तपाईको घरमा हाम्रा डक्टर



१. हाल मेरो उमेर ५६ वर्षको भयो । पिसाब लागेर राति दुई–दुई घण्टाजस्तोमा ब्युँझिन्छु । सुगर जचाउँदा पनि ठिक्कै छ । प्रोस्टेट जचाउँदा पनि ठिक्कै छ । के भएर यस्तो भएको हुन सक्छ ? सुझावसहित बताइदिन अनुरोध छ ।

– बद्री बस्नेत, नुवाकोट ।

बद्रीजी, त्यसरी छिन्–छिन्मा पिसाब लाग्नु कदापि ठीक होइन । यो स्वस्थपन पनि होइन । पहिलो कुरा त पेटको भिडियो एक्सरे गर्नुप¥यो । यसो गर्दा प्रोस्टेटको आकार र तौलबाहेक पिसाबको थैलीमा शुरुको पिसाबको मात्रा तथा पिसाब फेरेपछिको पिसाबको मात्रा थाहा हुन्छ । यो कुरा भिडियो एक्सरे गर्दा भन्ने गरिन्छ वा रिपोर्टमा पनि लेख्ने गरिन्छ । पिसाबथैलीको लचकता कम भएमा र पिसाब फेरेपछिको पिसाबको मात्रा बढी भएमा तपाईंलाई भएजस्तो यसरी छिन्–छिन्मा पिसाब लाग्ने हुन सक्छ । त्यस्तै प्रोस्टेटको आकार र तौल ठिक्कै भए पनि बीचको भाग पिसाबको नलीतिर उठेको वा अलि बढेको भएमा पनि पिसाबको अवरोध हुन हुन्छ । साथै पिसाबको संक्रमण हुन सक्ने पनि अर्को सम्भावना छ । चिन्ता वा तनावले पनि यस्तो हुन सक्ने सम्भावना हुन्छ । यसरी सम्भावनाहरु मात्रै केलाएर एकतर्फी कुराकानीले निक्र्योल दिने कुरा भएन । तसर्थ एकपटक युरोसर्जन भेटी सम्पूर्ण परीक्षण गरेर समस्याको निदान गर्नेतर्फ लाग्नुस् । त्यसपछि आवश्यक उपचार प्राप्त गर्न सहज हुनेछ ।

२. वर्षा याममा लामखुट्टेले काठमाडौंमै पनि सधैँ सताउने गर्छ । बिहान–बेलुका र राति घरमा तथा दिउँसो अफिसमा यसको टोकाइबाट बच्ने प्रभावकारी उपाय भए बताइदिनुहुन अनुरोध छ ।

– गणेश बीके, बानेश्वर हाइट ।

गणेशजी, लामखुट्टेबाट बच्न त एकदम चिकित्सकीय उपाय भन्ने हुँदैन । त्यसको लागि सर्वस्वीकार्य तरिकाहरु अवलम्बन गर्ने हो । जस्तो कि घरवरिपरि पानी जम्न नदिने, जसले गर्दा लामखुट्टेको सन्तानोत्पादन रोकिन्छ वा कम हुन्छ । दोस्रो घर वा अफिसको ढोका–झ्यालमा जाली लगाउने, जसले बाहिरबाट लामखुट्टे भित्र आउन अनि टोक्न सक्दैन । तेस्रो कोठाहरुमा लामखुट्टे भगाउने वा लठ्ठने खालका झोल केमिकल पाइन्छन्, तिनीहरु उपयोग गर्न सकिन्छ । त्यस्तै बिजुलीमा चार्ज गरी चल्ने ब्याडमिन्टन खेल्ने ब्याटजस्तो लामखुट्टे मार्ने पाइन्छ । त्यसले पनि रहलपहल लामखुट्टे मार्न सकिन्छ । अर्को उपाय भनेको शरीरको देखिने भागमा लामखुट्टेले नटोक्ने गराउन मलहम वा क्रिम वा झोल पाइन्छ, त्यो दल्न सकिन्छ । राति झुलमा सुत्नु झन् सुरक्षित भयो । न केमिकल, न विषको प्रयोग । यो त भौतिक अवरोध भयो । जुन उपाय गर्दा सजिलो लाग्छ, लामखुट्टे आउँदैन वा टोक्न सक्दैन, आफूलाई जुन मन पर्छ, त्यही उपयोग गर्नुस् । जे जसरी हुन्छ, लामखेट्टेको टोकाइबाट बच्नुस् ।

३. मेरो काखीमा दुवैतिर डल्लो–डल्लो आएको दुई वर्षजति भयो, थिच्दा दुख्दैन । जनकपुर अस्पतालमा जचाउँदा केही होइन भन्छन् । के यसको लागि मैले थप परीक्षण गराउन जरुरी छ ?

