धारणा अष्टाङ्ग योगको छैटौं अंग हो । चित्त तथा मनलाई एकाग्र गर्नको लागि धारणाको अभ्यास गरिन्छ । मनको स्थिरताबाट अनेक मानसिक तथा आध्यात्मिक उन्नति गर्न सकिन्छ, जुन ध्यानबाट प्राप्त गर्न सकिन्छ । धारणा एउटा अन्तरंग योग विधि मानिन्छ । तथापि बाह्यबाट अन्तरंग मार्गमा जोड्ने सेतुको रुपमा धारणाले कार्य गरेको हुन्छ ।
महर्षि पतञ्जलि (योगसूत्र ३.१) का अनुसार देशबन्धश्चित्तस्य धारणा अर्थात् विभिन्न स्थान, क्षेत्र वा विषयमा भौंतारिइरहेको चञ्चल चित्तलाई नियन्त्रण गर्नको लागि एकै वस्तुमा टिकाउने प्रयास नै धारणा हो । धारणाले इन्द्रिय, मन र चित्तलाई स्थिरतातिर उन्मुख गर्दछ । त्यसैले धारणालाई ध्यानको पूर्वावस्था मान्न सकिन्छ । अझ हामी विभिन्न खालको ध्यान भनेर अभ्यास गरिरहेका हुन्छौंं । वास्तवमा ती धारणाका अभ्यास मात्र हुन् ।
चित्तका वृत्तिहरुको निरोधमा धारणा एक महत्वपूर्ण माध्यम हो । हाम्रो चित्त एवं मन र इन्द्रियहरुलाई अन्तर्मुखी बनाउन सकेमा यसले हाम्रो आध्यात्मिक जीवनमा लाभ मिल्छ । साथै हाम्रो जीवनशैलीलाई सकारात्मक र स्वस्थ बनाउन पनि धारणा अति महत्वपूर्ण साधना हो । धारणामा शरीरको बाहिर वा भित्र कुनै पनि एक ठाउँ (विन्दु, वस्तु वा लक्ष्य) मा मनलाई केन्द्रित गरिन्छ ।
धारणाको प्रकार
धारणाका विभिन्न प्रकार छन् । आन्तरिक तथा बाह्य धारणाहरु प्रचलित छन् । शरीरका बाहिरी भाग वा विषयवस्तु जस्तै– नदी, पूmल, मूर्ति, पानी, पहाड, बोटबिरुवा, कुनै दृश्य, ज्योति आदि बाहिरी कल्पनालाई सादृश्य मनमा धारण गरिने अभ्यासलाई बाह्य धारणा भनिन्छ । यसरी नै शरीरका भित्री भागहरु नाभी, आज्ञाचक्र, हृदय आदि स्थान वा चक्रस्थानहरुमा धारणाको अभ्यास गर्न सकिन्छ, जसलाई अन्तरिक धारणा भनिन्छ । पृथ्वी, जल, अग्नि, वायु, आकाश तत्वका धारणाहरु पनि प्रचलित छन् । यी पञ्चमहाभूतहरुको प्रत्यक्ष स्वरुपलाई मनमा धारण गरेर एकाग्रताको अभ्यास गरिन्छ भने शरीरमा रहेका चक्रहरुमा उक्त तत्वहरुलाई प्रतिस्थापित गरेर पनि धारणाको अभ्यास गर्न सकिन्छ । यी बाहेक अनेक धारणा विधिहरु शास्त्रीय एवं प्रचलितरुपमा अभ्यास गरिन्छ ।
धारणाका लाभहरु
धारणाबाट एकाग्रतामा वृद्धि हुन्छ । एकाग्रता शक्तिको द्योतक हो, जसबाट शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जाको तीव्र विकास हुन्छ । कुनै पनि काम सफलताका साथ सम्पन्न गर्न मनको एकाग्रता जरुरी छ । एकाग्र हुँदा काम राम्ररी पूर्ण र सफल बन्न सक्छ । एकाग्रताविना गरिएको कार्यमा विलम्बता, असफलता र अपूर्णता हुने सम्भावन बढी हुन्छ । धारणाकै कारण विद्यार्थीले राम्रो अंकका साथ परीक्षा उत्तीर्ण गर्न सक्छ, व्यापारीले व्यापारबाट कमाउन सक्छ, कविको कवित्व प्रस्फुटन हुन सक्छ, कलाकारले कला सृजना गर्न सक्छ, वैज्ञानिकले आविष्कार गर्न सक्छ, साधकले साधनाको परम लक्ष्यलाई प्राप्त गर्न सक्छ । धारणा परम एकाग्रताको नाम हो । धारणाको प्रयोगबाट इन्द्रियहरुको नियन्त्रण, मनोनिग्रह, मनको शान्ति र आनन्द, श्वासप्रश्वासको सूक्ष्मता, नकारात्मकताको नियन्त्रण र सकारात्मकताको वृद्धि, स्मरण क्षमताको विकासजस्ता अनेक लाभहरु प्राप्त हुन्छन् ।
