बौद्धिक अपाङ्गता र यौन



डा. राजेन्द्र भद्रा

असोज २९, २०८० मा खोजपत्रकारिता केन्द्रले दुर्गा राना मगरको ‘छोरी जोगाउनै सकस’ शीर्षकमा लेख प्रकाशित ग¥यो । यस लेखमा केही प्रतिनिधि घटनाहरूको चर्चा गरिएको छ र किशोरीमाथि हिंसाका घटना बढ्दै जाँदा संरक्षण र सुरक्षा नभएपछि अभिभावकहरू किशोरीको पाठेघर झिक्न र बन्ध्याकरण गरिदिन विवश छन् भन्ने चर्चा गरिएको छ ।

त्यसै गरी द हिमालयन टाइम्सले सन् २०१८ मे २५मा बौद्धिक अपाङ्गता भएकी बलात्कृत महिलाले बच्चालाई जन्म दिएको रोल्पाको घटना छापेको थियो । अनि त्यसै गरी सन् २०१९ मार्च २ मा द वासिङटन पोष्ट पत्रिकाले हेरचाह गर्ने व्यक्तिले नै दुई महिलालाई बलात्कार गरेपछि दुवैले बच्चा जन्माएको भनेर फोनिक्स राज्यको घटना सार्वजनिक गरेको थियो । यो घटनापछि त्यहाँ एक किसिमले तहल्का नै मच्चिएको थियो ।
यस लेखमा बौद्धिक अपाङ्गता तथा यौनिकताका सन्दर्भमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।

बौद्धिक अपाङ्गता के हो ?

हामीलाई थाहै छ कि सामान्यता मानिसमा बौद्धिक विकास हुन्छ र उसले जीवनयापन तथा वृत्ति विकासमा त्यसको प्रयोग गर्छ । धेरैजसो परिस्थितिमा समाजमा योगदान पनि पु¥याउँछ । तर सबै व्यक्तिको हकमा यस्तो हुँदैन । उमेर र शारीरिक विकास भए पनि त्यसअनुरुप बौद्धिक विकास भने हुँदैन । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले ‘उमेरको वृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति’ भनेर परिभाषित गरेको छ ।

के उनीहरूमा पनि यौनेच्छा हुन्छ ?

विशेष गरेर अपाङ्गता भएका व्यक्तिलाई हाम्रो समाजले अयौनिक अर्थात् यौनचाहना नै नहुने ठान्दछन्, त्यसमा पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बच्चाजस्तै ठान्ने गर्दछन् । तर अन्य सामान्य व्यक्तिमा जस्तै नै  बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई पनि यौनेच्छा हुन्छ नै ।
फ्रायडको कामको लेखाजोखा गर्दा उनले अपाङ्गता भएका व्यक्ति तथा यौनिकताको सन्दर्भमा खासै चर्चा गरेको पाइँदैन । केही विश्लेषकले शिश्नलोप दुश्चिन्ता (अबकतचबतष्यल बलहष्भतथ) जस्ता कुरालाई अपाङ्गतासँग जोडेका छन् भने कतिपय स्थानमा अपाङ्गता भएका व्यक्तिलाई अपमानजनक शब्दको प्रयोग गरेको देखिन्छ ।

भोग्नुपरिरहेको हिंसा
अपाङ्गता भएका व्यक्तिले त्यसै त एक हदसम्म घरेलु हिंसा भोग्नुपर्ने स्थिति हुन्छ भने बौद्धिक अपाङ्गता भएकामा यो अलि बढी नै पाइन्छ । यस्तो हिंसा शारीरिक, मानसिकका साथसाथै यौन प्रकृतिका पनि हुने गर्दछन् । उनीहरूलाई बाँधेर राखिने, कुटपिट गर्नेदेखि लिएर, शिक्षादीक्षाबाट वञ्चित गर्ने, सामाजिक परिवेशमा घुलमिल हुने अवसर नदिनेजस्तो गरिन्छ । विशेष गरी बौद्धिक अपाङ्गता हुनुलाई लाज अनि कलंकको दृष्टिले हेरिने भएकोले पनि यस्तो हुने गर्दछ ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिले यौनहिंसा पनि तुलनात्मकरुपमा सामान्य बौद्धिक क्षमता भएका व्यक्तिभन्दा बढी नै भोग्नुपर्ने हुन्छ । यौनको सन्दर्भका उनीहरूको पीडनको मुख्य कारण समाजमा कस्तो यौन व्यवहार कस्तो हुन्छ भनेर थाहा नहुनु पनि हो । उनीहरूको यौन सहमति वा यथोचित यौन क्रियाकलाप कस्तो हुन्छ भन्ने सन्दर्भमा एकदमै सीमित ज्ञान हुन्छ ।

