प्रकाशलाई हिजोआज आफ्नै नामसँग रिस उठ्न थालेको छ । पहिला त यस्तो कहिल्यै भएको थिएन । उसले आफ्नो नाम किन प्रकाश राखिदिएको ? भनेर आमासँग विवादसमेत ग¥यो । उसको कुरा सुनेर आमाले जिल्ल पर्दै हप्काइन्, ‘किन नचाहिँदो कुरामा निहुँ खोज्छस् ?’ आमा रिसाएको देखेपछि उसलाई झन् नरमाइलो लाग्यो र आफ्नो कोठामा ढोका थुनेर एक्लै बस्यो । उसको अहिलेको सोचाइमा उसको नाम प्रकाश होइन, अन्धकार हुनुपर्ने थियो रे ∕ किनकि उसले कसैलाई पनि प्रकाशजस्तो उज्यालो प्रभाव दिन सक्दैन रे ∕प्रकाशको स्वभावमा करिब दुई हप्तादेखि केही अस्वाभाविक परिवर्तन देखिएको छ । आजकल उसलाई निद्रा लाग्दैन । रातभर मनमा नराम्रा र निराशाजनक कुराहरुमात्र खेलिरहन्छन् । बेलुका टेलिभिजनमा विशेष गरी समाचार र फुटबल म्याच हेर्न नछुटाउने प्रकाशले टिभीको रिमुट कन्ट्रोलरलाई हात नलगाएको धेरै दिन भइसक्यो । उसलाई खाना पनि रुच्दैन । बाहिर निस्कन, साथीहरु भेट्न पटक्कै मन लाग्दैन । झर्को मानेर उसले मोबाइलसमेत अफमा राखेको छ । हरेक शनिबार बिहान साथीहरुसित मन्दिर जान नछुटाउने प्रकाशलाई अहिले ‘संसारमा देउतासेउता केही छैनन्’ भन्ने पो लागेको छ । उसलाई कसैसँग पनि कुरा गर्न मन लाग्दैन, त्यसैले एक्लै कोठामा बसेर बिताउँछ । आमा, बुबा, भाइ कोठामा आए भने ‘मलाई टाउको दुखिराछ, कोही पनि मेरो कोठामा नआउनू’ भनेर फर्काउने गर्छ । हुन पनि टाउको भारी नै भइराखेको हुन्छ उसको । यसरी दुई हप्तादेखि भेटघाट, सम्पर्क केही नभएकोले उसको मिल्ने साथी रुपक प्रकाशलाई भेट्न घरमै आयो । उसको अनुहार ओइलाएको देखेर के भो भनी सोध्दा प्रकाशले सोझै ‘मर्न मन लाग्यो’ पो भन्यो । यो सुनेर रुपकको मनमा चिसो पस्यो । ऊ प्रकाशको बा–आमालाई भेट्न माथि कौसीमा गयो । आमाले प्रकाशको स्वभावमा आएको परिवर्तनबारे रुपकलाई सबै कुरा बताइदिइन् । अनि रुपकले एकछिन् बाहिर डुलेर आउने भनी प्रकाशलाई फकाउँदै घरबाहिर लग्यो र मनोचिकित्सककहाँ पु¥यायो ।
नाम परिवर्तित पात्र प्रकाशको जस्तो समस्याबाट अहिले नेपालमा लाखौं मानिस पीडित् छन्, जुन समस्या डिप्रेसनको नामबाट विश्वचर्चित छ । यसलाई उदासीनता, दिग्दारी, अवसाद पनि भन्न सकिन्छ । तर व्यापक चलनचल्तीमा रहेकोले डिप्रेसन शब्द नै बुझ्न सजिलो छ । यो नेपाली समाजको मात्र नभएर विश्वव्यापी समस्या हो । यो आजको मात्र