अवकाशको जीवन र स्वास्थ्य



श्रीरामसिंह बस्नेत

मानिसको जीवनमा अवकाशको चरण देश, काल, परिस्थिति, व्यक्तिको स्वास्थ्य, राज्यको नीति, जनताको औसत आयुजस्ता कुरामा आधारित हुन्छ । नेपालमा अवकाशको समय निर्धारण गर्ने प्रचलन अव्यावहारिक र अन्यौलपूर्ण छ । यसले गर्दा अवकाशको विषयमा अदालतमा मुद्दाहरु परिरहन्छन् । जे होस्, एक दिन व्यावसायिक जीवनबाट विश्राम लिने दिन आउँछ नै । यसलाई निराशाको रुपमा नभई अवसरको रुपमा स्वीकार गरी सदुपयोग गर्न सक्नुपर्दछ ।

सामान्यतया जागिर खाने मानिसको मात्र कामबाट अवकाश हुन्छ, निजी व्यवसाय, खेतीपाती, व्यापार गर्नेको अवकाश हुँदैन भन्ने सोचिन्छ, तर त्यो भ्रम हो । हरेक व्यक्तिले आफ्नो उमेर वा अवस्थाको एउटा निश्चित विन्दुमा पुगेपछि आफ्नो जिम्मेवारी नयाँ पुस्ताको काँधमा हस्तान्तरण गर्नै पर्छ । गृहिणीले समेत बुहारी भित्र्याएपछि घरव्यवहारको जिम्मेवारीमा बिस्तारै बुहारीलाई सरिक गराउँदै विश्राम लिने गरेको देखेकै विषय हो । त्यसैले मुख्य जिम्मेवारीबाट अवकाश लिनु स्वाभाविक ।

कार्यालय वा व्यवसायबाट औपचारिकरुपमा अवकाश प्राप्त गर्ने उमेरमा समानता नभएकोले कुन उमेरदेखिलाई अवकाशको उमेर मानेर गणना गर्ने भन्ने प्रश्नमा केही असहजता रहन्छ नै । अवकाशको उमेर देशअनुसार केही फरक हुनुसम्म त ठिक्कै होला तर एउटै देशभित्र पनि अवकाश नीतिमा एकरुपता नहुनुचाहिँ उदेकलाग्दो हो ।

यो अवस्थामा आएपछि कुखुरा, हाँस, टर्की आदि सेतो मासु र माछा लाभदायक हुन्छ ।

नेपालमा निजामती कर्मचारी ५८ वर्षको उमेरमा अनिवार्य अवकाश हुन्छन् भने शिक्षक ६० वर्षमा । न्यायसेवामा ६३ देखि ६५ सम्म प्रचलित छ भने सुरक्षा निकायहरुमा आ–आफ्नै नीति छ । त्यसैले अवकाशको औपचारिक उमेर हदलाई आधार मानेर अवकाशको जीवनमा स्वास्थ्यबारे चर्चा गर्नु उपयुक्त नहोला । तसर्थ हाम्रो समाजमा औसतरुपमा ६० वर्षपछिको जीवनलाई अवकाशको जीवन मान्ने गरेमा अनुपयुक्त नहोला भन्ने ठानी सोही आधारमा स्वास्थ्य सचेतनाबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

साठीपछिको स्वास्थ्य:
कुनै पनि व्यक्ति ६० औं शुभ जन्मदिन मनाएको भोलिपल्टदेखि नै अनायास अस्वस्थ हुने होइन । त्योभन्दा पहिलादेखिकै स्वास्थ्य, खानपिन, जीवनशैली आदिको इतिहासले मुख्यतः ६० वर्षपछिको स्वास्थ्यस्थिति निर्भर हुन्छ । साथै ६० वर्षपछि स्वास्थ्यमा नयाँ समस्या पनि थपिन सक्छ । मानिसको सक्रिय आयु ८० वर्ष मान्ने हो भने ४० औं जन्मदिनलाई जीवनको आधा अवधि पूरा गरेको मान्नुपर्छ । तर ५० औं जन्मदिनलाई स्वर्ण जन्मदिवस भनेर विशेषरुपले मनाउने चलन पनि छ । तर ४० पछि भने स्वास्थ्यका विभिन्न पक्षमा विचार पु¥याउनु जरुरी हुन्छ । त्यसो त ४० वर्ष युवावस्थाको अन्तिम विन्दु र प्रौढावस्थाको प्रारम्भिक विन्दु पनि हो ।

