ग्ल्यामर नेपालले सन् २०२३ सेप्टेम्बर २४ मा ‘लिटिल स्टार प्रिन्स र प्रिन्सेस २०२३ छान्यो’ भनेर समाचार प्रकाशित ग¥यो । विजयी प्रतियोगीका उमेर उल्लेख नगरे पनि विद्यालय जानेको लागि समर्पित भन्ने उल्लेख थियो । साथै प्रकाशित फोटोमा स्पष्टसँग बालबालिका भएको देखिन्थ्यो । त्यसअघि ग्ल्यामार नेपालले सन् २०२२ जुन २८ मा बालिका श्रेया किड्स सुपर मोडेल २०२२ छानिएको भनेर समाचार प्रकाशित गरेको थियो । यी समाचारहरूले बालबालिकालाई संलग्न गराई सौन्दर्य प्रतियोगिता हुने गरेको र त्यसलाई स्वीकार्य कार्यको रुपमा लिइएको देखिन्छ ।
तर केही वर्षपहिले, ‘द काठमाण्डु पोष्ट’मा फरक किसिमको लेख प्रकाशित गरिएको थियो । लेखले ‘बालबालिकाका लागि सौन्दर्य प्रतियोगिता : शोषण वा हानिरहित मनोरञ्जन ?’ भनेर सकारात्मक तथा नकारात्मक पक्षको बारेमा चर्चा गरेको थियो ।
नेपालमा यस्ता सौन्दर्य प्रतियोगिताका सकारात्मक वा नकारात्मक पक्षका बारेमा बहस शुरु हुनुभन्दा पहिले सन् २०१३ सेप्टेम्बर १९ मा एनबीसी न्यूजले एक समाचार छापेको थियो, जसमा फ्रान्सेली सिनेटले कम उमेरमा हुने योनिकीकरणबाट बचाउन १६ वर्षभन्दा मुनिका बालिकाको सौन्दर्य प्रतियोगितालाई प्रतिबन्धित गर्दै, बालिकालाई संलग्न गराउनेलाई २ वर्षको जेल तथा ३० हजार युरोको सजाय पनि तोकेको थियो ।
यौनिकीकरण समाजका अन्य पक्षमा हुने भए पनि यस लेखमा हामी विशेषतः बालबालिकाको यौनिकीकरणको चर्चा गर्नेछौं ।
यौनिकीकरण के–के हो ?
यौनिकताभन्दा धेरैजसो व्यक्तिहरूले प्रत्यक्ष यौन क्रियाकलाप हो भनेर बुझ्ने गर्दछन् तर यसको अर्थ फराकिलो छ । यौनिकता भनेको यौन सम्बन्धहरूका बारेमा हाम्रा विचारहरू, यौनसम्बन्धी हाम्रा मूल्य मान्यता तथा धारणाहरू, यौनका सम्बन्धमा हाम्रा दृष्टिकोणहरू, यौनको अर्थ, हामी कसरी यी कुराहरूलाई अभ्यास गर्दछौं तथा हामी कसरी त्यसलाई नियन्त्रण वा सीमित गर्दछौं भन्ने कुराहरूको समष्टिगत रूप हो । अहिले यौनिकताको विभिन्न वृत्तहरू अनुसार वर्णन गर्ने गरिन्छ । १. ऐन्द्रिकता (इन्द्रियबाट सुख प्राप्त गर्ने), २. यौन स्वास्थ्य (यौन, प्रजनन तथा मातृ स्वास्थ्य, यौनरोग), ३. सम्बन्ध (प्रणय तथा साथीसङ्गी वा परिवारसँगको सम्बन्ध), ४. यौन पहिचान (जैविक लिङ्ग, यौन परिचय, लैङ्गिक पहिचान, लैङ्गिक भूमिका) तथा ५. यौनिकीकरण (अन्य व्यक्तिलाई नियन्त्रण गर्न यौनको प्रयोग) ।
यौनका कुराहरूलाई प्रयोग गरी अन्य व्यक्तिलाई नियन्त्रण गरिनुलाई नै यौनिकीकरण भनिन्छ । यौनिकताका अन्य वृत्तका सकारात्मक पक्ष बलियो भए पनि यस यौनिकीकरणलाई भने नकारात्मकता बोकेको वृत्त मानिन्छ । यौनिकीकरण गरी अरुलाई नियन्त्रण गर्न यौनको प्रयोेग गरिनुलाई भने स्वस्थ कुरा मानिदैन । दुर्भाग्यपूर्र्ण तवरले धेरै मानिसले अरु कसैलाई आघात पु¥याउन वा फाइदा लिन यसको प्रयोेग गर्छन् । कतिपय हामीलाई यौनिकीकरण भइरहेको भन्ने पनि थाहा हुँदैन । यो एकदमै थाहा नपाउने किसिमले हुन्छ । कतिपय विज्ञापन सामग्रीमा आफ्ना उत्पादनको बिक्री बढाउन यौनसँग गाँसेर सन्देश दिने कुरा छापा वा विद्युतीय सञ्चारमाध्यममा प्रशस्तै छन् । त्यसमा पनि पुरुषलाई बिक्री गर्न खोजेको वस्तुमा थोरै पहिरनका साथ महिलाको प्रयोग पनि प्रशस्तै देखिन्छ । त्यसै गरी छापामा यौनसम्बन्धी समाचारलाई अतिशयोक्ति ढंगले प्रकाशित गरी कसैलाई नियन्त्रणमा लिनु यसको अर्को उदाहरण हो । यौनिकीकरणको चरम उदाहरणको रुपमा बलात्कारलाई लिइन्छ, यो अर्को व्यक्तिलाई नियन्त्रण गर्न यौनको प्रयोग गरिएको एक स्पष्ट उदाहरण हो । त्यसै गरी यौन शोषण र वेश्यावृत्ति अन्य त्यस्तै उदाहरण हुन् ।
