जाडो याममा मसलाको प्रयोग कति उपयोगी ?



डा. रामदेव पण्डित

जाडो याममा प्रायः सबैलाई मीठो–मीठो खान मन पर्छ । आयुर्वेदानुसार यस बेला पेटको अग्निबल निकै तेज हुने गर्दछ, फलतः खाइएको सबै कुरा छिट्टै पच्ने हुन्छ । अलिक बढी नै खाए पनि सजिलै पच्छ । यस बेला भोक पनि राम्रो जाग्ने गर्दछ । जसले गर्दा यति बेला स्वादिलो र मीठो–मीठो खान मन पर्छ ।

खानालाई मीठो एवं स्वादिलो बनाउनका लागि विभिन्न खालका मसलाहरुको अधिक प्रयोग गरिन्छ । मसलाहरुले गर्मी दिने भएकोले यसको प्रयोगले शरीरलाई जाडो छल्न सजिलो हुन्छ । मसलाको प्रयोग बुद्धिमानीपूर्वक गरे मात्र मीठो र स्वादिलो खाना खाए पनि स्वास्थ्य बिग्रिन्न । मसलाहरुको प्रयोग सही रुपमा गर्न जानिएन भने यसले स्वास्थ्यलाई नराम्रोसँग बिगार्दछ । अन्यत्र भन्दा नेपाल एवं भारतमा मसलाको प्रयोग अधिक हुने गर्दछ । मसलाको प्रयोग नेपाली एवं भारतीयहरुको संस्कार एवं संस्कृतिको रुपमा रहेको छ । मसलाहरु स्वास्थ्यको लागि हानिकारक हुन् कि स्वस्थकर ? भन्ने प्रश्न पनि धेरैको मनमा होला । मसला स्वास्थ्यको लागि हानिकारक नै हुन्छ भन्ने धारणा पनि हुन सक्छ । वास्तविकता के हो त ?

इन्साइक्लोपिडिया अमेरिकाले मसला तथा जडीबुटीलाई ‘वनस्पतिजन्य उत्पादन, भोजनलाई स्वादिष्ट बनाउने, जसले खानामा सुगन्ध तथा स्वादिलो बनाउन मद्दत गर्छ भनी परिभाषित गरेको छ । भूगोल, हावापानी, जलवायु र स्वाद–ज्ञानले विभिन्न परिकार बनाउँदा मसलाको प्रयोगबारे नेपाली समाज निकै जानकार छ । अझ मसलालाई औषधिको रुपमा, सौन्दर्य सामग्री बनाउन र प्रयोग गर्न पश्चिमी समाजभन्दा नेपाली समाज निकै अगाडि छ ।

मसलामा कार्बोहाइड्रेट, प्रोटिन र बोसो तीनै खाले पोषण पाइन्छ ।

मसला तथा जडीबुटीको भण्डारका रूपमा नेपाल एवं भारत विश्वप्रसिद्ध छ । यहाँ जीरा, जिम्बु, मरिच, अलैँची, अदुवा, पिप्पली, बेसार, खुर्सानी, ल्वाङ, अलैँची, लसुन, प्याज, टिमुर, ज्वानो, तेजपात, मंगरेल, मेथी, धनियाँ, सौंफ, दालचिनी, नागकेकसर, पुदिना आदि मसला प्रमुखरुपमा पाइन्छ । अधिकांश मसलाहरुको स्रोत वनस्पतिहरु नै हुन् । अन्तर्राष्ट्रिय संगठन मानकीकरण (आईएसओ) द्वारा सूचिबद्ध १०९ मसलामध्ये नेपाल एवं भारतमा मात्र ७५ प्रकारका मसलाहरु उत्पादन हुने गरेको पाइन्छ ।

पोषणजन्य महत्व
मसला विशेष गरी भान्सामा पाक्ने परिकारहरूको सुगन्ध अनि स्वादिष्टता बढाउनका लागि प्रयोग गरिन्छ । यसले भोजनमा विशिष्ट स्वाद प्रदान गर्दछ । मसलामा कार्बोहाइड्रेट, प्रोटिन र बोसो तीनै खाले पोषण पाइन्छ । यसर्थ मसलाको पोषणजन्य महत्व छ । मसलाले शरीरमा शक्ति तथा खनिज लवण आपूर्ति गराउँछ । साथै शक्तिवद्र्धक क्षमता (क्यालोरी क्षमता) पनि हुन्छ । हरेक मसलाको खानयोग्य मात्रामा निश्चित मात्राको क्यालोरी पाइन्छ । १०० ग्राम सयपत्री मसलामा ४३७, जाइफलमा ४७२, ज्वानोमा ३३४, जीराको गेडामा ३५६, बेसारमा ३१९, मेथीको गेडामा ३३३ किलो क्यालोरी पाइन्छ । भोजनका परिकारमा मसलाको प्रयोग थोरै भए पनि पोषणमा प्रत्यक्ष योगदान पु¥याउने खालको हुन्छ । त्यस अतिरिक्त मसालाले भोक जगाउन तथा रुचि बढाउने कार्यमा अहम् भूमिका खेल्दछ ।

