रगतमा कोलेस्टेरोल नियन्त्रण भएमा हृदयघात हुने सम्भावना कम हुन्छ । यहाँ कोलेस्टेरोलका बारेमा केही महत्वपूर्ण कुराहरु पाठकहरुसमक्ष प्रस्तुत गरिएको छ । कोलेस्टेरोेल शरीरका प्रत्येक कोषहरुमा पाइने नरम चिल्लो पदार्थ हो, जुन शरीरका लागि अत्यावश्यक तत्व हो । तर यसको मात्रा बढी भएमा शरीरलाई हानि हुन सक्छ । यसको उत्पादन प्रमुखरुपमा कलेजोमा हुन्छ । मासु, बोसो, दूधबाट बनेका पदार्थहरु र अण्डाको पहेँलो भाग यसका प्रमुख स्रोतहरु हुन् ।
कोलेस्टेरोेल तथा अन्य चिल्लो पदार्थहरु मुटु र दिमागमा रक्तप्रवाह गर्ने रक्तनलीहरुमा जम्न गई रक्तनलीहरु साँगुरिन सक्छ । यस प्रक्रियालाई एथेरोस्क्लेरोसिस भनिन्छ । यो प्रक्रिया बढ्दै गएमा रक्तनलीहरुमा रक्तप्रवाहमा गतिरोध उत्पन्न भई हृदयाघात, मस्तिष्कघात हुन जान्छ ।
कोलेस्टेरोेल तथा अन्य चिल्लो पदार्थहरु रगतबाट कोषहरुमा र कोषहरुबाट रगतमा विशेष प्रकारका भरियाहरुद्वारा बोकिने गर्दछन् । यी भरियाहरुलाई लिपोप्रोटिन भनिन्छ । लिपोप्रोटिनहरु हाम्रो शरीरमा धेरै प्रकारका छन् तर हामीले सधैँ सुन्ने गरेका लिपोप्रोटिनहरु जम्मा दुईवटा छन् । ती हुन्–
१) न्यून घनत्व भएको– एल.डी.एल.=(LDL)
२) उच्च घनत्व भएको– एच.डी.एल.(HDL)
यी दुवै लिपोप्रोटिनहरु कोलेस्टेरोल बोक्ने भरियाहरु हुन् ।
असल र खराब कोलेस्टेरोेल:
एल.डी.एल.ले रगतबाट कोलेस्टेरोेल र अन्य चिल्लो पदार्थहरु बोकेर रक्तनलीमा पु¥याई जम्मा गरिदिन्छ, जसका कारण रक्तनली साँगुरिन पुग्छ र हृदयघात र मस्तिष्कघातको सम्भावना बढ्छ । एल.डी.एल. खराब भरियाहरु हुन्, किनकि यिनीहरुले कोलेस्टेरोेललाई रक्तनलीको भित्तामा थुपार्छन् र साँगुरो बनाउँछन् । रगतमा यस्ता भरिया थोरै भएको राम्रो हो ।
एच.डी.एल.ले रक्तनलीमा जम्मा भएको कोलेस्टेरोेललाई रगतमा फिर्ता ल्याई कलेजोमा पु¥याउँछ । यसले रक्तनलीमा जमेको कोलेस्टेरोेललाई घटाएर रक्तनलीलाई सफा गर्छ भन्ने विश्वास गरिन्छ । एच.डी.एल. असल भरियाहरु हुन्, किनकि यिनीहरुले रक्तनलीलाई सफा गर्दछन् । वास्तवमा यिनीहरु आफैँमा कोलेस्टेरोेल होइनन् । यी त कोलेस्टेरोेल बोक्ने भरियामात्र हुन् । रगतमा एच.डी.एल. धेरै भएको राम्रो हो । एच.डी.एल.को मात्रा बढी भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना कम हुन्छ र यदि यसको मात्रा कम भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना बढ्छ । वास्तवमा असल र खराब यी भरियाहरु हुन् । दुवैले बोक्ने कोलेस्टेरोेल एउटै हो ।
दैनिक एउटा अण्डा र १ चम्चा घिउ खान कसैले पनि डराउनुपर्दैन ।
कोलेस्टेरोेल घटाउँदा हृदयघातको खतरा घट्छ:
विभिन्न अध्ययन र अनुसन्धानहरुबाट यो प्रमाणित भैसकेको छ कि रक्त कोलेस्टेरोलको मात्रा घट्दा हृदयघातको खतरा घट्छ । रक्त कोलेस्टेरोललाई राम्रैसँग घटाउन सकेको खण्डमा एथेरोस्क्लेरोसिस पनि घट्छ र साँगुरिएको रक्तनली फेरि खुल्न सक्छ भन्ने वैज्ञानिक आधारहरु छन् । साधारणतया रक्त कोलेस्टेरोल एक प्रतिशत घटाउन सकेमा हृदयघातको खतरा दुई प्रतिशतले घट्छ । रक्त कोलेस्टेरोल २५० मिलिग्रामबाट २०० मिलिग्राममा घटाउँदा हृदयघातको खतरा ४० प्रतिशतले घट्न पुग्छ । यसकारण रगतमा कोलेस्टेरोेलको मात्रालाई जति सक्यो धेरै घटाएको राम्रो मानिन्छ ।
कोलेस्टेरोेल नाप्ने गरौँ
प्रत्येक व्यक्तिले २० वर्षको उमेर नाघेपछि रक्त कोलेस्टेरोेलको परीक्षण गराउनु उपयुक्त हुन्छ । यो विशेष परीक्षण हो । यसको नतिजा चिकित्सकहरुलाई देखाउनुपर्छ । एच.डी.एल. र एल.डी.एल.को पनि जाँच गर्नु अत्यावश्यक हुन्छ किनकि एच.डी.एल. कम भएमा खतरा बढ्छ । त्यस्तै एल.डी.एल. बढी भएमा पनि खतरा बढ्छ । रगतमा भएको चिल्लो पदार्थहरुको मात्रा थाहा पाउन ‘लिपिड प्रोफाइल’ जाँच्नुपर्दछ । यस अन्तर्गत कोलेस्टेरोेल, एल.डी.एल., एच.डी.एल. र ट्राइग्लाइसेराइड पर्दछन् ।
एच.डि.एल. को मात्रा कसरी बढाउने ?
