समाधि र यसका लाभ



डा. क्षितिज बराकोटी

अष्टांग योगको अन्तिम अंग समाधि हो र समाधि नै वास्तविक योग हो । महर्षि पतञ्जलिले पातञ्जली योग सूत्रमा समाधिका बारेमा उल्लेख गरेका छन्: यथाः तदेवार्थमात्रानिर्भासम् स्वरूपशून्यमिव समाधिः । अर्थात् ध्यानपछि जब चित्त एकाग्र हुन्छ र स्वयंको स्वरुपको अभाव हुन थाल्दछ, त्यतिखेर ध्येय (ध्यानको विषय वा लक्ष्य) बाहेक अरु कुनै केही बाँकी रहँदैन, त्यही अवस्थालाई समाधि भनिन्छ ।

यस अवस्थामा साधकको स्मृतिपटलमा रहेका पहिलेका सबै कुराको विस्मरण भई चेतनाको नयाँ ढोका खुल्दछ र चित्तावस्था परमचैतन्यतासँग जोडिएको हुन्छ । यौगिक जीवनशैली र अनेक योगविधिहरुको नियमित गहन साधनाका माध्यमले जीवन चित्तका वृत्तिहरुको निरोध हुन्छ, तब समाधिको मार्गमा पुगिन्छ । समाधिमा पुग्न सक्नु नै योगको परमप्राप्ति हो । यस अवस्थामा परमचैतन्यताको अनुभव हुने, आत्मा र परमात्माको मिलन हुने, व्यक्तिको चेतना समग्र चेतनासँग जोडिने, अंश र अंशीको मिलन हुने, आपूm नै ब्रह्मस्वरुपमा लीन हुनेजस्ता उपलब्धिहरु प्राप्त हुन्छन् ।

समाधि प्राप्तिपछि भने अनुहारमा अझ कान्ति बढ्छ ।

समाधि अष्टांग योगको उपल्लो खुड्किलो हो । तर समाधि त्यसै प्राप्त हुँदैन । यसको प्राप्तिका लागि अष्टांग योगका अरु सबै पूर्ववर्ती अंगहरुलागायत हठयोगका थप विभिन्न साधनाहरु जस्तै– षट्कर्म, नाडी, मुद्रा, बन्ध, चक्रभेदन एवं कुण्डलिनी शक्तिजागरण, नादानुसन्धान आदिलाई समेत साधना गर्नु आवश्यक हुन्छ । समाधिका पनि विभिन्न खुड्किलाहरु छन् । विभिन्न शास्त्र र गुरुहरुको साधना पद्धति अनुरुप समाधिमा अझै भित्र पुग्ने प्रक्रिया र मार्गहरु वा समाधिका प्रकारहरु फरक पाइएका छन् । यहाँ केवल महर्षि पतञ्जलिद्वारा समाधिका बारेमा निर्देशित दृष्टिकोण र साधनाका बारेमा तथा उनले समाधिलाई विभिन्न प्रकारमा विभाजिन गरेका विषयमा मात्र केन्द्रित भएर व्याख्या गरिएको छ ।

समाधिको प्रकार
महर्षि पतञ्जलिले समाधिलाई प्रारम्भिकरुपमा दुई भागमा विभाजित
गरेका छन्, ती हुन्: १) सम्प्रज्ञात समाधि र २) असम्प्रज्ञात समाधि ।

सम्प्रज्ञात समाधि:

सम्प्रज्ञात समाधि कुनै खास वस्तु, विचार र अनुभवद्वारा घटित हुन्छ । तथापि अरु विचारहरुलाई साम्य नपारी यो समाधिको प्राप्ति हुँदैन । चित्तमा आउने सम्पूर्ण विचारहरुको तरंगलाई पतञ्जलिले पाँच चित्तवृत्तिहरुमा समेटेका छन्, ती हुन्: प्रमाणवृत्ति, विपर्ययवृत्ति, विकल्पवृत्ति, निद्रवृत्ति र स्मृतिवृत्ति । यस्ता विचारका तरंगहरु (चित्तवृत्तिहरु) क्लिष्ट वा अक्लिष्ट (दुःखदायी वा सुखदायी) हुन्छन् । सम्प्रज्ञात समाधिले चित्तवृत्तिहरुको निरोध गर्ने (विचारशून्य पार्ने) गर्दछ । यसका लागि निरन्तर अभ्यास र वैराग्यको आवश्यकता पर्दछ । कुनै पनि भौतिक, अभौतिक वस्तुहरुमा राग नहुने अवस्था, विरक्तिपन, गुणहरुप्रति मोहभंग हुनु वैराग्य हो ।वैराग्य पनि दुई प्रकारको हुन्छ– परवैराग्य र अपरवैराग्य । देखेका वा सुनेका विषयहरुमा वितृष्णा जगाउनु अपरवैराग्य हो । वास्तविक सत्यको ज्ञान (विवेकख्याति) वा पुरुष (चैतन्यताको ज्ञान) भएपछि पनि प्रकृतिका कुनै पनि गुणहरुप्रति तृष्णारहित हुने अवस्थालाई परवैराग्य भनिन्छ । अपरवैराग्यको अवस्थाबाट सम्प्रज्ञात समाधिमा पुगिन्छ । वितर्क, विचार, आनन्द र अस्मिता यी चार स्थितिहरुको अनुभवका कारण सम्प्रज्ञात समाधि लाग्दछ । त्यसैलै सम्प्रज्ञात समाधिलाई पनि चार भागमा बाँडिएको छ, ती हुन्:

क) वितर्कानुगत सम्प्रज्ञात समाधि:
स्थूल विषयमा चित्तको एकाग्रताका साथ समाधिमा पुग्ने साधना वितर्क सम्प्रज्ञात समाधि हो । यसमा साधक पाँच स्थूल महाभूतहरु जस्तै– पृथ्वी, जल, अग्नि, वायु र आकाशमध्ये कुनै एकलाई ध्यानको माध्यम बनाई समाधितर्फ लाग्दछ भने त्यसलाई वितर्कानुगत सम्प्रज्ञात समाधि भनिन्छ । यसमा पनि सवितर्क (शब्द, अर्थ र भावसहितको साधना) र निवितर्क (शब्द, अर्थ र भावविनाको साधना) दुई पक्षहरु रहेका हुन्छन् ।

ख) विचारानुगत सम्प्रज्ञात समाधि:
जब ध्यानका क्रममा अभ्यासकर्ताले पञ्चमहाभूतका स्थूलपक्षलाई त्यागी सूक्ष्म तन्मात्रहरु जस्तै– गन्ध, रस, रुप, स्पर्श र शब्दलाई मात्र ध्यानको माध्यम बनाई समाधि उन्मुख हुन्छ र समाधि प्राप्त गर्दछ भने यस प्रकारको समाधिलाई विचारानुगत सम्प्रज्ञात समाधि भनिन्छ । यसमा पनि सविचार (देश, काल र धर्मको भावसहित) र निर्विचार (देश, काल र धर्मको भावविना) गरी दुई थरीका समाधि मानिएका छन् ।

ग) आनन्दानुगत सम्प्रज्ञात समाधि:
इन्द्रियहरु सत्वप्रधान हुन्छन् भन्ने सांख्यदर्शनको मत छ । यस समाधि अन्तर्गत इन्द्रियको सोही सत्व स्वरुपलाई धारणा र ध्यानमा ल्याउँदै इन्द्रियको सात्विक सुखको अनुभूति गरिन्छ साथै चित्तको चरम एकाग्रताबाट अहंकार तत्वलाई धारण गर्ने वा पहिचान गर्ने क्षमताको विकास भई थप आनन्दको अनुभूति गरिन्छ । यही सात्विक सुखानुभूतिबाट आनन्दको भावसहित समाधिमा पुग्नु नै आनन्दानुगत समाधि हो ।

घ) अस्मितानुगत सम्प्रज्ञात समाधि:
यस समाधिमा साधकमा ध्यान साधनाबाट जीवात्मा (साधक) सबै अचेतन वा जड प्रकृतिलाई आपूmभन्दा फरक मान्दै आफ्नो वास्तविक स्वरुपलाई चिन्दै त्यसैमा चित्तलाई एकाग्र गर्दछ । यो गहन अवस्थामा आफ्नो अस्तित्वको पहिचान हुन्छ, वास्तवमा म को हुँ, कहाँबाट अलग भएर कता जोडिन आएको हुँ, मेरो वास्तविक स्वरुप के हो भन्ने कुरा छर्लंग हुन्छ भने त्यस समाधिलाई अस्मितानुगत समाधि भनिन्छ । यस अवस्थामा चेतनाबाट जागृत चित्तमा अहंकार बीजरुपमा रहन पुग्दछ र पुरुष तत्व (परम चैतन्य तत्व) एवं चित्तका बीच ऐक्यबद्धता कायम भएको अनुभूति हुन्छ । माथि वर्णन गरिएका विभिन्न समाधिका स्थितिमा पनि तर्क, विचार, भाव, सुखादि चित्तवृत्तिका केही सूक्ष्मांशहरु बाँकी रहेका हुन्छन् वा पूर्ण निरोध नभई वा संस्कारको रुपमा समेत दबिएर रहन्छन् । यही दबित वृत्ति नै बीउका रुपमा अवस्थित हुन्छन् र कुनै कारण वा अवसरले पुनः थप चित्तवृत्ति उम्रिन सक्छन् । त्यसैले उपरोक्त सम्प्रज्ञात समाधिलाई सबीज समाधि पनि भनिन्छ ।