यौनिकीकरणको सामान्य अर्थ यौन विशेषतायुक्त बनाउने वा यौनिकताको बारेमा सचेत बनाउने भन्ने अर्थ लाग्दछ तर अहिले यौनिकीकरण भएको स्थितिमा व्यक्तिलाई एक यौनवस्तुको रुपमा लिइन्छ र उसको शारीरिक विशेषता तथा यौन आकर्षकताको आधारमा मूल्याङ्कन गर्ने गरिन्छ ।
बालबालिको यौनिकीकरण:
हुन त बाल्यकालमा पनि यौनिक विकास नहुने भन्ने होइन तर यो एक किसिमले सुषुप्त अवस्थामा रहेको हुन्छ । विख्यात मनोविश्लेषक सिग्मण्ड फ्रायडका अनुसार पनि ६ वर्षदेखि १२ वर्षको उमेरमा यो सुषुप्त अवस्थामा नै रहन्छ । विशेष यौवनावस्थामा पुगेपछि फेरि शारीरिक परिवर्तनको साथसाथै यौन भावनाको विकास प्रत्यक्षरुपमा देखिने गरी हुन थाल्छ । अहिले यौवनावस्था प्रवेशको उमेर चाँडो हुन थालेको कुरा अर्को विषय हो ।
विशेष गरेर बाल्यकालमा समयभन्दा पहिले नै प्रत्यक्षरुपमा यौनवस्तुको रुपको साथै कामुकता प्रचुरतासाथ बालबालिकालाई प्रस्तुत गरिने प्रचलन संसारभरि नै बढ्दो छ । यसका पक्षधरहरूले विभिन्न सीप, आत्मविश्वास बढाउने र भावी जीवनको लागि तयार गर्ने कुरा गर्दछन् । यस्तो परिस्थिति बालकको भन्दा पनि बालिकाको हकमा धेरै पाइने गर्दछ । यसका अनेक उदाहरणहरू नेपाल तथा अन्य देश वा समाजमा प्रशस्तै पाइन्छन् ।
१. सौन्दर्य प्रतियोगिता: विशेष गरी बालिकाको सौन्दर्य प्रतियोगिता गराइनु र त्यसमा पहिरन र शृङ्गार मात्रै होइन, चालढाल पनि वयष्क महिलाको जस्तो गरिनु यौनिकीकरणको उदाहरण हो ।
२. आमसञ्चारमा यौनिकीकरण: यस्तो किसिमले बालबालिकाको यौनिकीकरण हुनुमा आमसञ्चार माध्यम अनि अहिलेको स्थितिमा सामाजिक सञ्जालको निकै ठूलो हात रहेको छ । बालबालिका तथा किशोरकिशोरी विशेष गरी आमसञ्चारमा भुल्न मन पराउने उमेर समूह हो । अहिले आमसञ्चारका प्रसारित सामग्री जस्तै– टेलिभिजन तथा पत्रपत्रिकामा आउने सामग्री, कार्टुन, खेलकुद, भिडियो गेमजस्ता कतिपय साधन वा सामग्रीमा बालबालिकाको यौनसम्बन्धी कुरा, कम लुगामा उपस्थिति, उन्नत वक्षको प्रस्तुति, वयष्कजस्तो शृङ्गार अनि परिहरनका साथै यौन उत्तेजक वा कामुकरुपमा पात्रका तस्वीर, रेखाचित्र वा चलचित्र प्रस्तुत गरिएका हुन्छन् ।
३. नृत्य तथा गायन प्रतियोगिता: अहिले बाललालिकालाई वयष्कका गीत गाउन लगाएर होस् वा वयष्क चालढालमा नाच्न लगाउने ‘रियालिटी शो’ प्रशस्तै छन् । हामी त्यो नमिल्दो भयो भन्नुको सट्टा गज्जबको प्रतिभाशाली भनेर प्रशंसा गरिरहेका हुन्छौं ।
३. पहिरन तथा शृङ्गार: अहिले बालबालिकाको पहिरन पनि वयष्क व्यक्तिको जस्तो लगाइदिने वा लगाउने चलन बढ्दो छ, त्यसमा पनि बालिकाको । त्यसै गरी बालिकाले वयष्कको जस्तो लाली, लिपस्टिक, आँखाको परेला थप्ने, नङमा पालिस लगाउने गरिन्छ ।
४. शारीरिक बनावट: बालबालिका र वयष्क व्यक्तिको शारीरिक बनावटमा फरक हुन्छ । अहिले बालबालिका वा किशोरकिशोरीलाई उनीहरूको शारीरिक बनोट पनि वयष्कजस्तो देखिनुपर्ने वा सौन्दर्यको मापदण्ड अनुसार बनाउनुपर्ने दबाब छ । किशोरीलाई पातली (जिरो फिगर) र किशोरलाई मांसपेशीयुक्त बलिष्ठ शरीर ।
यस्तो किन भइरहेको छ त ?
