गर्मीमा महिला यौनाङ्ग चिलाउने समस्या



प्रा. डा. सुमनराज ताम्राकार

गर्मी तथा वर्षात्को मौसममा वातावरण ओसिलो एवं न्यानो हुनुका साथै विभिन्न खालका कीटाणुहरुको अत्यधिक वृद्धि हुन्छ । यसका कारण सरुवा रोग अर्थात् संक्रामक रोगहरु तुलनात्मकरुपमा बढी देखा पर्दछन् । महिलाहरुको यौनाङ्गको बनावट र अवस्थितिका कारण सरसफाइमा अलिकति तल–माथि हुनासाथ विभिन्न समस्या देखा पर्न सक्छन् ।

स्त्री जननेन्द्रिय (योनि) भन्दा माथि रौंले ढाकिएको नरम भागलाई अंग्रेजीमा भल्भा भनिन्छ । किशोरी अवस्थामा पुगेपछि यो भागमा स–साना रौं पलाउन थाल्छ । शरीरमा अन्य अंगहरुमा झैँ यहाँ पनि घाउ (अल्सर)आउने, दुख्ने, चिलाउने हुन सक्छ । तर गर्मी अथवा वर्षात् मौसममा भने अलि बढी यस्ता समस्या हुन्छन् ।

भल्भामा धेरैजसो यौनजन्य संक्रमण (भिरिङ्गी, हर्पिस, सेन्क्रोइड आदि) का कारण घाउ, अल्सर आउन सक्छ । त्यसको अलावा आन्द्रालाई पनि असर गर्ने क्रोन्स डिजिज, पटक–पटक मुख तथा आँखामा पनि अल्सर आउने बेहसेट डिजिज तथा इप्स्टिन बार भाइरसको कारणले हुने लिपसुज संक्रमणमा पनि भल्भामा अल्सर (घाउ) आउँछ ।

चिलाउने समस्या अन्य रोगको एउटा लक्षणमात्र पनि हुन सक्छ ।

अल्सरजस्तै भल्भामा अप्थस अल्सर, हर्पिस संक्रमण, भल्भामा रहने स्नायुको सुजन, सिस्नुले पोलेको झैँ अनुभव हुने अवस्था आउन सक्छ । यस्तै गरी योनि तथा पिसाब खुल्ने द्वारको दुखाइ सरेर वा मानसिकरुपमा त्यत्तिकै पनि दुख्न सक्छ । स्त्रीरोग विभागको बहिरंगमा आउने करिब १० प्रतिशत महिलाले यौनाङ्गवरिपरि चिलाउने गुनासो गर्छन् । ट्राइकोमोनास तथा क्यान्डिडाको संक्रमण, त्यहीँ सोरियासिस, इन्टरट्राइगो तथा डर्मेटाइटिसजस्तो छालाको समस्या, फंगस भाइरस, जुम्रा तथा चुर्नाको कारण, भिरिङ्गी, एलर्जीका कारण चिलाउने हुन सक्छ ।

कहिलेकाहीँ क्यान्सरको पूर्वस्थितिको लक्षणको रुपमा चिलाउने हुन सक्छ । यसको अलावा मधुमेह, भिटामिनको कमी, कुपोषण कारण पनि यौनाङ्गवरिपरि चिलाउने हुन्छ । यसरी यौनाङ्गवरिपरि देखा पर्ने यी लक्षण चिह्नहरु अधिकांश समय सामान्य खालका हुन्छन् ।

यसको कारण अनुसार उपचार गर्न सकिन्छ । तर विरलै भए पनि यी लक्षण चिह्नहरु क्यान्सरको पूर्वलक्षण हुन सक्ने हुनाले सतर्कता भने अपनाउनुपर्दछ । यौनाङ्गवरिपरि घाउ आउने, पीडा हुने तथा चिलाउनेको अलावा गिर्खा आउने, सेता तथा राता दागहरु आउने हुन सक्छ । यौनाङ्गवरिपरिको कतिपय समस्यामा चिलाउने र पीडा हुने सँगसँगै नै हुन सक्छ । स्त्री जननेन्द्रियमा दुख्नु एवं पीडा हुनु र चिलाएको अनुभूति हुनु फरक कुरा हुन् ।

महिलाहरुको यौनाङ्गवरिपरि चिलाउने समस्या भए पनि अंग विशेषमा छुँदा वा दबाउँदा दुख्ने एवं सुन्निने हुँदैन । प्रताडित महिलाले रातिको समयमा बढी चिलाउने सिकायत गर्छन् । रातिको समयमा एकाग्रता बढ्नु, केन्द्रीय स्नायु प्रणाली थकित हुनु एवं यौनाङ्गवरिपरि तातोपना बढ्नु तथा हावाको चलखेल घटी हुनुको कारणले पनि राति बढ्ता चिलाउँछ ।

