महिना नपुग्दै सुत्केरी: विकराल समस्या



नेपालमा पछिल्लो समय गर्भावस्थाको अवधि नै नपुगी अर्थात् ३७ हप्ताअगाडि नै शिशु जन्मने क्रम बढ्दो छ । हुन त पहिले पनि ७ महिनामा जन्मिएका बच्चाहरु नभएका होइनन् तर अहिले यसमा वृद्धि भएको छ । यसरी गर्भावस्थाको अवधि नपुगी जन्माउनुपर्दा अप्रेसन नै गर्नुपर्ने जटिल अवस्था बढेर गएको छ । यस्ता समस्या बढ्नुका कारणहरु के–के हुन् र सुधारका लागि के गर्न सकिन्छ त ? यसै विषयमा केन्द्रित रही काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल, धुलिखेलमा २२ वर्षदेखि कार्यरत एसोसिएट प्रोफेसर÷पेडियाट्रिक नर्स निमा भण्डारी सुवेदीसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार:

पछिल्लो समय गर्भावस्थाको अविधि नपुग्दै अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने अवस्था बढ्दै गएको जानकारीमा आएको छ । यसको कुनै तथ्यांक छ छ कि ?

गतवर्षको तथ्यांकमा १८ देखि २० प्रतिशत शिशु महिना नपुगी जन्मेका छन् । त्यस्ता शिशुहरु ३७ हप्ताअघि नै जन्मिएकाले लो बर्थ वेट (न्यून तौल) का हुन्छन् । मेडिकल भाषामा हामीले ३७ हप्तापछि जन्मेका २ किलो ५ ग्राम तौल पुगेकालाई सामान्य अवस्था र तौल पुगेको मान्छौँ । यो तथ्यांक धुलिखेल अस्पतालको नवजात शिशु जन्मका लागि भर्ना भएको संख्याको आधारमा निकालिएको हो ।

यसरी बच्चा जन्माउनुको प्रमुख कारण के हो ?

हप्ता नपुगी शिशु जन्मनुको मुख्य कारण शिशु गर्भमा भएकै बेला आमालाई उचित हेरचाह नपुग्नु नै हो । आमालाई उच्च पोषण तत्वको कमीले यस्तो समस्या आएको देखिन्छ । विशेष गरी यस्ता खाद्यपदार्थमा आमाहरुको पहुँच नपुग्ने, नजान्ने, जानेर पनि महँगीका कारण पोषिला खानेकुरा खरिद गर्न नसक्ने हुँदा समस्या निम्तिएको हो । साथै आमा गर्भवती हुँदा बिरामी पर्ने र गम्भीर खालको बान्ता हुँदा उचित मात्रामा खाद्यपदार्थ खान नसक्नेजस्ता कारणहरु पनि छन् । त्यस्तै समयमा गर्भको जाँच गराउन स्वास्थ्य संस्थामा नआउने हुँदा पोषणको महत्व थाहा नपाई कुन समयमा के खाने भन्ने ज्ञान हुँदैन र समस्या निम्तिन्छ । सबैको चाहना ४० हप्ता अर्थात् १० महिनामा नै बच्चा जन्माउने हुन्छ । तर पानीको फोका फुट्यो भने तत्काल अप्रेसन गरेर गर्भबाट शिशु निकाल्नुपर्ने हुन्छ । शिशुको मुटुको धड्कनमा गडबडी आएमा

आमा र बच्चा दुवैको ज्यान बचाउनका लागि कम तौलको शिशु भए पनि शल्यक्रिया गरेर जन्माउनुपर्ने हुन्छ ।

धेरै गर्भवती महिलामा उच्च रक्तचाप, थाइराइड, मधुमेहजस्ता समस्या देखियो भन्ने सुन्नमा आउने गरेको छ । यो संख्या बढेको हो वा परीक्षणको पहुँच बढेर पहिचान भएको हो ?