शरीर–क्रियाजन्य महत्व
मसलाले अधिक ¥याल उत्पन्न गराउनुको साथै अमाइलेज इन्जाइम, न्युरामिनिक एसिड (अम्ल), हेक्सोसामाइन उत्पादन तथा सञ्चार गराउँछ । साथै मुखमा खानेकुरा तथा जीवाणु टाँसिनबाट बचाउन मद्दत गर्दछ । ¥यालको अधिक उत्पादनले अमाइलेज वा पिटाइलिनको उपल्ब्धता बढाउँछ । फलतः त्यसबाट खाना पचाउनमा सहजीकरण हुन्छ । खानालाई सुपाच्य स्वरुपमा रुपान्तरण गरी सजिलै पच्ने बनाउँछ । मसलाले मुखको एवं पाचन प्रणलीमा उत्तेजना ल्याई सक्रियता पनि बढाउँछ । अतः मसलाले भोक जगाउनुका साथै खानाप्रति रुचि एवं भोक पनि बढाउँछ ।

औषधिजन्य महत्व
मसलामा धेरै खाले औषधिजन्य गुण हुन्छ । विभिन्न खाले औषधि बनाउन मसलाहरुको प्रयोग गरिन्छ । प्राकृतिक चिकित्सा प्रणाली, आयुर्वेदिक चिकित्सा तथा युनानी चिकित्सामा वायु उत्सर्जक तत्वको रुपमा मसलाहरुको प्रयोग गर्ने गरिन्छ । प्रायः मसलाले शरीरमा गर्मी पनि दिन्छ । शरीरका छिद्रहरुमा भएको अवरोधलाई हटाउँछ । केही मसलाले अपच, अजीर्णको निवारण गर्दछ । घाउहरु सड्न, गल्न, पाक्न नदिने तथा मांसपेशीहरु बटारिन नदिने खालका मसला पनि हुन्छन् । मसलाकै रुपमा प्रयोग हुने बहुगुणी लसुन उच्च रक्तचाप निवारणको लागि पनि प्रयोग हुने गरेको धेरैलाई थाहा नै छ । लसुनले एलडीएस, कोलेस्ट्रोल तथा ट्राइग्लाइसेराइडको मात्रालाई सन्तुलित गराउँछ । साथै संरक्षित गर्ने एचडीएल कोलेस्ट्रोलको मात्रालाई सामान्यमा राख्न मद्दत गर्दछ ।

स्वाद एवं बास्नाजन्य महत्व
धूलो मसलाबाट सुगन्धित बाफ भएर उड्ने अत्यावश्यक तेल निकालिन्छ । बाफ भएर उड्ने तेलहरू मसलाको सुगन्ध तथा बासनाका लागि तथा स्वादका लागि विख्यात मानिन्छ । मसलाको सुगन्धित तेलले भोक जगाउनुको साथै खानाप्रति रुचि बढाउँछ ।

सौन्दर्य तथा इम्युनिटिजन्य महत्व
हिजोआज महँगा सौन्दर्यशालामा समेत जीरा, दालचिनी, ल्वाङ, जाइफल, मेथी, अलैँचीजस्ता मसला वा त्यसबाट उत्पादित तेलहरूको व्यापक प्रयोग गरिन्छ । सौन्दर्यता र शरीरको रेखदेख एवं सुरक्षाका लागि नेपाली समाजमा मसलाको उपयोग परापूर्वकालदेखि नै प्रचलनमा छ । विविध मसला प्रशोधन नगरी काँचै आज पनि शरीरको रंग र सुगन्ध सुधार्नको साथै सुन्दर देखिन सर्वत्र प्रयोग गरिन्छ । बेसार लोकप्रिय मसलाको श्रेणीमा पर्दछ । जसलाई लेदो बनाएर अनुहारमा एवं शरीरमा लेप लगाएमा छालाको रंग परिष्कृत हुन्छ । यसको साथै शरीरबाट नचाहिँदा रौँ हटाउन पनि बेसारको प्रयोग गरिन्छ । बेसारलाई डण्डिफोरको फोका गलाउन, पाक्न नदिन प्रयोग गर्ने गरिन्छ । मसलाहरुलाई सौन्दर्य वृद्धिमा प्रयोग गरिने यस्ता अनेक उदहारणहरु छन् ।

