मुटु बचाउन कसरी मन लगाउने ?



लक्ष्मण अधिकारी

फोटोः अनील आङदेम्ब

रक्सी छोड्न नसक्ने, धूमपान त्याग गर्न नसक्ने, खानपान तथा जीवनशैलीमा परिवर्तन गर्न नसक्ने, डायबिटिज, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रण गर्न नसक्नेजस्ता कारणले गर्दा अल्पायुमै ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ । तैपनि मानिसमा चेत खुलेको देखिन्न । झट्ट सुन्दा विश्वास नै नलाग्न सक्छ, तर हरेक वर्ष विश्वमा दुई करोड मानिसको मृत्यु मुटुरोगले भइरहेको सत्य हो । वास्तवमा अहिले मुटुरोग नै विश्वका मानिसको मृत्युको प्रमुख कारण भइरहेको छ । विश्व स्वास्थ्य संघका अनुसार विश्वमा हुने कुल मृत्युको ३२ प्रतिशत कारण हृदयरोगसँग सम्बन्धित हुन्छन् ।

नेपाल पनि यस्तो देश हो जहाँ हृदयघात योङ अर्थात् तरुनो भइरहेको छ ।

यसमध्ये ८५ प्रतिशत हृदय घात तथा मस्तिष्क घातका कारण हुने गर्दछ । अधिकांश मुटुरोग (कार्डियो भास्कुलर डिजिज) बाट बच्न सकिन्छ, तर पनि मुटुरोगका कारण मानिसको मृत्यु तीव्र गतिमा भइरहेको छ । यसै कारण यसको नियन्त्रणको लागि सन् १९९९ मा वल्र्ड हार्ट फेडरेसन र संयुक्त राष्ट्र संघले हरेक वर्ष विश्व मुटु दिवस मनाउने प्रस्ताव पास गरी पहिलोपटक सन् २०००, सेप्टेम्बर २४ मा विश्व मुटु दिवस मनाइएको थियो र पछि हरेक वर्ष २९ सेप्टेम्बरमा मनाउन थालियो । यस वर्ष पनि नयाँ नाराका साथ २९ सेप्टेम्बरमा विश्व मुटु दिवस मनाइयो ।
विश्व मुटु दिवसको सान्दर्भिकता र मुटुरोगबाट बच्ने उपायका सम्बन्धमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायसँग कुराकानी गरी यो लेख तयार गरिएको छ । बाँकी अंश उहाँकै शब्दमा ः
‘मन लगाऊँ मुटु बचाऊँ’
‘विश्व मुटु दिवस २०२३ को नारा युज हार्ट फर र एभ्रिहार्ट (Use Heart for Every Heart) भन्ने रहेको छ । जसलाई नेपालमा मुटुरोगका सम्बन्धमा काम गर्ने संस्थाहरुको सञ्जाल ‘हार्टनेट’ले ‘मन लगाऊँ मुटु बचाऊँ’ भनेर नेपालीकरण गरेको छ । युज हार्ट फर एभ्रिहार्टलाई थप व्याख्या गर्दै युज हार्ट फर ह्युमानिटी, युज हाट फर नेचर, युज हार्ट फर योर्सेल्फ (Use heart for humanity, Use heart for nature, Use heart for yourself) भनेको छ ।

‘युज हार्ट फर ह्युमानिटी’को मतलबः विश्वमा मुटुरोग लागेकामध्ये करिव ७५ प्रतिशत गरिब देशहरुमा बस्छन् । तर उनीहरुलाई मुटुरोगका बारेमा राम्रो जानकारी पनि छैन, स्वास्थ्य सेवामा राम्रो पहुँच पनि छैन र उनीहरुले उपचार खर्च व्यहोर्न पनि सक्तैनन् । त्यसकारण उनीहरुको मुटु बचाउनका लागि पनि आफ्नो मुटु तथा मन लगाउनुप¥यो, उनीहरुको समस्या बुझेर सहयोग गर्न मानवता देखाउनुप¥यो । जनचेतना पनि जगाऊ, उपचारका लागि पनि सहयोग गर भन्ने हो ।

