शौच गर्दा कसरी बस्ने ?



डा. अरुणा उप्रेती जनस्वास्थ्य विज्ञ

प्रायः मानिस मल त्याग गर्नु, दिसा गर्नु वा शौच गर्नु जस्ता विषयमा छलफल गर्न त्यति रुचाउँदैनन् । जब कि मानव स्वास्थ्यका लागि यो एक अति नै महत्वपूर्ण हुन्छ ।

मल त्याग सुचारु भएन भने अनेक किसिमका शारीरिक समस्या आइपर्छन् । मानिस वा पशु जसले भोजन गर्दछ त्यसले मल त्याग गर्छ नै । पशुहरु जथाभावी मल त्याग गर्छन् भने मानिसले विशेष ठाउँको व्यवस्था गरेका हुन्छन् । परापूर्वकालमा मानिस वन–जंगल वा नदीको किनारामा टुक्रुक्क बसेर नै मल त्याग गर्थे । अहिले पनि विश्वका धेरै मानिस त्यसरी नै मल त्याग गर्छन् ।

आधुनिक तरिकाको शौच गर्ने प्रवृत्ति भएपछि कब्जियत हुनेको संख्या पनि बढेको छ ।

त्यसरी मल त्याग गर्नुलाई असभ्य ठानेर आधुनिक युगमा घरमै वा घरबाहिर शौच गर्ने विशेष व्यवस्था गर्ने गरिएको छ । त्यसमध्ये पनि कतिपयले शौचालयभित्र टुक्रुक्क बसेर शौच गर्ने व्यवस्था गरेका हुन्छन् भने कतिपयले कुर्सीमा जस्तो बस्ने कमोडको व्यवस्था गरेका हुन्छन् । यसलाई पश्चिमा शैलीको शौचालय भन्ने पनि गरिएको छ ।

टुक्रुक्क बसेर मल त्याग गर्नु पूर्वीय देशका लागि सामान्य प्रक्रिया हो । तर, यसरी मल त्याग गर्नु कति लाभदायक हो या होइन भन्ने बारे प्रायः सोच्ने गरिँदैन । सायद त्यसैले होला यसको साटो पश्चिमी शैलीको कमोड राख्ने र त्यसको प्रयोग गर्ने चलन पनि बढ्दो छ ।

टुकरुक्क बसेर मलत्याग गर्न सहज हुन्छ । पेटको मांशपेसीहरु घुँडाले थिचिन्छ । आन्तरिक अगंहरुको मसाज हुन्छ, जुन पेट स्वास्थ्यका लागि लाभदायक छ, । मिडनी विश्वविद्यालयका पेट रोग विशेषज्ञ हेरे मिनसेन्ट भन्छन्– ‘पूर्वीय तरिकाको शौचालय (यसलाई टर्किस शौचालय पनि भनिन्छ) मा टुक्रुक्क बसेर शौच गर्दा पुठ्ठाको मासंपेशी बलियो हुन्छ र मल पनि सहजसँग निस्कन्छ । साथै कमोडको तुलनामा टुक्रुक्क बसेर शौच गर्दा पानी पनि कम खर्च हुन्छ ।’

जापान, चीनलगायत एसिया र अफ्रिकाका धेरै देश (विशेष गरी गाउँमा) मा आधुनिक कमोडको सट्टा पूर्वीय तरिकाको शौच गर्ने शौचालयको प्रयोग गरिन्छ । तर, आधुनिक घरहरुमा अब यस्ता शौचालय कम हुँदै गएका छन् । पूर्वीय तरिकाका टुक्रुक्क बस्ने खालका शौचालयका स्वास्थ्यसम्बन्धी फाइदा तथा विभिन्न देशका पर्यटकहरुको सहजताका लागि अहिले यस किसिमका शौचालय बनाउने कार्यलाई महत्व पनि दिइँदै गएको छ । मध्यपूर्वी क्षेत्रका देशका कतिपय घरमा दुवैथरिका शौचालय बनाउने गरिन्छ । र, आवश्यकताअनुसार प्रयोग गरिन्छ । विभिन्न देशका पर्यटक आउने फ्रान्सका केही सार्वजनिक शौचालयमा पनि पूर्वीय शैलीका शौचालय बनाइएका छन् ।

