“दीर्घ रोगको उपचार औषधिले मात्र हुन्न” 



डा. अरुणा उप्रेती
‘मानव शरीरमा हुने अनेक रोगको मूल कारण अस्वस्थकर पेट र अस्वस्थकर भोजन हो’ भन्ने तथ्यलाई प्रतिपादन गर्दै डा. रोबर्ट लस्टिङले लेखेको पुस्तक ‘मेटाबोलिक्ल’ (Metabolical) मा उनले कसरी भोजन उत्पादन गर्ने कम्पनी, औषधि कम्पनी र पत्रु खानाले हामीलाई स्वस्थ रहनबाट वञ्चित गर्दछन् भन्ने कुरा प्रस्ट पारेका छन् । यस पुस्तकमा डा. लस्टिङले आफ्नो खोज र अनुभवरुलाई बडो रोचक तरिकाले व्याख्या गरेका छन् । यी तथ्यहरु हाम्रो सन्दर्भमा पनि सामयिक भएकाले त्यसका महत्वपूर्ण केही कुरा प्रस्तुत गरिएको छ ।
बालरोग विशेषज्ञ बनेपछि डा. लस्टिङले अमेरिकाका बालबालिकाको मोटोपनको समस्याका सम्बन्धमा काम गरे । हर्मोन विज्ञका रुपमा बालबालिकाको समस्या समाधान गर्ने क्रममा उनलाई ‘बालबालिकामा भएका धेरै समस्या औषधि मात्रैले समाधान गर्न नसक्ने रहेछ, कलेजमा पढेको ज्ञानले मात्र बच्चाहरुको मोटोपन, थाइराइडको समस्या हल गर्न नसकिने रहेछ’ भन्ने अनुभव भयो । अनि उनले नयाँ तरिकाले यसको उपचार गर्न शुरु गरे ।
काम र अनुसन्धानको आधारमा उनले, ‘चिनी र अन्य गुलिया पदार्थले कलेजोमा समस्या पार्ने र यसले क्यान्सर र बिर्सने रोगको सम्भावना बढ्ने’ कुराको अनुभव गरे । त्यसपछि उनले भने, ‘मानिसले यस्तो किसिमको भोजन गर्नुपर्छ जसले कलोजोलाई स्वस्थ राख्छ, पेटलाई आराम पु¥याउँछ । यस्तो भोजन गर्दा नै वास्तविक भोजन गरेको ठहरिन्छ ।’ बालरोग र मधुमेह विज्ञ डा. लस्टिङ भन्छन् ‘दीर्घ रोगहरु हुँदा दिइने औषधिले रोग ठीक पार्दैैन, लक्षण मात्र ठीक पार्दछ । दीर्घ रोगलाई औषधिले होइन, भोजनबाट ठीक पार्नुपर्छ ।’
पत्रु खाना रक्सीजस्तै कुलत 
अमेरिकाको पृष्ठभूमिलाई ध्यानमा राखेर लेखिएको यो पुस्तक अहिलेको नेपाल, भारतजस्ता देशका लागि अति नै महत्वपूर्ण छ । किनकि यसमा लेखिएका कुराहरु हामीसँग धेरै मिल्दाजुल्दा छन् । पुस्तकमा उनेले भनेका छन्, ‘यदि हामीले भोजन गर्ने शैली बदलेनौँ भने अस्पताल, औजार र औषधिको जति विकास होस्, रोगहरु कम हुने छैनन् ।’
डा. लस्टिङ लेख्छन्, ‘अमेरिकामा ठूला–ठूला पसलहरुमा पाइने खाद्यवस्तुमध्ये ६२ प्रतिशत पत्रु खाना हुन्छन् । अनेक थरीका रंगहरु र रसायन मिसाइएका यस्ता खानाबाट मानिसले बिस्तारै विषपान गरिरहेका हुन्छन् । यस्ता भोजनले नसर्ने खालका रोगहरु जस्तै– मधुमेह, उच्च रक्तचाप, कलेजोमा बोसो जम्ने समस्या, क्यान्सर, बिर्सिने रोग आदि हुन्छ । यस्ता समस्याको समाधान भनेको सकेसम्म प्राकृतिक तरिकाले बनाएको भोजन खानु नै हो । यसले हाम्रो रोगसँग लड्ने शक्ति बढाएर कोभिडजस्ता महामारीसँग लड्न मद्दत पु¥याउँछ ।’
