१. म ४६ वर्षको भएँ । मलाई पहिलाभन्दा एकदमै पसिना आउने, चिडचिडाहट हुने, रिस उठ्ने भएको छ । साथीहरु ध्यान शिविरमा जाऊ ठीक हुन्छ भन्छन् । यो कुनै रोग हो कि भन्ने लागेको छ । उचित सुझावको लागि अनुरोध गर्दछु ।
– विन्दु, जोरपाटी ।
विन्दुजी, तपाईंको समस्याको दुईवटा सम्भावित पाटो देखिन्छ । पहिलो महिनावारी सुक्ने समय पनि हुन थालेको मान्न सकिन्छ, जुन धेरैजसो महिलाहरुमा ४५–५५ वर्षको बीचमा हुने गर्छ । महिलाको शरीरमा हर्मोनको मात्रा सामान्यभन्दा घट्दै गएर शरीरले गर्ने महसुस र प्रतिक्रियास्वरूप यस्ता लक्षणहरु देखिने गर्छन् । त्यसमा पनि मान्छेपिच्छे फरक हुन सक्छ । कोहीलाई अति नै बढी भएर हैरानी पार्ने हुन्छ भने कतिले सहजै महसुस पनि नगरी वा अलि–अलि गरी समय अनुसार हराउँदै जान्छ । कतिलाई त गाह्रो भएर हर्मोन नै फेरिनेसमेत गरेको पाइन्छ । अर्को कुरा, अति नै ठूलो चिन्ता वा तनावको फलस्वरूप हुने लक्षणहरु हुन् यी, जसलाई डराउने अवस्था वा पेनिक ९उबलष्अ० हुने अवस्था पनि भनिन्छ । यस्ता लक्षणहरु धेरैजसो बेला–बेलामा भेटिने गर्छन् । फेरि महिनावारी सुक्ने समयका बारेमा बुझ्दा आमा, सानिआमा वा ठूलीआमा, दिदी वा बहिनीहरुमा कुन समयमा भएको भन्ने हेर्नुप¥यो । साथै आफ्नै पनि महिनावारी सुकिसकेको वा ढिलो भएको वा गडबड हुन थालेको थाहा पाउनुपर्नेमा तपाईंको सन्दर्भमा स्पष्ट भएन । त्यसर्थ एकपटक महिला रोग विशेषज्ञ भेटेर परामर्श गर्नुभएमा उहाँकै सल्लाहमा परेमा मनोचिकित्सक वा फिजिसियन भेट्न सकिने भयो । पहिला त निदान गर्नुप¥यो के समस्या हो भनेर अनि बल्ल के गर्ने भन्ने पाइला चाल्न सकिन्छ ।
२. मेरो ५ वर्षको छोराका दुवै खुट्टा अलि बाङ्गा भएका छन् । यी खुट्टालाई सीधा बनाउने कुनै उपाय छ भने बताइदिनुहुन अनुरोध छ ।
– बेलबहादुर मगर, सिन्धुली ।
बेलबहादुरजी, पहिले–पहिले भिटामिन ‘डी’को कमीले खुट्टा बांगिएर धनुसजस्तो हुन्थ्यो । यस्तो अवस्था छ्यापछ्याप्ती भेटिन्थ्यो । आजकाल यो समस्यामा धेरै कमी आएको छ । तर पनि हिजोआज भिटामिन ‘डी’ को धेरैमा कमी भएको देखिन थालेको छ । त्यसैले यो समस्यालाई नकार्न वा बेवास्ता गर्न सकिएन । यसको अलावा खुट्टा बांगिनुमा अरु कारण पनि हुन सक्छन् । कमलो खुट्टामा पटक–पटक एकतर्फी दबाब परेर बांगिने, हड्डी कमजोर हुने अवस्था आएर बांगिने, क्याल्सियम भन्ने लवणको कमी भएर बांगिने हुन सक्छ । खानामै क्याल्सियम कमी भएर वा शरीरमा क्याल्सियम नष्ट भएर क्याल्सियमको कमी हुन सक्छ अनि खुट्टा बांगिने समस्या आउन सक्छ । यीमध्य जे पनि हुन सक्ने भएकाले एकपटक हड्डीको विशेषज्ञ भेटेर छलफल गर्नुस् । त्यसपछि आवश्यक परीक्षण गरेर कारण पत्ता लागाई उपचार गर्नेतिर लाग्न सकिन्छ ।
३. मेरी छोरी २३ वर्षकी भएकी छन् । उनलाई महिनावारी हुँदा अति नै दुख्यो भनेर काममा नै नगईकन दुई दिनसम्म सुत्ने, छटपटाउने, रुने गर्छिन् । यो उनीलाई १५ वर्षको उमेरदेखि नै निरन्तर हुँदै आएको छ । यो के हो, रोग हो कि सामान्य हो कि वा कतै जानुपर्छ कि ? स्पष्ट गरिदिनुहुन्छ कि भन्ने आशामा छु ।
– कान्तिईश्वरी लामिछाने, पुल्चोक ।
