हिस्टेरिया यौन समस्या होइन



डा. राजेन्द्र भद्रा

हामी सामान्यता समाजमा भएको भनिएको स्थिति भेट्ने गर्दछौं । विभिन्न विद्यालयका छात्राहरू पालैपालो बेहोस भएर ढलेको र शैक्षिक क्रियाकलापमा नै अवरोध पुगेको बारेमा बारम्बार समाचारहरु आइरहन्छन् । यस आलेखमा हामी हिस्टेरियाको यौनिक पक्षका बारेमा केन्द्रित भहिस्टेरिया ई चर्चा गर्नेछौं ।

यौनसँग जोडिएको इतिहास
इतिहासलाई खोतल्दा करिब ४ हजार वर्षपहिलेदेखि यसको बारेमा उल्लेख भएको पाइन्छ । यो पाठेघरको रोग ठानिएको हुनाले ग्रीकहरूले हिस्टेरिकोस(histerikos)  शब्द दिएका थिए । ग्रीक भाषामा हिस्टेरिया (hystera)शब्दको अर्थ पाठेघर हुन्छ र यसैको आधारमा हिस्टेरिया भन्ने नामकरण रहन गएको भेटिन्छ ।

ग्रीक मिथकमा यसलाई यौन चरमसुख प्राप्त नहुने, पाठेघरको उदासी तथा सन्तान नजन्माउनुलाई कारण मानिएको थियो । प्लेटो, अरस्तु तथा हिपोक्रिटसजस्ता विद्वानहरू यौनसम्पर्कको अभावले पाठेघर विचलित हुने कुरामा विश्वास गर्थे । हिपोक्रिटसका तर्कमा त नियमित यौनसम्पर्कको अभावमा पाठेघरमा विषालु पदार्थको उत्पादन हुने, पाठेघर शरीरमा यताउता चलायमान भएमा महिलालाई आनन्द हुने भएकाले विवाह गरेर आनन्ददायी यौनजीवन यापन हुन सक्ने आशय देखिन्छ ।

हिस्टेरिया महिलाको पाठेघरको रोग नभई मनोरोगको प्रकार हो

त्यसले पछि विवाह गरे यो समस्या ठीक हुन्छ भन्ने धारणा बन्नमा बल पु¥यायो । अन्य सन्दर्भमा महिलाको शरीरमा त्यसमा पनि अत्यधिक प्रदूषण हुनेलगायत कतिपय कुरालाई हिस्टेरियाको कारण मानिने पनि गरियो । भगोष्ठलाई उत्तेजित गर्नेदेखि लिएर डिम्बाशय निकाल्नेसम्मका उपचार विधि पनि अपनाइएको इतिहास छ । भनिन्छ, पछि इसाई परम्पराको प्रभावमा यो एक पाप भएको र सैतानको प्रभावको कारणले यस्तो हुने विश्वासले पनि प्रश्रय पायो । हिस्टेरियालाई कतिपयले यौनेच्छा अति नै भएर हुने एक पागलपन हो पनि भने । प्रसिद्ध मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले पनि यसको बारेमा चर्चा गरेका छन् । उनले कारणको रुपमा बाल्यकालमा यौन दुराचार भोगेर त्यसको आघातको कारणले हुने कुरालाई औंल्याएका थिए ।

हिस्टेरिया र यौनका कुरा

करिब तेस्रो शताब्दीपहिलेका युरोपका पुरुष चिकित्सकहरूले हिस्टेरियालाई यौनेच्छाको सन्तुष्टि नहुँदाको निराशापन भएको ठान्थे, अनि उनीहरू त्यसै अनुरुप यस समस्याको समाधानमा जुटेका थिए । युरोपेली तथा संयुक्त राज्य अमेरिकाका चिकित्सकलगायत व्यक्तिहरूले भने केही शताब्दीअघिसम्म महिलाले यौन चरमसुख प्राप्त गर्ने क्षमता राख्छन् भन्ने पनि ठान्दैनथे । जबकि आजभन्दा करिब २ हजार वर्षपहिले भारत वर्षमा ऋषि वात्सायनले लेखेको मानिएको कामसूत्र ग्रन्थमा महिला यौन आनन्द वा चरमसुख प्राप्त गर्ने सन्दर्भमा उल्लेख गरिएको छ । त्यस ग्रन्थमा महिला यौन आनन्द वा चरमसुख प्राप्तिको बारेमा चर्चा गरिएको छ ।