अस्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजिल्यान्डमा भने यस्तो पूर्वीय तरिकाको शौचालय एकदमै कम छन् । ती देशका कुनै ठाउँ जस्तोः अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालय, न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालय वा संयुक्त राज्य अमेरिकाको येलोस्टोन राष्ट्रिय पार्कमा

पूर्वीय शैलीको शौचालय बन्यो भने त्यसबारेमा राष्ट्रियस्तरका सञ्चारमाध्यममा समाचार बन्छन् ।

जापानमा पहिले पूर्वीय तरिकाले शौच गर्ने चलन थियो । तर, सन् १९७६ देखि चाहिँ आधुनिक कमोडले स्थान लिएपछि त्यहाँ पनि विशेष गरी शहरी क्षेत्रमा पूर्वीय शैलीको शौच गर्ने तरिका विस्तारै हराउँदै गएको छ । एक अध्ययन अनुसार सन् २०१५ मा त शौचालय बनाउने कारखानाले जम्मा एक प्रतिशत मात्र पूर्वीय तरिकाको शौचालय (प्यान राख्ने) बनाएको थियो ।

फाइदा–बेफाइदा

टुक्रुक्क बसेर मल त्याग गर्दा मल सजिलै शरीरबाट निष्कासन हुन्छ र पुठ्ठाको मांसपेशी बलियो हुन्छ । घुँडाले थिचिएर पेटको मासंपेशीमा दबाब पार्छ र मल निकाल्न कन्ने प्रक्रिया गर्नु पर्दैन । कमोडमा बसेर मल निष्कासन गर्दा मांसपेशीमा बल पर्दैन । घुँडा दुखेर टुक्रुक्क बस्न नसक्ने व्यक्तिका लागि कमोडमा मल निष्कासन गर्न सजिलो हुन्छ । तर, घुँडा दुख्न ठीक भएपछि फेरि टुकरुक्क तरिकाले नै बसेर शौच गर्नु उपयुक्त हुन्छ ।

योगको सन्दर्भमा एक विशेष आसनको नाम नै मलासन छ । पश्चिमी देशमा कतिपय व्यक्तिले टुक्रुक्क (मलासनमा) बस्नु हुँदैन, घुँडा खिइन्छ भन्छन् । उनीहरु पलेंटी कसेर बस्दा पनि घुँडा दुख्छ भन्ने गर्छन् । वास्तवमा दक्षिण एसियाका बासिन्दाको त सानैदेखि टुक्रुक्क बस्ने बानी हुन्छ ।

पूर्वीय देशका मानिसलाई खाना खाँदा, लुगा धुँदा, कुनै काम गर्दा पनि टुक्रुक्क बस्ने बानी परेको हुन्छ । पश्चिमा देशका मानिसको दैनिक जीवनमा यसरी बस्ने चलन नभएकाले वयश्क भएपछि यदि यसरी टुक्रुक्क बसे भने उनीहरुको घुँडा दुख्न सक्छ । त्यसैले पनि उनीहरुले यसरी बस्नुहुन्न भनेका होलान् । तर, अहिले विभिन्न अनुसन्धान भएपश्चात् यदि अरू कुनै समस्या छैन भने मल त्याग गर्दा टुक्रुक्क बस्नुलाई वा अरू सामान्य अवस्थामा पनि टुक्रुक्क बस्नुलाई स्वस्थकर मान्न थालिएको छ ।

गर्भवती महिलाले पनि टुकरुक्क बसेर मलत्याग गर्दा उनीहरुको पाठेघरमा कुनै दबाब पर्दैन । यसरी शौच गर्दा कब्जियत हुने सम्भावना कम हुन्छ । गर्भवती महिलाका लागि कब्जियत भए अनेक किसिमका समस्या हुन सक्छन् । पश्चिमी शैलीको कमोड राखिएको भए पनि शौच गर्न कमोडमा बस्दा खुट्टालाई सानो टेबलमा राख्न सकिन्छ । यसो गर्दा घुँडा तथा फिलाको दबाब पेटमा पनि पर्छ ।