‘युज हार्ट फर नेचर’ भन्नाले मानिसले प्रकृतिको अत्यधिक शोषण गरे, जसले गर्दा ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज भइरहेको छ । अर्थात् विश्वको तापमान बढिरहेको छ र जलवायुमा तीव्र परिवर्तन आइरहेको छ । सँगसँगै मानिसकै कारण वायु प्रदूषण बढेको छ । अहिलेसम्म भएको अनुसन्धान अनुसार मुटुरोगले हुने मृत्युमध्ये २५ प्रतिशत मृत्यु वायु प्रदूषणका कारण भएको छ । ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज आदि कारणले मुटुको रोग भई हुने मृत्युको बारेमा त अध्ययन नै भएको छैन । तर यी कारणले पनि मुटुरोग भई मानिसको मृत्यु भइरहेको कुरालाई नकार्न सकिन्न । त्यसकारण प्रकृतिलाई संरक्षण गर्न मानिसले मन लगाउनुप¥यो भन्न खोजिएको हो ।

‘युज हार्ट फर योर्सेल्फ’ भन्नाले हरेक कुरा आफू र आफ्नै घरबाट शुरु गर्नुपर्छ । यदि तिम्रो मुटु नै स्वस्थ छैन भने अरुको मुटुलाई बचाउन सक्तैनौ । त्यसैले पहिले आफ्नो र परिवारको मुटु स्वस्थ बनाउनतिर लाग । मुटुरोग लाग्ने कारक तत्वहरुका बारेमा जानकार र सचेत बन । जस्तो– रक्तचाप ठीक छ कि छैन, कोलेस्ट्रोल ठीक छ कि छैन, आफ्नो शरीरको तौल ठीक छ कि छैन, खानपिन (स्वस्थ र सन्तुलित खाना खाएको छ कि पत्रु खाना अर्थात् जंक फुड खाने गरेको छ), व्यायाम तथा हिँडडुल आदि जीवनशैली ठीक छ कि छैन, धूमपान, मदिरापान त्यागेको छ कि छैन आदिबारेमा विचार गरेर ठीक अवस्थामा राख्नुपर्छ । अनिमात्र अरुको स्वास्थ्यका बारेमा काम गर्नु सान्दर्भिक हुन्छ ।

 

यसकारण बढेको हो मुटुरोग

हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोगको कारणले हुनु ज्यादै डरलाग्दो तथ्यांक हो । यो भनेको कुनै पनि महामारी, सरुवा रोग वा अन्य रोगहरुको कारणबाट हुने मृत्युभन्दा बढी हो । यो रोग धनी देशहरुमा घट्दै गएर मृत्युदर नै कम भएको छ तर विकासोन्मुख देशहरुमा बढ्दै गएको छ । मुटुरोगका कारण मानिसको मृत्यु किन हुन्छ भन्ने बारेमा अध्ययन भइसकेको छ । यसका कारक तत्वहरु पत्ता लागिसकेका छन् । धूमपान गर्नु, मदिरापान गर्नु, शरीरको तौल अधिक हुनु, डायबिटिज, कोलेस्ट्रोल, रक्तचाप, शरीरको तौल नियन्त्रणमा नहुनु, खानपिनमा ध्यान नदिनु, व्यायाम नगर्नु, अनावश्यक तनाव लिनु, लोभलालच गर्नु, फलफूल नखानु आदि कारक तत्व मानिएका छन् ।

यी सबै मानिसले नियन्त्रण गर्न सक्ने समस्या हुन् । एउटै मात्र समस्या छ, जो नियन्त्रणमा राख्न सकिन्न, त्यो हो वंशाणुगत कारण । वंशानुगत कारणलाई हामीले केही पनि गर्न सकिन्न । अरु कारक तत्वहरुलाई हामीले नियन्त्रण गर्न सकिन्छ । अर्को राम्रो पक्ष के छ भने, कारक तत्वहरुलाई नियन्त्रण गर्न सकियो भने मुटुरोग लागेका ८० प्रतिशत मानिसलाई बचाउन सकिन्छ । विकसित देशहरुले यो कुरा बेलैमा बुझे र त्यहीअनुसार गर्न थाले अनि मुटुरोग नियन्त्रणामा आयो । उनीहरुका देशमा जंक फुड खान कम भयो । त्यहाँ उत्पादन भएका यस्ता पत्रु खाना गरिब देशहरुतिर पठाउन थाले, हामी परम्परागत स्वस्थ खाना छोडेर त्यसमा रमाइरहेका छौँ र रोग बढाइरहेका छौँ ।


