इम्युनिटी बढाउन यौन ऊर्जा व्यवस्थापन



डा. रामदेव पण्डित आयुर्वेद चिकित्सक

युर्वेदमा आहार, निद्रा र ब्रह्मचर्यलाई स्वास्थ्यको त्रि–स्तम्भ भनिन्छ । यी तीन चिजलाई सही र सार्थकरुपमा सर्वदा प्रयोग गर्न सक्दा सधैँ आरोग्यता प्राप्त हुन्छ भन्ने आयुर्वेदको शास्त्रीय मान्यता छ । शुक्रले आफूजस्तै नयाँ जीवको सृजना गर्न सक्ने क्षमता बोकेको हुन्छ । त्यसैले भनिन्छ कि शुक्रको संरक्षणले समग्रतामा व्यक्तिको स्वास्थ्य र सृजनशक्ति बढ्ने हुन्छ ।

शुक्रबाट नै ओज (बल-इम्युनिटी वद्र्धक-व्याधिक्षमत्व तत्व) को निर्माण हुन्छ । यसको तात्पर्य आहारको सार भागबाट ओज बन्छ । शरीरको व्याधिक्षमत्व तत्वको काम भनेको अपक्षय (विदरिङ्ग–खिइनु), व्यपजनन (डिजेनेरेसन) र प्रत्यय (इन्फेक्सन) सँग रक्षा गर्नु हो । अतः जति–जति शुक्र नष्ट हुन्छ त्यति नै शरीरको ओज (इम्युनिटी) कमजोर हुन्छ । शरीरमा शुक्रको संरक्षणले भने ओज बढ्छ । यसै कारण वैदिक शास्त्रहरुमा ब्रह्मचर्य बस्नुलाई अत्यधिक महत्व दिइएको पाइन्छ ।

हस्तमैथुन वा सहवासबाट एकातिर पटक–पटक गराउने स्खलनले क्षणिक शान्ति र आनन्द दिन्छ भने अर्कोतिर इम्युनिटी कारक वीर्यको अनावश्यकरुपमा एवं बेहोसीमै व्यय गरिरहेको हुन्छ । जसले कालान्तरमा व्यक्तिलाई समग्ररुपमा कमजोर बनाउँदै लान्छ । जब मानिसको शारीरिक र मानसिक सक्रियता घट्छ, शरीरमा अक्सिजनको आपूर्ति र खपत पनि कम हुन पुग्छ । तर अधिकाधिक ग्रहण गरिएको भोजनबाट प्राप्त ग्लुकोज मस्तिष्कमा पुगेर जम्मा हुन्छ, जो अक्सिजनको अभावमा जल्न पाउँदैन र मनमा बेचैनी शुरु हुन्छ । त्यसैबाट तनाव पनि उत्पन्न हुन्छ । मानसिक एकाग्रता र शान्ति पनि भंग हुन्छ । असन्तुष्टिसमेत बढ्छ ।

बढ्दो उमेरसँगै हस्तमैथुन गर्नेहरुको प्रवृत्ति घट्दै जाने हुन्छ ।

बेचैनी, अशान्ति र असन्तुष्टिबाट निकास पाउन तथा भोजनबाट सञ्चित ऊर्जालाई निकास दिन अविवाहित केटाकेटीहरु तथा विवाहित दम्पतीहरुले सहवास वा हस्तमैथुनलाई सुलभ, सहज र स्वाभाविक साधन बनाएको हुन्छ । यसरी सेक्सुअली एक्टिभ समूह आफ्नो समग्र ऊर्जा हस्तमैथुन वा अधिक सहवासबाट स्खलित भई शुक्र व्यय गरिरहेका हुन्छन् । फुर्सदको समयमा एकै दिन धेरैपटक हस्तमैथुन वा सहवास गर्ने गर्दछन्, जसले अधिकाधिक शुक्र शरीरबाट फालिन्छ ।

इन्डियन युनिभर्सिटी प्रेसबाट प्रकाशित अल्फ्रेड चाल्स किन्सलेको पुस्तक ‘सेक्सुअल बिहेभियर इन ह्युमन मेल’ का अनुसार विश्वमा १८ देखि २० वर्ष उमेर समूहका हस्तमैथुन गर्ने संख्या जनसंख्याको ८८ प्रतिशत छ । ५० वर्ष आसपासको उमेर पुग्दा पनि लगभग ५३.८ प्रतिशत जनसंख्याले हस्तमैथुन गर्ने गर्दछन् । २१ देखि २५ वर्षका ४२.१ प्रतिशत विवाहित पुरुष जनसंख्याले हस्तमैथुन गर्दछन् । र, बढ्दो उमेरसँगै हस्तमैथुन गर्नेहरुको प्रवृत्ति घट्दै जाने हुन्छ ।

