बाथरुममा बस्दा महत्वपूर्ण विचारहरु गर्नुसम्म त ठीकै हो, तर आधुनिक जीवनशैलीमा बाथरुममा बसेर लामो समय मोबाइल चलाउने, पत्रपत्रिका वा पुस्तक पढ्ने बानीले पायल्सको समस्यासमेत वृद्धि गरिरहेको सम्बन्धित विज्ञहरुको भनाइ छ । पायल्स (Hemorrhoids) ले ज्यान नै लिने त होइन र अरुका अगाडि कुनै समस्या छ जस्तो पनि लाग्दैन । तर पायल्सको असर अत्यन्तै पीडादायक पनि हुन्छ । पायल्सका कारण हुने रक्तश्राव र पीडाका कारण मानिस त्रसित र निरास बन्न पुग्छ, उसको दैनिक जीवनमा समेत गम्भीर असर पर्छ । चौथो चरणमा पुगेको पायल्सको पनि उपचार गरिएन भने त बिरामीलाई डिप्रेसनको स्थितिमा समेत पु¥याइदिन्छ । दिसामा अलि–अलि रगत आउन थाल्दैको अवस्थामा जीवनशैली परिवर्तन गरेर उपचार गराएमा पायल्स राम्ररी ठीक हुन्छ । तर शुरुको अवस्थामा वास्ता गरिएन भने यसको पीडा बढ्दै जान्छ र उपचारका लागि अपरेसन नै गर्नुपर्ने हुन्छ । मलद्वारसँग सम्बन्धित समस्या पायल्स मलद्वारबाहिर र भित्र दुवै ठाउँमा हुन्छ । पायल्स हुँदा मलद्वार चिलाउने, पोल्ने, दुख्ने हुन्छ । मलद्वारभित्र नसा सुन्निने, घाउ हुने, दिसामा रगत आउने र मासुको सानो डल्लो अर्थात् मासुको स–साना डल्लाको झुप्पोजस्तो मलद्वारबाहिर निस्किने हुन्छ । पायल्स के कारणले हुन्छ, समस्या हुनै नदिन के गर्न सकिन्छ र समस्या भइहालेमा कसरी उपचार गर्ने भन्ने सम्बन्धमा पाटन अस्पतालका वरिष्ठ शल्यचिकित्सक डा. शान्तवीर महर्जनसँग कुराकानी गरी यो लेख तयार गरिएको छ । बाँकी जानकारी उहाँकै शब्दमा:
पायल्स के हो, कसलाई हुन्छ ?
‘पायल्स (Hemorrhoids) मानिसको मलद्वारसँग सम्बन्धित समस्या हो । मानिसको दिसा गर्ने प्वाललाई घडीको डायलसँग मिलायो भने तीन बज्ने ठाउँमा एउटा, एघार बज्ने ठाउँमा एउटा, सात बज्ने ठाउँमा एउटा गरी तीनतिर पायल्स बसेको हुन्छ । पायल्स स–साना मासुका डल्लाहरुको समूह मिलेर बनेको एउटा ठूलो डल्लो वा झुप्पो हो । पायल्स रगतको नसा, त्यहीँको मासु वा कोषहरुको समूहले बनेको हुन्छ । यो सबैमा हुन्छ तर जसको दिसा गर्ने प्वाल खुल्ने र बन्द गर्ने प्रक्रियामा गडबडी आउँछ, उसलाई पायल्सको समस्या हुन्छ । पायल्सलाई रक्तनली तथा कोषहरुको समूहले झुन्ड्याएर राखेको हुन्छ । जब दिसा गर्ने प्वाल खुल्ने र बन्द गर्ने प्रक्रियामा गडबढी आउँछ, त्यसपछि पायल्स बाहिर आउँछ ।
