ईदा उपाध्याय
गलामा स्टेथेस्कोप हातमा बी.पी.
दिन्छन् सल्लाह कुर्सीमा बसी
‘कम्तीमा ६–८ घण्टा सुत्नु
समयमा भोजन, नित्य व्यायाम’ आदि इत्यादि ।
तर, कहाँ छ र सम्भव आफैँैलाई
पालना गर्न आफ्नै सुझाव
निश्चित छैन समय तालिका
हतारो भै बित्छ दिनचर्या ।
सुत्छन् केवल ३–४ घण्टा
त्यै पनि बजिदिन्छ सिरानीको टेलफोन
झन् अचेल त क्षण–क्षणमा धक नै नमानी
झस्काइदिने त्यो मोबाइलको रिङटोन
खानुपर्ने कहिले गाडीमै बाध्यता
ब्रह्ममुहुर्तमै भ्याइसक्नुपर्छ व्यायाम
हरदिन करिब–करिब यसरी बित्ने
एक चिकित्सकको हो यो जीवन गाथा ।
तर, देखिँदैन शंकोच न कुनै झन्झट
दौडनुपर्दा आधा रातमा अस्पताल
आउँदो होला झलझली मनभित्र
इमर्जेन्सीमा छट्पटिइरहेको अनुहार ।
लाग्छ मलाई– कोही–कोहिलाई मात्र
खटाएका होलान् दैवले यस धर्तीमा
‘कालसँग लड्न जाऊ’ भनी
मार्ग त उनले नै देखाएका होलान्, सोच्छु म ।
शायद यसै नै लडेकी होलिन्, ती सतीले कालसँग
यसरी नै दौडे होलान् सञ्जीवनी खोज्न हनुमान ।
जीवन मृत्युबीच चलिरहने सदाको महाभारत
यस द्वन्द्वबीचका हुन् यी महत्वपूर्ण सूत्र ।
तर कालको पराजय कहाँ मानवलाई सम्भव
योजना बनाउने त हुन् ती सर्वव्यापी स्वयं
उनको रचित नाटकका मानव केवल एक पात्र
यस्तै कुन मौन पलमा दबेका हुन्छन् हलचल ।
शब्द कम, चलेको हुन्छ, भावनाको आँधी
यस सञ्जालको म, हुँ एक साक्षी मात्र ।
सोच्दै बस्ने समय छैन पर्याप्त
अर्को संघर्षले दिइसक्छ दस्तक
मैदानमा उत्रनु त प¥यो नै झटपट
नयाँ जोश र जाँगर सबै बटुली ।
सेवा हो यो
समर्पण पनि
पेसा मात्रमा कदापि छैन सीमित
यस्तै छ यो चिकित्सा शास्त्र ।
चाहिँदैन पुरस्कार
न त तक्मा या पदक
काफी हुँदो रैछ त्यो मुस्कान जसले भनिरहेको हुन्छ,
‘धन्यवाद बचाइदिनुभयो, डाक्टर साब ।’