यसरी पूर्वीय तरिकाको चर्पीमा शौच गर्दा शरीरको तल्लो भाग कुनै पनि वस्तुसँग छोइन्न, जबकि आधुनिक तरिकाको कमोडमा शौच गर्दा अरू व्यक्ति बसेर शौच गरिसकेको हुने हुनाले त्यो फोहोर हुन सक्छ । कमोडवाला शौचालयमा बढी पानी प्रयोग गर्नुपर्छ । पूर्वीय शैलीको शौच गर्ने (प्यान)मा कम पानी प्रयोग गर्दा पनि पुग्छ, सफा गर्न पनि सजिलो हुन्छ । अतः हामीले पूर्वीय तरिकाको शौच गर्ने तरिकालाई असभ्य वा असहज मान्नुपर्ने जरुरत छैन ।

करिव २० वर्षअघि टिफेन बोनेटी नामकी मेरो अमेरिकन साथीले पूर्वीय शैलीको शौचालयको तारिफ गर्दै मलाई भनेकी थिइन्– ‘हाम्रो देशमा यसरी पूर्वीय तरिकाले शौच गर्ने चलन नभएकाले पूर्वीय तरिकाको शौच गर्ने भाँडो त हामीकहाँ बन्दा पनि बन्दैन । मैले सक्ने भए त यहाँबाट शौच गर्ने भाँडो नै अमेरिकामा लैजान्थें ।’

टिफेन स्वास्थ्यकर्मी पनि भएकाले उनले सायद त्यसको महत्व बुझेकी थिइन् । हामीचाहिँ अहिले पनि शौच गर्ने पश्चिमी तरिका नै राम्रो मान्छौं । किनभने हरेक कुरा पश्चिमीले अपनाएको नै ठीक भन्ने हामीलाई बानी नै परिसकेको छ । आफ्नो तरिका राम्रो भएर पनि हामीले त्यसको महत्व बुझ्न सकेका छैनौं । नजिकको तीर्थ हेंला भनेको यस्तै नै होला ।

अहिले विभिन्न अध्ययनबाट पूर्वीय शैलीको शौच गर्ने तरिका स्वास्थ्यको दृष्टिले महत्वपूर्ण हुन्छ भन्ने कुरा प्रमाणित भइसकेको छ । सन् २०२० मा डा. हितेन्द्र सुरी नामक आयुर्वेदिक डाक्टर र डा. कामप्रित (शल्यक्रिया चिकित्सक) नामक भारतीय डाक्टरहरूले त किन मलासनमा बसेर अर्थात् टुक्रुक्क बसेर शौच गर्नु ठीक हुन्छ भनेर एक अनुसन्धान गरी रिपोर्ट प्रकाशित गरेका थिए । भारतीयमा आधुनिक तरिकाको शौच गर्ने प्रवृत्ति भएपछि कब्जियत हुनेको संख्या पनि बढेको छ । अनुसन्धानको समयमा झन्डै २२ प्रतिशत भारतीय अर्थात् २५ करोड भारतीयलाई कब्जियतको समस्या रहेको थियो ।

त्यस्तै प्रकारले यस बारेमा अर्को एउटा अध्ययन पनि भएको छ । त्यस अध्ययन प्रतिवेदन अनुसार सर्वेक्षणमा सहभागीमध्ये धेरैलाई कहिले पेट गडबड भएको, कहिले कब्जियत हुने, कहिले आउँ परेजस्तो हुने, कहिले पखाला लाग्ने जस्तो समस्या हुने गरेको थियो । यी समस्या ती ठाउँमा बढी पाइयो जहाँ अस्वस्थकर खाना छ र आधुनिक तथा पश्चिमा शैलीको शौचालय प्रयोग गर्ने गरिएको छ ।

विश्वमा हाल पूर्वीय तरिकाले शौच गर्नेहरुको संख्या झन्डै ४ अर्ब छ । एसिया, अफ्रिका, मध्यपूर्वी देशका बासिन्दा टुकुरुक्क बसेर मल त्याग गर्न मन पराउँछन् । यो हजारौं वर्षदेखि चलीआएको स्वस्थकर चलन हो भन्ने बुझेर नै होला अहिले कतिपय नेपालीका आधुनिक घरमा पनि दुबै थरिको शौच गर्ने ठाउँ बनाइएको पाइन्छ । हामी सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्दै यस बारेमा सोच्ने बेला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्