असम्प्रज्ञात समाधि:
सम्प्रज्ञात समाधिको चरणहरुलाई पार गर्दै साधक निरन्तर साधनामार्गमा अगाडि बढेमा समाधिको उपल्लो तहमा पुग्दछ र असम्प्रज्ञात समाधि प्राप्त गर्दछ । असम्प्रज्ञात समाधि भनेको यस्तो समाधि हो जसमा साधकका सबै खालका चित्तवृत्तिहरुको निरोध हुन्छ । उसमा संस्कार स्वरुपमा समेत रहँदैन र समाधिको यो तह पार गरेका साधकमा पुनः चित्तवृत्तिहरु निर्मूल हुन्छन्, पुनः विचारहरुले अवरोध गर्दैनन् वा चित्तवृत्तिहरु उम्रदैनन् । त्यसैले समाधिको यस अवस्थालाई निर्बीज समाधि भनिन्छ । यस्तो बेला साधकले मोक्ष प्राप्त गरेको मानिन्छ । विभिन्न शारीरिक, मानसिक र आध्यात्मिक क्षमताहरु एवं सिद्धिहरुसमेत प्राप्त हुन्छन् । ऊ जस्तोसुकै परिस्थितिमा पनि समावस्थामा रहन्छ । उसमा अज्ञानता नष्ट भई सास्वत ज्ञानको अनुभूति हुन्छ । साधकमा लोभ, मोह आदि भावहरु हराउँछन् र तृष्णारहित बन्दछ । यसबाट आत्मा र परमात्माको मिलन भई साधकले परब्रह्मस्वरुप प्राप्त गर्ने गर्दछ । यही योगको अन्तिम लक्ष्य पनि हो ।

समाधिको महत्त्व
योगको आध्यात्मिक उचाइको फल समाधि हो । समाधि प्राप्तिका लागि नै योगीहरु अथक साधना गर्ने गर्दछन् । समाधिको इच्छा गर्ने गरी ध्यानलगायत अन्य साधना गर्ने व्यक्ति शारीरिकरुपमा स्वस्थ र मानसिकरुपमा शान्त, सकारात्मक, प्रसन्न एवं स्थिर हुन्छ, निर्णय एवं स्मरण गर्ने क्षमता बढ्छ । समाधि प्राप्तिपछि भने अनुहारमा अझ कान्ति बढ्छ । ऊ दयामाया एवं करुणाको भावले ओतप्रोत भएको हुन्छ । उच्च आध्यात्मिक साधना गर्दै योगको अन्तिम विन्दुसम्म पुग्न इच्छुक व्यक्तिहरु समाधि चरणहरुका माध्यमबाट ब्रह्मज्ञान प्राप्त गर्न सक्छन् । मरेपछि मात्र हैन, बाँचेकै अवस्थामा समाधिस्थ भई मोक्ष प्राप्त गर्दछन् भन्ने योगशास्त्रले व्याख्या गरेको पाइन्छ । व्यक्तिमा प्रेम, सदाचारिता, निष्ठाको पूर्णता हुन्छ । यस्ता व्यक्तिले समाजमा नेतृत्व प्रदान गरी अन्धविश्वास, विकृति, अराजकता, अन्याय आदिलाई समाप्त पार्न सक्ने विशेष गुणहरु प्राप्त गरेका हुन्छन् एवं समाज सुधारकका रुपमा विशेष दर्शन एवं चिन्तन दिन सक्ने हुन्छन् । यसबाट समग्र व्यक्तित्व नै उच्च हुन्छ ।

समाधि र जीवनशैली
स्वस्थ जीवनशैलीका निम्ति समाधि र समाधि प्राप्त गरिने पूर्वकर्महरुको अभ्यास निकै महत्त्वपूर्ण हुन्छ । समाधि प्राप्त गर्नको लागि प्रयोग गरिने साधनाले शरीर स्वस्थ र शुद्ध हुन्छ । सात्विक आहार, विहार, विचार तथा व्यवहारहरुका कारण जीवनशैली पनि स्वस्थ बन्दछ । सकारात्मक भावका कारण मनमा उत्साह, उमंग र खुशी प्राप्त भई समग्र आनन्द प्राप्त हुन्छ । समाधिको अवस्था पूर्ण स्वास्थ्यको अवस्था हो । सामान्य व्यक्तिले पनि यौगिक जीवनशैलीलाई पालना गर्ने हो भने निकै लाभ पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्