग्दो अवस्था हो । धेरै बच्चा भएकाले परिवार नियोजनको साधन प्रयोग गर्नेभन्दा पनि गर्भपतन गराउनेको संख्या बढी हुने गरेको पाइयो । एउटै व्यक्तिले पाँचपटकसम्म गर्भपतन गराएको पाइनु ज्यादै जोखिमपूर्ण अवस्था हो । धेरैको तीनदेखि चारवटा बच्चा छन् र गर्भपतन पनि त्यति नै गरेको पाइन्छ । स्वास्थ्य शिविरमा आएका एकादुईले मात्र परिवार नियोजनको साधन डिपो, नरप्लान्ट प्रयोग गरेको बताए ।’

डा. रश्मीका अनुसार सिमकोटभन्दा धेरै टाढादेखि आउने बिरामीहरुमा पोषण र सरसफाइको निकै नै कमी भएको पाइयो । महिलामा सबैभन्दा जटिल समस्या पिसाबको संक्रमण र योनिको समस्या छ भने बाँझोपनको समस्या पनि उल्लेख्यरुपमा रहेको पाइयो । हुम्ला आर्थिक, सामाजिक र भौगोलिक रुपले पनि निकै पछाडि छ । उपचारमा आउने अधिकांश बिरामीले ‘हुम्लामै उपचार गर्दा निको भए हुन्छ, नभए यहीँ मर्ने हो’ भनेको सुन्दा आफूलाई निकै नराम्रो लागेको डा. रश्मी बताउनुहुन्छ ।

त्यसै गरी जिल्ला अस्पताल, हुम्लामा कार्यरत प्रसूति रोग विशेषज्ञ डा. सागर कोइराला भन्नुहुन्छ, ‘सिमकोटमा उपचार गराउन आउने अधिकांश बिरामी २ देखि ३ घण्टाको पैदल यात्रा तय गरी आएका हुन्छन् । सयौंको संख्यामा बिरामीहरु दुई दिनको पैदल यात्रा गरी स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गर्न सदरमुकाम आइपुगेका छन् ।’

स्थानीय ३८ वर्षीय जगमति शाहीले स्वास्थ्य शिविर सञ्चालन हुने खबर रेडियोबाट सुनेर तीन दिनको पैदल यात्रा गरी सदरमुकाम सीमकोट आइपुगेको बताए । सो क्षेत्रमा पहिलोचोटि पुग्नुभएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सम्पूर्णमान तुलाधर भन्नुहुन्छ, ‘काठमाडौंवरिपरि गरिने स्वास्थ्य शिविरको दाँजोमा हुम्लाको अवस्था देख्दा साह्रै नै मन छोयो । यहाँको आर्थिक अवस्था र योसँगै जोडिएको शिक्षा र स्वास्थ्य अवस्थाले निकै दुखित बनायो ।

शिक्षाकै कमीले गर्दा आफ्नो शरीरको हेरचाह कसरी गर्ने भन्ने ज्ञान नै भएन । मुटुको जाँचको लागि नयाँ इको मेसिन ल्याएका थियौँ । एकजना महिला बिहान ४ बजे उठेर मुटुको जाँचका लागि शिविरमा आइपुग्नुभएको थियो । शिविरमा पुग्दा उहाँको मुटुको धड्कन १ सय ३० मा दौडिएको थियो । यति छिटो दौडिएको मुटुको धड्कन हेर्दा निकै डरलाग्दो लाग्थ्यो । यस्ता बिरामीको उपचारका लागि हुम्लामा उपकरण र दक्ष जनशक्तिको अभाव छ । त्यस्तै अर्की महिलाको मुटुको अपरेसन नै गर्नुपर्ने अवस्था थियो । उनी अपरेसन गर्न काठमाडौं जानै सक्दिनन् । त्यस्तै अर्की एकजना बिरामीको छातीमा पानी नै पानी भरिएको अवस्थामा स्वास्थ्य शिविरमा उपचारका लागि आइन् । हुम्लामा उनको रोग पत्ता लगाउने उपकरण नै छैन । हामीले मेसिन लगेकाले रोग पहिचानपछि दुई दिन लगाएर डेढ लिटर पानी निकालेपछि बिरामीलाई धेरै राम्रो भयो ।’

