स्वस्थ रहनको लागि के पिउने ?



-डा. अरुणा उप्रेती

स्वस्थकर भोजनको बारे कुरा गर्दा दाल, भात, तरकारी, रोटी खाजा, सूक्ष्म पोषणले भरिपूर्ण भएको खाना खानुपर्छ भनेर धेरै छलफल गरिन्छ । तर सम्पूर्ण स्वास्थ्यको लागि भोजनसँगै पेयपदार्थको पनि ठूलो भूमिका हुन्छ ।

यसबारे प्रायः त्यति चर्चा हुँदैन । ‘पिउने’ भन्नेबित्तिकै प्रायः सबैले ‘रक्सी पिउने’ भन्ने विचार गर्छन् । किनभने नेपाली भाषामा पानीलाई पिउने होइन खाने भन्ने चलन छ । बंगाली भाषामा पनि पानी खाने भन्ने चलन छ । संसारका धेरै भाषामा पानी पिउने भन्ने चलन छ । पिउने वा खाने जे भने पनि पानी वास्तवमा खानाजत्तिकै महत्वपूर्ण छ ।

स्वास्थ्यको लागि पानी कसरी पिउने, कहिले पिउने भन्ने बारे छलफल हुँदा भने पूर्वीय संस्कृति अनुसार उषाको बेला ‘जलपान’ अर्थात् पानी पिउने भन्ने चलन छ । कब्जियत भएकोले बिहान मनतातो पानीमा कागती हालेर खान्छन् । कतिपयले हरियो पुदिना, रोजमेरी आदि उमालेर त्यसमा कागती हालेर स्वास्थकर पेयपदार्थ बनाएर पिउँछन् ।

पानीले शरीरमा जम्मा भएको विजातीय पदार्थलाई शरीरबाट निकाल्न मद्दत गर्छ । पानी आफैँमा एक उत्तम पेयपदार्थ हो । यसबारे प्रायः सबैलाई थाहा भए पनि पर्याप्त पानी पिउन-खान धेरैले त्यति रुचि राख्दैनन्, कममात्र पिउँछन् । तर अनेक थरीका गुलियो पेयपदार्थ भने रुचिका साथ रमाइलो मान्दै पिउँछन् । यस्तो गुलियो पेयपदार्थले हाम्रो शरीरको हाड खिइने प्रक्रियालाई छिटो गराउँछ ।

यो कुरामा प्रायः मानिसहरु रोग नलागेसम्म सचेत भएको पाइन्न । यस्ता पेयपदार्थहरु स्वस्थकर होइनन् । आजकाल कतिपय यस्ता पेयपदार्थको विज्ञापनमा ‘चिनीरहित भनेर’ प्रचार गरिन्छ तर त्यस्तो पेयपदार्थले पनि शरीरको नोक्सानी नै गराउँछ ।
नेपालीहरुले धेरै पिउने चिया पनि एक पेयपदार्थ हो, जसलाई स्वस्थकर बनाएर पिउन सकिन्छ । दूध र चिनी हालेको चिया धेरै खाने बानी छ भने त्यसलाई कम गर्नु उपयुक्त हुन्छ । तर बिहान उठ्नेबित्तिकै एक कप दूध हालेको चिया नखाई मन नै ‘उदास’ हुनेहरुले एक कप चिया खाँदा समस्या छैन ।

कसैको घर जाँदा ‘चिया खाऊँ है’ भन्ने चलन नै छ । अथवा ‘चिया खाँदै कुरा गराैँन’ भन्ने चलन पनि छ । विदेशमा कफी बढी खाने चलन छ । वास्तवमा चिया र कफी सीमित मात्रामा प्रयोग गर्दा बेफाइदा हुँदैन । अझ दूध र चिनी नहालेको, कागती हालेको चियाले त धेरै फाइदा गर्छ । म व्यक्तिगतरुपमा बिहानदेखि बेलुकासम्म ६–७ कप कागती हालेको, चिनी नहाली मरिच र दालचिनी हालेर चिया पिउँछु । यसले मेरो दिनभरिको पानी आपूर्ति गर्न पनि मद्दत गर्छ । चियाको तलतल पनि मेट्छ । दूध र चिनी नै हालेको चिया अलि–अलि बालबालिकालाई पनि दिन सकिन्छ ।