उमेरले ४० वर्ष पार गरेपछि मुख्यतया खानपिन र जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ, जसले गर्दा त्यसपछिको जीवन स्वस्थकर बन्न सकोस् । ४० वर्ष कटेपछि पहिलाजस्तो जे पनि र जति पनि खाने, पिउने गर्नुहुन्न । बरु जीवनशैली, खानपिन, व्यवहार आदिमा निश्चित अनुशासन कायम गर्नुपर्छ । तबमात्र बाँकी जीवन सुखद र सार्थक बन्न सक्छ ।

विशेष ध्यान दिनुपर्ने पक्ष:

– यो उमेरमा आइपुग्दासम्म उच्च वा न्यून रक्तचाप, मधुमेह, थाइराइड आदिको समस्या नभएको मानिसलाई आजभोलि भाग्यमानी मान्न थालिएको छ । यदि त्यस्तो समस्या छ भने पनि आत्तिनुपर्दैन, अलिकति विचार पु¥याएमा नियन्त्रणमा राख्न सकिन्छ ।

– उमेरजन्य कारणले कमजोर हुँदै जाने दाँत, आँखा, कान आदिबारे कुनै समस्या देखा परिसकेको छैन भने पनि वर्षमा एकपटक सम्बन्धित चिकित्सकलाई जँचाएर आवश्यक परामर्श लिँदा पछि धेरै सजिलो हुन्छ । किनकि उमेर छिप्पिँदै गएपछि यी अंगमा ढिलोचाँडो समस्या प्रायः आउँछन् नै । त्यसैले पहिला नै सजग हुनु बुद्धिमानी हुन्छ ।

-दैनिक जीवनलाई एउटा निश्चित समय तालिकामा चलाउनु जरुरी हुन्छ । बिहान सकेसम्म सबेरै उठ्ने र राति अबेर नगरी सुत्नुपर्छ । यसको लागि उपयुक्त समय तालिका राति १० बजेसम्ममा सुतिसक्ने र बिहान ५ बजेसम्ममा उठिसक्ने बानी बसाल्नु हो । औसत सात घण्टाको निद्रा सुनिश्चित गर्नुपर्दछ ।

-हरेक दिन बिहान न्यूनतम एक धण्टा प्रातः भ्रमण, योग, व्यायाम, ध्यान आदिका लागि सुनिश्चित गर्नुपर्दछ । यो तपाईंको स्वस्थ जीवनका लागि अत्यावश्यक समय हो । यो समय अरुलाई बिथोल्न नदिन तपाईं आफैं सबल हुनुपर्दछ । परिवारका सदस्य र आफन्तले पनि यो नितान्त व्यक्तिगत समयमा व्यवधान पु¥याउने असभ्य काम गर्नुहुँदैन । कहिलेकाहीँ आइपर्ने नियन्त्रणबाहिरको आपत्कालीन अवस्थाको कुरा बेग्लै हो ।

-प्रातः भ्रमण, योग, व्यायाम आदिको नित्यकर्मबाट फुर्सद पाएपछि फलफूल, अण्डासहितको बिहानीको खाजा (ब्रेकफ्रास्ट) खाने गर्नुपर्दछ । यसमा महँगा चिज खानुपर्छ भन्ने छैन । टुसा पलाएको गेडागुडी, जौको सात्तु, भिजाएको मेथी दाना, ठूलो बदाम, मौसमी फलफूल, गाजर, हरियो काँक्रो, प्याज, रातो मुला, चिनी र दूधविनाको फिका चिया, कफी आदि फाइदाजनक हुन्छन् । कतिपयले बिहान खाली पेटमा लसुनको एक–दुई पोटी पनि खाने गर्छन् । यसले फाइदा गर्छ तर अल्सर वा पेटको आन्द्रामा कुनै समस्या भएकाहरुले भने डाक्टरको सल्लाह लिएर मात्र काँचो लसुन खानुपर्छ ।

-बिहान पानी प्रशस्त (कम्तीमा एक लिटर) पिउनुपर्दछ । सम्पन्नहरु पानीको साटो जुस पिउन मन पराउँछन् । तर धेरै दिनदेखि डब्बा वा बोतलमा बन्द रहेको र चिनी मिसाएर मीठो पारिएको जुसले स्वास्थ्यलाई कुनै लाभ पु¥याउँदैन, बरु हानि गर्छ । मधुमेह, रक्तचापको समस्या देखिइसकेको छ भने त यस्तो जुस निकै हानिकारक हुन्छ । पहिलेदेखि नै बिहान उठेपछि एक ग्लास हल्का तातोपानी पिएरमात्र अरु काम गर्ने बानी बसालेमा पेटलगायत शरीरका धेरै पक्षमा फाइदा पुग्छ । अवकाशको जीवनमा त यसलाई हरेक दिनको शुरुवात गर्ने एक राम्रो बानीका रुपमा अपनाउनु आवश्यक नै हुन्छ ।