धारणाको शारीरिक लाभ: धारणाको सकारात्मक मनोशारीरिक प्रभाव पर्ने हुन्छ । धारणाले श्वासको गति कम गर्ने र सूक्ष्मतातिर लैजान्छ । यसबाट मुटु, रक्तनलीसम्बन्धी समस्या कम हुन्छ । उच्च रक्तचाप, न्यून रक्तचाप, एन्जाइना, दमजस्ता समस्याहरुमा लाभ दिन्छ ।
धारणाको मानसिक एवं संवेगात्मक लाभ: धारणाले मन नियन्त्रण गर्छ । मानसिक समस्याहरु– तनाव, चिन्ता, अवसाद, डर, अनिद्रा आदि समस्याहरु घटाउँछ । यसरी नै धारणाले नकारात्मकता घटाई सकारात्मकता बढाउँछ । ईष्या, घमण्ड, रिस, द्वेष आदि मनोदुर्भावहरु घट्छन् । मद्यपानलगायत दुव्र्यसनहरु घटाउन धारणाको प्रयोग गर्न सकिन्छ । पहिल्यैदेखि यसको अभ्यास गर्ने हो भने मानसिक सबलता प्राप्त भई मनोरोग लाग्नबाट समेत बच्न सकिन्छ । स्मरण क्षमता, निर्णय क्षमता आदि मानसिक क्षमताहरु बढाउँछ । मनमा प्रसन्नता, खुशी, आनन्द र आशावादिताको जन्म हुन्छ । ध्यान लाग्न थाल्छ ।
धारणाको सामाजिक लाभ: धारणाको साधनाले मानिसलाई सकारात्मक कार्य गर्न र समाजमा मिल्न सिकाउँछ । यसले सामाजिक विकृतिहरु हटाउन प्रेरित गर्दछ । सामाजिक रोगहरु चोरी, हिंसा, बलात्कार, झैझगडा, व्यभिचार, अनैतिकता, भ्रष्टाचारी आदि घटाउनसमेत मद्दत गर्दछ । धारणाको प्रभावले सामाजिक सुसम्बन्ध कायम गर्न सिकाउँछ ।
धारणाको आध्यात्मिक लाभ: ध्यानको प्रारम्भिक अभ्यास धारणा हो । विनाधारणा ध्यान सम्भव छैन । ध्यानको माध्यमबाट आध्यात्मिक उचाइ समाधिमा पुग्न सकिन्छ । आदियोगी शिवले पार्वतीलाई ११२ वटा धारणाहरुको अभ्यास गराएको कुराबाट नै विज्ञान भैरव तन्त्रको जन्म भएको छ । धारणाको नियमित अभ्यासले अनेक प्रकारका सिद्धिहरु पाउन सकिने कुरा योगशास्त्रहरुले वर्णन गरेको पाइन्छ ।
सिष्ठ संहिता (४.११–१५) मा धारणाका विशेष सिद्धिहरु पाउन सकिने कुरा उल्लेख गरिएको छ । जस्तै– पृथ्वी तत्वको धारणा सिद्धिबाट पृथ्वी तत्वमा विजय पाउन सकिन्छ । जल तत्वको धारणा सिद्धिबाट रोगहरुबाट मुक्ति पाउन सकिन्छ । अग्नि तत्वको धारणा सिद्धिबाट आगोले पोल्दैन । वायु तत्वको धारणा सिद्धिबाट वायुजस्तै आकाशमा स्वछन्द उडान भर्न सकिन्छ । आकाश तत्वको धारणा सिद्धिबाट जीवको मोक्ष प्राप्ति हुन्छ भन्ने कुरा जनाइएको छ ।
स्वस्थ जीवनशैलीका लागि धारणाको उपयोग: नियमित धारणाको अभ्यास गर्ने व्यक्तिले आप्mनो मनलाई संयम वा नियन्त्रण गर्न सक्छ । आप्mनो दिनचर्यालाई सकारात्मक स्वरुपमा अघि लैजान सक्छ । धारणाको माध्यबाट इन्द्रियलाई वशमा राख्न सकिने हुँदा रोग र शारीरिक अवस्थाहरुमा आहार–विहार, निद्रा, व्यायाम आदिलाई व्यवस्थित गर्न सघाउँछ ।
