घडी हेरेर खाने कि भोक लागेपछि ?



डा. रामदेव पण्डित आयुर्वेद चिकित्सक

हाम्रो समाजमा के खाने भन्ने विषयमा मानिसहरु निकै सजग र सचेत भएको पाइन्छ तर कति बेला खाना खानुपर्छ भन्ने विषयमा भने धेरैले ध्यान पु¥याएको देखिँदैन । कोही भोक नलागे पनि समय हेरी खानपान गर्छन् भने कोही भोक लागे पनि फुर्सद भएपछि मात्र खाने गर्छन् । कोही–कोही त दिनभरि खाइरहन्छन् । अतः अब प्रश्न उठ्छ, ‘समय हेरी खाने कि भोक लागेपछि खाने अथवा दिनभरि पटक–पटक खाइरहने ?’

दिनभरिमा थोरै–थोरै खाने वा खाइरहनुपर्छ भन्ने अवधारणा सर्वथा गलत हो । पटक–पटक खानाले शरीरमा पटक–पटक इन्सुलिन स्पाइक गराउँछ । निरन्तर धेरैपटक इन्सुलिन स्पाइक भइरहे १० देखि १५ वर्षमा शरीरमा इन्सुलिन रेजिस्टेन्स हुन जान्छ र अन्ततः शरीर प्रि–डाइबिटिक वा डाइबिटिक रोगको अवस्थामा पुग्छ ।

भोक जैव रासायनिक (बायो केमिकल) क्रिया हो । आधुनिक चिकित्सा विज्ञानले शरीरमा भोक लाग्नै दिनुहुन्न भन्ने मान्यता राखेको पाइन्छ । फलतः दिनभरि थोरै–थोरै पटक–पटक खाइरहनुपर्छ भन्ने सल्लाह दिइन्छ । समय हेरी–हेरी खानुपर्छ भन्ने मत आधुनिक चिकित्सा विज्ञानको रहेको पाइन्छ । आधुनिक अस्पतालहरुमा पनि समय तालिका अनुसार खाना खान सल्लाह दिएको पाइन्छ ।आयुर्वेद चिकित्सा विज्ञानमा भोकलाई रोक्न नहुने वेगको रुपमा उल्लेख गरिएको छ । अर्थात्

भोक नलागेसम्म नखानु र लागेपछि भोकै नबसी खाइहाल्नु हो ।

पटक–पटक खानुहुँदैन, भोक लागेपछि मात्र खाने गनुपर्छ भन्ने स्पष्ट आयुर्वेदीय मत हो ।

भोक लागेपछि मात्र खाना खाने अभ्यासका सामान्य फाइदाहरु:

१. जब भोक लाग्छ, शरीर र दिमागले भोकको रुपमा आफ्नो अभाव प्रकट गरेको हुन्छ । यसरी आवश्यकता भएपछि मात्र शरीरले खाना प्राप्त गर्दा त्यसको सम्यक् पाचन हुन्छ ।

२. भोक लाग्दा सन्तुलित भोजन लिइयो भने त्यसमा रहेको भिटामिन, मिनरल्स, फाइबर र फ्याट सजिलै शरीरमा अवशोषित हुन्छ र ऊर्जा प्राप्त हुन्छ ।

३. भोक लागेपछि मात्र खानाले शरीरको जैविक घडी पनि ठीक रहन्छ ।

४. भोकै नलागी समय हेरेर खाने गर्दा जाग्दै गरेको भोक पनि मर्छ, खाना नाश हुन्छ, चाँडै थकान उत्पन्न हुन्छ, अपच, एसिडिटीजस्तो समस्या सधैँ आइरहन्छ ।

