काम विकृति भनेको के हो ?



डा. राजेन्द्र भद्रा

नेपालबाट प्रकाशित हुने द हिमालयनले सन् २०२१ अप्रिल ११ मा एक अमेरिकी नागरिक माइकल टेलरलाई बाल यौनशोषणको आरोपमा प्रहरीले हिरासतमा लिएको समाचार छाप्यो । संसारका अन्य देशहरूमा पनि यस्ता बाल यौनशोषण भएका घटनाका समाचार बारम्बार आउने गर्दछन् ।

इसापूर्व ७४ तिर जुडियाको हेरोड राज्यका राजा हेरोडले रानी मरियामाइनको लाससँग यौनसम्पर्क राखेको भनिन्छ । यस्ता घटना वर्तमान युगमा पनि भएका समाचार कहिलेकाहीँ आउने गरेको पाइन्छ । करिब ४ वर्षअघि भारतको मुम्बई शहरको एक एटीएममा पैसा निकाल्न गएकी एक महिलालाई कुम्भरकर नामका व्यक्तिले यौनाङ्ग देखाएपछि महिलाले भिडियो रेकर्डसहित उजुरी गरेपश्चात् उसलाई हिरासतमा लिइएको थियो ।

अहिले समलैंगिकता एक काम–विकृति नभई प्राकृतिक अवस्था वा व्यवहार मानिन्छ ।

समाजमा यस्ता अस्वीकार्य यौन क्रियाकलापका सन्दर्भहरु बारम्बार चर्चामा आइरहन्छन् । तुलनात्मकरुपमा कम चर्चा हुने गरे पनि भारतीय प्रसिद्ध नेता मोहनदास करम चन्द गान्धीको यौन शुद्धता वा बह्म्रचर्यको प्रयोग पनि अनौठो नै थियो । यस प्रयोगको क्रममा उनी आफ्ना किशोरी नातिनी भान्जीहरू मनुवेन र आभासँग नग्नरुपमा सुत्ने गरेका थिए ।

काम विकृति के हो ?
प्रायः सबै समाजका आफ्ना नियम तथा मूल्य मान्यता हुन्छन् । सामान्यता व्यक्तिहरू त्यसैको परिधिभित्र रहेर व्यवहार गर्दछन् । तर समाजका नियम वा मान्यताभन्दा फरक किसिमका व्यवहार गर्ने व्यक्तिहरू पनि समाजमा पाइन्छन् । यौनको सन्दर्भमा हुने यस्ता व्यवहारलाई यौन विकृति वा काम विकृति भनिन्छ । मनोवैज्ञानिक क्षेत्रमा भने यसलाई परा–स्नेह (para-philia)भन्ने गरिन्छ ।

प्रसिद्ध मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले यसको बारेमा चर्चा गरेका छन् । उनले सबै नै मानव जन्मजात विकृत हुन्छन् समेत भनेका छन् । उनले विभिन्न किसिमका काम विकृतिका बारेमा चर्चा गरेका छन् । जस्तै कि उभयलिङ्गी (hermaphrodite), बाल यौनशोषण (pedophilia), गुदा, मुख वा जनावरसँगको मैथुन (sodomy), वस्तु कामुकता (fetishism), परपीडा कामुकता (masochism), यौनाङ्ग प्रदर्शन (exhibitionism), परपीडन (sadism), शव कामुकता (necrophilia) इत्यादि ।

के–कस्ता प्रकारका हुन्छन् त ?

माथि चर्चा गरिएका कतिपय प्रकारका काम विकृतिहरूलाई पछिल्लो समयमा फ्रायडले भनेअनुसार सबै व्यवहारलाई काम विकृतिको रुपमा राखिएको पाइँदैन । उदाहरणका लागि मानवको लागि पनि प्रयोग हुने उभयलिङ्गी शब्दको प्रयोग अहिले प्राणीको लागि मात्र प्रयोग हुने गर्दछ । अहिले समलैंगिकता एक काम–विकृति नभई प्राकृतिक अवस्था वा व्यवहार मानिन्छ । त्यसैले यहाँ यसको बारेमा चर्चा गरिएको छैन । अहिले करिब ५ सयजति काम विकृति भएको मानिन्छ र त्यसमध्ये केही प्रमुख काम विकृतिका बारेमा भने छोटकरीमा चर्चा गरिँदै छ ।

