भगवती तिमल्सिना
क्यान्सर रोगको निवारणका लागि पूर्वसुरक्षा अपनाउनका लागि क्यान्सरविरुद्धको खोप लगाउनुपर्ने विषयमा विश्व स्वास्थ्य संगठनले सुझाएसँगै नेपालमा १४ वर्ष पूरा भएका किशोरीहरुका लागि २० हजार भायल खोप भित्र्याइएको छ । उक्त खोप हाल सातै प्रदेशका ७७ जिल्लाका ९ हजार ५ सयजना किशोरीलाई लगाउने गरी भाद्र २७ गतेदेखि शुरु गरिएको छ । नेपालमा सिकोलिन नामक खोप ल्याइएको परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतम बताउनुहुन्छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आयातकर्ता नन्दकेम ड्रग डिस्ट्रिब्युटर्सका चिफ अफ सेल्स एन्ड मार्केटिङका सन्देश सिग्देलले सम्झौता अनुसार स्वास्थ्य सेवा विभागलाई खोप उपलब्ध गराएको जानकारी दिनुभयो । सिकोलिन नामक खोप चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको एचपीभी भाइरसविरुद्धको खोप हो र यसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता प्रदान गरेको छ । नेपालमा अहिले यसको मूल्य प्रति एक भायलको ६ हजार २ सय ४० रुपियाँ तोकिएको छ ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार यौनजीवन शुरु हुनुभन्दा अघि नै अर्थात् ९ देखि १४ वर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभीविरुद्धको खोप दिइनु उत्तम हुन्छ ।एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउने हुँदा बालिकाहरुलाई लक्षित गरी यो खोप शुरु गरिएको डा. गौतम बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, ‘पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)लाई मानिएको छ । पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन् । यो भाइरस छालाको सम्पर्कबाट विशेष गरी यौन क्रियाकलापको माध्यमबाट सर्ने गर्दछ । यो भाइरसका एक सयभन्दा बढी प्रकार छन् । जसमध्ये एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउँछ ।’ विश्वका कतिपय देशमा आफ्नो नियमित खोप सेवामा एचपीभीविरुद्धको खोपलाई समावेश गरिएको डा. गौतमको भनाइ छ ।
पाठेघरको मुखको क्यान्सरका विषयमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. भोला रिजाल भन्नुहुन्छ, ‘बढ्दो क्रममा रहेको पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्न सबैभन्दा महत्वपूर्ण उपाय भनेकै एचपीभी खोप लगाउनु नै हो ।’त्यस्तै वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. चन्दा कार्कीले खोपको महत्व र आवश्यकता प्रस्ट्याउँदै भन्नुभयो,
‘पाठेघरको मुखको क्यान्सरबाट जोगाउने पहिलो तरिका एचपीभीविरुद्धको खोप रहेको छ ।’
दोस्रो तरिका क्यान्सर लाग्नुभन्दा पहिले नै महिलाको उमेर ३० देखि ६० वर्षसम्म प्रत्येक पाँच वर्षमा एकपटक नियमित जाँच र उपचार गर्नु हो । त्यस्तै तेस्रो तरिका रोगको निरुपण र उपचार गर्नु हो ।’
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउने हुँदा बालिकाहरुको सक्रिय यौनजीवन शुरु हुनुभन्दा अघि नै अर्थात् ९ देखि १४ वर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभीविरुद्धको खोप दिइनु उत्तम हुने बताउनुहुन्छ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप भाद्र २७ गतेबाट लगाउन शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको शुरुवात गर्नुभएको थियो । उक्त अवसरमा मन्त्री बस्नेतले सातै प्रदेशमा सहज तवरबाट खोप वितरण गरिने बताउनुभयो ।खोपलाई निरन्तरता दिन र सहज तथा सर्वसुलभ बनाउन गाभीसँग प्रस्तावना पेस गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एचपीभी खोप अभियान पहिलो चरणमा प्रसूति गृहसहित कोशी प्रदेशमा कोशी अस्पताल, मधेस प्रदेशमा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगन्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाइँदै छ । नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार एचपीभी खोपसम्बन्धी बारम्बार सोधिने प्रश्नहरु निम्न छन् ।
१) एचपीभी भनेको के हो र यसले कस्तो असर गर्दछ ?
ह्युमन प्यापिलोमा भाइरस एक प्रकारको विषाणु हो । संसारका विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा हो । पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ । एचपीभीको २ सयभन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांगको क्यान्सरसमेत गराउन सक्छ ।
२) एचपीभी संक्रमण कसरी सर्दछ ?