– सरिता साह, बर्दिबास ।

सरिताजी, तपाईंले नदुख्ने र नबढ्ने डल्लोको कुरा गर्नुभयो, साथै जनकपुर अस्पतालमा जँचाएको र केही होइन भनेको कुरा पनि गर्नुभयो । यो सबै प्राप्त सूचनाको आधारमा भन्दा त्यो लाइपोमा (ष्उियmब) भन्ने बोसोको डल्लो होलाजस्तो लाग्यो । खासमा यो ९५–९६ प्रतिशत अवस्थामा खातराविहीन, हानि नगर्ने प्रकृतिको डल्लो मानिन्छ । फेरि जनकपुरमा शल्यचिकित्सकले नै हेरेर केही होइन भनेको भए अरु थप परीक्षणको आवश्यकता देखिएन । यदि त्यहाँ सामान्यरुपमा मेडिकल अफिसरले भनेको हो भने शल्यचिकित्सक भेटेर निश्चित परामर्श गरी ढुक्क हुनुहोस् ।

४. म ३६ वर्षको भएँ । नियमित कम्प्युटरमा काम गरेको १५ वर्षजति भयो । मलाई अरु त समस्या छैन, बरु आफैँलाई ढाड अलि कुप्रिएको हो कि जस्तो लाग्न थालेको छ । के मैले परीक्षण गराएर हेर्नु जरुरी छ ? सुझावका लागि अनुरोध छ ।

– बालकृष्ण श्रेष्ठ, सुनसरी ।

बालकृष्णजी, तपाईंले भनेको जस्तो लामो समयसम्म एकै किसिमको पोजिसनमा बस्दा र समय–समयमा आवश्यक चलमल वा व्यायाम नगर्ने हो भने निश्चय नै शरीरले त्यो पोजिसन लिइहाल्छ । त्यसलाई सुधार गर्न वा बिग्रन नदिन र नियन्त्रण गर्न आवश्यक पाइला चाल्नुपर्ने हुन्छ । त्यसको लागि फिजियोथेरापिस्टलाई भेटेर उहाँकै परामर्शमा आवश्यक प्रक्रिया गर्न सकिन्छ । पहिले जे भयो–भयो, भैसक्यो तर अबदेखि सकेसम्म कम्प्युटरको मनिटरको उचाइ बढाउन सल्लाह दिन्छु । यसका लागि मनिटरको मुनि एउटा वा दुईवटा जति इँटा वा ब्लक राखेर अग्ल्याउन सकिन्छ । त्यसपछि आफ्नो टाउको सकेसम्म माथि उठाई ढाड सकेसम्म सीधा पारेर काम गर्ने परिवेश मिलाउनुस् । अनि हरेक एक घण्टा काम गरिसकेपछि करिब दश मिनेट उठेर घाँटी तथा ढाडको व्यायाम गरी दुरुस्त हुने गर्नुस् । अनि मात्र तपाईंको समस्या कम हुन सक्नेछ ।

५. म ६० वर्षको भएँ । अहिलेसम्म शंख बजाएको छैन तर सिकेर बजाउने रहर छ । के यो उमेरमा शंख बजाउन शुरु गर्दा मुटु–फोक्सोमा असर गर्ला ?

– रुद्रमणि त्रिपाठी, नवलपरासी ।

रुद्रमणि त्रिपाठीजी, प्रयास गर्न, सिक्न र व्यायामको लागि कहिल्यै पनि उमेरले ढिलो भयो भन्ने हुन्न । जहिले पनि सिक्न शुरु गर्न सकिन्छ । त्यत्ति फरक हो कि उमेर अनुसार सिकाइ अलि ढिलो होला । साथै प्रतिफल पनि अलि कम तथा ढिला नै होला । यसको मतलब राम्ररी सिक्न अलि समय लाग्ला । सिकाइ अलि अप्ठ्यारो अनि गाह्रोजस्तो लाग्न पनि सक्ला । जवानीको जस्तो शक्तिसम्पन्न रुपमा त्यो शंख बजाउन नसकिएला । तर पनि इच्छाशक्ति भएमा, मेहनत गरेमा र हार नखाएमा जवानकै जस्तो प्रतिफल निस्कन सक्छ । त्यत्ति हो आशावादी हुनुप¥यो, आफूमा विश्वास हुनुप¥यो अनि सक्दो मेहनत हुनुप¥यो । स्वस्थ हुनुहुन्छ भने शंख बजाउँदा हानि गर्ने सम्भावना देखिँदैन ।

६. म १८ वर्षको भएँ, मेरो उचाइ ४ फिट ९ इन्च छ । मलाई अलि चित्त बुझेको छैन । हाइट बढाउने कुनै खानेकुरा वा एक्सरसाइज वा उपचार केही भए बताइदिन अनुरोध छ ।

– शोभन, भक्तपुर ।

शोभनजी, उचाइ भन्ने कुरा धेरै प्रतिशत वंशाणुगत हुन्छ भने अलि कम प्रतिशत हाम्रो जीवनशैली तथा खानपानमा भर पर्छ । जेनेटिकल्ली आफ्नो उचाइ प्राप्त त भैहाल्छ तर साथमा सन्तुलित आहार, प्रशस्त क्याल्सियमयुक्त खानेकुरा, मासु तथा अण्डा खाने गर्नुपर्छ । चुरोट, रक्सी, गुट्खा वा सुर्तीजन्य कुरा उपयोग गर्नुभएन, त्यही हो । किनभने मेरो आफ्नो उचाइ आइहाल्छ नि भनेर निष्क्रिय र लापरबाही हुनुहुँदैन । त्यसबाहेक शरीर तन्काउने अनि टाउको शरीरबाट तान्ने खालका व्यायाम वा फिजियो गरेमा केही मात्रामा उचाइ बढ्न सक्छ । तसर्थ सकारात्मक जीवनशैली अपनाएमा, सन्तुलित भोजन लिएमा सब यथास्थानमा आइहाल्छ । अझ महत्वपूर्ण कुुरा, मानवको उचाइ भनेको चरित्र, व्यवहार, सफलता, सकारात्मकता, निःस्वार्थ सहयोगी भावना तथा सरलता हो । आफ्नो शारीरिक उचाइ बढेन भनेर चिन्ता नलिनुस्, मानवीय उचाइ बढाउने प्रयत्न गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्