भोकको पनि प्रकार हुन्छ भन्ने धेरैजनालाई थाहा नहुन सक्छ । ज्वाइफूल बेल्लीका संस्थापक अमेरिकी लेखक जोन इम्मेलका अनुसार भोक लाग्ने वा नलाग्ने निम्न ४ कारणले हुन्छ ।
-पहिलो, कारण भौतिकरुपमा पेट खाली भए वा भरिएपछि मस्तिष्कमा पुग्ने सूचनाले भोक लाग्ने वा नलाग्ने हुन्छ ।
-दोस्रो, रक्तप्रवाहमा आवश्यक पोषक तत्वहरुको अभाव हुँदा भोक प्रकट हुन्छ ।
– तेस्रो, अग्नाशय र आन्द्राबाट रसाउने हर्मोन (जस्तै– कोलेसिस्टोकाइनिन) ले भोक नियन्त्रण गर्दछ ।
-चौथो, घार्लिन र लेप्टिन नामको हर्मोनले भोक लाग्ने वा नलाग्ने हुन्छ । घार्लिनले लेप्टिनको सञ्चारण र नियन्त्रण गर्छ भने लेप्टिन (बोसोका कोषहरुबाट निस्कने रस) ले भोकाएको वा पेट भरिएको संकेत गर्दछ ।
भोकबारे थप केही भन्नुभन्दा पहिले जनावरहरुले कसरी खान्छन् भन्ने कुराको अध्ययन गर्दै जाँदा मानवको आहारशैलीको विषयमा प्राप्त भएका रोचक निष्कर्षहरु अनुसन्धानकर्ता डेभिय रौबिनहैमर र स्टिफेन सिम्पसनद्वारा लेखिएको पुस्तक ‘इट लाइक द एनिमल्स ः ह्वाट नेचर टिचेज अस अबाउट द साइन्स अफ हेल्दी इटिङ’ बाट हेरौं:

खान प्रोत्साहित गर्ने भोक एकै खालको हुन्छ भन्नु गल्ती हुन्छ । अनुसन्धानकर्ता डेभिय रौबिनहैमर र स्टिफेन सिम्पसनले न्यू साइन्टिस्ट म्यागेजिनमा विविध प्रकारका पोषण प्राप्त गरी शरीरका लागि सन्तुलित आहार निर्माण गर्न मानवलाई फरक–फरक भोक चाहिने उल्लेख गरेका छन् । उनीहरुका अनुसार भोक पाँच प्रकारका हुन्छन्– १. प्रोटिन, २. कार्बोहाइड्रेट, ३. बोसो, ४. सोडियम र ५. क्याल्सियम ।
सार्थक कारणका लागि यी पाँचवटा भोक बेग्लाबेग्लै ढंगले उत्पत्ति भएका हुन्छन् । मूलतः यी पाँचवटा पोषक तत्वको आवश्यकता शरीरमा देखिनु वा नदेखिनुले नै भोक निर्धारण गर्दछ । यी बाहेक अन्य दर्जनौं पोषक तत्वका लागि दर्जनौं प्रकारका भोक सम्भव छैन । किनभने मानवशरीर कति जटिल जैविक प्रणाली बनेर सञ्चालन हुन सक्छ, त्यसको सीमा छ ।

दोस्रो, ती पोषक तत्वहरु शरीरका लागि निश्चित मात्रामा मात्र आवश्यक हुन्छन् । तेस्रो, केही पोषक तत्वहरु (जस्तै– जिंक, फस्फोरस) शरीरमा थोरै मात्रामा चाहिने पोषक तत्व हुन् । त्यस्ता पोषक तत्व पर्यावरणमा छरिएर रहेका हुन्छन् र साह्रै कम मात्रामा पाइन्छन् । त्यसरी पर्यावरणमा रहेको पोषक तत्वलाई एकत्रित गरेर प्रशोधन गर्न मेसिनहरु (शरीरको वैकल्पिक प्रणाली) नै जडान गर्नुपर्ने हुन्छ ।
डेभिय रौबिनहैमर र स्टिफेन सिम्पसनले भोकबारेको अध्ययन एकैपटक मानवमा नगरी लोकस्ट (एक प्रकारको फट्याङ्ग्रा) बाट शुरु गरे । त्यसपछि केप बेबुन (पोथी बाँदर)को पछि पछि लागेर उनीहरुको गतिविधिलाई ३० दिनसम्म अध्ययन गरेका थिए । अन्त्यमा मानवमा अध्ययन गरिएको थियो ।

अनुसन्धानकर्ताहरुले जब १० जना सम्मिलित एउटा स्वयंसेवक समूहलाई एक हप्ताको लागि एउटा रेस्टुरेन्टमा राखे । शुरुको दुई दिन स्वयंसेवकहरुले जे खान चाहे त्यही दिइयो । त्यसपछि दुई दिनको लागि पाँच–पाँचजनाको दुईवटा समूह बनाइयो । एउटा समूहलाई अधिक प्रोटिनयुक्त खाना खान लगाइयो र अर्को समूहलाई कम प्रोटिन, अधिक कार्बोहाइड्रेट र अधिक बोसोयुक्त खाना खान लगाइयो । र, अन्तिमको दुई दिन सबैलाई फेरि चाहेअनुसारको खाना खान दिइयो ।