पहिले सानै उमेरमा विवाह हुने प्रचलन हुँदा शायद अहिलेको जस्तो यौनिकीकरण समस्या थिएन । तर अहिलेको बदलिएको परिस्थितिमा भने किन यस्तो भइरहेको छ भन्ने बारेमा सोच्नु आवश्यक छ । कतिपय स्थितिमा जानेर वा नजानेर बालबालिकाले मात्रै होइन, मातापिता वा अभिभावकको अपेक्षामा पनि राम्रो वा सुन्दर देखिने वा देखाउने चाहनाले गर्दा वालबालिकाले समेत वयष्कजस्तै नै पहिरन तथा शृङ्गार गर्न पुग्छन् । त्यसको साथै त्यही किसिमको धारणा र व्यवहार पनि गरेको पाइन्छ, जसले यौनिकीकरणलाई बढावा दिएको देखिन्छ । कसैले यसबारे टिप्पणी गरेमा ‘के भयो त?’ भन्ने जवाफ आउने गर्दछ ।
यसमा विशेष गरेर आमसञ्चारका विभिन्न माध्यमको विशेष भूमिका रहेको पाइन्छ । सबैले नै आकर्षित हुने र रुचाउनेजस्तै बालबालिका वा किशोरकिशोरी झनै विशेषरुपमा आकर्षित र रुचाउने गर्दछन् । त्यसै कारण पनि उनीहरूले धेरै समय त्यसमा बिताउने गर्दछन् । त्यसको प्रभाव भौतिक पक्षमा मात्रै होइन, धारण, सोच अनि मूल्य–मान्यतामा पनि पर्दछ । भूमण्डलीकरण भनिने शब्दको प्रयोग गरिए पनि गहिरिएर हेर्ने हो भने पश्चिमा रहनसहन र मूल्य–मान्यताको विस्तार भएको पाउँछौं । अहिले पश्चिमा रहनसहन र मूल्य–मान्यतालाई मान्दा सर्वश्रेष्ठ ठान्ने र गर्व गर्ने चलनले पनि समस्यामा घिउ थप्ने काम गरेको छ ।
मानसिकरुपमा नै प्रभाव परेपछि, कामुकता वा यौन आकर्षक (कभहथ) लाई कम गर्न बालबालिका, त्यसमा पनि यौवनावस्थामा पुगिसकेका किशोरीहरूले सहजै मान्दैनन् । साथी–सङ्गीको प्रभाव पनि मुख्यरुपमा आउने गरेको छ । यहाँ हामीले स्वयं यौनिकीकरण भएको उदाहरण पनि पाइएको छ । ६ देखि ९ वर्षको उमेरका केटीहरूले स्वयं यौनिकीकरण गर्ने गरेको पनि एक अध्ययनमा देखिएको छ । यो पनि आमसञ्चार प्रचारित सामग्रीको प्रभाव हो भनिएको छ ।
समस्या के त ?