अहिले त विश्वभरिको २५ प्रतिशत र अमेरिकाको ४० प्रतिशत जनसंख्यालाई कलेजोमा बोसो जम्ने समस्या छ ।
उनले लेखेका छन्, ‘पोषणको बारे डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु बोल्दैनन् । विभिन्न थरीका भोजन उत्पादन गर्ने कारखानाका मालिकहरुले व्यापारिक भोजन अस्वस्थकर हुन्छ भन्ने कुरा लुकाउँछन् । पत्रु खाना बनाउने कम्पनी, ठूला औषधि कम्पनी र जनस्वास्थ्यको बेवास्ता गर्ने सरकार सबै एकै थलोमा छन् । प्राकृतिकरुपमा हरेक खाना स्वस्थकर हुन्छ । त्यही भोजनलाई अनेक माध्यमबाट सस्तो रेसादार तत्व (बाहिरी बोक्रा) निकालेर लामो समयसम्म सुरक्षित रहोस् भन्ने उद्देश्यले अनेक रसायन मिसाई कारखानाबाट पत्रु खाना उत्पादन गरिन्छ । यस्तो प्रकारले बनाएको भोजन खाएपछि हाम्रो कलेजो अस्वस्थ हुन्छ । रेसादार तत्व नभएपछि पेट खराब भएर संक्रमण हुने सम्भावना हुन्छ ।’
‘अमेरिकामा उत्तम डाक्टर, अनेक अस्पताल, शल्यक्रियाको लागि आधुनिक प्रयोगशाला आदि भएर पनि के अमेरिकन जनता स्वस्थ छन् त ?’ भन्ने प्रश्न गर्दै उनले लेखेका छन्, ‘अमेरिकी जनता स्वस्थ छैनन् । वास्तवमा अति विकसित अरु देशहरुमध्ये अमेरिकामा मधुमेहको समस्या सबभन्दा बढी छ । त्यसै गरेर बिर्सने रोग, क्यान्सर र मुटुको रोग हुने देशहरुमध्ये अमेरिका पहिलो ५ मा पर्छ । यी सबको कारण भोजन र जीवनशैली नै हो । कोभिडको महामारीको बेला डा. फाउचीले धेरै राम्रो काम गरे । तर उनीसँग एउटा कुरामा म रिसाएको छु । उनले कोभिडको संक्रमणसँग लड्न भोजनको महत्वबारे कहिल्यै पनि बोलेनन् । यदि उनले यसबारे बोलिदिएको भए समुदायमा निकै सकारात्मक प्रभाव पर्ने थियो होला ।’
नेपालमा कोभिडको महामारी भएको बेला भोजन तथा पोषणको महत्वबारे धेरै नै छलफल भएको थियो । रेडियो, टेलिभिजनलगायत सञ्चारमाध्यमबाट विभिन्न स्वास्थ्यकर्मीहरुले संक्रमणको बेला, संक्रमण नहोस् भनेर कसरी खाने, कस्तो जीवनशैली अपनाउने भन्नेबारे जानकारीहरु दिएका थिए । यसबारेमा मैले नै डेढ वर्षको दौरानमा ३०–४० वटा अन्तरवार्ता रेडियो र टिभीबाट दिएको थिएँ भने विभिन्न पत्रपत्रिकामा घरमा नै स्वस्थकर खाना कसरी बनाएर खाने, कसरी पत्रु खानाबाट बच्ने भन्नेबारे लेखहरु प्रकाशित गरेको थिएँ ।