पायल्स इन्टरनल र एक्सटर्नल (भित्री र बाहिरी) गरी दुई किसिमको हुन्छ । इन्टर्नल पायल्स हुँदा धेरै दुखाइ हुँदैन । तर एक्स्टर्नल पायल्समा बिरामीलाई धेरै पीडा हुन्छ । विभिन्न कारणले मलद्वारको नसा फुल्ने, चिलाउने, घाउ भएर दिसा गर्दा रगत आउने, तन्किएर पायल्स बाहिर आउने र पीडा हुने हुन्छ । यो विभिन्न चरणमा भएको हुन्छ ।
डेन्टेट लाइनभन्दा तल आउनेलाई एक्सटर्नल र माथि रहनेलाई इन्टर्नल पायल्स भनिन्छ ।
सामान्यतया दिसा कब्जियत हुने, दिसा गर्दा बल गर्ने, दिसा गर्ने समय निश्चित नभएका अर्थात् दिसा गर्ने बानी बिग्रिएका, दिसा गर्न बस्दा पत्रिका–पुस्तक पढ्ने, मोबाइल चलाउने, गर्भवती महिलालाई पायल्स हुने सम्भावना धेरै हुन्छ । यस्तै गरी अधिक मोटोपन भएका, माछा–मासु, अण्डा, तारेको–भुटेको खाना, बजारका पाकेट बन्द खाना वा जंकफूड धेरै खाने, गह्रौँ वस्तु उचाल्ने, कडा व्यायाम गर्ने, निष्क्रिय जीवनशैली अपनाउने, बारम्बार पखाला लाग्ने, एकै दिनमा धेरै पटक दिसा गर्ने बानी भएकालाई पनि मलद्वारको नसा कमजोर भई पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।
त्यस्तै गरी दिसा गर्ने प्वाल खुल्ने र बन्द गर्ने प्रक्रियामा गडबडी आउँदा पनि पायल्स हुने सम्भावना हुन्छ । जस्तो– दिसा आइसक्दा पनि मलद्वारलाई कसिलो बनाएर राख्ने र धेरैबेर दिसा गर्न बसेर वा दिसा गर्दा बल गरेर मलद्वारको प्वाल खोलिराख्दा पनि पायल्स हुन सक्छ ।
कम उमेरका तथा बच्चाहरुलाई पायल्स निकै कम हुन्छ । ३५-४० वर्ष कटेपछि भने यो समस्या बढ्दै जान्छ । पुरुषलाई भन्दा महिलालाई बढी हुन्छ । बच्चा पाएका महिला र पाको उमेरका मानिसको मलद्वार खुकुलो हुने भएकाले त्यस्तो समूहका मानिसलाई पायल्स बढी देखिन्छ ।
रक्तश्राव मुख्य लक्षण
पायल्समा धेरैजसोलाई रक्तश्राव हुन्छ, दिसा नै रातो देखिने हुन्छ र तपतप रगतका थोपा चुहिने हुन्छ । मलद्वार चिलाउने, मलद्वारमा घाउ हुने, पोल्ने, मलद्वारवरिपरि दुख्नेजस्ता लक्षण देखिन्छन् । इन्टर्नल पायल्सको पनि विभिन्न चरण हुन्छ । इन्टर्नल पायल्स चौथो चरणमा नपुगी दुख्दैन । इन्टर्नल पायल्स पनि चरण बढ्दै गएपछि बाहिर निस्किन्छ । इन्टर्नल पायल्समा दिसा गर्दा रगत जाने लक्षण धेरैमा हुन्छ । दिसा गर्न बस्दा पहिला झ्वार्र रगत आउँछ, अनि तपतप चुहिन्छ । ताजा रगत आउँछ । रगत रातो र चम्किलो खालको हुन्छ । शुरुमा दुखाइ हुँदैन । कसै–कसैलाई दिसा गर्दा रगतमात्र नभई मासु पनि बाहिर आउँछ ।
कस्तो अवस्थामा डाक्टरकहाँ जाने ?