-मानिसलगायत सम्पूर्ण प्राणीजातिको जीवनमा सूर्यको किरणको अत्यन्तै महत्व छ । तर स्वास्थ्यका लागि कसरी उपयोग गर्ने भन्ने विषयमा भने विचार पु¥याउनु उचित हुन्छ । सृष्टिकालदेखि नै घाम हामीले सित्तैमा पाइरहेका छौं, त्यसैले यसको त्यति वास्ता गर्दैनौं । तर घाम कम लाग्ने पश्चिमी मुलुकहरुमा यसलाई अत्यधिक महत्व दिइन्छ । जाडो महिनामा घाम ताप्नु स्वाभाविकै हो । तर गर्मी याममा पनि सूर्यको किरणबाट स्वास्थ्यलाई लाभान्वित तुल्याउनुपर्दछ । अवकाशको अवस्थामा रहेका मानिसहरुले सूर्योदय भएपछिको कलिलो घामको किरण आफ्नो शरीरमा पार्नु लाभदायक हुन्छ ।

जाडो याममा घाम केही रापिलो भएपछि मात्र तापिन्छ भने गर्मी याममा घाम रापिलो हुनुभन्दा पहिला नै ताप्नुपर्दछ । साथै जाडो–गर्मी दुवै याममा नुहाइसकेपछि केहीबेर शरीरलाई घाममा राख्नु विशेष लाभदायक हुन्छ । अवकाशको जीवनको आनन्द लिइरहेकाहरुलाई समयको अभाव नहुने भएकोले सूर्यको किरणबाट उनीहरुले बढी फाइदा लिन सक्छन् । विदेशमा बिदाको दिन मानिसहरु नदी, समुद्र वा पौडी पोखरीको किनार, चौर आदिमा घण्टौंसम्म सूर्य स्नान (सन बाथ) को आनन्द लिन्छन्, जो भिटामिन डीलगायतका कारण स्वास्थ्यका लागि आवश्यक मानिन्छ ।

– अवकाशको अवस्थामा नपुग्दैदेखि आफ्नो शरीरलाई सक्दो चलायमान अवस्थामा राख्नु जरुरी छ । सधैँजसो ओछ्यानमै पल्टिरहने, बसेर टिभी हेर्ने बानी गर्नुहुँदैन । बिहान, बेलुका खाना खाएपछि लगत्तै ओछ्यानमा जाने वा सोफामा बस्ने नगरी करिब १५–२० मिनेट आँगन, चोक, कौसी, बगैँचा आदिमा हिँड्ने बानी गर्नु उमेर छिप्पिएका मानिसहरुका लागि अत्यन्तै लाभदायक हुन्छ ।

-बिहानको खाजा खाएपछि करिब चार घण्टाको अन्तरालमा रसिलो, पोषिलो खाना खानुपर्छ । सागसब्जी, दालको मात्रा पर्याप्त हुनुपर्छ भने भात, रोटी, मासु आदिको मात्रा ठिक्क मात्र हुनुपर्छ । सधैँ उही खाना नखाई चामलको किसिम परिवर्तन गरेर वा फापर, मकै, गहुँ, कोदो, किन्वा, साबुदाना, सेबई आदिका परिकार खानु बढी फाइदाजनक हुन्छ । उमेरले ४० को नेटो काटेपछि खसी, बोका, राँगा, बँदेल, बंगुर आदिको मासुको मात्रा घटाउनु आवश्यक छ । यो अवस्थामा आएपछि कुखुरा, हाँस, टर्की आदि सेतो मासु र माछा लाभदायक हुन्छ । हप्ताको एक छाक मासु खानु पर्याप्त हुन्छ । सबैले मासु खानै पर्छ भन्ने छैन । शाकाहारी भएर पनि स्वस्थ जीवन बिताउन सकिन्छ । तर शाकाहारीहरुलाई माछा, मासुमा पाइने पौष्टिक तत्व प्रोटिन, बी १२, ओमेगा आदिको कमी हुने भएकोले त्यसको परिपूर्तिका लागि थप पौष्टिक (सप्लिमेन्ट न्युट्रिसन) खानु जरुरी हुन्छ । प्रौढहरु पत्रुखाना (जंक फुड) बाट टाढै रहनुपर्छ ।