सन् २०१९ मा इटलीमा भएको एक अनुसन्धान प्रतिवेदन अनुसार जो व्यक्ति हप्तामा चार दिन रातो खुर्सानी राखी तयार पारिएको खाना खाने गर्दछ, उसलाई असमयमै हुने मृत्युको खतरा कम हुन्छ । त्यसै गरी सन् २०१५ मा चीनमा भएको अर्को एक अध्ययन प्रतिवेदन अनुसार हप्तामा एक दिन रातो खुर्सानी खानेभन्दा प्रत्येक दिन खुर्सानी खानेको आयु लामो हुने गर्दछ । साथै त्यस्ता व्यक्तिमा क्यान्सर, हृदयरोग एवं श्वास–प्रश्वाससम्बन्धी समस्या कम हुने गर्दछ । यसको मतलब यो कदापि होइन कि स्वास्थ्य ठीक राख्न अधिक खुर्सानी खानुपर्छ ।

तरकारीमा प्रयोग हुने मसला पनि दुई थरीको मान्न सकिन्छ । पहिलो दैनिक प्रयोग हुने मसला जस्तै– लसुन, अदुवा, जीरा, प्याज, हरियो धनियाँ हुन् भने अर्को गरम मसला जसमा ज्वानो, ल्वाङ, सुकुमेल, मेथी, हिङ आदि पर्दछन् । हाम्रा पुर्खाहरुले मरमसलालाई ढुंगाको खलमा राखेर पिस्थे र तरकारी पाकेपछि मात्र हालेर खाने गर्दथे, जुन ताजा हुन्थ्यो र स्वास्थ्यका लागि हितकर थियो । अचेल खलमा पिस्ने काम लुप्त हुँदै गएको छ र मसला पहिले नै तेलमा भुट्ने चलन आएको छ । सजिलोका लागि ताजा मसलाको सट्टा सिल प्याकवाला मसलाको प्रयोग बढेको छ ।

सिल प्याक भएका मसलामा प्राकृतिक लवण र औषधीय गुण पूर्ण मात्रामा हुँदैन । अहिले जति पनि प्याकेटवाला मसला प्रयोग हुन्छन्, ती रंग हालिएका हानिकारक हुन्छन् । तरकारीमा ताजा मसला जस्तै– अदुवा, लसुन र जीरा थोरै मात्रामा पिसेर राख्नु बेस हुन्छ । यसका अलावा गरम मसला धनियाँ पत्ता, ज्वानो, पुदिना, टिमुर, अलैंची आदि धेरै कम मात्र प्रयोग गर्नुपर्छ । गरम मसला दैनिक प्रयोग गर्नु आवश्यक छैन । धेरै मसलाको दैनिक प्रयोग स्वस्थकर हुँदैन ।

त्यसैले मात्रा मिलाएर खाए मसला स्वस्थकर हुन्छ, अधिक मात्रामा खाए त्यही हानिकारक बन्न जान्छ । त्यस अतिरिक्त मसलालाई कसरी खानामा प्रयोग गरिन्छ, त्यो पनि उत्तिकै महत्वपूर्ण हुन्छ । भान्सामा जति पनि मरमसला प्रयोग गरिन्छ तिनलाई सही रूपमा बनाउन जाने, मिसाउन र पकाउन जाने तिनले औषधिको काम गर्दछन् । यहाँ सही रुपमा भन्नुको अर्थ गुणस्तरीय मसलाको निर्धारित मात्रा भनेर बुझ्नुपर्छ ।
स्वादिलो खानाका साथै स्वास्थ्यका लागि जाडो याममा गुणस्तरीय मसलाहरु मात्रा मिलाएर खाएमा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । आजभोलि जिब्रोको स्वाद र नाकको बास्नाको लागि अधिकभन्दा अधिक मसला प्रयोग गरेको पाइन्छ, जुन हानिकारक हो । मसला बहुगुणी छ, मात्रा मिलाएर सही तरिकाले पकाएर खान जाने बहुहितकारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्