शुरुमा उनीहरुले खाएका खाना हामीले सिको गरेर खान थाल्यौँ । उनीहरु कुरा बुझेर खान छोडे तर हामी हौसेर खाँदै छौँ । पिजा, बर्गरजस्ता खाना खान विकसित देशमा धेरै कम भएको छ तर हामीकहाँ त्यस्ता रेस्टुराँका फ्रेन्चाइजहरु खुल्ने र उपभोग गर्ने क्रम वृद्धि भइरहेको देखिन्छ । प्लास्टिक तथा बोतलमा प्याक भएका अन्य तयारी पत्रु खाना बजारमा छ्याप्छ्याप्ती छन् र अत्यधिक उपभोग पनि भइरहेको देखिन्छ ।

वास्तवमा मुटुरोग जीवनशैलीसँग नै सम्बन्धित छ । आधुनिकताका नाममा मानिसको जीवनशैली परिवर्तन हुँदै आयो । पहिलेको जीवनशैली र हालको जीवनशैलीको तुलना नै हुन सक्तैन ।अहिले हरेक क्षेत्रमा प्रतिस्पर्धा बढेको छ । राम्रो पढाइ, राम्रो रोजगारी, राम्रो व्यवसाय र अन्य अवसरहरु प्राप्त गर्नका लागि प्रतिस्पर्धा धेरै हुन थाल्यो । यसले मानिसमा तनाव बढायो । कडा प्रतिस्पर्धा नगरी अगाडि जान सकिँदैन । बाँच्नका लागि पनि प्रतिस्पर्धा गर्नुपर्ने जरुरी भएको छ । यसले मानिसमा तनाव बढायो । लोभलालचले पनि मानिसमा तनाव बढाउँछ । यसलाई सन्तुलिन गर्नका लागि हामीले सुझाव दिने भनेको योग (ध्यानसमेत) गर्नु र तनावरहित हुनु नै हो । आफ्नो समग्र शरीरलाई पनि पनि स्वस्थ राख्नु हो ।

शारीरिक परिश्रम एकदमै कम भएर गयो, शहरी जीवनमा त शारीरिक श्रम छैन भने पनि हुन्छ । खापिन एकदमै बिग्रिएको छ । पहिला सादा खाना खानेहरु चिल्लो धेरै, नुन धेरै भएको खानेकुरा, जंक फुड खान थालेका छन् । घरमा पकाएका खानामा भन्दा मानिसको रुचि बजारका खाना, तयारी खानामा गइरहेको छ । खाने–सुत्ने ठेगान छैन, नियमित व्यायाम गर्दैनन्, शरीरको तौल आवश्यकभन्दा निकै बढी भइरहेको पाइन्छ । यसले गर्दा मुटुरोगको वृद्धि तीव्र गतिमा भइरहेको छ । यो समस्या नेपालको मात्र नभएर संसारभरिकै गरिब देशहरुको हो । हाम्रो जस्तो देशमा अहिले मुटुरोग उकालो लागिरहेको छ । विकसित देशका राम्रा कुरा हामीले सिको गर्न सकेनाै, नराम्रा कुरामात्र सिको गरेकाले मुटुरोगसम्बन्धी समस्या बढिरहेको हो । अहिले विश्वको मुटुरोगको ७५ प्रतिशत गरिब देशमा पाइएको छ । धनी देशमा पहिला देखिएको समस्या हाल गरिब देशमा देखिनुमा जीवनशैली नै प्रमुख कारण हो ।

नेपालमा जनचेतना किन बढी आवश्यक ?