आम मानिसमा दिसा गर्दा रगत आयो भने पायल्स भन्ने चलन छ । रगत देखिएपछि पायल्स भयो भनी औषधि पसलमा सोधेर वा यताउता सोधेर औषधि खाने चलन छ । यो धेरै नराम्रो तरिका हो । दिसामा रगत आउने भनेको पायल्सले मात्र होइन, अरु धेरै कारणले हुन्छ । यसरी दिसामा रगत आयो, दुख्यो, मासुको डल्लो आयो भने डाक्टरकहाँ जाँदा पायल्स मात्र नभई अरु कारणले पनि रगत आएको रहेछ भने बेलैमा पत्ता लाग्छ ।
माथि उल्लिखित लक्षणहरु देखिएमा डाक्टरकहाँ परीक्षणका लागि जानु उपयुक्त हुन्छ । पायल्सको उपचारको लागि मुख्य त सर्जनले नै गर्ने भएकोले सर्जनकहाँ जानु ठीक हुन्छ । तर सल्लाह जुन डाक्टरकहाँ गएर लिए पनि हुन्छ । पायल्सको शंका लागेर अस्पताल आएपछि सर्वप्रथम लक्षणहरु सोधेर बिरामीको हिस्ट्री लिइन्छ । त्यसको आधारमा पनि डाक्टरलाई रोग यकिन गर्न सजिलो हुन्छ । यसका साथै एनस्कोप तथा प्रटोस्कोप भन्ने साधारण उपकरणको प्रयोग गरी परीक्षण गरेर रोगको यकिन गरिन्छ । यो उपकरण प्रयोग गर्दा कुनै गाह्रो हुँदैन, एकछिन् अलि अप्ठेरो हुने मात्र हो । प्रटोस्कोपबाट इन्टर्नल पायल्स राम्ररी देखिन्छ । एक्सटर्नल पायल्स हेर्नका लागि त केही चाहिँदैन । बिरामीलाई बायाँपट्टी ढल्काएर दुवै खुट्टा माथि उचालेर मलद्वारवरिपरि हेरी पायल्स यकिन गर्न सकिन्छ । प्रटोस्कोप तथा एनोस्कोपबाट पायल्स यकिन गर्न एकदमै उपयुक्त हुन्छ । पहिलो, दोस्रो र तेस्रो चरणको पायल्स यकिन गर्न यी उपकरण निकै उपयोगी हुन्छन् ।
पायल्सका प्रकार
पायल्स इन्टर्नल र एक्सटर्नल दुई किसिमका हुन्छन् । दिसाको घरमा एउटा डेन्टेट लाइन (dentate line) भन्ने हुन्छ । डेन्टेट लाइनभन्दा तल आउनेलाई एक्सटर्नल र माथि रहनेलाई इन्टर्नल पायल्स भनिन्छ । एक्सटर्नल पायल्स बाहिरबाटै देखिने र ज्यादै दुख्ने खालको हुने हुन्छ । इन्टर्नल पायल्सलाई पनि चार चरणमा विभाजन गर्न सकिन्छ । पहिलो चरणमा खालि रगतमात्र जान्छ । दिसा गर्दा मासु बाहिर आउने त्यस्तो केही हुँदैन । बिरामीले दिसामा रगत गयो मात्र भन्छन् । हामीले प्रटोस्कोपी प्रयोग गरी हेर्दा राम्ररी नै यकिन हुन्छ । दोस्रो चरणको पायल्समा चाहिँ रगत पनि जान्छ, मासु पनि बाहिर आउँछ तर दिसा गरिसकेपछि आफैँ भित्र जान्छ । केही गरिरहनुपर्दैन । तेस्रो चरणमा चाहिँ दिसा गर्दा पायल्स बाहिर आउँछ र दिसा गरिसकेपछि आफैँ भित्र जाँदैन, औँलाले ठेल्नुपर्छ । दिसा गर्दा मासुको डल्लो बाहिर आयो र भित्र ठेल्न बिरामीले सकेन भने चौथो चरणको हो । यसमा बिरामीलाई धेरै दुख्छ । यो इन्टर्नल पायल्सकै चौथो चरण हो । यसमा घाउ पनि हुन सक्छ । सुन्निन्छ पनि, रगत जमेको हुन्छ, पायल्समा कडापन हुन्छ । सीधा उभिन र सामान्यरुपमा बस्नै सक्तैन, हिँड्न पनि गाह्रो हुन्छ ।