कान्तिईश्वरीजी, महिनावारी हुँदा दुख्नु प्राकृतिक तथा यावत् नै मान्नुपर्छ । तर फरक के हो भने, कोहीलाई कम दुख्छ, कोहीलाई बढी दुख्छ । कोही बढी सहनशील हुन्छन् र सहजरुपमा लिन्छन् अनि सहजरुपमा नै पचाउँछन् । कोही–कोहीको सहनशीलता कम हुन्छ र गाह्रो भएको ठान्छन् । यदि ठीक–ठीक किसिमले महिना–महिनामा नियमित एउटै समयमा महिनावारी हुन्छ र ठिक्क मात्रामा रगत बग्छ भने त्यसलाई नर्मल मान्नुप¥यो र दुखाइ पनि यावत् नै मान्नुप¥यो । म पनि सबै महिलाजस्तै नर्मल, स्वस्थ तथा बहादुर छु, हुन्छु भन्ने सोचेर हिँड्नुप¥यो । बरु त्यो दुखाइको लागि विभिन्न घरेलु उपाय गर्नुप¥यो अथवा परे औषधि नै पनि खानुप¥यो । त्यसको लागि ध्यान बस्ने, योग गर्ने, दुखेको समयमा कुनै कुरामा व्यस्त हुने, मेरो यो सधैँको कुरा हो र यसलाई सजिलै पचाउँछु भनी मनैदेखि आफूले आफैँलाई मनाउने गर्नुप¥यो । त्यस्तै आफूलाई बलियो, दह्रो तथा सहनशील ठान्ने, पटुका वा बेल्ट बाँध्ने, तातो चिया वा पानी वा दूध पिउनेजस्ता उपाय पनि अपनाउन सकिन्छ । यदि दुखेर अचाक्ली नै भयो भने दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ । जस्तो– ड्रोटाभारिन वा बुस्कोपान वा मेफेनिक एसिडजस्ता दर्दनाशक औषधिहरु लिन सकिन्छ । यो कुरा स्पष्ट हुनुप¥यो कि औषधि लिने ग¥यो भने सधैँ त्यो तरिकामै लागिन्छ । सधैँ लिनुपर्ने हुन सक्छ । त्यसैले उत्तम उपाय भनेकै आत्मसात् गर्ने, महसुस गर्ने, सहनशील हुने अनि वास्ता नगर्ने प्रयास गर्दै जाने र सहज मानेर पचाउँदै जाने हो ।
४. डाक्टर साब, म ४५ वर्षको आर्मीको लप्टन
छु । मलाई चिनीरोग लागेको सात वर्ष भयो । मेरो र श्रीमतीको उमेर १० वर्ष फरक छ । औषधि खाँदै छु तर सुगर राम्रोसँग कन्ट्रोल छैन । मेरो यौनजीवन शिथिल भएको तीन वर्ष भयो । अनि फेरि उपचारको क्रममा आर्मीमा आफ्नो कुरा राख्न र दोहोरो कुरा गर्न त्यति सहज पनि हुँदैन । मेरो समस्याका कारण हाम्रो परिवारमा अशान्ति छाएको छ । समस्या समाधानको उपाय बताइदिनुभए आभारी हुने थिएँ ।
– कृष्णकुमार बोहरा, नुवाकोट ।
कृष्णकुमारजी, दुःख लाग्यो यहाँको कथा सुनेर । पारिवारिक सम्बन्धको अनि बन्धनको एउटा कडी आपसी समझदारी, भविष्यको आपसी सपना, सच्चा त्यागी, आपसी प्रेम तथा हार्मोनिक यौनसम्बन्ध हो । जहाँसम्म सुगरको तह सधैँजसो नियन्त्रणमा नआएसम्म अन्य कुरा प्राप्त हुँदैन । फेरि चिनीरोगको उपचारमा चिकित्सक जति नै पण्डित भए पनि बिरामीको कुरा नसुन्ने, औषधि समयमा नमिलाउने तथा समस्या आफ्नैजस्तो गरी नलिने भएमा यस्ता पारिवारिक तनाव, डिप्रेसन, विखण्डन तथा आत्महत्याजस्ता सामाजिक समस्या थपिन सक्ने हुन्छ । त्यसैले चिनीरोगको उचित नियन्त्रण, नियमित परामर्श, खानपिन तथा व्यायामको सन्तुलन, यौनजीवनबारेमा परामर्शजस्ता कुराहरु यो रोग उपचारको अभिन्न अंग ठहर्छन् । सबै कुरा भयो भने समस्या अनुसारको आवश्यक पहल गर्न पनि सकिने हुन्छ । तपाईंको उमेर छ, साहसिक सम्भावना छ तर सही सल्लाह र उपचार तथा अत्यावश्यक ढाढसको कमी देखियो । चिकित्सकले राम्रोसँग उपचारमा ध्यान दिने, तपाईंको भाषा सुन्ने, बुझ्ने हो । युरोप–अमेरिकाको पोषणको नियमको पर्चा भिराउने होइन । हाम्रो आफ्नै संस्कार, चलन, खानाको प्रकृति, क्रयशक्ति तथा प्राप्यता अनुसार व्यावहारिक सल्लाह दिने चिकित्सकको कर्तव्य हो । चिकित्सको राम्रो सल्लाह पाउनुभएमा चिनीरोग नियन्त्रणमा पनि आउँछ । यौनजीवन पनि फर्कन्छ । अन्य जटिलताबाट पनि बचिन्छ । त्यसैले केही बितिसकेको छैन । नआत्तिनुस्, पहिलो नम्बरमा सही उपचारको बाटो पहिल्याउन जानेबुझेको सही विशेषज्ञ चिकित्सक समाउन सल्लाह दिन्छु ।