महिलाहरूले यौनसम्पर्कको बेलामा पतिको वीर्य स्खलनको ग्रहण गरेका कारणबाट नै उत्तेजनाको (erotic) आवश्यकता पूरा हुने ठान्दथे । पतिसँगको यौनसम्पर्कबाट यौनचाहना शान्त नभएका, विधवा, विवाह नगरेका तथा वैवाहिक जीवन सुखमय नभएका महिलालाई चिकित्सकहरूले भगाङ्कुरको उत्तेजनाको लागि घोडचढीजस्ता विकल्प पनि दिन्थे । तर यी विधि यौनेच्छा शान्त पार्न सबैको लागि पर्याप्त हुँदैनथ्यो ।

उनीहरूले लिंगाकार वस्तु वा भनौं कृत्रिम शिश्न वा लिंग (dildo) को प्रयोग गर्ने सल्लाह दिन थाले । तर शिष्टताका समर्थकहरूले हस्तमैथुन आत्म–हिंसा (self-abuse)हो भन्दै यसको राक्षसी वा सैतानीकरण गरेकाले यसको व्यापकरुपमा प्रयोग हुन भने सकेन ।यसै क्रममा चिकित्सक तथा मिडवाइफहरूले यो बिमारीको उपचारको लागि महिलाको योनिमा दुई औंला पसाई हत्केलाको मुनितिरको भाग (heel) ले भगाङ्कुरमा दबाब दिनुका साथै घर्षण गर्ने गर्दथे । यसरी उत्तेजित बनाई यौन सन्तुष्टि वा चरमसुख प्राप्त भए पनि उनीहरूले भने यसलाई अंग्रेजीमा पारोक्सिसमस् (paroxysms) अर्थात् आवेग भन्ने गर्दथे । यसो गर्नुको मुख्य कारण भने महिलाले यौन चरमसुख प्राप्त गर्न सक्छन् भन्ने कुरा विश्वास गर्दैनथे ।

जे होस्, उन्नाइसौं शताब्दीमा युरोप तथा संयुक्त राज्य अमेरिकामा चिकित्सकहरूको सहयोगमा यो उपचार विधिको प्रयोग व्यापक भयो र उनीहरूको लागि यो आर्थिकरुपमा वरदानजस्तै भएको थियो । तर धेरैलाई यसरी सेवा दिनु सजिलो भने थिएन । हात तथा औंला दुख्ने तथा बाउँडिने समस्याले ग्रसित हुन पुगेका थिए । त्यसैले उनीहरूले मिडवाइफलाई पनि संलग्न गराएका थिए । हातको थकाइको कारणले यो विधिले उपचार गर्दा सबै महिलालाई यौनसन्तुष्टि पाउने स्थितिसम्म पु¥याउन सक्दैनथे । त्यसैले उनीहरू विकल्प खोज्न थाले ।आवश्यकता नै आविष्कारको जननी हो भनेजस्तो चिकित्सकहरूले हातको सट्टा यान्त्रिक विकल्पको खोजीमा लागे । विभिन्न किसिमका औजारहरूको निर्माणको प्रयास भए । महिलाको यौनाङ्ग मालिस वा घर्षण गरेर महिलालाई यौनसुख दिने भरपर्दो औजार विकास विद्युत् विकास हुनुभन्दा पहिले सजिलो थियो ।

उन्नाइसौं शताब्दीमा विद्युत्को विकास र त्यसको घरघरमा पहुँचले धेरै नै परिवर्तन ल्यायो । १८८० मा विद्युतीय स्त्री (paroxysms) वा भ्याकुम क्लिनरको विकास हुनुभन्दा पहिले एक अंग्रेज चिकित्सक (Dr. Joseph Mortimer Granville)ले विद्युतीय यान्त्रिक भाइब्रेटरको विकास गरे । तारसहितको घरमा नै चलाउन मिल्ने वा ब्याट्रीबाट चल्ने किसिमका यस्ता भाइब्रेटरको विकास भएपछि यसले झनै व्यापकता पायो ।
एक किसिमले हेर्दा महिला यौनिकताको सन्दर्भमा गलत व्याख्या र उपचार विधि प्रयोग गरिएको भए पनि यो हिस्टेरियाको उपचारको क्रममा विकास भएको यौनाङ्ग मालिस गर्ने चिकित्सकीय औजार आज महिलाको यौनसुख प्रदान गर्न सहयोगी यौनसाधनको रुपमा विकसित हुन पुगेको छ, संसारभरि नै प्रयोगमा छ र महिलालाई यौनसुख प्राप्तिमा सहयोग गरेको छ ।

