डेंगु नियन्त्रणमा थप सजगता आवश्यक



गत वर्षझैँ यस वर्ष पनि मुलुकभर फैलिँदै गएको डेंगु रोग भदौ–असोजमा अझ व्यापकरुपमा फैलिने विशेषज्ञहरुले चेतावनी दिएका छन् । त्यसै पनि डेंगु वर्षाद हुनुअघि र वर्षादपछि बढी फैलिने रोग हो । तर पनि यस वर्ष (सन् २०२३) जनवरी महिनामा नै ६ जना बिरामीमा डेंगु देखिएको थियो र बढ्दै गई गत जुलाई महिनासम्ममा ४ हजार २८९ जनालाई डेंगु संक्रमण भइसकेको थियो । गतवर्ष सन् २०२२ मा प्रायः मुलुकभर नै महामारीका रुपमा फैलिएर ५४ हजार ७८४ जनालाई डेंगु संक्रमण भएको थियो ।

नेपालमा डेंगुको पहिलो बिरामी सन् २००४ मा (एक विदेशी) भेटिएको थियो । सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा स्थानीय बासिन्दामा डेंगु संक्रमण भएको भेटियो । त्यसै गरी सन् २०१० मा चितवनलगायत नवलपरासी, रुपन्देही जिल्लामा महामारीकै रुपमा डेंगु फैलियो र देशभरमा ९१६ जनामा संक्रमण भएको पाइयो । सन् २०१६ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीका रुपमा फैलियो र देशभरमा १ हजार ५२७ जनामा संक्रमण देखियो । यसरी फैलिँदै हरेक वर्ष भौगोलिक क्षेत्र र संक्रमित बिरामीको संख्याका साथै यसबाट मृत्यु हुने संख्या पनि बढ्दै गएको पाइन्छ ।

डेंगु विश्वभरि नै फैलिँदै र बढ्दै गइरहेको छ । विगत ५० वर्षमा यो रोग ३० गुणा बढेको पाइएको छ । विश्वका आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् । यो धेरैजसो न्कयानो तथा तातो हावापानी भएका शहरी र शहरोन्मुख क्षेत्रमा बढी फैलिन्छ । डेंगु रोग बढ्नुमा विश्वकै तापक्रम बढ्दै जानु, शहर तथा शहरोन्मुख क्षेत्रको विस्तार हुँदै जानु पनि प्रमुख कारण हुन्, जसले डेंगु सार्ने लामखुट्टेको वृद्धि विकास र संक्रमण फैलाउन अनुकूल स्थितिको सिर्जना गरिदिन्छ ।

डेंगु लामखुट्टेबाट सर्ने भाइरल इन्फेक्सन हो । एडिस एजिप्टाई÷एलबोपिक्टर्स (Aedes aegypti/Albopicturs) जातको पोथी लामखुट्टेको टोकाइबाट मात्रै यो रोग सर्छ । यो लामखुट्टेले सामान्यतया जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ । एउटा लामखुट्टेको जीवनकाल लगभग ३० दिनको हुन्छ र जीवनभरमा ५ सयदेखि १ हजार वटासम्म अण्डा पार्छ । संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित हुन्छन् । यसका अण्डा पानीविना पनि जीवित रहन सक्छन् । यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्छ ।

डेंगु एउटा मानिसबाट अर्को मानिसमा सोझै सर्दैन । रोगी मानिसको रगत चुसेर अर्को मानिसमा लामखुट्टेले रोग सार्दछ । यो रोग जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्न सक्छ । भाइरसको कारण हुने भएकोले डेंगुको खास उपचार छैन । बिरामीले अनुभव गरेका लक्षणहरुको उपचार गरेर बिरामीलाई आराम दिने प्रयास गरिन्छ । डेंगुलाई हेलचेक्र्याइँ गर्दा यसले मानिसलाई मृत्युको मुखमा पनि पु¥याउँछ ।

एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको डेंगु रोग लाग्दैन । तर अन्य प्रकारको डेंगु रोग लाग्न सक्छ । र, दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्ने भएकोले घरवरिपरि पानी जम्न दिनुहुँदैन । टोकाइबाट बच्नका लागि पूरा बाहुला भएको लुगा लगाउने, दिउँसो सुत्दा पनि झुल राखेर सुत्ने, मच्छड भगाउने धूप तथा मलहमहरुको प्रयोग गर्ने गर्नुपर्दछ ।

गतवर्ष नेपालमा इतिहासमै सबैभन्दा बढी मानिस संक्रमित भएकाले यस वर्ष पनि त्यो खतरा छ । त्यसकारण डेंगु रोगले महामारीको रुप लिनुअघि नै थप सजग बनेर राज्य एवं स्थानीय निकायलगायत स्थानीय बासिन्दाले पनि आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्