धारणाका केही अभ्यास विधिहरु
कुनै पनि धारणाका विधिहरु अभ्यास गर्न ध्यानात्मक आसनमा रहनुहोस् । जस्तै– बसेर सुखासन, अर्ध पद्मासन, पद्मासन, वज्रासन, सिद्धासन आदिमध्ये कुनै एकलाई प्रयोग गर्नुहोस् र हातलाई कुनै एक हस्तमुद्रा बनाई घुँडामा अड्याउनुहोस् । ढाड सोझो पारी टाउकोलाई पनि सीधा गर्नुहोस्, शान्त र आरामपूर्वक रहनुहोस् ।
विधि (१) नासिकाग्र दृष्टि धारणा: आँखालाई आधाजति बन्द गरी दुवै आँखाले आप्mनो नाकको टुप्पोमा एकसाथ हेर्ने गर्नुहोस् । आँखा नझिम्क्याईकन एकटकले निरन्तर त्यहीँ हेरिरहनुहोस् । शरीरमा हलचल नगरी आँखामा अप्ठ्यारो नहुन्जेल लगातार नाकको टुप्पोमै ध्यान केन्द्रित गरिरहनुहोस् । शुरुमा धेरैबेर नगर्नुहोस् । जब आँखामा असहज हुन थाल्छ वा एक–दुई मिनेट हुन थाल्छ, तब आँखा बन्द गर्नुहोस् । आँखा बन्द गर्दा पनि नाकको अग्रभागको स्वरुपलाई सम्झिइरहनुहोस्, मनको आँखाले नाकमा दृष्टि दिनुहोस् । निरन्तर यसैमा मनलाई धारण गरिरहनुहोस्, मन यताउति जान थालेमा वा अर्कैतिर ध्यान गएमा मैले त यहाँ पो सम्झनुपर्छ भन्ने भाव व्यक्त गर्नुहोस् । कमसेकम पाँच मिनेटदेखि पन्ध्र–बीस मिनेट अभ्यास गर्नुहोस् ।
विधि (२) साम्भवी मुद्रा वा दृष्टि धारणा: पूर्ववत् आसन र स्थितिमा रहेर आँखा खोली दुवै आँखाले आँखीभुइँको केन्द्रविन्दु (सामान्यतया टीका लगाउने ठाउँ वा आज्ञाचक्र) मा ध्यान केन्द्रित गरी हेर्नुहोस् । आँखा ठूलो पार्ने तर निधार नखुम्च्याईकन आँखाको नानीलाई परेलामा लुकाउने प्रयास गर्दै नझिम्क्याई उक्त आज्ञाचक्रमा हेरिरहनुहोस् । यसलाई साम्भवी मुद्रा एवं भ्रूमध्य त्राटक पनि भनिन्छ । आँखामा असहज भएमा वा आँसु आउन लागेमा आँखा बन्द गर्नुहोस् । आँखा बन्द गरेको अवस्थामा पनि साम्भवी मुद्रामा झैँ बन्द आँखाले आज्ञाचक्रमै दृष्टि दिने वा अन्तरत्राटक लगाई धारणाको अभ्यास गर्नुहोस् । केहीबेर (पाँचदेखि पन्ध्र मिनेटसम्म) अभ्यास गर्नुहोस् ।
विधि (३) विन्दु धारणा वा विन्दु त्राटक: कागजमा गाढा गरी विन्दु बनाउनुहोस् । आपूm बस्नेभन्दा ठीक अगाडि विन्दु देखिने गरी केही फिटको दूरीमा आँखाको तहमा समानान्तर हुने गरी उक्त विन्दुयुक्त कागजलाई भित्तामा टाँस्नुहोस् । अब बसेर उक्त विन्दुमा खुला आँखाले हेर्नुहोस् । पूरा ध्यान उक्त विन्दुमा केन्द्रित गर्नुहोस् । आँखामा असहज वा थकान महसुस भएमा केहीबेर आँखा चिम्लनुस् वा अभ्यास रोक्नुस्, थकाइ मरेपछि पुनः अभ्यास गर्नुुहोस् ।