विवाहित दम्पतीहरुको फुर्सदको समय सुत्ने र मीठो–मीठो भोजन पकाउँदै–खाँदै बितिरहेको हुन्छ । यसरी अधिक र मीठो भोजनबाट प्राप्त ऊर्जाको खर्च गर्न कुनै शारीरिक वा मानसिक काम नहुँदा युवायुवतीहरु र विवाहित दम्पतीहरुको मनमा स्वाभाविकरुपमा बेचैनी उत्पन्न हुन्छ । बेचैनीबाट पार पाउन र मानसिक शन्ति प्राप्त गर्न पटक–पटकको सुलभरुपमा उपलब्ध सहवासको सुविधालाई साधन बनाउँछन् ।

अक्सिजनको अभावमा भोजनबाट प्राप्त ग्लुकोजको सम्यक् व्यवस्थापन हुन नसक्दा मष्तिस्कमा शान्तिदायक एवं एकाग्रता कारक हर्मोनहरुको अभाव हुन्छ । सहवास तनाव र बेचैनीविरुद्धको क्षणिक औषधिजस्तै हो । जब सहवास वा हस्तमैथुन हुन्छ, मनमा प्रेम एवं शान्तिदायक अक्सिटोसिन हर्मोन, दुखाइ नाशक इन्डोर्फिन्स हर्मोन रसाउँछ र मनको अवस्था बदलिन्छ । विचारको संख्या घट्छ । मन निद्रा वा तन्द्राको अवस्थामा पुग्छ । फलतः क्षणिक शान्ति र आन्नदको महसुस हुन्छ । यही क्षणिक शान्ति एवं आनन्दले सहवास वा हस्तमैथुनको लत लागाएको हुन्छ । ठीक यसै विधिबाट लागूऔषधहरुले पनि कार्य गरेको हुन्छ ।

सहवासले मानसिक समस्याहरु दूर गर्न, हृदयरोग निवारण गराउन, इम्युनिटी बढाउन, स्फूर्ति दिलाउन, अनिद्रा नाश गर्न र अन्य धेरै समस्या दूर गर्न सहयोग गर्छ भन्ने निष्कर्षहरु धरै अनुसन्धानहरुले निकालेको पाइन्छ, जुन क्षणिकरुपमा आउने परिवर्तनहरुका मूल्यांकनमात्र हुन् ।
आयुर्वेदको मान्यता अनुसार मानवशरीर सात प्रकारका धातुहरुले बनेको हन्छ । भोजनको पाचनपछि रस धातु बन्छ । रसबाट रक्त, रक्तबाट मांस, मांसबाट मेद, मेदबाट अस्थि, अस्थिबाट मज्जा र मज्जाबाट क्रमशः शुक्र धातु बन्छ ।

आहारबाट बन्ने शुक्र आहारको शुद्ध र परिस्कृत अंश हो । एक थोपा शुक्र निर्माणमा पनि ठूलो परिमाणमा आहारको लगानी भएको हुन्छ । यसरी शुक्रलाई अनावश्यकरुपमा खेर फाल्नु वा बेहोसीमा बगाउनु समग्रतामा शरीरको ऊर्जा वा बल वा शक्तिलाई नष्ट गर्नु हो । प्रकृतिका सम्पूर्ण प्राणीमा आहार, निद्रा, भय र मैथुनको वृत्ति जन्मजातै प्राप्त भएको हुन्छ । यी स्वाभाविक गुणहरुको उपयोग, सदुपयोग र दुरुपयोग अधारमा नै प्राणीहरुले रोग प्राप्त गर्ने कि स्वास्थ्य भन्ने हुन्छ ।