अमेरिकाका बालबालिकाको उपचारमा झन्डै ४० वर्ष काम गरेपछि डा. लस्टिङले आफ्नो अनुभव लेख्दै भनेका छन्, ‘अमेरिकाका बालबालिकाहरु धेरै अस्वस्थकर खानेकुरा खान्छन् । बिहानको नास्तामा पनि उनीहरु चिनी धेरै भएको पाउरोटी, गुलियो पेयपदार्थ खान्छन् । बच्चाहरुको लागि भनेर तयार गरिएको भोजनमा पनि धेरै चिनी मिसिएको छ । सरकारले खाद्यवस्तुमा चिनी कम गर्नू भनेर बनाएका नीतिलाई धनाढ्य व्यापारीहरुले ठाडै लत्याएका छन् ।’ वास्तवमा वर्तमान नेपालमा पनि शिशुको भोजन, बालबालिकाको नास्ता भनेर दिइने अनेक खाद्यवस्तुमा चिनी धेरै नै मिसाएको हुन्छ । पाउरोटीमा समेत धेरै चिनी राखिएको छ ।
उनले आफ्नो पुस्तकमा कसरी स्वस्थकर मानिने भोजन पनि पत्रु खाना बन्छ भनेर देखाएका छन् । उनले लेखेका छन्, ‘दही स्वस्थकर भोजन हो तर जब दहीमा चिनी र अरु वस्तु तथा रंगहरु मिसाइन्छ, कारखानामा बनाएर बालबालिकाको लागि अनेक फलफूल मिसाई आकर्षक बनाइन्छ, तब त्यो दही स्वस्थकर रहँदैन ।’ नेपालमा पनि दही–मही घरमा नै बनाएर खाने चलन प्रायः छ तर अहिले हामीकहाँ पनि आधुनिकताको नाममा घरमा दही बनाउने चलन हराउँदै गएको छ । बजारका गुलिया दही, रंगीचंगी दही बच्चालाई दिँदा उनीहरुको शरीरमा चिनीको मात्रा बढी जान्छ र समस्या पर्न सक्छ । यो विषयमा त नेपालमा छलफल नै शुरु भएको छैन । कतिपय बालरोग विज्ञहरुले नै बच्चालाई लिटोको सट्टा सेरेलेक दिनुस् भनेको मैले नै सुनेकी छु ।
अमेरिकाका मुटुरोग विज्ञहरुले बालबालिकालाई एक दिनमा ३–४ चिया चम्चा चिनी खान दिए हुन्छ भनेका छन् । तर मेरो विचारमा चाहिँ दुई चम्चा मात्र दिनुपर्छ । एक वर्षमुनिका बालबालिकालाई त चिनी नै चाहिँदैन, दिनु पनि हुन्न । बालबालिकालाई दिइने एक गिलास फलफूलका रसमा ११ चिया चम्चा चिनी हुन्छ । अमेरिकामा यसरी धेरै चिनी भएको नास्ता गर्दा, जुस पिउँदा बालबालिकालाई चिनीको कुलत नै लागिसक्छ । यसले गर्दा वयष्क अवस्थामा नै कलेजो बिग्रने अवस्था आउँछ । जसरी लागूऔषध खानेलाई लागूपदार्थ नखाऊ भन्दा ऊ बौलाएझैँ हुन्छ, त्यसरी नै चिनीको कुलत परिसकेकोलाई पनि यो समस्या हुन्छ ।
नेपाली बालबालिकालाई उनीहरुका मातापिताले तिर्खा मेट्न अनेक चिसो पेयपदार्थ, बट्टाका कथित फलफूलको जुस, जन्मदिन मनाउन अधिक गुलियो भएका केक दिने गरेको पाइन्छ । साथै बालबालिकालाई अत्यधिक चिनी भएका हर्लिक्स, बोर्न भिटा दिने गरिन्छ । यो प्रवृत्तिले गर्दा सानैदेखि हाम्रा बालबालिकाले धेरै चिनीको प्रयोग गर्न पुग्छन् र छिट्टै अस्वस्थ बन्छन् ।  डा. लस्टिङले लेखेका छन्, ‘मस्तिष्कको लागि चिनीले भरिपूर्ण भएका खाद्यपदार्थहरु ठीक होलान् ? मस्तिष्कको तौल हाम्रो शरीरको २ प्रतिशत मात्र हुन्छ ।