– विशेष गरी राति हलुका खानामात्र खानुपर्छ । पचाउन अधिक समय लाग्ने गरिष्ठ भोजन राति खानुहुँदैन । त्यसै गरी चिया, कफी आदिको मात्रा घटाउँदै लानुपर्छ । राति चिया, कफी नपिउनु बेस हो । सुत्ने बेलामा एक ग्लास मनतातो दूधमा एक सानो चम्चा बेसार वा दालचिनीको धूलो घोलेर खानु यो उमेर समूहका मानिसका लागि धेरै फाइदाजनक मानिन्छ ।

– मानिसको खानपिनमा मदिरापान अर्को महत्वपूर्ण पक्ष हो । अवकाशको अवस्थामा पुग्नुभन्दा पहिलेदेखि नै मदिरा सेवनको बानी परेकाहरुलाई त्यो बानी छोड्न जबर्जस्ती गर्नु हानिकारक हुन्छ । त्यसो गर्दा अरुको अगाडि नखाने तर लुकी–लुकी अत्यधिक खाने बानी पर्छ, जुन झन् घातक बन्न पुग्छ । मर्यादित किसिमले सीमित मात्रामा मदिरा सेवन गर्न सकिन्छ । आजकल अल्कोहलको मात्रा अत्यन्तै कम भएका मदिरा र नन्–अल्कोहोलिक वाइन, बियर पनि पाइन्छन् । यो उमेरमा पुगेपछि कडा नशा लाग्ने होइन हलुकामात्र लाग्ने मदिरा सेवन गर्न सकिन्छ ।

– प्रायः उमेर पाको भएपछि देखिने केही विशेष स्वास्थ्य समस्याहरुसँग पनि सामना गर्नुपर्ने हुन्छ । पुरुष वर्गलाई प्रोस्टेट ग्रन्थि बढेर दुःख दिन सक्छ भने महिलालाई रजोनिवृत्तको परिणामस्वरुप कतिपय कठिनाइ हुन जान्छ । यौनचाहना र क्षमतामा सामञ्जस्य नहुने र त्यसले गर्दा पति–पत्नीबीच तनाव र चिडचिडापन बढ्दै जाने हुन सक्छ । यसबाट जोगिन समयै यौनस्वास्थ्य सचेतना र उपचारलाई उच्च प्राथमिकता दिनुपर्दछ ।

– ‘केटाकेटीहरु लड्छन्–बढ्छन्’ भनिन्छ तर बूढाबूढीहरु भने ‘लड्छन् सड्छन्’ भन्नुपर्ने हुन्छ । किनकि उमेर छिप्पिसकेको मानिस लड्दा शरीरलाई निकै दख्खल पर्छ, जसले गर्दा उसले बाँचुन्जेल कष्ट भोग्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले पाको उमेरका मानिसहरुले लड्ने सम्भावना बढी भएका स्थानहरु जस्तै– भ¥याङ, शौचालय, चिप्लो भुइँ, अप्ठ्यारो बाटो, अँध्यारो ठाउँ आदिमा विशेष सावधानी अपनाउनुपर्छ र यस्तोमा कोही सहयोगीको सहयोग लिन अप्ठ्यारो मान्न हुँदैन । यदि लडिहालेमा तत्कालै उचित उपचार गर्नुपर्छ, ठीक भइहाल्ला नि भनेर विनाउपचार बस्नुहुँदैन ।

– चिसोले केटाकेटी र प्रौढलाई छिटो र बढी असर गर्दछ । यो उमेरमा चिसोका कारण निमोनिया, ब्रोन्काइटिस, कोल्ड एलर्जी, खोकी, घाँटीको समस्या आदि जोखिम बढी हुन्छ भने दमको समस्या भएकाहरुलाई पनि उमेर छिप्पिएपछि बढी सताउँछ । त्यसैले चिसोबाट जोगिनुपर्छ । फ्रिजमा राखेको पानी र अन्य पेय पिउनुभन्दा फ्रिजबाहिर राखिएको पिउनु बढी सुरक्षित हुन्छ । गर्मीका कारण एसी चलाउनुपरेमा एसीको चिसोले सोझै असर नपर्ने गरी कोट, पातलो ज्याकेट वा ओढ्नेको प्रयोग गर्नुपर्दछ ।

-यो उमेरका मानिसहरुले पखाला लाग्ने हरेक सम्भावनाबाट टाढै रहनुपर्दछ । युवा उमेरकै तन्दुरुस्त मानिसलाई पनि झाडापखालाले नराम्रोसँग गाल्छ, तर उनीहरु छिट्टै तङ्रिन सक्छन् तर ६० नाघेका मानिसहरुलाई भने तङ्रिन कठिन हुन्छ । सामान्य पखालाले पनि कतिपय वृद्धहरुको जीवनलीला समाप्त पारिदिन सक्छ ।