नभएर परापूर्वकालदेखिको समस्या हो । यद्यपि बीसौं शताब्दीदेखि बढेको हो । आजभन्दा सोह्र सय वर्षपहिले लेखिएको चिकित्सा विज्ञानका ग्रन्थमा पनि यो समस्याबारे चर्चा गरिएको पाइन्छ । बीसौं शताब्दीमा भोग्नुपरेको प्रथम र दोस्रो विश्वयुद्धको मनोसामाजिक दुष्प्रभाव र त्यसपछि पनि मानव समाजमा पूर्ण शान्ति कहिल्यै पनि नभएको कारणले डिप्रेसनको समस्या बढ्दै विकराल भएको छ । यसको पछिल्लो प्रमाण कोभिड–१९ को विश्वव्यापी महामारीसँगसँगै डिप्रेसनले पनि व्यापक रुप लिएको तथ्यलाई मान्न सकिन्छ ।
लक्षण देखिएको आशंका हुनासाथ सकेसम्म छिटो मनोचिकित्सक कहाँ जँचाउन जानुपर्छ ।
डिप्रेसनलाई आजकल रोगकै रुपमा लिन थालिए पनि वास्तवमा यो रोगभन्दा पनि व्यक्तिको एक असामान्य मानसिक अवस्था हो । विश्व स्वास्थ्य संगठनले हाल विश्वमा विशेष गम्भीर भनेर पहिचान गरेका १० स्वास्थ्य समस्यामध्ये डिप्रेसन पनि एक हो । हरेक मुलुकमा जनसंख्याको औसत ७ देखि १० प्रतिशतले जीवनको कुनै न कुनै अवस्थामा यो समस्याको तीतो अनुभव भोग्ने गरेको मनोचिकित्सकहरुको ठम्याइ छ । सबैभन्दा कममा ७ वर्षको बालक र बढीमा ७० नाघेका वृद्धहरुलाई समेत डिप्रेसनले सिकार बनाएको पाइएको छ । यद्यपि औसतमा २० देखि ४० वर्षको उमेर समूहका मानिसहरु डिप्रेसनको बढी जोखिममा रहेका पाइन्छन् । त्यसमा पनि महिलाको संख्या बढी देखिन्छ । यसले धनी, गरिब, बलियो, कमजोर केही भन्दैन भने सम्पन्नताको चरमचुलीमा पुगेका मुलुकदेखि भोकमरीपीडित मुलुकसमेत आज डिप्रेसनसँग जुधिरहेका छन् ।
नेपालमा पनि यो समस्या बढ्दो क्रममा छ । मानसिक स्वास्थ्यले समग्र स्वास्थ्य सेवा प्रणालीमा जे–जति प्राथमिकता पाउनुपर्ने हो, त्यो नेपालमा पाएको छैन भने आमजनमानसमा पनि यो समस्याबारे चेतनाको स्तर ज्यादै न्यून रहेको छ । डिप्रेसनलाई बुझ्न त्यति कठिन छैन । हरेक मानिसले आफ्नो दैनिक जीवनयापनको क्रममा कहिलेकाहीँ कारणवश वा विनाकारण पनि दिक्क लाग्ने गरेको अनुभव गरेकै हुन्छन् । तर त्यो अल्पकालको हुन्छ, दुई–चार घण्टा वा बढीमा एक–दुई दिनसम्म मात्र त्यस्तो हुन सक्छ, जसलाई आजभोलि ‘मुड अफ’ भन्ने चलन छ । यो कुनै समस्या होइन तर यस्तै अवस्था लगातार दुई हप्तासम्म रहिरह्यो भने त्योचाहिँ डिप्रेसनको समस्या हुन सक्छ, जसको अविलम्ब निदान र उपचार गरिहाल्नुपर्छ ।
किन हुन्छ डिप्रेसन ?