रगतमा बगिरहेको ग्लुकोजबाट २० प्रतिशत अंश मस्तिष्कको कामको लागि चाहिन्छ । तर चिनी र चिनीले भरिपूर्ण भएका अन्य पेयपदार्थ खाएपछि मस्तिष्कको कोषमा शिथिलता पैदा हुन्छ । चिनी धेरै भएको खाना खाएपछि साना बालबालिकामा झर्किने, रिसाउने प्रवृत्ति देखिन्छ ।
उनीहरुको कलेजोमा रक्सी खाने मानिसहरुको जस्तै बोसो जम्छ । सन् १९८० भन्दा अघि कलेजोमा बोसो जमेको मानिस अति नै कम सुनिन्थ्यो ।
अहिले त विश्वभरिको २५ प्रतिशत र अमेरिकाको ४० प्रतिशत जनसंख्यालाई कलेजोमा बोसो जम्ने समस्या छ । त्यसैले अनेक औषधि कम्पनीले कलेजोको बोसो जम्ने समस्या कम गर्ने अनेक औषधि निकालेका छन् । तर यस्तो औषधिको सफलता १०–३० प्रतिशत मात्र छ । जबकि भोेजनको माध्यमबाट यो समस्या समाधान हुन्छ ।’
भोजन बनाउने कम्पनीको तिकडम 
डा. लस्टिङ लेख्छन्, ‘प्रायः अमेरिकन बच्चाले नास्तामा खाने केलोगको महले भरिपूर्ण भएको नास्तामा ५६ प्रतिशत चिनी हुन्छ । चिनीले मस्तिष्कमा स्मरण गराउने कोषलाई नष्ट गर्छ । जसरी पहिला चुरोट बनाउने कम्पनीहरुले चुरोटमा भएको निकोटिनले स्वास्थ्यमा खराब गर्दैन भनेर प्रचार गर्थे, अहिले त्यसरी नै भोजन बनाउने कम्पनीहरु चिनीले भरिपूर्ण भएको भोजनले बेफाइदा गर्दैन भनिरहेका छन् । तर अध्ययनहरुबाट निकोटिनले क्यान्सर गराउने र चिनीले पनि विभिन्न नसर्ने खालका रोगहरु लाग्न सक्ने कुरा प्रमाणित भइसकेको छ ।
सन् १९०१ भन्दाअघि मातापिताले शिशुलाई ६ महिनापछि आफूले खाने भोजन नै हातले बेस्सरी मिचेर खुवाउने गर्थे । सन् १९०१ पछि शिशु–भोजनलाई व्यापारीले बनाउन थालेपछि त्यसमा अत्यधिक चिनी मिसाउन थालियो । बच्चाहरुले भोजन चपाउनुपर्ने भएन र उनीहरुले सजिलै निल्न थाले । यसले गर्दा बच्चाहरुको पेटको स्वास्थ्यमा नकारात्मक असर पर्न थाल्यो ।  सन् १९८० भन्दाअघि बालबालिकाको कलेजोमा बोसो जमेको यदाकदा मात्र सुनिन्थ्यो, तर अहिले अमेरिकामा १२ वर्षमुनिका झन्डै १३ प्रतिशत बालबालिकाको कलेजोमा बोसो जम्ने समस्या देखा परेको छ ।’
नेपाली बालबालिकाहरुको कलेजोमा बोसो जम्ने समस्या छ कि छैन भनेर विस्तृत अनुसन्धान त भएको छैन । तर नेपाली बालबालिकाहरुको पनि बदलिएको भोजन शैली, पत्रु खाना (केक, सेतो पाउरोटी, चाउचाउ) अनेक थरीका चिसो पेयपदार्थहरु खाने गरेको हुँदा पक्कै यो समस्या छ भन्न सकिन्छ । तर बालरोग विज्ञहरुले अनुसन्धान गरेपछि मात्र वास्तविकता थाहा हुन सक्छ । नेपालमा यस्तो कुनै अध्ययन भए नेपाली बालबालिकाको अवस्था थाहा हुन्थ्यो । डा. लस्टिङको यो पुस्तकको मुख्य सार हो– ‘आफूलाई र आफ्ना सन्तानलाई स्वस्थकर भोजन दिएर विभिन्न रोगबाट बचाउनु ।’
प्रतिक्रिया दिनुहोस्