जङ्क फुड के हो, किन खानुहुन्न ?



प्रा. डा. प्रकाशराज रेग्मी

जङ्क फुड अर्थात् पत्रु खानाको चर्चा गर्दा डा. अरुणा उप्रेतीको याद आउँछ । नआओस् पनि किन ? उहाँ नै हो यसबारे दोहो¥याई–तेह¥याई लेखिराख्ने र सबैलाई घचघच्याइराख्ने । मेरो मनमा पनि आज खै किन हो जङ्क फुडको कुरा घुम्न लाग्यो । कलम उठाएर डा. अरुणाको सिको गर्दै छु । जङ्क फुड नियन्त्रण अभियानमा हामी सबै लाग्नुपर्ने बेला भएको अनुभव गर्दै मेरा केही विचार र जनचेतना सामग्री यहाँ प्रस्तुत गर्दै छु ।

‘जङ्क फुड’ प्रायः सबैले सुनेको शब्द हो । सुनेको भए तापनि सबैले यसको अर्थ बुझेका छैनन् । अर्थ बुझेकाहरुमध्ये ९० प्रतिशतभन्दा बढीले आफूले बुझेको कुरा व्यवहारमा लागू गरेका छैनन् । जङ्क फुडबारे दुईवटा ठूला चुनौतीहरु छन् । पहिलो हो यसबारे बुझाउने र दोस्रो हो बुझेको कुरा व्यवहारमा पनि लागू गराउने । बुझाउने काम सजिलो छ तर व्यवहारमा उतार्ने काम कठिन छ । शुरुमा सजिलो काम गरौं, त्यसपछि कठिनतर्फ लागौंला ।

‘जङ्क’ भनेको अंग्रेजी शब्द हो, जसको अर्थ हुन्छ ‘काम नलाग्ने’ । जङ्क फुडको सोझो अनुवाद हो काम नलाग्ने खाना । काम नलाग्ने चिजलाई ‘पत्रु’ भनिन्छ । यस प्रकार ‘जङ्क फुड’ को सोझो अर्थ हुन्छ ‘पत्रु खाना’ । कस्ता खानेकुरा जङ्क फुड हुन् भनी खोज्दै जाँदा, बिस्केट, आलु चिप्स, तयारी चाउचाउ, दालमोठ, चकलेट, केक, आइसक्रिम, गुलिया पेयपदार्थ, इनर्जी ड्रिङ्क्स, मिठाईहरु, डिप फ्राइ गरेका खाना आदि सबै यसमा पर्दा रहेछन् ।

यी सबै हामीले खाइराखेका खानेकुराहरु हुन् । बिस्केट त झन् बिरामीहरुले दैनिकजसो औषधि खाँदा सँगै खान्छन् । बिरामी भेट्न जाँदा हर्लिक्स र बिस्केट लिएर जाने परम्परा नै बसेको छ । हर्लिक्स पनि पत्रु खाना हो भन्यो भने हामीलाई विश्वास नलाग्न सक्छ । तर हर्लिक्स र बिस्केट दुवै काम नलाग्ने खाना नै हुन् । धेरै जनाको मनमा प्रश्न उठ्ला– भोक लागेको बेला, मजाले एक पुरिया ग्लुकोज बिस्केट र एक गिलास हर्लिक्स खाँदा आरामले पेट पनि भर्छ, मीठो पनि हुन्छ, साथै तागत पनि आउँछ । अनि कसरी यो खाना काम नलाग्ने भयो ? व्यवहारमा त झन् खूबै काम लागेको पो देखियो । भोक म¥यो, मीठो भयो, तागत बढ्यो । अरु के चाहियो ? यस्तै प्रकारले समोसा, रसवरी, पकौडा, बर्फी, केक, आइसक्रिम, मःमः, पिज्जा आदि खाना सबैले क्या स्वाद लिई, आनन्द मानेर खाने गर्छन् ।

कुखुराको मासुलाई चिल्लोमा डिप फ्राइ गरेपछि यो पत्रु खाना बन्छ ।

यी कसरी पत्रु खाना भए ? थाकेर लखतरान भएको बेला चिसो कोकाकोला वा फान्टा वा माउन्टेन डिउ एक बोतल घुटुघुटु पिएपछि एकैछिन्मा क्या आनन्दको अनुभूति हुन्छ, थकाइ मर्छ, तागत र फूर्ति बढ्छ । अनि कसरी यी खाना पत्रु भए ? जन्मदिन मनाउँदा केक काटेर खान्छौं, रेस्टुरेन्ट जाँदा मःमः, चिकेन फ्राइ, आलु फ्राइ, पिज्जा आदि स्वाद मानेर खान्छौं, डेजर्टका रुपमा आइसक्रिम, केक, मिठाई आदि औँला चाटी–चाटी खान्छौं । सबैको पेट भरिन्छ, मन भरिन्छ, रमाइलो पनि हुन्छ । अनि कसरी यी खाना जङ्क याने काम नलाग्ने भए ? मैले यिनै प्रश्नहरुको उत्तर लेख्दै छु । आशा छ, तपाईंहरुले ध्यानपूर्वक पढ्नुहुनेछ, बुझ्नुहुनेछ अनि अरुलाई पनि बुझाउनुहुनेछ ।

