स्वास्थ्य उपयोगी सात बानी व्यहोरा



प्रा. डा. प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ

मुटु लगायत नसर्ने रोगबाट पीडितको संख्या दिन प्रतिदिन बढ्दै छ । यस्ता रोग नेपालमा मात्र होइन विश्वमा नै बढ्दै छन् । नसर्ने रोगले यसरी विश्वलाई नै गाँजेको बेला, हाम्रो बानी व्यहोरा, खानपान, जीवनशैली कस्तो हुनुपर्ला ? जसले हाम्रो स्वास्थ्य राम्रो होस् र मुटु पनि बलियो बनाओस् । इच्छा त सबैको सधैं स्वस्थ रहौं र सुखसँग बाचौं भन्ने नै हुन्छ । तर, यसका लागि हाम्रो बानी व्यवहोरा पनि राम्रो बनाउनुपर्छ । शरीरलाई स्वस्थ राख्ने केही राम्रा बानी व्यहोरा छन् जसको विकास गर्ने हो भने धेरै हदसम्म स्वस्थ बन्न सकिन्छ । यस अंकमा निम्नानुसार ७ वटा बानी व्यहोरा बारे वर्णन गरेको छु ।

१. भान्साकोठा व्यवस्थित राख्ने बानी

भन्ने गरिन्छ, कुनै घरका मान्छे कति सफासुग्घर, स्वस्थ र सभ्य छन् भन्ने कुरा उक्त घरको शौचालय र भान्सा हेरे पुग्छ । यसैबाट थाहा हुन्छ, भान्सा कति सफा राख्नुपर्छ भन्ने कुरा । हामीले धेरैजसो हाम्रा घरका कोठामध्ये बैठक कोठा र सुत्ने कोठालाई बढी महत्व दिन्छौं । शरीरलाई चाहिने अधिकांश आहारा, खुराक भान्सा कोठाबाट नै आउने हो । त्यहीं तयार हुने हो । एकैछिन सोचौं त, हामीले शरीर स्वस्थ राख्नका लागि आवश्यक खानपानको व्यवस्था गर्ने भान्साकोठाको व्यवस्थापनमा कति ध्यान दिन्छौं ?

ननस्टिक प्यानमा पकाएर खाँदा विस्तारै–विस्तारै क्यान्सर लाग्ने, मुटु खराब हुने समस्या देखिन थाल्छ ।

भान्सा कोठालाई हामीले विशेष ध्यान दिनैपर्छ । कुरा के पकाउने, कसरी पकाउने भन्ने मात्रै होइन । भान्साभित्रको कुन खानाले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पर्ला भन्ने बारेमा पनि ध्यान दिनु जरुरी छ । भान्साको सुधार यस कारण पनि महत्वपूर्ण छ कि हामीले जे–जस्तो खान्छांै, त्यो भान्साकोठामै बन्छ । हामीले भान्साकोठालाई व्यवस्थित बनाउनुपर्छ । भान्साकोठाको सुधार गर्दा हरिया सागसब्जी, फलफूल ल्याएपछि त्यसलाई राख्ने ठाउँ पर्याप्त बनाउनु पर्छ । सकेसम्म जङ्क फुड (पत्रु खानेकुरा) किनेर नै नल्याऔं । त्याउनै परेमा, सकेसम्म नदेख्ने ठाउँमा राखौं । किनकि देखेपछि खान मन लाग्ला । खाएपछि स्वास्थ्यमा नराम्रो असर त पार्छ पार्छ । तर, फलफूल सागपात भने सबैले देख्ने ठाउँमा, अलिक ठूलो ठाउँमा राखौं ।