यौनिकीकरणको कुनै अनुभव भयो भन्दैमा सबै बालिका गम्भीर नकारात्मक असर भोग्न पुग्छन् भन्ने होइन, तर अहिलेसम्मका अध्ययन अनुसन्धानले विभिन्न नकारात्मक असर पर्ने बारे चर्चा गरेका छन् । शैक्षिक तथा पछि वृत्तिविकासमा नै नकारात्मक असर पर्दछ । उनीहरूको विशेष ध्यान नै रङ्गरुप राम्रो बनाउन र आकर्षक बनाउनेतिर जान्छ, नकि शैक्षिक वा अन्य वृत्तिविकास, उन्नति गर्नेतिर । यौन वस्तुको रुपमा प्रस्तुत भएपछि अन्य केटी साथीहरूसँगको सम्बन्धमा पनि प्रभाव पर्दछ । अनि त्यसै गरी केटाहरू र वयष्क पुरुषहरूसँगको सम्बन्धमा पनि प्रभाव पर्दछ । केटाहरूसँगको प्रणय भेटघाट, बालिकामाथिको यौन हिंसाको सन्दर्भमा फरक धारणा हुने गर्दछ ।
विशेष गरी बालिकाको वेश्यावृत्तिको लागि बेचबिखन हुने र वेश्यावृत्तिमा लाग्ने वा लगाइने प्रवृत्ति यौनिकीकरणको निकृष्ट नमुना हो । भनिन्छ, बालिकाको यौनिकीकरणले नयाँ आकांक्षा र अनुभवलाई बढावा दिन्छ । साथै एक किसिमले बजारको सृजना गर्दै बालिकाहरूको बेचबिखन र वेश्यावृत्तिमा उनीहरूको संलग्नतालाई सहयोग पु¥याउँछ । किनकि यहाँ बालिकालाई एक यौनवस्तुको रुपमा हेरिने र प्रस्तुत गरिने गरिन्छ । अर्कोतिर, यौन चलचित्रमा बालिकाको भूमिका वयष्क महिलालाई अभिनय गर्न लगाइए पनि हेर्ने व्यक्तिले भने बालिकालाई यौनसँग सम्बन्धित कुराको रुपमा हेर्ने गर्दछन् ।
अहिले विश्लेषण गर्दा सबैभन्दा ठूलो समस्या ‘यो एक समस्या हो’ भनेर समाजले पहिचान गर्न नसक्नु हो । त्यसमा पनि समाजले यसको प्रस्तुति वा प्रदर्शनलाई ‘प्रतिभा’ भनेर झनै बढावा दिने प्रयास गरिरहनु हो । यसले गर्दा यो समस्या बिस्तारै सामान्यीकरणतिर लागिरहेको छ । बालबालिकामा यौनिकीकरणको दीर्घकालीन असर के–कस्तो पर्दछ भनेर विचार गर्न जरुरी छ ।
के गर्नुपर्ला त ?
यौनिकीकरणको नकारात्मक प्रभावलाई कम गर्न विभिन्न उपाय गर्न सकिन्छ । त्यसमध्ये एक महत्वपूर्ण पक्ष विद्यालयमा आधारित क्रियाकलाप गर्नु हो । यसको लागि विद्यालयमा बालबालिकालाई आमसञ्चार माध्यमले कसरी यौनिकीकरण गर्छन् भनेर सिकाउनुपर्दछ । साथै आमसञ्चार माध्यममा भनिएका वा देखाइएका सबै कुरा सत्य नहुने कुराका साथै के–कस्ता पत्रपत्रिका, टेलिभिजन वा अन्य आमसञ्चार सामग्रीको अध्ययन गर्ने भनेर जानकारी गराउनुपर्दछ । विद्यालयमा गरिनुपर्ने अर्को महत्वपूर्ण कार्य बृहत् यौनिकता शिक्षा दिनु हो । यसले स्वस्थ यौन तथा यौनिकताका साथै उचित मूल्य–मान्यताको विकासमा मात्रै होइन सही निर्णय लिने क्षमतालाई बढाउँछ । त्यसदेखि बाहेक, विद्यालयले बालबालिकाले मन पराउने अन्य स्वस्थ विकल्पहरू जस्तै– खेलकुद, अन्य बौद्धिक, मनोरञ्जनात्मक अतिरिक्त क्रियाकलापमा उनीहरूलाई संलग्न गराउन सक्छन् ।
त्यसै गरी परिवारको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । के–कस्तो आमसञ्चार माध्यममा पहुँच दिने, खेलौनादेखि शृङ्गार वा पहिरनको सन्दर्भमा अनावश्यकरुपमा यौनिकीकरण नहुने किसिमको बारेमा विशेष सजग हुने गर्नुपर्दछ । आफ्ना बालबालिकालाई आफ्ना जीवनको वास्तविक लक्ष्य हासिल गर्न आवश्यक दक्षता तथा आत्मसम्मानको विकासका साथै शारीरिक स्वस्थता हासिल गर्ने बानीव्यहोरा अपनाउन सहयोग गर्नुपर्दछ । सामाजिकरुपमा बालबालिकाको यौनिकीकरणको विरुद्धमा संगठित आवाज उठाउनुको साथै यसका नकारात्मक असर न्यूनीकरणको लागि पनि प्रयास गरिनुपर्दछ ।