यी चारवटै वृत्तिको सदुपयोगले शरीर, मन एवं इन्द्रियहरुले ऊर्जा प्राप्त गर्दछन् । फलतः आरोग्यता कायम हुन्छ । दुरुपयोगले ऊर्जा क्षय हुन्छ र शरीर रोगी बन्छ । तत्कालीन र क्षणिक उपल्ब्धिको आधारमा आधुनिक चिकित्सा विज्ञानका चिकित्सकहरु (सेक्सोलोजिस्ट) र मनोवैज्ञानिकहरुले सहवास र हस्तमैथुनबाट खर्च हुने वीर्यलाई ऊर्जाको ह्रास मान्दैनन् । तर दीर्घकालीनरुपमा हेर्दा हरेक व्यक्तिको अनुभव र समग्र तथ्यहरुले यो पुष्टि गर्दछ कि अधिक सहवास र हस्तमैथुनले ऊर्जाको ह्रास हुन्छ । फलतः त्यसले इम्युनिटी र स्वास्थ्यलाई असर पार्दछ ।

गर्ने के त ?

वीर्य आहारको सार रुप हो । वीर्य नै इम्युनिटी तथा बल हो भन्ने जानिसकेपछि त्यसको रक्षा गर्नु जरुरी हुन्छ । तर हस्तमैथुनको लत वा सहवासको लतबाट पार पाउन सजिलो हुँदैन । अतः गृहस्थ सांसारिक जीवनमा हस्तमैथुन वा सहवासको विकल्प भनेको हस्तमैथुन वा सहवास नै हो । तर त्यसको उपयोग व्यवस्थित र सार्थकरुपमा गर्नुपर्छ । संकल्पका साथ मनलाई नियन्त्रणमा राखेर होसपूर्वक सहवास वा हस्तमैथुन गर्नुपर्छ । बेहोसीमा गरिएको हस्तमैथुन हानिकारक हुन्छ ।
शुक्र संरक्षणका लागि निम्न बानीहरुलाई जीवनशैलीमा जोड्न सके ओज र बल प्राप्ति हुने देखिन्छ । त्यस्तै क्षणिक आनन्दभन्दा पनि आरोग्ययुक्त दीर्घजीवन प्राप्त हुन सक्छ । साथै सृजना शक्ति बढ्ने हुन्छ ।

१. अल्प–अल्प मात्रामा सात्विक (ताजा, नतारेको, नभुटेको, कम मसालेदार) भोजनमात्र सेवन गर्नुपर्छ ।
२. शुक्र नाशले स्वास्थ्य बिग्रिन्छ भन्ने कुरालाई मनमा स्थापित गर्नुपर्छ ।
३. दैनिक कम्तीमा १ घण्टा व्यायाम गर्नुपर्छ ।
४. समयमै सुत्ने र समयमै उठ्ने गर्नुपर्छ ।
५. आध्यात्मिक तथा सकारात्मक पुस्तकहरुको मात्र अध्ययन गर्नुपर्छ ।
६. इन्टरनेटमा उत्तेजक सामग्री सकेसम्म नहेर्ने मनमा संकल्प गर्नुपर्छ ।
७. वृद्धवृद्धा र आमा, दिदी, बहिनीहरुसँगको सम्पर्कमा र सेवामा समय दिनुपर्छ ।
८. गर्न नहुने काम गर्नु भगवान्को नजर र स्वयंको नजरमा अपराध हुन्छ भन्ने भाव राख्नुपर्छ ।
९. आफूलाई सकेसम्म शारीरिक र मानसिकरुपमा व्यस्त राख्नुपर्छ ।
१०. सकारात्मक कल्पना गर्ने र सुमधुर संगीत सुन्ने गर्नुपर्छ ।
नेपालमा युवा जमात अहिले निकै तनावमा छन् । बेरोजगारीले तनावमात्र बढाएको छैन, उनीहरुलाई खाली समय पनि मिलेको छ । यसले गर्दा क्षणिक शान्ति र आनन्दको लागि युवाहरु सहवास वा हस्तमैथुन क्रियालाई साधन बनाउन पुग्छन् ।
यौन ऊर्जाको नियन्त्रण गर्न सक्नु सहज कार्य होइन तर माथि उल्लिखित बुँदाहरु जीवनशैलीमा जोड्न सके यौन ऊर्जाको व्यवस्थापन भने गर्न सकिन्छ । संकल्पका साथ सचेतनापूर्वक दैनिक क्रियाकलापहरु गर्न सके बेहोसीरुपमा सहवास र हस्तमैथुनबाट खर्च भइरहेको ऊर्जा र सृजनशक्तिको संरक्षण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्