एचपीभी मुख्यतः संक्रमित व्यक्तिसँगको यौनसम्पर्कबाट सर्छ । तर यो संक्रमित व्यक्तिको यौनांगको छाला श्लेष्म झिल्ली (म्युकस मेम्ब्रेन) वा तरल पदार्थ (सेक्रेसन) सँगको सम्पर्कमार्फत पनि सर्न सक्छ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गर्दछ ।
३) एचपीभी संक्रमणका चिह्न तथा लक्षण के–कस्ता हुन्छन् ?
यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांग क्यान्सरसमेत गराउन सक्छ । पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरैजसोमा लक्षण र चिह्नहरू देखिँदैन । अन्तिम अवस्थामा मात्र पहिचान हुन्छ । पछि गएर तल्लो पेट दुख्ने, अनियमितरूपमा रगत बग्ने (स्पोटिङ), धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्तअल्पताजस्ता लक्षणहरू देखिन्छन् ।
खोप निःशुल्क पाइन्छ
४) एचपीभी संक्रमणको कसरी परीक्षण गर्न सकिन्छ ?
स्वास्थ्य संस्थामा गई पाठेघरको मुखको पानीको परीक्षण गरेर एचपीभी संक्रमण भए÷नभएको थाहा पाउन सकिन्छ ।
५) एचपीभी संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ ?
यो रोगबाट बच्ने प्रमुख उपाय भनेको किशोरी अवस्थामा एचपीभी खोप लगाउने नै हो । यो खोप यौनसम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । संक्रमित पुरुषबाट महिलामा असुरक्षित यौनसम्पर्क हुँदा सर्ने भएकोले सुरक्षित यौनसम्पर्कका उपायहरु अपनाउने र समयमै संक्रमण पहिचान गर्न पाठेघरको मुखको नियमित जाँच गराउने गर्नुपर्दछ ।
६) एचपीभी खोपले कुन रोगबाट बचाउँछ र किन लगाउने ?
यो खोपले ह्युमन प्यापिलोमा भाइरसले गर्दा हुन सक्ने महिलाहरूको पाठेघरको मुख र यौनांगको क्यान्सर तथा यौनांगमा हुने मुसाबाट बचाउँछ । एचपीभी संक्रमण भएपश्चात् हालसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपीभी खोप लगाएमा संक्रमण हुने सम्भावना अत्यन्त न्यून रहन्छ ।
७) एचपीभी खोप लगाएपछि के–कस्ता असर हुन सक्छन् ?
विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त तथा नेपालको औषधि व्यवस्था विभागबाट अनुमतिप्राप्त एचपीभी खोप एक सुरक्षित तथा प्रभावकारी खोप हो । साधारणतया यो खोपको प्रयोगपश्चात् अवाञ्छित घटनाहरू देखिने सम्भावना अत्यन्त न्यून रहेको छ । यसबाट हुन सक्ने सामान्य असरहरूमा खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्सन हुने आदि पर्दछन् ।यी असरहरू सामान्य हुन्, केही समयपछि आफैँ हराएर जान्छन् । खोप लगाएपश्चात् देखा पर्न सक्ने यस्ता सामान्य असरहरुको अनुगमन तथा व्यवस्थापनका लागि खोप लगाएको कम्तीमा ३० मिनेट खोप केन्द्रमै विश्राम गर्नु÷गराउनुपर्ने हुन्छ । यदि यस्ता असरहरू रहिरहेमा वा गम्भीर लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
८) यो खोप कुन उमेर समूहकालाई दिइन्छ ?
हाललाई एचपीभी खोप लगाउन १४ वर्ष पुगी १५ वर्ष ननाघेका किशोरीहरूलाई लक्षित गरिएको छ ।
९) यो खोप अन्य उमेरका किशोरीले कहिले पाउँछन् ?
नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एचपीभी खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरेर नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइनेछ । खोपले जीवन रक्षा गर्छ ।
१०) यो खोप कहाँ लगाउन पाइन्छ ?
खोपको उपलब्धताले गर्दा हालको अवस्थामा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयबमोजिम तोकिएको अस्पतालमा मात्र लगाउन पाइन्छ । राष्ट्रिय खोप कार्यक्रमबाट उपलब्ध यो खोप निःशुल्क लगाउन पाइन्छ ।
११) यो खोप कति मात्रामा लगाउनुपर्छ ?
हाल उपलब्ध भएको एचपीभी खोप (सिकोलिन) ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्छ । दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाटै लगाउनुपर्छ । एचपीभी खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान हुन्छ ।
१२) खोप लगाउन जाँदा के लिएर जानुपर्छ ?
जन्मदर्ता प्रमाणपत्र, नाबालिक प्रमाणपत्रजस्ता उमेर खुलाउने आधिकारिक प्रमाणपत्र लिएर जानुपर्छ । दोस्रो मात्राको हकमा भने खोप कार्ड अर्थात् पहिलो मात्रा खोप लगाउँदा प्राप्त हुने कार्ड लिएर जानुपर्छ ।