– प्रौढ भएपछि विशेष गरी कम्मर, ढाड, घुँडा, काँध आदि दुख्छ । यसबाट जोगिन योगासन, व्यायाम, फिजियो थेरापीलगायतका उपाय अपनाउन ढिलाइ गर्नुहुन्न । साथै डिमेन्सिया, अल्जाइमर्स, पार्किन्सन्सजस्ता जटिल रोग पनि प्रौढहरुका लागि ठूला चुनौती हुन् ।

-व्यावसायिक जीवनमा मानिसहरुले आफूलाई मन नलागेको वा चित्त नबुझेको काम पनि गर्नुपर्ने बाध्यता हुन सक्छ । तर अवकाशको जीवनमा भने त्यस्तो बाध्यताबाट मुक्त रहन सकिन्छ । अवकाशको जीवनमा आफूलाई मन लागेको काममात्र गर्ने, बाध्यतामा परेर, तनाव लिएर कुनै काम गर्नुहुँदैन । परिवार र अन्य शुभेच्छुकले पनि यसमा सहयोग गरिदिनुपर्छ । यद्यपि परिस्थिति सधैँ आफ्नो बसमा हुँदैन ।

-आफू सक्रिय उमेरमा छँदादेखि नै मन पराएर गर्दै आएको कुनै सौख वा अभिरुचिले अवकाशको जीवनमा असाध्यै राम्रो र भरपर्दो साथ दिन्छ, जसले अवकाशको जीवनमा मानसिक र शारीरिक स्वास्थ्य ठीक राख्न ठूलो भूमिका खेल्छ । जस्तै– साहित्य, संगीत, कला, पुस्तक अध्ययन, भ्रमण, बगैँचा, घरपालुवा जनावरको स्याहार, संकलन सौख (कलेक्सन हब्बी) मा हुलाक टिकट, नोट, सिक्का, फोटो, पुस्तक, कलम, क्यालेन्डर, बोतल, पुराना सामानहरुको संकलन आदि । कतिपय मानिसले यस्ता सौख बाल्य वा युवावस्थादेखि नै शुरु गरेका हुन्छन् भने कतिले व्यावसायिक जीवनको व्यस्तताबाट फुर्सद पाएपछि शुरु गरेका हुन्छन् । जतिखेर शुरु गरे पनि आफ्नो समय आफ्नो खुशीका लागि व्यतीत गर्ने यो एउटा रोचक र उपयोगी तरिका हो । यसले विशेष गरी अवकाशको जीवनमा मानसिक तनावबाट मुक्त राखी प्रफुल्लता प्रदान गर्न र रमाइलोसँग समय व्यतीत गर्न निकै ठूलो भूमिका खेल्छ ।

-स्वस्थ्य जीवनका लागि खेलकुदको महत्व सबैले बुझेकै विषय हो । सामान्यतया खेलकुद भन्नाले विशेष गरी युवावस्थामा गरिने गतिविधि भन्ने बुझाइ छ । तर अवकाशको उमेरमा पनि खेलकुदको महत्व कम हुँदैन । यो उमेरमा पनि आफूलाई रुचि लाग्ने धेरै शारीरिक परिश्रम नपर्ने खेल खेलेर आफ्नो शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

– तन्दुरुस्तीका लागि दौँतरीहरुसँग नियमित भेटघाट गर्ने, सत्संग, समाजसेवा आदिमा सरिक हुने गर्नुपर्छ । विभिन्न सञ्चारमाध्यमको सहयोगबाट देश र दुनियाका गतिविधिसँग परिचित रहनु पनि अवकाशको जीवनमा लाभदायक हुन्छ ।
कुनै पनि मानिस यति वर्ष बाँच्छ भनेर ठोकुवा गर्न सकिँदैन । तर जतिसम्म बाँचिन्छ पीडा र तनावरहित जीवन बाँच्न हरसम्भव प्रयास सबैले गर्नुपर्छ र उसको यो प्रयासमा परिवार र समाजले पनि सक्दो सहयोग गर्नुपर्दछ । आयु लामो हुँदैमा जीवन सुखी हुँदैन । शारीरिक पीडा र मानसिक तनावबाट मुक्त रहन सकेमात्र जीवन सुखी हुन्छ ।

(वरिष्ठ पत्रकार बस्नेतले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)

प्रतिक्रिया दिनुहोस्