रातो पहिरनमा तीजको शृङ्गार



सुष्मा महरा

हरितालिका तीज हिन्दू नारीहरुको विषेश चाड हो । यस चाडमा ऊभन्दा म के कम भन्दै आफूलाई सजाउने चाहना प्रायः सबै नारीको हुन्छ । विषेश गरी रातो पहिरनमा सजिएका नारीहरुले अन्य शृङ्गार पनि सोही अनुसार गर्न चाहन्छन् । आफ््नो सौभाग्यको सूचक चुरा, पोते, धागोसहित रातो पहिरनमा सजिएर झुन्ड–झुन्ड भई मन्दिर जाने, नाच्ने, गाउने गरेको देखिन्छ । ऊभन्दा ऊ राम्री भएर व्रत, उपासना, पूजाआजा गर्ने र हृदयका आफ्ना कथाव्यथालाई गीतको माध्यमद्वारा सुनाई मनोरञ्जन लिने गर्दछन् ।

 

माहिलाहरुको स्वतन्त्र पर्वको रुपमा रहेको तीज विवाहित छोरीचेलीका लागि सज्जिने एउटा अवसर पनि बन्न पुगेको छ अहिले । हुन त धार्मिक आस्थाका साथ मनाइने तीज पछिल्लो समय खर्चिलो र तडकभडकयुक्त बन्दै गएको छ । संस्कार र संस्कृतिले भरिएको हरितालिका तीज भड्किलो बन्दा आर्थिक भारका साथै नेपाली नारीहरुको मौलिक संस्कृतिमाथि पनि आँच आएको पाइन्छ । महँगा पहिरन र गरगहनाविना पनि तीज मनाउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जान जरुरी देखिन्छ ।

तीजमा कस्तो मेकअप गर्ने ?

वर्षको एकचोटि आउने तीजमा महिलाहरु विशेष मेकअप गर्न खोज्छन् । यो चाडमा धेरैले सोह्र शृङ्गार गर्नुपर्छ भन्ने मान्यता पनि राखेका हुन्छन् । तर यो चाड गर्मी मौसममा पर्ने भएकाले मेकअप गर्दा एकदम ध्यान पु¥याएर गर्नुपर्छ । सबै मेकअपका सामग्रीहरु वाटर प्रुफ हुनुपर्छ । मेकअप गर्दा हामीले शुरुमा प्राइमर अनिवार्य लगाउनुपर्छ । प्राइमर लगाइसकेपछि अफ्नो स्किन कलर अनुुसारको प्यानास्टिक क्रिमको प्रयोग गर्नुपर्दछ । यसले हामीलाई स्किनमा भएका दागधब्बाहरु लुकाउन पनि मद्दत गर्दछ । साथै यसले स्किनमा राम्रो बेससमेत दिन्छ ।

यसरी मेकअप गरेका महिलाहरु तीजमा दिनभरि नाचे पनि उनीहरुको मेकअप बिहानको जस्तै टिकिरहन्छ ।

स्किनलाई ब्राइट देखाउने हो भने अब यसमाथि स्किन कलरभन्दा एक–दुई सेट लाइट कलरको फाउन्डेसन लगाउनुपर्दछ । यसरी स्किन बेस र फाउन्डेसन वा बिबी क्रिम लगाउँदा अलि समय दिएर ब्रस या मेकअप पफको सहायताले राम्ररी ब्लेन्ड गर्नुपर्दछ । त्यसपछि कम्प्याक पाउडर लगाउनुपर्छ । कम्प्याक पाउडर लगाइसकेपछि आइब्रोलाई सेप दिने र आँखाको मेकअप गर्ने आइल्यासेज राख्ने नोज तथा चिन कटिङ गर्ने लिपस्टिक लगाउनुपर्छ ।

यदि विवाहित महिला हो भने सिन्दुर टीका लगाउनुपर्छ । त्यसपछि अहिले फेसनमा चलिरहेको हाइलाइटर लगाएर आफ्नो नाक, गाला, आइब्रोको साइडमा साइनिङ दिन सकिन्छ । अहिले पहिलाको जस्तो रोज लगाउने चलन धेरै हटिसकेको छ । यसरी मेकअप गरिसकेपछि अनुहारको वरिपरि, कान, घाँटीलगायतका भागमा हल्का मेकअप टचअप गर्नुपर्दछ । यसो गर्नाले मेकअपको सेट मिल्न जान्छ । मेकअप सकिएपछि अन्त्यमा मेकअप फिक्सर स्प्रे लिएर हल्का स्प्रे गर्नुपर्दछ । यसरी मेकअप गरेका महिलाहरु तीजमा दिनभरि नाचे पनि उनीहरुको मेकअप बिहानको जस्तै टिकिरहन्छ ।

कपाल कस्तो बनाउने ?

तीजमा मेअपको साथै हेयरको डिजाइनलाई पनि ध्यान दिनुपर्दछ । यदि फुल मेकअप गरेका छौँ र मेकअपलाई लामो समय टिकाउनु छ भने कपाल खुल्ला छोड्नु राम्रो मानिदैन । कपाललाई खुल्ला छोडेर बनाएको डिजाइनले केही समय राम्रो देखिए तापनि नाचगानका साथै गर्मी मौसम भएको कारणले छोडेको कपालमा धेरै पसिना आई मेकअपलाई असर गर्दछ । त्यसैले यस कुरालाई ध्यानमा राखेर कपालको डिजाइन दिनुपर्छ ।

लामो कपाल भएमा कपाललाई धागोले बाटेर डिजाइन दिने, छोटो कपाल छ भने त्यसलाई पनि त्यसै अनुरुप काँटाको सहायताले घाँटी खुल्ला हुने गरी जुरो बनाउने गर्नुपर्छ । यसरी बाटेको कपाल र जुरो बनाएको कपालमा डेकोरेसन फ्लावर वा चन्द्रविन्दु लगाउँदा राम्रो देखिने हुन्छ । साथै लामो समयसम्म नाचगान गर्दासमेत कपालले हामीलाई केही असर गर्दैन । रातो पहिरन त तीजको विशेषता नै हो । त्यसैले रातो साडीमा सजिएर दिनभरि टिक्ने गरी मेकअप गर्नुहोस् ।

(लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्