यौनाङ्ग प्रदर्शन(Exhibitionism) : यो कुनै अनपेक्षित व्यक्तिलाई यौनाङ्ग बारम्बार प्रदर्शन गर्ने वा देखाउने बानी वा व्यग्रता हो । प्रायः पुरुषमा मात्रै यो प्रवृत्ति देखिने गर्छ । यस्तो व्यवहार गर्ने व्यक्ति सामान्यतः विपरित लिङ्गी यौन क्रियाकलाप गर्न असमर्थ रहेको पाइन्छ ।
वस्तु कामुकता (Fetishism) : यसमा यौन उत्तेजना प्राप्तिको लागि यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको वस्तु वा शरीरको अङ्गको प्रयोग गरिएको हुन्छ । उदाहरणको लागि जुत्ता, महिलाको भित्री लुगा, पञ्जा वा अन्य कोमल वस्त्र । कहिलेकाहीँ विशेष वस्तुले बनेको कुराप्रति पनि यस्तो हुन सक्छ । जस्तै कि छाला, रबर, रेसम वा भुवा ।
शरीर यौन–घर्षण (Frotterurism): यो सहमति नजनाएका व्यक्तिलाई बारम्बार स्पर्श गर्ने वा शरीर घर्षण गर्ने बानी वा व्यग्रता हो । विशेष गरेर बस, मेला–जात्राजस्ता भीडभाडपूर्ण स्थितिमा पूर्णरुपमा लुगा लगाइएको व्यक्तिको शरीरमा यौनाङ्गको घर्षण गरिन्छ र यौनानन्द लिइन्छ ।

बाल यौनशोषण (Pedophilia) : शाब्दिक अर्थ ‘बालबालिकाप्रतिको प्रेम’ भन्ने बुझिए पनि यसको अर्थ बाल यौनशोषण हो । १३ वर्षभन्दा कम उमेरका बालबालिकाप्रतिको यौनाकर्षण हो । महिलाको तुलनामा पुरुषमा यो बढी देखिन्छ । यस्तै १० प्रतिशत जति स्थितिमा मात्र यस्तो अपरिचित व्यक्तिबाट हुने गर्दछ ।

यौन स्वपीडन(Sexual Machochism)

 : यो यौनसम्बन्धी कुरामा बारम्बार होच्याइएको, पिटिएको, सीमाबद्ध गरिएको वा अन्य कुनै कुराले दुःख वा पीडा आफूलाई दिइएको कुरा देख्न चाहने बानी वा व्यग्रता हो । यौनसम्पर्कको बेलामा बाँधेको जस्तो गर्ने, हल्का पिट्नेजस्ता सांकेतिक कुरादेखि कोर्रा लगाउने, घाँटी बेस्सरी अँठ्याउने वा चोटपटक लाग्ने गरेर व्यवहार गर्नेसम्म पर्दछन् ।

यौन परपीडन (Sexual Sadism): यो अर्को व्यक्तिलाई होच्याइएको वा दुःख वा पीडा दिइएको कुराले यौन उत्तेजना हुने बानी भएको वा व्यग्रता हो । हल्का किसिमको व्यवहारदेखि स्पष्ट यातना, बलात्कार वा हत्यासम्मका कुरा पर्न सक्छन् ।

पारलिङ्गी वस्त्र धारण (Transvestism): यो विपरीत लिङ्गी व्यक्तिको पहिरन लगाउने कुराप्रतिको यौनाकर्षण हो । यो पनि विशेष गरेर महिलाको पहिरन लगाई यौन उत्तेजित हुने पुरुषलाई जनाउँछ । आफ्नो लिङ्ग परिवर्तन नै चाहने पुरुषभन्दा यो फरक कुरा हो ।

दर्शन रति (Voyeurism):  थाहै नदिई कुनै व्यक्ति नग्न अवस्थामा रहेको, निर्वस्त्र हुँदै गरेको वा यौन क्रियाकलापमा संलग्न हुँदै गरेको बारम्बार अवलोकन गर्ने बानी वा व्यग्रता हो । कहिलेकाँही यौनसँग प्रत्यक्ष सम्बन्ध नै नरहेको दृश्य पनि हुन सक्छ । यो पनि महिलाको तुलनामा पुरुषमा धेरै पाईन्छ ।

यीदेखि बाहेक अन्य पनि काम विकृतिहरू हुने गर्दछन् । अश्लील फोन गराइ (telephone sctalogia), शवरति (नेक्रोफिलिया) अर्थात् मृत व्यक्तिसँग यौनसम्पर्क राखेर वा सो गरेको हेरेर यौन आनन्द लिने, जनावरसँगको यौनसम्पर्क जुफिलिया (शययउजष्ष्बि) आदि । यस्तै गरी दिसाबारे सोचेर यौन उत्तेजना प्राप्त गर्नुलाई कोप्रोफिलिया(coprophilia) इनेमा (enema) अर्थात् गुदद्वारबाट तरल पदार्थ पठाउने कुराले यौन उत्तेजना प्राप्त हुनेलाई क्लिस्माफिलिया (klismaphilia) र पिसाबको बारेमा परिकल्पनाबाट यौन उत्तेजना प्राप्त गर्नेलाई युरोफिलिया (urophilia) भनिन्छ ।