हिजोआज भान्सा कोठामा ननस्टिक प्यान (नटाँसिने कराई) खुब प्रचलनमा छ । के यसमा ध्यान पुगेको छ त ? ननस्टिक प्यानमा पकाएर खाँदा विस्तारै–विस्तारै क्यान्सर लाग्ने, मुटु खराब हुने समस्या देखिन थाल्छ । त्यस्तै, आलुमिनियम, प्लास्टिकका भाँडाले पनि स्वास्थ्यमा खराब गर्छ । यी कुरा विज्ञानले प्रमाणित गरिसकेको छ । यस्ता भाँडाको सट्टा काँच, पित्तल, तामा, स्टिलका भाँडा प्रयोगमा ल्याउन सकिन्छ । यसरीे रोगबाट बच्नका लागि भान्साको खानेकुरा, सर सफाइदेखि पकाउने भाँडासम्मको ख्याल गर्नुपर्छ । भान्साको उचित सुधार गर्नुपर्छ । भान्सालाई व्यवस्थित राख्ने बानी बसाल्नु पर्छ ।

२. स्वस्थ खानपिन गर्ने बानी

बाँच्नका लागि खाना नभई हुँदैन । खानै पर्छ । तर, वास्तविकता यो पनि हो कि हामीलाई धेरै रोग लाग्ने भनेको खानेकुराबाटै हो । शरीरलाई चाहिने भन्दा धेरै खाने, अनेक थरी खाने गर्दा रोग लाग्ने हो । हामीलाई चिल्लो, गुलियो, नुनिलो, पीरो, अमिलो खाएर रोग लाग्ने नभएर बढी खाएर रोग लाग्ने हो ।

यी सबैको ठीक मात्रा हाम्रो शरीरलाइ जरुरी हुन्छ । तर, पचाउन नसक्ने गरी बढी खाने बानी हानिकारक छ । मासु, चिल्लो, पीरो जुनै पनि खाए हुन्छ । तर, मात्रा मिलाएर खानुपर्छ । स्वास्थ्य ठीकठाक छ, दीर्घ रोग लागेको छैन अथवा खानै नहुने रोग लागेको छैन भने जस्तो पनि खान हुन्छ । तर, फेरि पनि मात्रा मिलाएर खानुपर्छ । दशैं होस् वा कुनै चाडपर्व वा कुनै भोजमा जाँदा होस्, मासु लगायतका खानेकुरा बेस्सरी, पेटै गह्रुँगो हुने गरी खाने बानी हानिकारक छ । त्यसले शरीरलाई रोगको भण्डार बनाउँछ । त्यसैले भोज–भतेरमा मात्र होइन, दैनिक आहारमा पनि, सकेसम्म कम खाएरै जीवन निर्वाह गर्ने बानी बसालौं । धेरै खाएर शरीरलाई रोगको घर नबनाऔं ।

३. पानी प्रशस्त पिउने बानी

फोहोर सफा गर्न पानी चाहिन्छ । अर्थात् पानीले सफा गर्ने काम गर्छ । शरीर सफा गर्न पनि पानी नै चाहिन्छ । सफा गर्ने भनेको स्वस्थ बनाउने एउटा प्रक्रिया हो । त्यसैले शरीर स्वस्थ बनाउने अर्को सूत्र हो पानी पिउने बानी । सकेसम्म प्रशस्त पानी पिउनु स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । विज्ञहरुको भनाइ छ– सामान्य अवस्थामा दैनिक दुई लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ । शरीरका सम्पूर्ण प्रणाली सफा गर्नका लागि पानी सकेसम्म धेरै पिउनुपर्छ । पानी पिउँदा सकेसम्म मनतातो पिउनु अति उत्तम हुन्छ । चिसो पानी पिउँदा, शरीरले पानी तताउनका लागि थप ऊर्जा खर्च गर्नुपर्ने हुनाले सकेसम्म मनतातो पानी पिउनु राम्रो हुन्छ । मुटु र मृगौला रोगीले कति पानी पिउने भन्ने बारे चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

४. हिँड्ने बानी

कुनै यन्त्रले राम्रो काम गर्नका लागि त्यसको पाटपुर्जा चल्नुपर्छ । नचलाइकन राखियो भने, जाम हुन्छ, बिग्रिन्छ । मानव शरीर पनि एक खालको यन्त्र नै हो । तर, जीवित यन्त्र । त्यसैले, शरीरका अंग चलाउने बानी बसाल्नुपर्छ । जतिसक्यो धेरै खुट्टा चलाउने, शरीरले सक्नेजति हिँड्ने बानी बसाल्नु पर्छ । शरीरलाई जति चलायमान बनाइन्छ, शरीर त्यति नै फुर्तिलो र तन्दुरुस्त हुन्छ । घरभित्र बस्ने बानी छ भने यो बानी सुधार गर्नुपर्छ । निस्क्रिय बस्ने आदत छ भने स्वस्थ रहनका लागि बाहिर निक्लने बानी बसाल्नु पर्छ । जहाँ जादाँ पनि छोटो दूरीको यात्रा छ भने हिँडेरै जाने बानी बसालौं । अल्छी नगरौं ।