चरण अनुसार पायल्सको उपचार
उपचार विधिको सहजताका लागि नै चरण छुट्याइएको हो । पायल्सको पहिलो चरणका लागि खानपिनमा मात्र ध्यान दिए पनि पुग्छ । खानपिनमा सुधार गर्नुपर्छ, अरु थप उपचार वा अपरेसन नै चाहिँदैन । तर जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । जस्तो– धेरै कब्जियत भएकाहरुले कब्जियत हटाउने उपायहरु गर्नुपर्छ । बाथरुममा लामो समय बस्ने, पत्रिका–पुस्तक पढ्ने, मोबाइल हेर्ने, गेम खेल्ने बानी छ भने त्यो हटाउनुपर्छ । उसलाई के खाँदा कब्जियत हुन्छ, त्यस्ता खानेकुरा खान छोड्नुपर्छ । मासु, चिल्लो भएका खानेकुरा, मैदाबाट बनेका विभिन्न परिकारहरु, जंकफूड आदि खानुहुँदैन । त्यसको सट्टा रेसायुक्त खानाहरु, दाल गेडागुडी, हरियो सागपात, सलाद, फलफूल आदिमा जोड दिनुपर्छ । पानी र झोलिलो खानेकुरा बढी खानुपर्छ । यसले गर्दा बिरामीलाई दिसा गर्न सजिलो हुन्छ, कन्नुपर्दैन । पहिलो चरणको पायल्सलाई यसले नै ठीक पार्छ । जीवनशैली सुधारिरहेमा दोहोरिँदैन पनि ।
दोस्रो चरणलाई धेरैजसो स्केलेरोथेरापी (sclerotherapy injection) अर्थात् सुई लगाएर उपचार गरिन्छ । पायल्सको बीचमा स्केलेरोजिङ एजेन्ट (sclerosing agent) नामक औषधिको इन्जेक्सन दिइन्छ । यो साधारण खालको हुन्छ । एनेस्थेसिया चाहिने, बेहोस गर्नुपर्ने केही हुँदैन । यो औषधिले पायल्स सुकाउँछ । अर्को एउटा अझ राम्रो विधि छ, जसलाई रबर बाइन्डिङ भनिन्छ । यसलाई पनि एनेस्थेसिया चाहिँदैन । यो पनि साधारण हो तर मेसिनबाट गरिन्छ । थिएटरमा लगेर अहिलेको अहिले बाहिर ल्याउन सकिन्छ । यसमा पायल्सलाई तानेर पायल्सको फेदमा रबर ब्यान्ड लगाइन्छ । यसो गरेपछि सातदेखि दश दिनमा पायल्स मरेर आफैँ झर्छ । यसरी दोस्रो चरणको पायल्स पनि सहजै निको पार्न सकिन्छ । यो साधारण विधि हो । अहिले यो विधि र स्केलेरोथेरापी निकै पपुलर पनि भइरहेको छ । यसको प्रभावकारिता पनि राम्रो छ । भनिन्छ
पायल्स तेस्रो र चौथो चरणमा पुगेको छ भने त्यसलाई अपरेसन नै गर्नुपर्छ भन्ने छ । आफँैले ठेल्नुपर्ने तेस्रो चरणको पायल्समा काटेर फाल्नुपर्ने सर्जरी हुने भएकोले अलि ठूलो सर्जरी हुन्छ । यसरी सर्जरी गर्दा मल आउने ठाउँको तीनतिरै हुने तीनवटै पायल्स काटेर फाल्नुपर्ने हुन्छ । यसका लागि एनेस्थेसियाको आवश्यकता पर्छ । शरीरको तल्लो आधा भाग बेहोस गराउनुपर्ने हुन्छ । यो पनि बेलायती र अमेरिकन प्रविधि प्रचलनमा छ । बेलायती प्रविधिमा काटेर निकालिन्छ र घाउलाई खुला छोडिन्छ । नेपालमा पनि धेरैजसो यही प्रविधि नै प्रयोगमा छ । अमेरिकन प्रविधिमा चाहिँ काटेर पनि घाउलाई सिलाइदिने गरिन्छ ।