पहिला गर्भवती जाँच नै हुँदैनथ्यो, अहिले जाँच बढेको छ र समस्या पनि पहिचान भएको छ । साथै अहिले हरेक दिन मानिस तनावपूर्ण वातावरणमा देखिन्छन् । यसको असर गर्भवतीमा पर्ने हुन्छ । पहिलाको जीवनमा शुद्ध खानपानका साथै पैदल यात्रा हुन्थ्यो । यस्तै दैनिक घरधन्दा, खेतबारीको कामको व्यस्तताले शारीरिक परिश्रम भई शरीरमा अनावश्यक विकार आउन पाउँदैनथ्यो । अहिले गर्भवती भयो भने चल्नै हुँदैन भन्ने खालको गलत सोच पनि बढेको छ । गर्भवतीमा शरीरलाई जतिसक्दो सक्रिय राख्ने र खानपान, व्यायाममा ध्यान दिने हो भने रक्तचाप, थाइराइड, मधुमेहजस्ता समस्यामा कमी आउने हुन्छ ।

कतिपय गर्भवतीलाई कुनै खानेकुरा हेर्दा पनि भमिट हुने गर्छ तर शरीरका लागि त्यही खानेकुरा आवश्यक पर्छ भने कसरी खुवाउने ?

गर्भवस्थाको समय नै त्यस्तै हो, खानै सकिँदैन । गन्ध अथवा स्वादले गर्दा त्यो खानेकुरा खान सकिँदैन । यस्तो अवस्थामा शरीरको लागि नभई नहुने पोषण तत्व थोरै–थोरै, धेरैपटक र फरक स्वाद बनाएर खाने गर्नुपर्छ । यस्तो अवस्थामा परिवारका सदस्यले यो खाना तिमी र तिम्रो पेटमा रहेको बच्चाका लागि नभई नहुने भएकाले खानुपर्छ भनेर सम्झाउनुपर्छ । हर्मोनल अनब्यालेन्स भएकाले त्यति बेला रुन्चे भैराखेको हुन्छ । परिवारले बुझेर बोलीचाली राम्रो गर्ने, खाना खान प्रोत्साहित गर्ने, फरक–फरक स्वादका खानेकुरा पटक–पटक खुवाउने गर्नु जरुरी छ । खाने बेलामा रमाइलो गफ गर्दै एकजना साथी बस्ने गर्नाले गर्भवती महिलालाई साथ र सहयोग मिलेको भान हुन्छ र खानाप्रतिको अरुचि कम भएर जान्छ । यो मेरो आफ्नै अनुभव पनि हो ।

समय नपुग्दै जन्मने नवजात शिशुहरु कम तौलका हुन्छन् । यो अवस्था आउनै नदिन के–कस्ता सुरक्षा अपनाउनुपर्ला र जन्मिसकेपछि के गर्नुपर्ला ?

यस्तो अवस्थामा कमी ल्याउन चिकित्सकको सल्लाह अनुसार गर्भवती जाँच नियमित गराउनुपर्छ । आफूलाई अप्ठ्यारो हुनासाथै स्वास्थ्य संस्थामा पुग्यो भने सम्भावित दुर्घटनाका बारेमा पहिला नै थाहा हुन्छ र सुरक्षा अपनाउन सकिन्छ । समय नपुगी जन्मेको कम तौलको बच्चालाई आमा र परिवारले धेरै ध्यान दिनुपर्छ । यस्तो अवस्थामा बच्चाले केही गर्न सक्दैन, आमालाई पनि डर हुन्छ र म के गर्ने भनेर बच्चालाई छुनसमेत डराउने हुन्छ । त्यस्तो अवस्थामा आमा र बच्चालाई ध्यान पु¥याउन परिवारको महत्वपूर्ण भूमिका हुन्छ । आमालाई अत्याउने र डर देखाउने गर्नुहुँदैन । बच्चा भनेको सानो नै हो, ऊ दैनिक बढ्दै जान्छ भनेर आमालाई पूर्णरुपमा सपोर्ट गर्नुपर्छ । आमालाई पूर्णकालीन समय बच्चासँग बिताउन दिने र अन्य काममा परिवारले सघाउने गर्नुपर्छ । विशेष गरी आमाको खानपानमा परिवारले साथ र सहयोग गर्नुपर्छ । आमाले पोषिलो खाना खाएमात्र बच्चालाई दूध पुग्छ र बच्चाको तौल पनि समय अनुसार वृद्धि हुँदै जान्छ ।