५. उत्तेजना नियन्त्रण गर्ने बानी
भनिन्छ नि– सुखमा मात्तिने, दुःखमा आत्तिने । यी आत्तिने र मात्तिने दुवै उत्तेजना हुन् । उत्तेजित हुने नराम्रो बानी हो । उत्तेजना सकारात्मक र नकारात्मक दुवै हुन्छन् । यो मानवीय स्वभाव पनि हो ।
तर, अति उत्तेजित हुँदा त्यसले स्वास्थ्यमा धक्का पार्छ । उत्तेजित हुँदा शरीरमा एक प्रकारको रसायन उत्पन्न हुन्छ । जसले ब्लड प्रेसर, ब्लड सुगर बढाउँछ, मुटुको धड्कन बढाउँछ । विभिन्न रोग निम्त्याउँछ । बढी उत्तेजित हुँदा हृदयघात हुने, मस्तिष्कघात हुने सम्भावना बढेर जान्छ । त्यसैले सकेसम्म संयमित बनौं । उत्तेजना नियन्त्रण गर्ने बानी बसालौं ।

६. स्वस्थ जीवनशैली भएका साथीको संगत
संगतअनुसारको फल भन्ने त आहान नै छ । त्यस्ता साथीहरुसँग संगत गरौं जसले स्वस्थ जीवनशैली अपनाएका हुन्छन् । आहार, विहार र विचार स्वस्थ भएकासँग बस्ने गरांै । राम्रो जीवनशैली अपनाएका साथीहरुको संख्या बढाउने प्रयास गरौं । चुरोट–रक्सी खाने, अम्मली, अस्वस्थ जीवनशैली अपनाएकासँग टाढै बस्नु राम्रो हुन्छ । उनीहरुको संगतले भोलि उनीहरुतिरै नजिकिन बेरै लाग्दैन । जीवनशैली राम्रो भएकाको संगतमा पर्दै गएपछि, आफ्नो जीवनशैली पनि विस्तारै सुध्रिन्छ । परिश्रम पनि नगर्ने, शारीरिक श्रम पनि नगर्ने, अल्छी, अव्यवस्थित खानपान भएकाहरुबाट टाढा बसेकै राम्रो हुन्छ ।

७. नियमित स्वास्थ्य परीक्षण गर्ने बानी

समस्या कस्तो देखिँदै छ भने आजकल रोगका लक्षण खासै देखिँदैन । आफू स्वस्थ छु जस्तो लाग्छ, तर शरीरमा रोग लागिसकेको हुनसक्छ । बेलैमा रोगको पहिचान गर्नका लागि निमियत जाँच गराउनै पर्छ । भोलि कुनै ठूलो रोग लाग्न नदिन आज नै खतराका चिह्न पहिचान गर्न सकेमा उपचार सजिलो हुन्छ । अर्को कुरा ठूला साना जे गरे पनि मान्छेले शुरूमा हेर्ने र गर्ने आफ्नै लागि हो । स्वास्थ्य जाँच अरूका लागि गर्ने पनि त होइन । आफ्नै लागि न हो, होइन र ? नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्नु पर्छ । कम्तीमा वर्षको एकपल्ट स्वास्थ्य परीक्षण गराउनु पर्छ ।
यी सात वटा बानी व्यहोरा निरोगी रहनका लागि हुन् । स्वस्थ शरीरबिना सुखी जीवन सम्भव छैन । हामीले शरीरलाई स्वस्थ राख्न राम्रो बानी बसाल्नु पर्छ । स्वस्थ जीवनका लागि आहार, विहार र विचार स्वस्थ हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्