‘समग्रमा भन्नुपर्दा हुम्लाको स्वास्थ्य सुधारका लागि शिक्षा, आर्थिक अवस्थाको विकास गर्नुपर्छ । यो क्षेत्रमा विशेष गरी महिलाको स्वास्थ्य र शिक्षामा बढी जोड दिनुपर्छ । यहाँ मुटुको माइट्रल भल्भको शल्यक्रिया गरेको ९ वर्ष भैसकेको बिरामी एकपटक पनि फलोअप जान नसकेको पाइयो । जबकि यस्तो केसमा प्रत्येक वर्ष जँचाउनुपर्ने हुन्छ । उनी सो स्वास्थ्य शिविरमा एकदिन हिँडेर आएका थिए । यहाँको एउटा बिरामीले नेपालगन्जसम्म प्लेनमा जान र एउटा डाक्टरको ५ मिनेट समय लिन ३० हजार खर्च गर्नुपर्छ ।

यो साधारण व्यक्तिका लागि कल्पनाभन्दा बाहिरको कुरा हो । बिरामीको यो अवस्था त एउटा उदाहरण मात्र हो । यहाँ हजारौँ यस्ता बिरामी छन् । यसका लागि प्रविधि र सीप भएका जनशक्तिले दिगोरुपमा काम गर्ने वातावरण बन्नुपर्छ ।’ –डा. सम्पूर्णमान तुलाधरले भन्नुभयो ।
त्यस्तै सो शिविरमा संलग्न नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डा. बन्धुराम पंगेनीले स्वास्थ्य शिविरमा बढीभन्दा बढी ज्येष्ठ नागरिक भएको र बढी समस्या घुँडा, ढाड दुख्ने पाइएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यस समस्याको प्रमुख कारण भारी बोक्नुपर्ने, खेतीबारीको काम गर्नुपर्ने नै हो ।

शुरुमै उपचार गर्न पाएको भए धेरै हदसम्म समस्या कम हुन्थ्यो । विज्ञान प्रविधिले यति धेरै फड्को मारे पनि हुम्लाका जनताका लागि निकै टाढाको विषय बनेको पाइयो । यहाँ धेरै बिरामीमा गम्भीर खालको बाथरोगको समस्या भएको पनि पाइयो । साथै चोटपटक लागेर समयमै उपचार नपाएका कारण हड्डी जोडिए पनि बांगो भएका, हातखुट्टा भाँचिदा काम्रो बाँध्ने गरेको र सजिलैसँग उपचार हुने घाउ, चोटपटक पनि निको नभई जटिल अवस्थामा पुगेको धेरै पाइयो । ढाड, घुँडा, छाती दुख्यो भने स्थानीय भाषामा बातो भनिने विधिबाट स्थानीय जडीबुटीको झुलो बालेर जहाँ दुखेको छ त्यहाँ पोल्ने गरेको पाइयो । यो प्रयास कत्तिको ठीक हो, विज्ञानले कत्तिको प्रमाणित गरेको छ, मलाई थाहा भएन । अधिकांश बिरामीमा बातो खत नै खत भएको पाइयो ।’

त्यस्तै बालरोग विशेषज्ञ डा. शिरीष सिजवाल भन्नुहुन्छ, ‘हुम्लामा न्युरो डिसअर्डर भएका बच्चाहरु पनि भेटिए । नेपालगन्ज पुगेर उपचार गर्दा २ देखि ३ लाख रुपियाँ खर्च भैसकेको तर उपचार राम्रो नभएका केस पनि पाइए । एउटा बच्चाको पिसाब नलीको छाला बन्द भई भित्रसम्म संक्रमण फैलिएको थियो । म आफै सर्जन भएकाले त्यो बच्चाको शल्यक्रिया गरँे । यदि शल्यक्रिया नगरेको भए मिर्गौलामा समेत असर गथ्र्यो, त्यो सोच्नसम्म सकिन्न । यसरी बच्चा र ज्येष्ठ नागरिकको पनि शल्यक्रिया गरियो । बिमाको बारेमा राम्रो ज्ञान छैन । बिमा गरेर काठमाडौं पठायो भने उपचार निःशुल्क हुन्छ ।