यो सामान्यतया दुई कारणले हुन्छ– आन्तरिक र बाह्य । आन्तरिक कारणमा मस्तिष्कमा रहेका स्नायु रसायन (न्यूरो केमिकल्स) हरुमध्ये केही रसायनहरुमा असन्तुलन पैदा भयो भने त्यसले डिप्रेसन गराउँछ । यसै गरी बाबु वा आमातर्फ डिप्रेसनको इतिहास छ भने वंशाणुगत कारणले पनि सन्तानमा डिप्रेसनको समस्या देखिन सक्छ । साथै कुनै कडा रोगले लामो समयदेखि पीडित बनाएको मानिसलाई पनि यो समस्या हुन सक्छ, जस्तै– पार्किन्सन्स, मुटु, मिर्गौला, थाइराइड, दम, क्यान्सर, लुपस आदिका बिरामीहरु पनि कहिल्यै निको नहुने नाजुक अवस्थाको कारण जीवनदेखि नै निराश भई डिप्रेसनको सिकार बन्न सक्छन् । कतिपय महिलालाई गर्भवती वा सुत्केरी अवस्थामा अस्थायी प्रकृतिको डिप्रेसन हुन सक्छ । यौन दुर्बलताको कारण आउने उदासीपनले पनि डिप्रेसनमा पु¥याउँछ ।
यसका अतिरिक्त बाहिरी वा परिस्थितिजन्य कारणले पनि मानिस डिप्रेसनको सिकार बन्न पुग्छ । जस्तै– आफ्नो प्रयासमा लगातार असफल भएमा, कसैले निरन्तर उपेक्षा गरेमा, हेपेमा, बदनाम वा बेइज्जत गरेमा, आफ्नो अहम् कसैले तोडिदिएमा, कामको अत्यधिक चापले तनाव बढेमा, अत्यन्त प्रियजनसँग मृत्यु वा अन्य कारणले वियोग भएमा, घर–परिवारबाट लामो समयसम्म टाढा रहनुपर्दा होम सिकले ग्रस्त भएमा, विश्वास गरेकै व्यक्तिबाट विश्वासघात भएमा, प्रेम सम्बन्ध असफल भएमा, वैवाहिक सम्बन्ध तनावपूर्ण भएमा पनि डिप्रेसन हुन सक्छ ।
यस्तै गरी बलात्कार, यौन दुव्र्यवहार, यातनाबाट पीडित हुनुपरेमा, हत्या, आत्महत्याजस्ता जघन्य अपराधको सजीव दृश्य आफैंले देख्नुपरेमा, विपद्, महामारी वा दुर्घटनाबाट जनधनको क्षति भएको हृदयविदारक दृश्य देख्नु वा भोग्नुपरेमा, अध्ययन वा व्यवसायमा तीव्र प्रतिस्पर्धा गर्नुपरेमा, खेलकुद वा परीक्षामा उत्कृष्ट नतिजा ल्याउनै पर्ने दबाब परेमा, विपन्नताको कारण सानातिना इच्छा वा आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था आएमा पनि डिप्रेसन हुन सक्छ ।
त्यस्तै गरी ऋण तिर्न नसकी तनाव बढेमा, व्यापार व्यवसायमा ठूलो घाटा परेमा, अति महत्वाकांक्षी मानिसको त्यो मनसुवा पूरा नभएमा, आफूले जित्छु भन्ने विश्वास गरेको मुद्दामामिलामा हार भएमा, आफूले भावनात्मकरुपमा अत्यन्त महत्व दिएको कुनै प्यारो वस्तु हराएमा वा नष्ट भएमा, प्यारो गरी पालेको घरपालुवा जन्तु हराएमा वा मरेमा, मादक वा लागूपदार्थको दुव्र्यसनको दुष्परिणाममा परेमा, आप्रवासनको निरन्तर संघर्षले तनाव दिएमा पनि मानिस डिप्रेसनग्रस्त हुन सक्छ । यसरी विचार गर्दा जीवनको पाइलैपिच्छे डिप्रेसनको जोखिम रहेको देखिन्छ, यथार्थ पनि त्यस्तै नै छ ।
डिप्रेसनका चरण