विधि (४) ज्योति धारणा: यसलाई त्राटकको रुपमा पनि चिनिन्छ । सर्वप्रथम अँध्यारो कोठामा एउटा दियो वा मैनबत्तीलाई बस्ने स्टुल वा त्यस्तै अग्लो ठाउँमा राख्नुस्, मधुर किसिमले बल्न दिनुस् । अब उक्त प्रदीप्त दीपभन्दा तीनदेखि पाँच फिटपछाडि गएर चगटीमा बस्नुहोस् । दियो वा मैनबत्तीको बलेको भाग (दियो वा मैनबत्तीको प्रज्वलित भाग वा बत्ती बलेको भाग आँखाको तहमा सीधा पर्ने गरी राख्नुपर्दछ । अब आँखाले लगातार यसलाई निरन्तर हेरिरहनुपर्दछ । यदि आँखा थाक्यो भने आँखा चिम्लनुहोस् । शुरुमा एक–दुई मिनेट गर्ने, थाकेमा केहीबेर आँखा चिम्लने र पुनः शुरु गर्ने गर्न सकिन्छ । आँखा चिम्लिँदा पनि उक्त दियोलाई आज्ञाचक्रमा प्रतिस्थापित गरी त्यसैमा मनमनै दृष्टि दिइरहनुहोस् । पाँचदेखि पन्ध्र–बीस मिनेटसम्म अभ्यास गर्नुहोस् ।
विधि (५) श्वास धारणा: आरामपूर्वक बस्नुहोस् र आँखा चिम्लनुहोस् । अब नाकबाट शीतल खालको श्वास भित्र जाँदै छ, न्यानो हावा नाकबाट बाहिर निस्कँदै छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नुहोस् । हरेकपटक यसरी नै श्वासप्रश्वासमा पूरा ध्यान दिनुहोस् । यसरी नै पाँचदेखि पन्ध्र–बीस मिनेटसम्म अभ्यास गर्नुहोस् ।
केही धारणाको गहिरो अभ्यासका लागि योग गुरुकै समीपमा रही सिक्नुपर्दछ । तर कतिपय बच्चाहरुलाई प्रारम्भिकरुपमा वा ध्यान केन्द्रित गर्न नसक्ने ठूलै उमेरका व्यक्तिहरुलाई पनि धारणाका सरल उपायहरु अपनाउन सकिन्छ । यहाँ केही प्रारम्भिक सहज धारणाहरुको चर्चा गरिएको छ:
(क) अंक धारणा: पहिलो राउन्डमा १०० देखि शुरु गरेर मुखले आवाज निकाल्दै वा गन्दै ९९, ९८, ९७, ९६….गर्दै ० सम्म आउनुहोस् । दोस्रो राउन्डमा आवाज ननिकालीकन अक्षरलाई मनमनै दृष्टि दिनुहोस् ।
(ख) अक्षर धारणा: पहिलो राउन्डमा अंग्रेजी अक्षर जेड ९श्० देखि ए ९ब्० सम्म आवाज निकाल्दै भन्नुहोस् । दोस्रो राउन्डमा देवनागरी वर्णमालाको अः देखि अ सम्म उल्टो पढ्नुहोस् । यसरी नै ज्ञ देखि कसम्म उल्टो
पढ्नुहोस् । तेस्रो राउन्डमा यसैलाई सादृश्य स्मृतिपटलमा ल्याउनुहोस् ।
(ग) शब्द धारणा: मालाको प्रयोग गरी, कुनै मन्त्र वा ईश्वरको नाम रुपलाई वाचिक, उपांशु वा मनसरुपमा जप गर्दै आप्mनो मनलाई केन्द्रित गरेर धारणाको अभ्यास गर्न सकिन्छ । यसरी नै विभिन्न धारणा अभ्यास गर्न सकिन्छ । विज्ञान भैरव तन्त्रमा ११२ प्रकारको धारणाहरुको चर्चा गरिएको छ । यसरी नै विभिन्न योग ग्रन्थहरुमा अरु प्रकारका धारणाहरुको चर्चा गरिएको छ । सहज धारणाहरुको अभ्यासपछि योगगुरुको निर्देशनमा थप धारणाको अभ्यास गर्न सकिन्छ । धारणाअघि योगका अगाडिका अंगहरुको अभ्याससमेत गर्नुपर्दछ ।
(यस स्तम्भका अगाडिका अंकहरुमा स्वस्थ जीवनशैलीका लागि महर्षि पतञ्जलिले सूत्रबद्ध गरेका अष्टांग योगका विभिन्न अंगहरु जस्तै– यम, नियम, आसन र प्राणायाम, प्रत्याहारजस्ता विषयमा चर्चा गरिसकिएको छ । आगामी अंकहरुमा पनि यसरी जानकारी दिइनेछ ।)