कतिपयले दूध नहालेर चियामा मह र कागती हालेर पिउँछन् । यो राम्रो पेयपदार्थ बन्छ । तर महको पनि धेरै प्रयोग गर्नु ठीक हुन्न । साथै धेरै तातोमा मह प्रयोग गर्नु फाइदाकारक हुँदैन ।अहिले चिया विभिन्न किसिमका पाइन्छन् । कहिले त फलफूल काटेर, त्यसलाई उमालेर वा विभिन्न फूलहरु जस्तो– चमेली चिया (ज्यास्मिन टी), सुपारी, गुलाफको फूलको चिया आदि पनि उत्तम पेयपदार्थ हुन् । प्रायः गुलाफको सौन्दर्य हेरेर खुशी भइन्छ ।

 

रुघाखोकी लागेको व्यक्तिले बारम्बार कागती चियाको सेवन गर्दा लाभ हुन्छ ।

तर यसको चियाको स्वाद लिएर पनि स्वास्थ्य राम्रो पार्न सकिन्छ । गुलाफको फूललाई उमालेर वा उम्लेको पानीमा केहीबेर भिजाएर, त्यसमा स्वाद अनुसार कागती र मह हालेर खान सकिन्छ । भिजेको गुलाफ्लाई चपाउन हुन्छ । यसमा केही सूक्ष्म पोषण र रेसादार तत्व पनि हुन्छ । गुलाफ हेर्ने मात्र होइन चिया बनाएर पिउने पनि गरियो भने लाभदायक हुन्छ । तराईतिर पाहुनाहरुलाई घरभित्र पस्नेबित्तिकै एक गिलास पानी र एक टुक्रा गुडले स्वागत गर्ने चलन पुरानो हो । अहिलेचाहिँ त्यसमा परिवर्तन भएर चियाले स्वागत गर्ने गरिन्छ । चिया खाँदा धेरै उमालेको र कडा दूध हालेको चिया प्रयोग कम गरेकै बेस हुन्छ ।

अर्को स्वस्थकर पेयपदार्थ कागतीको सर्बत हो । यसले शरीरमा पानीको पूर्ति गर्छ । साथै कागतीको भिटामिन ‘सी’ ले रोगसँग लड्न पनि मद्दत गर्छ । गर्मीको बेला कागतीको सर्बत (मह, मिश्री, गुड, दालचिनी, मरिच आदि स्वाद अनुसार राखेर) र जाडोमा कागतीको चिया उत्तम पेयपदार्थ हुन् । रुघाखोकी लागेको व्यक्तिले बारम्बार कागती चियाको सेवन गर्दा लाभ हुन्छ । कागतीको सर्बतमा क्यालोरी नहुने भएकोले शरीरको तौल बढ्न दिँदैन । यसरी कागतीको चिया वा सर्बत बनाउँदा बोक्रा नफालेर त्यसलाई सानो–सानो टुक्रा गरी चियामा हाल्न सकिन्छ । अक्षय तृतीयामा कागती र सौफको सर्बतसँग जौको सातु खाने नेपालीहरुको एउटा राम्रो चलन हो । यो उत्तम पेय पनि हो ।

चनाको सातुलाई पनि कागती पानीमा हालेर स्वाद अनुसार वीरेनुन हाली खाँदा यो स्वस्थकर पेयपदार्थ बन्छ । यसले पेट पनि भरिन्छ । बालबालिकालाई पनि चना, जौको सातु कागतीको सर्बतसँग मिसाएर दिनु स्वस्थकर हुन्छ । विशेष गरी गर्मीको बेला लु लाग्ने ठाउँमा त यस्तो पेयपदार्थको प्रयोग बढी उपयोगी हुन्छ । पेयपदार्थको नाममा बजारमा बट्टा तथा बोतलहरुमा पाइने र खाइने-पिइने वस्तुमा त केवल चिनी र केही मात्र फलफूलको मिश्रण हुन्छ । यस्तो वस्तु त नपिएकै बेस हुन्छ ।

 


गर्मीको बेला आँपलाई घोलेर बनाइएको रसले मन र शरीर दुवैलाई आनन्द दिन्छ । पाकेको र काँचो दुवै आँपबाट सर्बत बनाएर खान सकिन्छ । पर्याप्त मात्रामा ऊर्जा, भिटामिन, सूक्ष्म पोषक तत्व भएको यस्तो सर्बतले शरीरमा ऊर्जा पनि दिन्छ, पेट पनि भरिन्छ । तर यस्तो रस घरबाहिर किनेर खाँदा भने बडो विचार गर्नुपर्छ ।