सामान्यतया डिप्रेसनका तीन चरण हुन्छन्– सामान्य वा प्रारम्भिक (माइल्ड), मध्यम (मोडरेट) र चरम ( क्रोनिक) । एकैपटक चरम अवस्थाको डिप्रेसन हुँदैन । सामान्यबाट शुरु भई मध्यम चरण हुँदै चरम अवस्थामा पुग्दछ । सामान्य वा प्रारम्भिक चरणमा देखिने लक्षणमा प्रायः मुड अफ भइरहने, शरीर शिथिल हुने, परिश्रम नगर्दा पनि थकाइ लागिरहने, निद्रा नलाग्ने, खान मन नलाग्ने, काममा जाँगर नलाग्ने आदि हुन्छ । यस्ता लक्षण देखिएपछि नै उचित उपचार भएमा मध्यम वा चरम अवस्थामा पुग्नुपर्दैन । यो चरणबाट मध्यम चरणमा पुग्न कति समय लाग्छ भनेर यकिन भन्न सकिन्न । उपचार भएन भने दुई–तीन हप्तामै मध्यम चरणमा प्रवेश हुन सक्छ ।
मध्यम चरणमा प्रवेश गरेपछि मनमा निराशाजनक सोचाइमात्र आउने, हीनता वा अपराधबोधले ग्रसित हुने, छट्पटी हुने, एक्लै कोठामा हिँडिरहने, आफैंसँग एकोहोरो बोलिरहने आदि लक्षण देखिन थाल्छ । यो अवस्थामा पनि उपचार पाएन भने ऊ डिप्रेसनको चरम चरणमा पुग्न बाध्य हुन्छ ।
चरम अवस्थामा सामान्य र मध्यम चरणका लक्षणहरु कायमै रहनुका साथै अरु जटिल लक्षणहरु थपिन थाल्छन् । जस्तै– ‘मेरो शरीरभित्रका सबै अंगहरु बिग्रिसके, अब म मर्छु’ भन्ने सोच लगातार आइरहने, अज्ञात स्थानबाट कुनै डरलाग्दो आवाज आफ्नो कानमा लगातार आइरहेको भान हुने, मानसिक सन्तुलन नै गुम्ने अवस्थामा पुग्ने भएकाले आफूले आफंैलाई सम्हाल्न नसक्ने आदि ।
उपचारमा भूमिका
डिप्रेसनको उपचारमा सबैभन्दा महत्वपूर्ण पक्ष नै केही प्रारम्भिक लक्षण देखिएको आशंका हुनासाथ सकेसम्म छिटो मनोचिकित्सककहाँ जँचाउन जानु हो । जँचाउन जति ढिलो हुन्छ, जोखिम पनि त्यत्ति नै बढ्दै जान्छ । यसको उपचारमा मुख्य चार पक्षको निर्णायक भूमिका रहन्छ:
आफू स्वयंको भूमिका: कुनै पनि व्यक्तिले आफू डिप्रेसनको चपेटामा परेको थाहा पाएपछि आत्मविश्वास नगुमाईकन म यो समस्याबाट पार पाइछाड्छु भन्ने अठोट लिई विलम्ब नगरी मनोचिकित्सकसँग जँचाएर उसको निर्देशनअनुसार चल्नुपर्छ । आफैंले आफूलाई माया गर्न छोडी आत्मविश्वास गुमाएमा उसलाई कसैले पनि निको पार्न सक्दैन । कतिपय बिरामीहरु मनोचिकित्सकले दिएको औषधि नियमितरुपमा नखाने वा उसका निर्देशनहरु पालना नगर्ने स्वभावका हुन्छन् । यसो गर्दा डिप्रेसन झन् बल्झिँदै जाने र निको नहुने वा धेरै समय लाग्ने हुन्छ । आफू नै सजग भएर दैनिक जीवनलाई सक्रिय र सकारात्मक बनाउनुपर्छ । आफूले गर्दै आएको नियमित कामलाई निरन्तरता दिने, सुमधुर संगीत सुन्ने, रोचक र प्रेरणादायी साहित्य पढ्ने, फूल–बिरुवाको स्याहार गर्ने, केही न केही काममा लागिरहने, एक्लै मनमा कुरा खेलाएर नबस्ने, मन मिल्ने साथीभाइहरुसित निकट सम्पर्क र संवादमा रहने आदि काम आफैंले गर्नुपर्छ, जसले गर्दा डिप्रेसनबाट मुक्ति पाउन सजिलो हुन्छ ।