यौनाङ्ग किन चिलाउँछ ?
स्त्री जननेन्द्रियको योनिश्राव, त्यसवरपरको छालाको समस्या, विभिन्न खाले संक्रमण एवं भल्भामा लाग्ने क्यान्सर तथा क्यान्सरपूर्वको अवस्थामा पनि यौनाङ्ग चिलाउने हुन्छ । त्यसमाथि महिला विशेषमा मधुमेह वा एलर्जीको समस्या छ भने पनि पटक–पटक यौनाङ्ग चिलाउने समस्या भइराख्छ । स्त्री जननेन्द्रिय अन्तर्गतको योनिद्वारमा ट्राइकोमोनास तथा क्यान्डिडाको संक्रमणका कारणले हरियो वा सेतो पानी (योनिश्राव) बग्यो भने चिलाउने पनि हुन्छ । तर यौनाङ्गवरिपरि पिलो वा अन्य पीपयुक्त समस्याका कारण यौनाङ्ग चिलाउने र योनिद्वार आसपासका भल्भामा पीडा उत्पन्न गराउँछ । त्यसै गरी यौनाङ्गको समस्या तथा सोरियासिस, सेबोरिक डर्माटाइटिस, इन्टरट्राइगोलगायतका भल्भाकै छालाजन्य समस्याले भल्भालाई पनि असर पु¥याउँदासमेत यौनाङ्गवरिपरि चिलाउँछ ।

पंmगस (क्यान्डिडा), भाइरस (हर्पिस, वार्ट), परजीवी (चुर्ना, लुतो) एवं यौनजन्य संक्रमण (धातुमेह, ट्राइकोमोनास) लगायतका भल्भामा हुने विभिन्न खाले संक्रमण, एलर्जी तथा नाइलनयुक्त भित्री कपडा वा कतिपय साबुन एवं केमिकलले धोएको भित्री कपडाको प्रयोगले पनि यौनाङ्गवरिपरि चिलाउने समस्या हुन्छ । भल्भामै हुने कतिपय क्यान्सर र ट्युमरमा पनि चिलाउने समस्या हुन्छ ।

यसरी भल्भामा चिलाउने समस्या भएका महिलामा मधुमेह, औषधिको एलर्जी, भिटामिन विशेषको कमी हुन सक्छ । ती महिला मनोरोगबाट प्रताडित भएको पनि हुन सक्छ । त्यसो त भल्भामा चिलाउने समस्या अन्य रोगको एउटा लक्षणमात्र पनि हुन सक्छ । त्यसैले चिलाउने समस्या भएकी महिलालाई विस्तृत तवरमा चिलाउन थालेको अवधि, अन्य लक्षण चिह्न, परिवार नियोजनको प्रयोग, मानसिक समस्या, भित्री कपडाको बनोट आदि सोध्ने गरिन्छ । शारीरिक जाँचको क्रममा तिनीहरुको पोषणको स्थिति, पंmगल वा अन्य संक्रमणको प्रमाण, चुर्ना, दाद भए-नभएको चेक गर्ने गरिन्छ ।

सम्भावित रोगको निक्र्यौलका लागि प्रभावित क्षेत्रको छाला खुर्केर एवं रगत, पिसाब, दिसाको जाँचबाट कारक तत्व पत्ता लगाउन सकिन्छ । तर भल्भामा मात्र अत्यधिक चिलाउने समस्या छ भने ट्राइको मोनास, क्यान्डिडा संक्रमण, भल्भाकै छालाजन्य समस्या, मधुमेह तथा भल्भाकै क्यान्सर वा ट्युमर सम्झिनुपर्दछ । उपचारको क्रममा व्यक्तिगत सरसफाइ, भित्री कपडाको उचित छनोट, एन्टिबायोटिक वा स्टेरोइडयुक्त मलमको अलावा मधुमेह, एलर्जीको यथोचित उपचार पनि गर्नुपर्दछ । यौनाङ्गको सरसफाइका लागि तडकभडक विज्ञापनको प्रलोभनमा पर्नुहुँदैन ।

साथै विभिन्न किसिमका स्याम्पू वा भजाइनल वासहरु प्रयोग गर्नुभन्दा नियमितजसो साधारण तवरमा सफा पानीले धोई–पखाली गरेर सुख्खा राख्नु बुद्धिमानी हुन्छ । यौनाङ्ग चिलाउने समस्या रहिरहेमा सम्बन्धित चिकित्सकको सल्लाह, परामर्श लिन ढिलाइ गर्नुहुँदैन। किनकि ट्युमर वा क्यान्सर लागेको भए प्रभावित क्षेत्रबाट मासुको अंश निकाली (बायोप्सी गरी) त्यसको रिपोर्ट अनुसार आवश्यक उपचार शुरु गराउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्