शल्यक्रिया गरी सुत्केरी गराएका आमाहरुको शुरुका दिनमा दूध नआउँदा बच्चालाई के खुवाउने ?

शुरुका एक–दुई दिन आमाको दूध नआउने या कम आउने हुन सक्छ । यो प्राकृतिक प्रक्रिया हो । यस्तो अवस्थामा अरु स्वस्थ आमाको दूध खुवाउने गर्नुपर्छ । बच्चाले जति स्तन चुस्यो त्यति नै आमाको दूध आउँछ भनेर आमालाई सम्झाउँदै दूध चुसाउन लगाउनुपर्छ । शुरुका दिनमा स्तनबाट पानी आए पनि आमाको दिमागमा संकेत गर्छ । दूध बनेपछि त झन् नै आमाको सोचमा समेत सकारात्मक सन्देश जान्छ । यी कुराहरु आमालाई जानकारी दिनुपर्छ, जसले गर्दा चाँडो दूध आउन मद्दत पुग्छ ।

कम तौलका शिशुलाई कसरी स्याहार गर्नुपर्छ ?

शिशुको तौल २ किलो ५ सय ग्राम नर्मल मानिन्छ । १ किलो, २ किलोको शिशु जन्मियो भने विशेष गरी उनीहरुको मार्जिन नपुगेकाले संक्रमण हुने सम्भावना बढी हुन्छ । दूध खुवाउन खोज्दा पनि कम तौलको भएर उनीहरुसँग दूध तान्ने तागत हुँदैन । आमाको दूध सीधै तान्न लगाउँदा उनीहरुको तागत जान्छ । लो बर्थ रेट र स्ट्रिम्ली भेरी लो बर्थ रेटका शिशुलाई दिनमा एकपटक आमाको दूध चुसाएन भने उसले दूध तान्नै सिक्दैन । त्यसैले एकपटक आमाको दूध चुसाउने गर्नुपर्छ ।

बाँकी समयमा आमाको दूध निकालेर चम्चाले खुवाउने गर्नुपर्छ । त्यसो गर्दा बच्चाको शक्ति सञ्चय हुन्छ । यसले गर्दा बच्चाको तौल घट्नबाट जोगिन्छ । दूध नियमित खुवाएमा बच्चाको शरीरको तापक्रम पनि बढ्छ । बच्चाको शरीर तातो भएपछि खान सक्छ । यसले गर्दा चिसो पनि भएन र शक्ति पनि बढ्ने हुन्छ । यस्ता बच्चालाई सरसफाइमा अत्यन्तै ध्यान दिनुपर्छ । सरसफाइमा ध्यान दिएन भने धेरै संक्रमण हुन्छ । बच्चाको दिसा–पिसाब फोहोर होइन भन्ने सोच्नुहुन्न । दिसा–पिसाब गर्ने ठाउँमा विशेष ध्यान दिएर सफा गर्नुपर्छ । धेरै संक्रमण दिसा–पिसाबबाट नै हुन्छ । संक्रमण भयो भने बच्चाको तौल घट्छ ।

आमाको दूधले नपुग्दा गाईभैँसीको दूध, ल्याक्टोजिन खुवाउन हुन्छ कि हुँदैन ?
गाई, भैँसी, बाख्राको दूध मान्छेको बच्चाको लागि बनेकै होइन । यो त उनीहरुकै बच्चाको लागि बनेको हो । त्यसैले बच्चालाई आमाको दूध नै खुवाउनुपर्छ । आमालाई तनावमुक्त बनाएर स्याहार गरेको खण्डमा आमाको दूध जति पनि आउँछ र बच्चालाई आमाकै दूध खुवाउनुपर्छ ।

बच्चाले पिसाब गरेर भिजेको कपडा घाममा सुकाएर पुन:प्रयोग गर्ने गरेको देखिन्छ, यसले कति हानि गर्छ ?