यसका साथै काट्ने साधन ब्लेड, चक्कु, इलेक्ट्रो कटले काट्नेभन्दा पनि नयाँ डिभाइस पनि आएको छ । यी नयाँ डिभाइसले काट्दा दुखाइ कम हुने र रक्तश्राव कम हुन्छ भन्ने छ । नेपालमा पनि कहीँ–कहीँ लेजर सर्जरी प्रविधि पनि आएको भन्नेसम्म सुनेको छु । यो विधिमा अपरेसनपछि दुखाइ कम हुने, सजिलो तर अलि बढी खर्चिलो भन्ने सुनेको छु ।
रगत आउँदैमा पायल्स नहुन सक्छ
पायल्स हाम्रो गुप्त अंगमा हुने भएकाले धेरै मानिसहरु लाजका कारण धेरै समस्या नपरेसम्म डाक्टरकहाँ जाँदैनन् । यसले गर्दा पहिला सहजै नियन्त्रण गर्न सकिने समस्या पछि जटिल बन्छ र पीडा पनि धेरै खप्नुपर्ने हुन्छ । यस्ता थुप्रै केसहरु हामीले पाएका छौँ । यसका साथै कतिपय बिरामीचाहिँ दिसामा रगत जानेबित्तिकै मलाई पायल्स भयो भनी आफैँ घरेलु उपचार गरेर बस्ने, औषधि पसलमा सोधेर औषधि खाने पनि गरेको पाइन्छ ।
आफैँ औषधि किनेर खाने वा घरेलु उपचारमात्र गरेर बस्दा एक त सही उपचार नभई रोग बढ्ने सम्भावना हुन्छ भने अर्कोचाहिँ दिसामा रगत जानु अरु नै खतरनाक रोगको संकेत पनि हुन सक्छ । कतिपयलाई क्यान्सर नै पनि भएको हुन सक्छ । हामी बिरामीसँग हिस्ट्री लिँदा अर्को खतरनाक संकेत ‘रेड फ्ल्याग साइन’ बारेमा पनि सोध्छौँ । जस्तो– बिरामीको रगत पनि गएको छ र तौल पनि निकै घटिरहेको छ । बसिराख्दा जहिले पनि दिसा गर्न जाऊँ–जाऊँ लागिरहन्छ । तर दिसा गर्न जाँदा झोल तथा रगत अलिकता आउँछ, दिसा आउँदैन । खान मन नलाग्ने भइरहेको छ भने यो पायल्स मात्र नभई अर्को डरलाग्दो ठूलो आन्द्राको वा अरु अंगको क्यान्सर पनि भएको हुन सक्छ । आफूखुशी औषधि खाएर बसेकामध्ये कतिपयलाई क्यान्सर नै भएको पनि पाइएको छ । लाज मानेर बस्नेहरुमा पनि यो समस्या रहेको हामीले पाएका छौँ । त्यसैले पायल्स भनी लाज मानेर वा आफैँ उपचार गरेर बस्नुहुन्न । छिट्टै डाक्टरकहाँ गएर परीक्षण गरी रोगको यकिन गर्नुपर्छ ।
यस्तै गरी रगतमा दिसा आउँदा पायल्स नभई मलद्वार चिरिने समस्या (एनल फिसर) पनि हुन सक्छ । यसलाई पनि कतिपयले पायल्स नै भनेर बसिरहेका हुन सक्छन् । पायल्स र यसमा हुने भिन्नता के छ भने, एनल फिसरमा बिरामी दिसा गर्न जानै डराउने, खानै डराउने हुन्छ । किनभने दिसा आउँदा दुख्छ भनेर ऊ त्रसित बनिरहेको हुन्छ । फिसर हुँदा दिसा गर्दा एकदमै दुख्ने, पोल्ने हुन्छ । दिसा गरिसकेपछि पनि कसैलाई चार–पाँच घण्टा र कसैलाई दिनभरि नै पोलिराख्छ । पछाडि घाउ हुन्छ । मासु पलाएको हुन्छ । दिसामा कलमले कोरेको जस्तो गरी रगत छरिएर आएको हुन्छ । पायल्समा एकै ठाउँमा आउँछ र तपतप थोपा आउँछ ।
रगतमा दिसा देखिने अर्को समस्या फिस्टुला पनि हो । यसमा बिरामीलाई पहिला दुख्छ, सुन्निन्छ र फुट्छ । फुटिसकेपछि दुखाइ अलि कम हुन्छ । फुटेकोबाट कहिले रगत त कहिले पीप आउँछ । तर दिसामा रगत आएको देखिनासाथ आम मानिसले पायल्स भन्ने चलन छ । यसकारण दिसामा रगत आउँदैमा मलाई पायल्स भयो भनेर नबसी डाक्टरकहाँ गएर के हो पत्ता लगाउनुपर्छ र रोग अनुसार त्यसको उपचार गर्न सकिन्छ । दिसामा रगत आउँदा पायल्सबाहेक अरु पनि रोग हुन सक्छ भनेर बेलैमा सोच्नुपर्छ ।