अध्ययनका अनुसार मानव स्वयंसेवकहरु र लोकस्टले समान प्रतिक्रिया देखाए । जसलाई न्यून प्रोटिनयुक्त खाना खान दिइएको थियो, उनीहरुले आफ्नो प्रोटिनको पूर्तिका लागि अधिक कार्बोहाइड्रेट खाए । जसलाई अधिक प्रोटिनयुक्त खाना खान दिइएको थियो, उनीहरुले कार्बोहाइड्रेटयुक्त खाना कम खाए ।

भोकको सम्बन्ध शरीरलाई चाहिने ऊर्जासँग पनि भएको देखिन्छ । प्रोटिनलाई शरीर निर्माणक पोषण मानिन्छ र बोसो एवं कार्बोहाइडे«टलाई ऊर्जादायक पोषण भनिन्छ । शरीरलाई अधिक ऊर्जा आवश्यक हुँदा बोसो एवं कार्बोहाइडे«टको भोक जाग्दछ । बोसो (९ क्यालोरी प्रतिग्राम) एवं कार्बोहाइडे«ट (४ क्यालोरी प्रतिग्राम) दुवैको शरीरमा फरक–फरक भूमिका हुने भए पनि ऊर्जा आपूर्तिका हिसाबले एक–अर्कामा विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । शरीरको विभिन्न मेटाबोलिक क्रियामा क्याल्सियम र सोडियमको प्रमुख भूमिका हुनेले यिनको भोकलाई पनि सोही अनुसारको प्राकृतिक आहारबाट आपूर्ति गर्नुपर्दछ ।

फास्टफूड किन खाऊ“–खाऊ“ लाग्छ ?

अप्राकृतिक (प्रशोधित) खानामा हितकर प्राकृतिक प्रोटिन कम हुन्छ र हानिकारक विकृत कार्बोहाइड्रेट र बोसो अधिक हुन्छ । निश्चित मात्राको अप्राकृतिक खानाबाट अपेक्षित मात्राको पोषण प्राप्त हुन्न । फलतः भोक मरेको हुँदैन र प्रशोधित खाना अधिक खाइन्छ । भोक शान्त नहुँदासम्म खाऊँ–खाऊँ लाग्छ । प्रशोधित खानामा भएको विकृत पोषक तत्वले प्राकृतिक खानाबाट प्राप्त प्रोटिनमा समेत विकृति ल्याई स्वाभाविक भोकलाई विकृत बनाइदिन्छ । भोक एउटा हुन्छ र अप्राकृतिक खाना खाएपछि त्यसबाट प्राप्त हुर्ने कुरा भने भिन्न भइदिन्छ । भोक नै छलिन पुग्छ । फलतः फास्टफूडले पेट भरिन्छ, भोक मर्दैन । शरीरमा स्वस्थताभन्दा नकारात्मक असर गर्छ ।

भोकले प्राकृतिक खानपानको शैलीमा मात्र सहज कार्य गर्दछ । प्रशोधित खानपानसँग भोकले संघर्ष गनुपर्ने हुन्छ । भोक बहुआयामिक वेग हो । यो जैव रासायनिक क्रियामात्र होइन । भोक जगाउन सजिलो हुँदैन र यसलाई पालेर बस्नु पनि हानिकारक हुन्छ । हामीले सन्तुलित आहार चिन्न जति जरुरी छ त्यति नै महत्वपूर्ण भोक चिन्नु जरुरी हुन्छ । अनुसन्धानमा कार्बोहाइड्रेट भोकभन्दा प्रोटिन भोक बढी महत्वपूर्ण देखिन्छ । तर ५ वटै प्रकारका भोकहरुको आ–आफ्नै महत्व भने छ । बोसोको भोक स्वस्थ शरीरका लागि जति जरुरी छ, शरीरलाई अल्प–अल्प मात्रामा मात्र चाहिने सोडियम र क्याल्सियमको भोक पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसलाई ध्यानमा राखी सन्तुलित आहारयुक्त खानपानशैली योजना गरौँ ।

प्रतिक्रिया दिनुहोस्