जाडोको बेला नेपालको तराई भागमा उखुको रस पनि खाइन्छ-पिइन्छ । यसमा वीरेनुन, मरिच हालेर खाँदा स्वादिलो हुन्छ । ऊर्जा पनि छिट्टै दिन्छ । तर मधुमेह भएका व्यक्तिहरुले यस्ता फलफूलको रस पिउँदा निकै विचार गर्नुपर्छ । घरमा बनाएको सुन्तला, अनार, केराको रस पनि स्वस्थकर हुन्छ । तर रस बनाएर निस्केपछि छोक्राचाहिँ फालिदिने चलन छ । यस्तो छोक्रामा पनि पर्याप्त सूक्ष्म पोषण तत्व हुने भएकोले यिनलाई प्रयोग गर्नुपर्छ ।

गाउँघर, शहरमा सजिलैसँग बनाउन सकिने पेयपदार्थ हो मही । गर्मीमा महीको प्रयोगले पेटलाई स्वस्थ राख्छ, शीतल दिन्छ । जाडोको बेलामा महीबाट विभिन्न परिकार बनाउन सकिन्छ । बेसार र दूधको मिश्रण पनि यस्तो पेयपदार्थ हो, जो नेपालमा त्यति धेरै प्रयोग गरिन्न । तर यी स्वस्थकर पेयपदार्थ हुन् ।

विदेशतिर ‘सुनौला दूध’ (गोल्डेन मिल्क) भनेर महँगोमा दूध र बेसारको मिश्रण बेचिन्छ । नेपाल र भारतका गाउँ–घरमा हजुरआमाहरुले रुघाखोकी लाग्दा, ज्वरो आउँदा औषधिका रुपमा दिइने यो पेयपदार्थ जहिले पनि प्रयोग गर्न सकिन्छ ।
बेलको सर्बत अर्को पेयपदार्थ हो, जुन धेरै स्वस्थकर भएर पनि धेरै प्रयोग गरिन्न । बेलको सर्बत तराईमा बेल हुने ठाउँमा प्रयोग गर्न सकिन्छ । बेल केही गुलियो पनि हुन्छ, यसको सर्बतले गर्मी, आउँ, झाडापखाला हुँदा शरीरमा पानीको मात्रा कम हुन दिन्न ।

त्यसै गरी जाडोमा पुदिनाकै चिया र गर्मीमा शीतलता दिने पुदिनाको सर्बत प्रयोग गर्न उत्तम हुन्छ । हरियो र सुकेको दुवै पुदीना प्रयोग गर्न सकिन्छ । यसमा रेसादार तत्व र केही मात्रामा सूक्ष्म पोषक पनि पाइन्छ । पेट स्वस्थ राख्न पुदिनाको सर्बत प्रयोग गर्न सकिन्छ ।

त्यसै गरी तुलसी, अदुवा आदिको पनि सर्बत, चिया बनाउन सकिन्छ । गर्मीको बेला वाकवाकी आउने, मुख सुक्ने, टाउको दुख्ने समस्या हुँदा पुदिनाको सर्बतको प्रयोगले यस्तो शारीरिक समस्या न्यूनीकरण हुन सक्छ । जाडोमा खाँदा रुघाखोकी कम गर्छ ।
ठूला–ठूला होटलमा महँगो पेयपदार्थ कागती, अदुवा र महको पानी घरमा नै सजिलैसँग थोरै पैसामा बनाउन सकिन्छ ।

अदुवालाई स–साना टुक्रा पारेर, केहीबेर उमालेर, झिकेपछि कागती र अलिकता मह मिसाएपछि यो यो स्वस्थकर पदार्थ बन्छ । गर्मी र जाडो दुवै बेला सहज खान-पिउन सकिने यो पेयपदार्थले अदुवा र कागती मिसिएको हुनाले रोगसँग लड्ने शक्ति दिन्छ । शरीरमा स्वादिलो तरिकाले पानी आपूर्ति गर्छ ।

अलिकता विचार गर्ने हो भने हाम्रा वरिपरि उपयोगी एवं स्वास्थ्यवद्र्धक पेयपदार्थ बनाउन सकिने धेरै उपयोगी वस्तुहरु छन् । अलिकता जाँगर भए स्वस्थकर पेयपदार्थ घरमै बनाउन सकिन्छ, शरीरलाई समेत हानि गर्ने महँगा पेयपदार्थ बजारमा किन्नै पर्दैन ।

प्रतिक्रिया दिनुहोस्