केही विवादका कुरा

यो महिला स्वास्थ्य समस्याको समाधानको लागि महिलाको यौनसन्तुष्टिको लागि प्रयास गरिएको पाइन्छ । पछि पुरुषलाई पनि हिस्टेरिया हुने कुरा थाहा भएपछि भने यस समस्यालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको पाइन्छ । यो कुरा पक्कै हो कि यौनसन्तुष्टिको सम्बन्ध मानसिक स्वास्थ्यसँग हुन्छ । हिस्टेरिया महिलाको पाठेघरको रोग नभई मनोरोगको प्रकार हो भनेर थाहा भए पनि चिकित्सा विज्ञानमा त्यसै अनुसार वर्गीकरण गर्न दशकौँ लाग्यो ।

विशेष गरी अठारौं तथा उन्नाइसौं शताब्दी समयकालका चिकित्सकहरूले महिलालाई उत्तेजित गरी यौनसन्तुष्टिसम्म पु¥याउने उपचार विधि शायद सबैभन्दा विवादित उपचार विधिहरूमध्ये एक होला । सीमित अध्ययनको कारणले त्यस बेलाका चिकित्सकहरूले यस्ता बिमारीको लागि के–कस्ता उपचार विधि अपनाउने गर्दथे भन्ने सन्दर्भमा केही अस्पष्टता भए पनि माथि भनिएझैँ निकै नै कुराको जानकारी पाइएको छ । उपचारका लागि गरिएका यी प्रयासहरू पनि निकै नै विवादास्पद रहेका छन् । हिस्टेरिया भएको भनी बिमारीको निदान भएपछि महिलाको यौनाङ्गको मालिस घर्षण गर्ने उपचार विधिको प्रयोगमा विवाद नहुने कुरा नै भएन ।

यस्ता कतिपय उपचार विधिको सन्दर्भमा प्रमाण भएको एकातिरको तर्क छ भने सो केवल सिद्धान्त भएको मत पनि अर्को पक्षको छ । राचेल मेनेस (Rachel Maines)नामकी एक अनुसन्धानकर्ताका अनुसार त १७ औं शताब्दीमा ज्वरोपछि महिलामा सबैभन्दा बढी गरिने निदान (रोगको पहिचान) यही नै थियो । उनले चिकित्सकहरूले उपचारको लागि भनेर महिलाको यौनाङ्गको मालिस (genital massage) गर्ने गरेको भनेकी छिन् । कतिपय स्थितिमा चिकित्सक आफैं मात्र गर्ने नभई अन्य महिला मिडवाइफ (mid-wives ) लाई पनि सो कार्यमा लगाउने गरिन्थ्यो । यो उपचार विधिमा चिकित्सकले आफ्नो सहयोगीलाई यसरी लगाउनु आफैंमा विवादित थियो । लैंगिक दृष्टिकोणले हेर्ने हो भने यो मानसिक समस्यालाई महिलाको पाठेघरसँग जोड्नु मात्रै होइन, त्यसको उपचार विधि पनि आफैंमा निकै नै विवादित मान्न सकिन्छ ।

हिस्टेरिया के हो त ?