पिसाबले भिजेको कपडा नधोईकन घाममा सुकाएर सफा हुन्न । शरीरका लागि नचाहिने तत्व पिसाबका माध्यमबाट बाहिर फालिएको हुन्छ । यस्तो तत्व भएको कपडा नधोई पुनः प्रयोग गर्दा संक्रमण हुन्छ । त्यसैले पिसाबले भिजेको कपडा धोएर सुकाउने गर्नुपर्छ ।

नेपालमा ल्याक्टोजिनको प्रयोग बढेसँगै सरकारकै पहलमा मिल्क बैंक खुलेको अवस्था छ । धुलिखेल अस्पतालले केलाई जोड दिन्छ ?

ल्याक्टोजिन कम्पनीले पनि बट्टाको तल आमाको दूध नै बच्चाको लागि उचित हो भन्ने लेखेको हुन्छ । त्यो कम्पनीले खाऊ त भनेको छैन, यो हाम्रो नै मूर्खता हो । धुलिखेल अस्पतालले पनि आमाको दूध संकलन तथा बचत बैंकको सोच लिएर अघि बढेको छ । त्यसैले यस अस्पतालले आमाको दूधलाई नै जोड दिएको स्पष्ट हुन्छ ।

बच्चा गर्भमा आएदेखि कुन उमेर समूहमा कति तौल हुनुपर्छ ?

तौलको विषयमा विश्व स्वास्थ्य संगठनले ग्रोथचार्ट निकालेको छ । त्यसमा छोरा र छोरीको क्रमशः नीलो र रातो कलरले इंगित गरिएको छ । उमेर र तौल सोही चार्ट अनुसार हेर्न सकिन्छ । बढी तौल पनि राम्रो होइन ।

तौल वृद्धि कसरी भएको छ, त्यसलाई पनि हेर्नुपर्छ । बच्चा जन्मिएको १४ दिनसम्म तौल घट्छ । अस्पतालमा बस्दा आमालाई हरेक दिन तौलको महत्व बुझाउने गरी जानकारी गराइन्छ । बच्चा जन्मेको २५ दिनदेखि हरेक दिन २५–३० ग्रामले बच्चाको तौल ३ महिनासम्म बढ्दै जान्छ । त्यसपछि बिस्तारै कम–कम दरले बढ्दै जान्छ ।

जन्मनेबित्तिकै लगाउने बीसीजी खोप कति तौल भएपछि लगाउने हो ?
तौल नपुगी यो खोप लगाउनुहुँदैन । शिशुको तौल २ किलोको नभई यो खोप लगाउन मिल्दैन । त्यसैले तौल पुगेपछि मात्रै यो खोप लगाउनुपर्छ ।

अन्त्यमा केही भन्नु छ कि ?
कम तौल र हप्ता नपुगी जन्मेका नवजात शिशुहरुका लागि कंगारु मदर केयर अत्यन्तै प्रभावकारी छ । यो अपनाउनु सबै आमा र बच्चाको लागि अत्यन्त उपयोगी छ । कंगारु मदर केयर भन्नाले नवजात शिशुको खुल्ला छातीलाई आमाको खुल्ला छातीमा टाँसेर न्यानो बनाई कम्तीमा २ घण्टासम्म राख्नु हो । यसो गर्दा बच्चा र आमाले मुटुको धड्कनबाट माया साट्ने र बच्चाको रोगसँग लड्ने क्षमताको विकाससँगै तौल बढाउन मद्दत पुग्ने हुन्छ । यो प्रक्रिया बच्चा जन्मिएको केही दिनमा गराउनु अत्यन्तै उपयोगी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्