नेपाल पनि यस्तो देश हो जहाँ हृदयघात योङ अर्थात् तरुनो भइरहेको छ । किनभने पहिला ५०–६० वर्षका मानिसहरुलाई हृदयघात भएको देखिन्थ्यो । अहिले मैले १९ वर्षसम्मकालाई हृदयघात भएको पाएको छु । यस विषयमा मुटुसम्बन्धी उपचार गर्ने प्रमुख अस्पतालहरुः गंगालाल, शिक्षण अस्पताल महाराजगँज, वीर अस्पताल, मेडिकेयर, नर्भिक आदिको तथ्यांक अध्ययन गर्दा ३० वर्षभन्दा माथि ५० वर्षभन्दा कम उमेरकालाई बढी हृदयघात भएको पाइएको छ । ५० वर्षभन्दा माथिकालाई र ३० भन्दा कमलाई पनि हृदयघात नभएको त होइन तर कम छ, मुख्यचाहिँ ३०–५० वर्षको उमेर समूहलाई बढी हृदयघात भएको पाइयो ।

यो उमेर समूह भनेको व्यवसायमा सक्रिय हुने मानिसहरुको हो । पढाइ सकेका, आफ्नो काममा लागेका, परिवार–समाजको दायित्व बोक्ने उमेर समूहका मानिसहरुको समूह हो । उनीहरुलाई नै बढी हृदयघात हुने गरेको छ । यो भनेको ज्यादै गम्भीर अवस्था हो । त्यसकारण पनि हामीले यसलाई विशेष ध्यान दिएर मुटुरोग नियन्त्रणका लागि लाग्नुपर्छ । यसका लागि आम सर्वसाधारणमा पनि जनचेतना जगाउने किसिमका कार्यक्रमहरु गर्नुपर्छ । धेरै हदसम्म मानिसलाई मुटुरोगबाट बचाउन सकिने भएकाले पनि यससम्बन्धी निरन्तर प्रभावकारी कार्यक्रमको आवश्यकता छ । यसै सन्दर्भमा नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मुटु दिवस मनाउने गरिन्छ । मुटुरोग के हो र कसरी बच्ने भन्ने विषयमा जानकारी दिने एवं जनचेतना जगाउने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिएको हो ।
नेपालमा पहिला नेपाल हार्ट फाउन्डेसनले विश्व मुटु दिवस मनाउन शुरु गरेको थियो । पछि स्वास्थ्य मन्त्रालयलगायत मुटुसँग सम्बन्धित विभिन्न संघसंस्था, अस्पतालहरुले पनि छुट्टाछुट्टै मनाउन थाले । पछि सरकारलगायत सबै निजी, गैरसरकारी संस्थाहरु, अस्पतालहरु मिलेर हार्ट नेट नामक सञ्जाल गठन गरी संयुक्तरुपमा मनाउन थालिएको छ ।

मुटुरोग लाग्नबाट बच्न सकिन्छ

मुटुरोग हुनुका कारक तत्वहरु अनुसन्धानबाट प्रमाणित भइसकेका छन् । त्यसकारण यी कारक तत्वहरुलाई हटाउन सकियो भने मुटुरोग लाग्नबाट नै बच्न सकिन्छ । मुटुरोग लागिहाले पनि जीवनशैली सुधार गरेर लामो आयु बाँच्न सकिन्छ । मुटुरोग गराउने जोखिम तत्वहरुमा एक नम्बरमा आउने धूमपान नै हो । त्यसपछि आउने डायबिटिज वा चिनीरोग हो । त्यसपछि उच्च रक्तचाप हो । त्यसपछि कोलेस्ट्रोलको नियन्त्रण नहुनु हो । शरीरको वजन धेरै हुनु, अनावश्यक तनाव, व्यायाम नगर्नु, फलफूलहरु नखानु मुटुरोगका प्रमुख जोखिम तत्वहरु हुन् । अहिले चिनीको रोग, उच्च रक्तचापको समस्या एकदम बढेर गइरहेको छ, शरीरको तौल बढी हुने, कोलेस्ट्रोल बढ्ने समस्या पनि बढेको देखिन्छ । मानिसहरुमा व्यायाम नगर्ने बानी बढ्दै छ । फलफूल खासै नखाने, तनाव लिने समस्या बढेकै छ । वंशाणुगत कारणले पनि मुटुरोग हुने समस्या त छँदै छ ।