१. धूमपान रोक्ने ।
२. शरीरको तौल घटाउने ।
३. शारीरिक रुपले सक्रिय रहने (व्यायाम, योगासन आदि) ।
आँखाको परेलाहरुमा नाकको डाँडीतर्फको कुनामा सेतो, पहेँलो टीकाजस्तो अलिकता माथि उठेको दाग यदि कसैको छ भने त्यो उच्च कोलेस्टेरोेलको लक्षण हो । त्यस्ता व्यक्तिहरुको रगतमा एल.डी.एल. बढी र एच.डी.एल. कम भएको पाइन्छ । यस्ता व्यक्तिहरुलाई हृदयघातको जोखिम अत्यधिक हुन्छ ।
रोगद्वारा पीडित व्यक्तिहरुको एल.डी.एल. ७० भन्दा कम हुनु उचित मानिन्छ । कोलेस्टेरोेलको मात्रा जतिसुकै भए पनि ४० वर्ष उमेरमाथिका मधुमेहीहरुले कोलेस्टेरोेल घटाउने औषधि नियमित खानुपर्दछ । यसले हृदयघात र मस्तिष्कघातको सम्भावनालाई घटाउँछ । अण्डाको पहेँलो भाग र घिउमा धेरै मात्रामा कोलेस्टेरोेल हुन्छ । तर थोरै मात्रामा खाँदा यिनीहरुले रगतमा कोलेस्टेरोेललाई बढाउँदैनन् । थोरै मात्रामा खाँदा अण्डा र घिउले एच.डी.एल.लाई बढाउँछ, जुन स्वास्थ्यका लागि राम्रो हो । दैनिक एउटा अण्डा र १ चम्चा घिउ खान कसैले पनि डराउनुपर्दैन । तर यसभन्दा धेरै खाँदा क्षति पुग्न सक्छ ।
रातो मासु (खसी, राँगा) ले एल.डी.एल. बढाउँछ, कोलेस्टेरोेल पनि बढाउँछ । हप्तामा एकपल्ट रातो मासु खाँदा बेफाइदा हुँदैन । मान्छेको शरीरलाई कोलेस्टेरोेल चाहिन्छ, जुन एल.डी.एल.ले रगतबाट शरीरका विभिन्न भागहरुमा पु¥याउँछन् । कोलेस्टेरोेलबाट शरीरमा हर्मोनहरु, भिटामिन ‘डी’, कोषिकाहरु, नसाहरु, पित्त आदि बन्छन् । स्वस्थ मानिसले खानाबाट दैनिक ३०० मि.ग्रा. कोलेस्टेरोेल लिनुपर्छ । मुटुरोगीले दैनिक १०० देखि २०० मि.ग्रा.मा सीमित गर्नुपर्छ । एउटा अण्डाको पहेँलो भागमा १८० मि.ग्रा. कोलेस्टेरोेल हुन्छ । २०० ग्राम सेतो मासु (कुखुरा) मा १७० मि.ग्रा. कोलेस्टेरोेल हुन्छ । खानामा भएको कोलेस्टेरोेल जति सबै रगतमा गएर जम्मा हुने होइन । यो धेरैजसो पच्छ र केही मात्रामात्र रगतमा जम्मा हुन्छ । खानामा भएको कोलेस्टेरोेलको ३० प्रतिशतभन्दा कममात्र रगतमा जम्मा हुन्छ । यसकारण कोलेस्टेरोेल भएको खाना खाँदैमा रगतमा कोलेस्टेरोेल बढ्छ भन्ने छैन । चिल्लोमा तारेको, ट्रान्सफ्याट धेरै भएको र प्रशोधित रातो मासुले रगतमा कोलेस्टेरोेल र एल.डी.एल. दुवै बढाउँछ । ट्रान्सफ्याट भएका र प्रशोधित गरिएका खानेकुराहरु स्वास्थ्यका लागि हानिकारक छन् ।
चिल्लोले मात्र होइन, गुलियो अर्थात् कार्बोहाइड्रेट्सले पनि रगतमा कोलेस्टेरोेल बढाउन सक्छ । धेरै जे खाए पनि हानि पुग्छ । जे पनि सन्तुलित मात्रामा खानुपर्छ । उच्च रक्त कोलेस्टेरोेल जीवनशैलीसँग सम्बन्धित समस्या हो । तर कतिपय अवस्थामा यो अनुवंशीय (जेनेटिक) पनि हुन्छ । जसको जिन्समै कोलेस्टेरोेल बढ्ने लेखेको छ उसको सानै उमेरदेखि रगतमा अत्यधिक मात्रामा कोलेस्टेरोेल र एल.डी.एल. बढेको पाइन्छ । यस्ता व्यक्तिहरुले सानै उमेरदेखि कोलेस्टेरोेल घटाउने औषधि खानुपर्ने हुन्छ । अरु व्यक्तिहरु जो मुटुरोगको उच्च जोखिममा छन् उनीहरुले पनि कोलेस्टेरोेल घटाउने औषधि खानुपर्छ । उचित खानपान, व्यायाम र औषधिको सेवन सँगसँगै गरेको खण्डमा हृदयघात र मस्तिष्कघातको सम्भावनालाई घटाउन सकिन्छ ।