 

समस्या के पर्छ त ?
यो त व्यक्तिको यौनरुचि कति धेरै के कुरामा छ भन्ने कुराले निर्धारण गर्ने गर्दछ । व्यक्तिप्रति लज्जा, अवहेलना वा क्रोध व्यक्त गरिनु सामान्य कुरा हो । यस्ता कुरा सीमित वातावरणमा सीमित व्यक्तिमाझ हुँदा र खुलारुपमा हुँदा धेरै नै फरक पर्न सक्छ । यस्ता काम विकृतिले सामान्य वैवाहिक जीवन वा सामाजिक जीवनमा गम्भीर नकारात्मक असर पार्न सक्छ । समाजले स्वीकार नगर्ने हुँदा एकाङ्कीपन अनि सामाजिकरुपमा एक्लिने नै परिणाम हुन सक्छ । धेरैजसो धार्मिक समुदायले यस्ता किसिमका काम विकृतिलाई ईश्वरको चाहनाभन्दा फरक भएको हुनाले यी पापकर्म हुन् पनि भन्ने गर्दछन् भने समाजमा मानसिक रोगीका रुपमा हेरिन्छ । त्यसै गरेर कानुनीरुपमा पनि धेरैजसो मुलुकमा माथि उल्लेख गरिएका कतिपय काम विकृतियुक्त व्यवहारलाई गैरकानुनी मानिने हुन सक्छ ।

समाधान के होला ?
यस्ता प्याराफिलियाको कारण जेसुकै भए पनि उनीहरू प्रहरीबाट नसमातिएसम्म वा परिवार वा अन्य व्यक्तिले थाहा पाएर केही नगरेसम्म आफैँले उपचारको खोजी गर्दैनन् । यस्ता क्रियाकलापबाट उसले यति धेरै यौन आनन्द प्राप्त गर्दछ कि उसलाई यो कुरा छोड्ने कुरा सोच्नै पनि गाह्रो हुन्छ । यस अर्थमा यो ‘लत’ लागिसकेको जस्तै नै हो भन्न सकिन्छ । यसको उपचार भने सजिलो छैन । बिरामी व्यक्ति वा चिकित्सक दुवैको लागि यस्ता अवस्थाको उपचार चुनौतीपूर्ण कुरा हुन् ।

पुरुष रागरस टेस्टस्टेरोनले पुरुषको यौनचरित्रको विकास गर्ने र त्यसलाई निरन्तरता दिने कुरामात्र होइन, बरु यौनिकता, आक्रामकता, प्रज्ञानता, भावनात्मकता अनि व्यक्तित्वजस्ता कुरालाई पनि नियन्त्रण गर्ने गर्दछ । यही हर्मोन नै यौन चाहना, यौन परिकल्पना अनि व्यवहारलाई निर्देशित गर्दछ । यही टेस्टस्टेरोनले नै प्याराफिलियासँग सम्बिन्धित ‘विचलित’ यौन परिकल्पना, व्यग्रता, बानी–व्यहोरा पनि शुरुवात गर्न सक्ने भएको हुनाले यसलाई कम गर्न वा यसको कार्य सक्षमता रोक्न सकेमा यस्ता लक्षणलाई कम गर्न सकिन्छ भन्ने कुरामा विश्वास गरिन्छ ।

अनि गान्धीका कुरा
गान्धीका यौनिक प्रयोगलाई कतिपयले ‘ब्रह्मचर्य यौनिकता’ को संज्ञा दिए पनि कतिपय मानिसहरु भने यसमा सहमत छैनन् । कतिपयले उहाँकी श्रीमतीको स्वीकार्यताको सन्दर्भमा प्रश्न उठाएका छन् भने अर्कोतिर किशोरीहरूको एक किसिमले यौनशोषण भएको पनि भनेका छन् । यसरी नग्नरुपमा एकै ओछ्यानमा सुत्नुबाहेक आश्रममा श्रीमान्–श्रीमती पनि एकान्तमा बस्न नहुनेजस्ता कतिपय कुराको लागि निर्देशन दिएका सन्दर्भमा गान्धीको यौनिकताको प्रयोग एक विवादास्पद विषय रहेको छ । तर अहिलेसम्म पनि उनको यी क्रियाकलापलाई काम विकृतिको रुपमा चर्चा गरिएको भने पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्