अपरेसनको प्रभावकारिता
तेस्रो र चौथो चरणमा पुगिसकेको पायल्सको उपचार अपरेसनबाट गरिन्छ र यो प्रभावकारी पनि हुन्छ । अपरेसनबाट उपचार गरिसकेपछि पनि कसै–कसैको दोहोरिन सक्छ तर यो ज्यादै न्यून मात्राको हो, अधिकांशको दोहोरिँदैन । दोहोरिन नदिन बिरामीले खानपिन तथा जीवनशैली परिवर्तन गर्नुपर्छ । सानोतिनो केही समस्या भएमा आफ्नो डाक्टरलाई तुरुन्त जानकारी गराइहाल्नुपर्छ । अपरेसन गरिसकेपछि पानी उमालेर मनतातो भएपछि बाटामा राखेर १५ मिनेटजति त्यसमा बस्ने गर्नुपर्छ । यो भागमा ड्रेसिङ गर्न असजिलो हुने भएकाले तातो पानीमा बस्दा घाउ छिटो निको हुन सहयोग हुन्छ । दुखाइ पनि कम हुन्छ ।
दिसा कडा हुन नदिन प्रशस्त पानी र झोलिलो पदार्थ खानुपर्छ । अपरेसनपछि दिसा कडा नहुने औषधि पनि दिइएको हुन्छ । यसरी नियममा बसेपछि दुई हप्तादेखि एक महिनासम्ममा घाउ निको हुन्छ । पायल्सको अपरेसन गरेपछि रक्तश्राव हुने, मलद्वार साँघुरिनेजस्ता जटिलता पनि आउन सक्छन् तर यो भनेको ज्यादै कममात्र हो ।
कतिपयलाई पायल्स बिग्रिएर क्यान्सर भयो भन्ने भ्रम रहेको पनि पाइन्छ । तर पायल्स बिग्रिएर क्यान्सर हुँदैन । क्यान्सर भइरहेको मानिसलाई पायल्स पनि भएको हुन सक्छ । दिसामा रगत गयो पायल्स भएको होला भनेर जचाउँन जाँदा क्यान्सर भएको हुन सक्छ । पायल्सको अपरेसन वा अरु उपचार गर्दा क्यान्सर भएर म मर्न लागेँ भनेको पनि पाइन्छ । तर पायल्सले क्यान्सर हुँदैन । त्यसकारण बिरामी दिसामा रगत आयो भनेर डाक्टरकहाँ आउँदा उसका सबै लक्षण सोधेर राम्ररी बुझ्नुपर्छ, जसले गर्दा क्यान्सर भएको भए पनि नछुटोस् । क्यान्सरको शंका लागेमा कोलोनोस्कोपीलगायत क्यान्सर पत्ता लगाउने अरु विधि पनि प्रयोग गरेर हेर्ने गरिन्छ ।’
अन्त्यमा,
पायल्स मूलतः खानपान तथा जीवनशैलीसँग सम्बन्धित समस्या हो । खानपान तथा जीवनशैली सुधार गरेर धेरै हदसम्म पायल्सबाट बच्न सकिन्छ । साथै पायल्स भइहाले पनि यसलाई नियन्त्रणमा राख्न सकिन्छ । हरेक व्यक्तिको पाचन शक्ति फरक हुने भएकाले आफूलाई कस्तो खानेकुरा खानु ठीक हुन्छ, शरीरले कस्तो कुरा पचाउन सक्छ भन्ने कुरा ध्यान दिएर खाना खानुपर्छ । कब्जियतको समस्या आउन नदिने, बल गरेर दिसा नगर्ने, बाथरुममा धेरै समय मोबाइल चलाएर, पत्रिका पढेर बस्ने गर्नुहुँदैन । साथै उचित मात्रामा व्यायाम गर्ने, मोटोपन घटाउने गर्नुका साथै पायल्सका लक्षणहरु देखिएमा बेलैमा चिकित्सकसँग सम्पर्क गरेमा यसले दिने पीडा र यसको जटिलताबाट बच्न सकिन्छ ।