हाम्रो शरीर पानी, प्रोटिन, बोसो, खनिज र भिटामिनहरुबाट बनेको छ । मानिसको उमेर अनुसार यी तत्वहरुको परिमाण र सन्तुलनमा फरक पर्न जान्छ । भर्खरै जन्मेको बच्चामा पानी धेरै हुन्छ, युवावस्थामा प्रोटिन बढ्दै जान्छ, प्रौढ अवस्थामा बोसो थपिँदै जान्छ । वृद्धावस्थामा पानी, प्रोटिन र बोसो सबै घट्दै जान्छन् । खनिज (मिनरल) र भिटामिनहरुको सन्तुलन सधैँजसो एकनासको रहन्छ । यो घटबढ हुँदा रोगव्याधिले समाउँछ । कार्बोहाइड्रेट्स (गुलियो तत्व) शरीर सञ्चालनका लागि चाहिन्छ । यो ऊर्जाको स्रोत हो । हामीले खाने खानाबाट हाम्रो शरीर बन्छ । हामीले जस्तो खाना खान्छौं हाम्रो शरीर त्यस्तै बन्छ । पहलमानले मासु-प्रोटिन धेरै खान्छन् ।

यसकारण उनीहरुको शरीरमा मांसपेशीका डल्ला धेरै हुन्छन् । चिल्लो धेरै खानेको शरीरमा बोसो धेरै लागेको हुन्छ । जे चिज धेरै खायो शरीरमा त्यही चिजको थुप्रो लाग्छ । यो सबैले बुझ्ने कुरा हो । यसकारणले भनेको हो खाना र हाम्रो शरीरको गहिरो सम्बन्ध हुन्छ । जङ्क फुड समूहभित्र पर्ने खानेकुराहरु खाने बानी बस्यो र त्यो चाहिनेभन्दा बढी मात्रामा खाइयो भने शरीरको अवस्था बिग्रिन्छ र रोगहरु लाग्छन् ।

कस्तो खानालाई पत्रु खाना वा जङ्क फुड भन्ने र यस्तो खानाले कसरी स्वास्थ्यलाई असर पु¥याउँछ भन्ने बारे छोटकरीमा लेख्दै छु । जङ्क फुड भनेको त्यस्तो खानेकुरा हो जसमा निम्न लिखित विशेषताहरु हुन्छन्:
१. धेरै क्यालोरी (ऊर्जा) दिन्छ तर पौष्टिक तत्व र भिटामिन न्यून हुन्छ ।
२. खानका लागि तयारी अवस्थामा प्याकेट, बट्टा वा बोतलभित्र सिलबन्दी गरी राखिएको हुन्छ ।
३. यसमा अत्यधिक मात्रामा चिनी वा अति खराब चिल्लो (अ.ख.चि.) वा नून वा प्रिजरभेटिभ रहेको हुन्छ ।
४. अत्यधिक मात्रामा प्रशोधन गरिएका खानेकुराहरु ।
५. चिल्लोमा डिप फ्राइ गरिएका खानाहरु ।

यी पाँचवटा विशेषताहरुमध्ये कुनै एउटा मात्र छ भने पनि त्यो खाना पत्रु खाना समूहभित्र पर्छ । यस्तो खानेकुराले शरीरमा रित्तो ऊर्जा (पौष्टिक तत्व र भिटामिनहरु नभएको ऊर्जा) दिन्छ, जसका कारण शरीरमा अत्यधिक मात्रामा नचाहिँदो बोसो लाग्छ । यस्तो अवस्था बढ्दै गयो भने धेरै प्रकारका नसर्ने रोगहरु लाग्ने सम्भावना हुन्छ, जस्तै– मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, हार्ट अट्याक, मस्तिष्कघात, क्यान्सर, थाइरोइड, युरिक एसिड, हड्डीहरुको कमजोरी नसाहरुको कमजोरी आदि । अर्को कुरा, पत्रु खानाले धेरै ऊर्जा दिए पनि यो अडिलो हुँदैन । यो खाएपछि छिटो–छिटो भोक लाग्छ र छिन्–छिन्मा खाइराख्नुपर्ने हुन्छ, जसका कारण शरीरमा बोसो थपिँदै जान्छ, मोटोपना बढ्दै जान्छ अनि रोग पनि बढ्दै जान्छ ।