मुटुरोगबाट बच्न नसकिने होइन । वंशाणुगत कारक तत्वबाहेक अरु सबै मुटुरोगका कारक तत्वहरु आफूले नियन्त्रण गर्न सकिने छन् ।
त्यसका लागि मानिसले आफूलाई अनुशासित राख्नुप¥यो, आफ्नो स्वास्थ्यको अवस्था के छ त्यो थाहा पाउनुप¥यो । त्यसको लागि हामी के सुझाव दिन्छौँ भने, हरेक मानिसको जन्मदिन त आउँछ, जन्मदिनको दिन स्वास्थ्य जाँच गर भन्छौँ । नेपाल हार्ट फाउन्डेसनले एउटा सहज फर्मुला निकालिदिएको मात्र हो । वर्षको दुईपटक परीक्षण गरे अझ राम्रो हो । डाक्टरलाई भेटेर आफ्नो तौल, रक्तचाप, कोलेस्ट्रोल, डायबिटिजको स्थिति हेरेर आवश्यक सुधार गर्नुपर्छ ।

बजारका खाना छोडेर घरमा बनाएका सादा खाना खानुपर्छ । नुन कम, चिल्लो कम भएका खाना खानुपर्छ । पहिला महिलालाई एक पेग र पुरुषलाई दुई पेग मदिरा खाए हुन्छ भनिन्थ्यो तर नयाँ अध्ययनले त्यो पनि हानिकारक भन्ने पत्ता लगाएकाले मदिरा पनि नियन्त्रण गर्नुपर्छ । मदिराले कुनै फाइदै गर्दैन भन्ने पत्ता लागिसकेको छ । साथै धूमपान नगर्ने र अरुले गरेको ठाउँमा पनि नजाने गर्दा धेरै हदसम्म मुटुलाई रोग लाग्नबाट बचाउन सकिन्छ । मुटुरोग लागिहालेमा पनि बेलैमा उपचार गरेर अल्पायुमै मृत्यु हुनबाट बच्न सकिन्छ । नेपालमा हाल मुटुरोगको राम्रो उपचार सेवा उपलब्ध छ ।

स्तरीय मुटु उपचार सेवा

विगत दश वर्षमा नेपालमा मुटुरोगको उपचारमा ठूलो फड्को मारेको छ । म शुरुमा मुटुरोग विशेषज्ञ भएर नेपाल आउँदा यहाँ पेसमेकर राख्न सक्ने अवस्था पनि थिएन । त्यसका लागि हामी बिरामीलाई इन्डिया पठाउँथ्यौँ । रोग डायग्नोसिस भएर पनि उपचार गर्न सकिने स्थिति थिएन । उपकरणहरु नै थिएनन् । अहिले गंगालाल अस्पतालमा मुटुरोगको निकै राम्रो उपचार सेवा उपलब्ध छ । अन्य सरकारी र निजी अस्पतालहरुमा पनि मुटुरोगको उपचार राम्रो छ । एन्जियोप्लास्टी गर्ने सेवा नै काठमाडौंबाहिर समेत विस्तार भइसकेको छ ।

अहिले मुटु प्रत्यारोपणबाहेक विश्वमा हुने सबै किसिमका मुटुरोगको उपचार नेपालमा हुन्छ । दक्षिण एसियामा तुलना गरेर हेर्ने हो भने पनि मुटुरोग उपचारमा हामी उत्कृष्टमध्येमा पर्छौं । अझ हाम्रोमा विशेषता के छ भने, १४ वर्षसम्मका र ७० वर्ष नाघेकालाई मुटु उपचार निःशुल्क गर्ने व्यवस्था गरिएको छ । यो दक्षिण एसियामा कहीँ पनि छैन । यसमा हामी लिडर नै छौँ । समग्रमा भन्नुपर्दा मुटु उपचारमा नेपाल राम्रो अवस्थामा छ ।