त्यस्तै एउटा बच्चाको १६ वर्षको उमेरमा दुवै हात जलेको छ । त्यो शल्यक्रिया गर्नै पर्छ तर हुम्लामा सम्भव छैन । उसलाई काठमाडौं पु¥याएर उपचार गर्न पाए राम्रो हुन्थ्यो भन्ने लागेको छ ।’ त्यस्तै अर्का सर्जन डा. प्रवीण जैसवाल भन्नुहुन्छ, ‘मलाई हुम्लाका बासिन्दाको जीवनस्तर, स्वास्थ्य अवस्था देख्दा अत्यन्तै दुःख लाग्यो । यहाँका जनता स्वास्थ्य, शिक्षा, बाटोघाटो, पोषण सबै कुराबाट वञ्चित रहेछन् । आम्दानीको स्रोत छैन, महँगी कल्पनै गर्न नसकिने छ । सरसफाइमा धेरै समस्या छ । नाक, मुख, कानको परीक्षण गर्दा नाक सुख्खा हुने, कानमा कानेगुजी भरिएको छ, मुखको सफाइ छैन ।

अधिकांशको कान पाकेको, पीप बगेको, कानको जाली फुटेको छ । उनीहरुसँग नेपालगन्ज, सुर्खेत पुगेर कानको जाली फेर्ने, कानको उपचार गर्ने पैसा पनि छैन । सरकारले नै विभिन्न दातृ निकायहरुसँग सहकार्य गरेर शल्यक्रियादेखि कानको जाली फेर्ने, नाकको पिनासको समस्यादेखि लिएर सबै सेवा हुम्लामै दिन सके हुम्लाका नागरिकले थोरै भए पनि राहत पाउने थिए । यहाँको अवस्था देख्दा तीन दिन हैन, १५ दिन बसेर सहयोग गर्न चाहन्छु । तर आवश्यक सहयोग गर्ने निकाय हुन जरुरी छ । म यहाँ आउँदा जति गर्न सक्थँे त्यति गरेँ, भोलिका दिनमा पनि गर्ने इच्छा छ ।’

त्यस्तै योग तथा प्राकृतिक चिकित्सक डा. स्कन्द डाँगी भन्नुहुन्छ, ‘प्राकृतिक चिकित्सा विधिबाट तीन दिनसम्म लगातार उपचार गरेर झन्डै ८ सय जनालाई हात, गोडा, टाउको, ढाडको दुखाइलाई कम गर्न मद्दत गरियो । प्रायः बिरामीमा घुँडा, कुर्कुचा, कम्मर दुख्ने, नसा च्यापिएको, पूरै शरीर दुख्ने, टाउको दुख्ने, पिनासको समस्याले जीवन कष्टकर भैरहेको अवस्था थियो । तीन दिनको उपचारले उहाँहरुको इनर्जीलाई सन्तुलन गर्दै धेरै दुखाइ मुक्त बनाउने प्रयास ग¥यौँ । ती समस्याको प्रमुख कारण चिसो मौसम, बिहान सबेरै उठेर काम गर्नुपर्ने बाध्यता, कमजोर आर्थिक अवस्था भएको पाइयो ।’

सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षत्रीले हुम्लाका बासिन्दाको स्वास्थ्य सेवामा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यमा जुट्ने वातावरण बनाउन स्थानीय निकायलाई आग्रह गर्नुभयो । प्रारम्भ नेपालका प्रोग्राम डाइरेक्टर तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले प्रारम्भले भूकम्पलगायत कोभिड–१९ जस्ता विपत्का बेला देशका दुर्गमदेखि सुगम स्थानमा जनस्वास्थ्यका विषयमा सेवा प्रदान गर्दै आएको र त्यसलाई निरन्तरता दिने बताउनुभयो ।
स्वास्थ्य शिविरलाई हुम्लामा पु¥याउन हुम्लाकै स्थानीय बासिन्दा एवं फोटो पत्रकार तथा पर्यटन व्यवसायी देवेन्द्र शाहीको महत्वपूर्ण

समन्वयात्मक भूमिका थियो । साथै सांसद जीवनबहादुर शाही, आयोजक तीनवटै पालिकाका अध्यक्ष, उपाध्यक्ष, पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, स्वास्थ्यकर्मी, स्वयंसेवी, पत्रकार महासंघ हुम्लाको सहयोग तथा लगनशीलता प्रशंसनीय देखिन्थ्यो । साथै काठमाडौंबाट हुम्ला पुगेका पत्रकारहरुले यहाँको वस्तुस्थित अवलोकन गरी सूचना र दृश्यलाई कैद गरेर सञ्चारमाध्यममार्फत प्रकाशन एवं प्रसारण गरेका थिए ।

(तस्वीरहरूःलेखकबाट)

प्रतिक्रिया दिनुहोस्