राम्रो खाना भनेको पौष्टिक तत्वहरु, भिटामिनहरु प्रशस्त मात्रा भएको खाना हो । हरियो सागपात, फलपूmल, गेडागुडी, माछा, मासु, अण्डा, दूध, दही आदि राम्रो अर्थात् पौष्टिक आहार समूहमा पर्दछन् । तयारी खानाहरु जस्तै– बिस्केट, कुकिज, तयारी चाउचाउ, दालमोठ, भुजिया, चिजबल्स, कुरकुरे, केक, आइसक्रिम, आलु फ्राइ, चिकेन फ्राइ, समोसा, पकौडा, पिज्जा, मःमः, बोतलका गुलिया पेयपदार्थ, हर्लिक्स, वर्नभिटा, चकलेट आदि खानेकुराहरु सबै पत्रु खाना समूहमा पर्दछन् । बिस्केट प्रशोधित मैदा, ट्रान्सफ्याट (खराब चिल्लो), चिनी वा नूनबाट बनेको हुन्छ ।

यसमा क्यालोरी हुन्छ तर पौष्टिक तत्व र भिटामिन हुँदैन । यसकारण बिस्केट पत्रु खाना हो । हर्लिक्समा प्रशोधित जौको पीठो, चिनी, केही खराब चिल्लो र प्रिजरभेटिभ मिसिएको हुन्छ । हर्लिक्समा प्रचार गरेजस्तो भिटामिन र पौष्टिक तत्व हुँदैन । यो प्रशोधित खानेकुरा हो, जसमा फाइबर, प्रोटिन आदि झिकिएको हुन्छ, चिनी हालेर गुलियो, मीठो र क्यालोरी धेरै दिने बनाइएको हुन्छ । यसले क्षणिक तागत दिन्छ तर हानि धेरै गर्छ ।

यसकारण हर्लिक्स पनि पत्रु खाना हो । उसिनेको वा थोरै चिल्लोमा पकाएको आलु पत्रु खाना होइन तर धेरैपल्ट तताएको चिल्लोमा डिप फ्राइ गरेको आलु पत्रु खाना हो । किनकि यसरी डिप फ्राइ गरेर पकाउँदा आलुमा भएको पौष्टिक तत्व र भिटामिनहरु सबै नष्ट भएर जान्छन् र त्यसको ठाउँमा धेरै मात्रामा अ.ख.चि. (ट्रान्सफ्याट) थपिन्छ । यसकारण डिप फ्राइ गरेको आलु पत्रु खाना हो ।

बदामलाई काँचै वा थोरै भुटेर, साँधेर खायो भने यो पौष्टिक खाना बन्छ । तर यही बदामलाई चिल्लोमा डिप फ्राइ गरेर नून वा चिनी हालेर वा प्याकेटमा प्याक गरेर राख्यो भने यो पत्रु खाना बन्छ । यसकारण कुनै पनि खानेकुरा आफैँमा पत्रु खाना होइन, यो त खानेकुरा तयार गर्ने प्रक्रियाको नतिजा हो । कुखुराको मासु पौष्टिक खाना हो तर कुखुराको मासुलाई चिल्लोमा डिप फ्राइ गरेपछि यो पत्रु खाना बन्छ ।

हामीले खानेकुरा बनाउने तरिका सिक्नुपर्छ । खानेकुराको छनौट गर्ने तरिका सिक्नुपर्छ । अनि खानेकुरा खाने बानीमा पनि परिवर्तन ल्याउनुपर्छ । यी कुराहरु नजानेर आजका युवा पिँढी पत्रु खानाको सिकार भएका छन् । पत्रु खाना खाने बानीले गर्दा आज युवावस्थामै हृदयघात, मस्तिष्कघात, क्यान्सरजस्ता रोगहरुको सिकार भैराखेका छन् ।

के पत्रु खाना खानै नहुने हो त ? मुखमा हाल्नेबित्तिकै के यसले हानि पु¥याइहाल्छ त ? यसो पक्कै होइन । कहिलेकाहीँ महिनाको एकपल्ट, थोरै मात्रामा यस्ता खानेकुरा खाँदा खासै फरक पर्दैन, तर पत्रु खाना जति धेरै खाँदै गयो रोग पनि त्यसै अनुपातमा बढ्दै जान्छ । पत्रु खानामा लागू पदार्थमा जस्तै लत बस्छ । बच्चालाई केक खुवाउने ग¥यो भने उसले केक खान पाएन भने अरु कुनै खानेकुरा खाँदैन ।

कोकाकोला पिउने बानी भएकालाई दैनिक एक बोतल भए पनि यसको स्वाद लिनै पर्ने हुन्छ । आलु फ्राइ खाने गरेकाहरुले खान बस्यो कि आलु फ्राइ नै खोज्छन् । प्रोशोधित कार्बोहाइड्रेट्स, चिनी र ट्रान्सफ्याटमा लत बस्छ अनि यस्तो खाना खाइराख्न मन लाग्छ । यसकारण पत्रु खाना खाने बानी पार्नुहुँदैन । उनीहरुलाई सानैदेखि ताजा र पौष्टिक खाना खान सिकाउनुपर्छ । घरको भान्छामा पत्रु खाना बनाउनुहुँदैन । होटल, रेस्टुरेन्ट जाँदा पत्रु खाना अर्डर गर्नुहुँदैन । कस्तो खाना खाने, कसरी पकाएर खाने, पत्रु खाना कि स्वस्थ खाना खाने ? आफ्नै रोजाइको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्