मुटुरोग उपचारका लागि निजी क्षेत्रले पनि लगानी गरेर स्तरीय उपचार सेवा दिइरहेको छ भने राज्यले पनि पहिलेभन्दा अहिले गरिरहेको छ । गंगालाल हृदय केन्द्र स्थापना गरिदिनु नै राज्यको निकै राम्रो कार्य हो । बालबालिका र वृद्धहरुलाई निःशुल्क सुविधा पनि दिएको छ । करहरु घटाइदिएको छ । वीर अस्पतालमा मुटुरोगको उपचार कमजोर भइसकेकोमा अहिले सुधार भएर राम्रो भइरहेको छ । शिक्षण अस्पताल महाराजगन्जमा पनि राम्रो छ । राज्यले गरेन भनिहाल्ने स्थिति छैन, तर पर्याप्त भएको छैन । किनभने गंगालालजस्तो एउटा अस्पतालले मुलुकलाई धान्न सक्तैन । यस्तै लोड गंगालाललाई दिइराख्ने हो भने गंगालाल आफैँ कोल्याप्स हुन्छ । त्यसकारण मुलुकमा प्रादेशिक हिसाबले एक–एकवटा वा हाललाई ४–५ वटा यस्ता अस्पताल काठमाडौंबाहिर स्थापना गर्न जरुरी छ । यसले गर्दा केन्द्रीय स्तरमा भएका अस्पतालले राम्ररी काम गर्न सक्छन् ।

मुटुरोग भनेको ज्यादै महँगो पद्धति हो । नेपालजस्तो गरिब देशले सधैँ नयाँ–नयाँ सामान ल्याएर राख्न गाह्रो हुन्छ । त्यसकारण केन्द्रीय अस्पताल र अन्यलाई छुट्याउनुपर्छ । केन्द्रीय स्तरमा नयाँ–नयाँ सामान ल्याएर राख्नुपर्छ । पुरानो सामान ३–४ वर्षमै काम नलाग्ने हुँदैनन् । त्यस्ता मेसिनलाई बाहिर पठाउनु पर्छ, यसबाट नयाँ मानिसलाई तालिम दिन पनि सजिलो हुन्छ । काम सिकेर पछि केन्द्रमा आउँछ । यो प्रथा चलाउनुपर्छ । यसो गर्दा आर्थिकरुपमा पनि समस्या हुँदैन । अहिले सामान किन्न हतार गरिन्छ, सानो जिल्ला अस्पतालले गंगालालको भन्दा ठूलो सामान किन्न खोज्छ ।

जबकि उसको त्यसका लागि क्षमता नै हुँदैन । चलाउने दक्ष जनशक्ति पनि हुँदैन । यसमा राज्यले नियन्त्रण गर्नुपर्छ । दक्ष जनशक्ति छ, सदुपयोग हुन्छ भने किन्दा हुन्छ । तर करोडौँको सामान किनेर नचलाई चौरमा फालिएको छ, स्टोरमा थन्क्याइएको छ भन्नेजस्ता समाचार आउने स्थिति बन्नुभएन । यसले राज्यलाई पनि नोक्सानी भयो, बिरामीले पनि सेवा पाउँदैन ।’ मुटुरोगको डायग्नोसिस, औषधि उपचार महँगो छ । त्यसैले रोग लाग्न नदिनु नै सबैभन्दा राम्रो उपाय हो । यस कुरालाई आम सर्वसाधारणले बुझ्न जरुरी छ । सरकारले पनि यस कुरामा जोड दिनुपर्छ । मुटुरोग लागिसकेको अवस्थामा पनि ८० प्रतिशत मानिसलाई बचाउन सम्भव हुन्छ । यो भनेको निकै सकारात्मक कुरा हो । सम्बद्ध सेवाप्रदायकहरु र आम सर्वसाधारणले यसको लाभ लिन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्