परिवारको भूमिका: आफूपछि परिवारको भूमिका महत्वपूर्ण हुन्छ । परिवारका हरेक वयष्क सदस्यमा डिप्रेसनको समस्याबारे आधारभूत जानकारी हुनु जरुरी छ । परिवारमा कसैलाई यसको लक्षण देखिनासाथ उसलाई मनोचिकित्सककहाँ जँचाउन लगी उसको औषधि र परामर्श पालना गराउने मुख्य दायित्व परिवारकै हुन्छ । बिरामीलाई एक्लै पर्न नदिने, उसका रुचिहरुलाई साथ दिने, उसले खाना खाएको-नखाएको, नुहाएको-ननुहाएको आदि कुरामा परिवारले ध्यान दिनुपर्छ । यस्ता विषयमा परिवारका महिला सदस्यको भूमिका अझ प्रभावकारी हुन्छ ।
मुख्य कुरा बिरामीलाई गाली गर्ने, रिसाउने वा रिस उठाउने, जिस्क्याउने, होच्याउने, विवाद गर्ने, धेरै अर्ति–उपदेश दिने आदि काम कसैले पनि गर्नुहुँदैन । साथै ऊप्रति अति सहानुभूति राखेर बिचरा भन्ने, उसलाई झर्को लाग्ने गरी स्याहारसुसार गर्ने, ‘मैले सबैलाई दुःख दिएँ’ भन्ने भान उसमा पर्ने खालका काम पनि परिवारले गर्नुहुँदैन । प्रारम्भिक चरणका बिरामीलाई केही दिनका लागि रमणीय स्थानमा वा उसलाई मन पर्ने स्थानमा लैजाँदा निकै फाइदा भएको पाइएको छ ।
यस्तो स्थान परिवर्तनको व्यवस्था परिवारले गर्न सक्छ । सबैभन्दा मुख्य कुरा विवाह गरिदिएपछि ठीक हुन्छ भन्ने घातक भ्रममा परी डिप्रेसन निको नहुँदै विवाह गरिदिने अक्षम्य गल्ती परिवारले कुनै हालतमा गर्नुहुँदैन ।
शुभचिन्तकको भूमिका:डिप्रेसनका बिरामीलाई निको पार्न शुभचिन्तक वा आफन्तहरुले पनि निकै ठूलो भूमिका खेल्न सक्छन् । सधैँ साथै नरहे पनि बेला–बेलामा भेट्न आउनेहरु यदि बिरामीका साँच्चिकै शुभचिन्तक हुन् भने उनीहरुको व्यवहारबाट बिरामीलाई राहत पुग्न सक्छ । यसमा विशेष गरी बिरामीको उमेर मिल्दा दौँतरी र कुरा मिल्ने साथीहरु, छिमेकी, नातेदार आदिले भूमिका खेल्न सक्छन् । तर धेरै जनाले बिरामीलाई घेरेर बस्ने, अनावश्यक प्रश्न सोध्ने काम भने कहिल्यै पनि गर्नुहुँदैन । यसबाट डिप्रेसन झन् बल्झिन्छ ।
बिरामीका घनिष्ट एक–दुईजनाले मात्र ऊसँग समय बिताउने गर्नुपर्छ । कतिपय अवस्थामा बिरामीले परिवार वा चिकित्सकलाई भन्न नसकेको कुरा साथीलाई भन्न सक्छ, जसबाट उसको समस्या समाधान गर्न सघाउ पुग्छ । आफन्तहरुले पनि बिरामीप्रति सहानुभूति वा दया नदेखाई स्वाभाविक व्यवहारबाट सहयोग गर्नुपर्छ ।
मनोचिकित्सकको भूमिका: डिप्रेसनको उपचारमा मनोचिकित्सकको भूमिका निर्णायक हुन्छ नै । मुख्य कुरा बिरामीलाई चिकित्सकप्रति पूर्ण विश्वास वा भरोसा हुनै पर्दछ । यसका लागि चिकित्सक स्वयंले बिरामीको विश्वास जित्न सक्नुपर्दछ, जुन कुरा चिकित्सकको योग्यता, दक्षता, कार्यशैली, अनुभव आदिमा निर्भर गर्दछ । डिप्रेसन प्राणघातक होइन तर समयमै उचित उपचार नभए यसले प्राण लिन पनि सक्छ ।
(अर्को अंकमा महिलामा डिप्रेसनबारे चर्चा गरिनेछ ।)
(वरिष्ठ पत्रकार बस्नेत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)