भनिन्छ, यो अवचेतन अभिप्रेरणाको परिणाम हो । पहिले हिस्टेरिया भनेर चिनिने समस्यालाई अहिलेका मनोचिकित्सकहरूले विकृत तनाव (Conversion Disorder) भन्ने गरेका छन् । यस भनाइलाई हेर्दा मानसिक चिन्ता, डर, तनावजस्ता कुराका कारणले शारीरिक लक्षण देखिन थाल्छ, जसलाई विकृत तनाव भनिन्छ । यसका लक्षण फरक–फरकरुपमा देखिन सक्छ । कोहीमा घाँटीमा केही अड्केको जस्तो हुने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, स्वाँ–स्वाँ हुने गरी छिटो–छिटो सास चल्ने, बोल्न नसक्ने हुन्छ भने कसैलाई छोएको थाहा नहुने वा कुनै अंग चलाउन नसक्ने वा देख्नै नसक्ने पनि हुन्छ ।

यस्ता व्यक्तिमा भावनात्मक पीडा हुन्छ तर त्यसलाई कम गर्न अचेतन मनले कोशिश गरेको हुन्छ । यस्तो स्थितिमा बेहोस नै हुने गरेको पनि पाइन्छ । कतिपयमा भने कम्पन आएर बेहोस हुने पनि हुन्छ । कतिपय स्थितिमा एक व्यक्तिलाई मात्र नभई एकैपल्ट धेरै व्यक्तिलाई सामूहिकरुपमा यस्तो समस्या भएको पनि पाइन्छ । यसलाई ‘मास हिस्टेरिया’ अर्थात् ‘सामूहिक विकृत तनाव’ भन्ने गरिएको छ ।

के गर्ने त ?
यस्ता समस्याको समाधानका लागि विभिन्न उपचार विधिहरू उपलब्ध छन् । जस्तै कि सम्मोहन hypnosis, मनोचिकित्सा (psychotherapy), तनावको व्यवस्थापन, अहिले कतिपयले मस्तिष्कको विशेष भागमा चुम्बकको प्रयोगसमेत पर्दछन् । त्यसै गरी पूर्वीय विधिहरू जस्तै कि योग, ध्यान, प्राणायाम पनि उपयोगी हुने मानिन्छ । उपचारको विधि वा विधिहरूको छनौट तथा त्यसको समयावधि लक्षणको आधारमा गर्ने गरिन्छ । निको हुने सन्दर्भमा केही व्यक्तिमा यो समस्या केही हप्तामा नै हुन सक्छ भने कतिपयलाई वर्षौं लाग्न सक्छ । केही सन्दर्भमा परिवारका सदस्यहरूलाई पनि उपचारमा संलग्न गराउनुपर्ने हुन्छ ।

पूर्वीय संस्कृतिको कुरा
पूर्वीय संस्कृतिको उपचार पद्धतिको आधार आयुर्वेदमा पनि यी समस्याका बारेमा चर्चा गरिएका छन् । यो समस्यालाई मनोविकार अन्तर्गत राखिएको छ । अहिले हिस्टेरिया (conversion disorder) भनेर चिनिने यसलाई मनस्रोत विकृतिले चिनिन्छ । उपचारको सन्दर्भमा विभिन्न चिकित्सा विधि अपनाइएको पाइन्छ । जस्तै कि दैवभ्यपाश्राया चिकित्सा ( Divine and Spiritualhgcbfnt Therapy), युक्तिभ्यपाश्राया चिकित्सा (LogicalTherapy_) अनि सत्वविजय चिकित्सा ( PsychoTherapy) आदि ।
अन्त्यमा, यसरी विभिन्न कालखण्ड र विभिन्न मतका ग्रन्थमा हिस्टेरिया (विकृत तनाव) लाई विभिन्न रुपमा परिभाषित गर्ने र त्यसै अनुरुप उपचार पद्धति अपनाउने गरिए तापनि वर्तमान आधुनिक कालमा यसलाई मनोचिकित्सकहरूले विकृत तनाव (Conversion Disorder) भनेर परिभाषित गरी त्यसै अनुरुपको उपचार पद्धति अपनाएको नै बढी प्रभावकारी र व्यावहारिक देखिएको छ । अहिलेलाई यही नै बढी वैज्ञानिक मानिएको छ । हिस्टेरिया भनेर पहिले चिनिने र अहिले पनि कतिपयले भन्ने यस विकृत तनावलाई गर्भ, यौन, विवाहजस्ता कुरासँग जोडेर हतारिएर विवाह गर्नुभन्दा त्यसको सही उपचारका लागि मनोचिकित्सकसँग सम्पर्क गरी उपचार, सल्लाह, सुझाव लिनु नै उपयुक्त हो ।

प्रतिक्रिया दिनुहोस्