यसका साथै उनीहरूले निर्णय गर्न सक्ने क्षमता पनि हुँदैन । साथै यौनसम्पर्क वा यौन क्रियाकलापको लागि सहमति पनि दिन सक्ने स्थिति हुँदैन । अनि उनीहरूले आफूमाथि भएको दबाबयुक्त व्यवहार वा जबरजस्तीको प्रतिकार गर्न पनि सक्दैनन् । यी सबै कारणले गर्दा यौनहिंसा बढी भोग्नुपर्ने स्थिति बन्छ ।

घरेलु हिंसाको सन्दर्भमा परिवारलाई शिक्षित बनाउनुको साथै सहयोग पनि गर्नुपर्दछ अनि यौनहिंसाको सन्दर्भमा भने हिंसाबाट आफूलाई सुरक्षित राख्न उनीहरूलाई त्यसको बारेमा निरन्तर यौनशिक्षा दिनुपर्दछ । कस्तो किसिमको र कुन परिस्थितिमा गरिने स्पर्श स्वीकार्य हो भन्ने कुरा नै सिकाउन जरुरी छ ।

यौन चाहनाको व्यवस्थापन
पहिलो कुरा त बौद्धिक अपाङ्गता भएका व्यक्ति पनि यौनिक हुन्छन् र उनीहरूले यौन भावनाको अनुभूति गर्दछन् भनेर स्वीकार गर्नुपर्दछ । परिवारका सदस्यहरूको लागि त यो झनै महत्वपूर्ण छ । उनीहरूलाई सामाजिक दक्षता हासिल गर्न कसरी आफ्नो यौनिकता यथोचितरुपमा व्यक्त गर्ने भनेर सिकाउन जरुरी हुन्छ । जसरी हामीले अन्य सामाजिक व्यवहारमा सिकाउने प्रयास गर्छौं, त्यसरी नै बाल्यकालदेखि यौन तथा यौनिकताको बारेमा शिक्षा दिनुपर्दछ । पक्कै उनीहरूलाई सिकाउने कुरा उमेर अनुसारको हुनुपर्दछ, व्यक्तिगतरुपमा गरिने व्यवहार र सार्वजनिकरुपमा गरिने व्यवहार वा क्रियाकलापको बारेमा पनि सिकाइनुपर्दछ र यो सबै सिकाइने कुरा उनीहरूको बौद्धिक स्तरले बुझ्ने किसिमको सजिलो हुनुपर्दछ ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई यस्तो यौनिकता शिक्षा वा सहयोग गर्ने वातावरण नभएको स्थितिमा निकै नै कठिनाइ हुन्छ । उनीहरूलाई मात्र होइन, उनीहरूको परिवार तथा हेरचाह गर्ने व्यक्तिलाई पनि समस्या हुने गर्दछ । अहिले उनीहरूलाई यौन तथा यौनिकता शिक्षा दिने कार्यमा प्रगति भएको छ । उनीहरूलाई विविध पक्ष जस्तै कि यौवनास्था, महिनावारी, रजोनिवृत्ति, प्रणय वा अन्य सम्बन्ध, हस्तमैथुन, सुरक्षात्मक व्यवहार, यौनिकता, सुरक्षित यौन क्रियाकलाप, गर्भनिरोधका साधन वा उपाय, गर्भावस्था, शिशुको जन्म, यौन स्वास्थ्यको जाँच, यौनरोगका साथसाथै यौन तथा यौनिकताको सन्दर्भमा कानुनी प्रावधानको बारेमा पनि सिकाइनुपर्दछ ।

उनीहरूलाई गोप्यता र गोपनीयताको हेक्का पनि नहुुन सक्छ । दैनिक क्रियाकलापका सबैजसो नै काममा अरुमा निर्भर हुनुपर्ने हुँदा, उनीहरू यौनलगायत कतिपय कार्य अन्य व्यक्तिको जस्तो गोपनीय नहुन सक्छ । कतिपय स्थितिमा चाहेको कुरा प्राप्त गर्न जोड लगाउने र नपाएमा रिसाउने पनि गर्दछन् । उनीहरूले सार्वजनिक स्थलमा अनुचित यौन क्रियाकलाप गर्न सक्छन् । जस्तै कि हस्तमैथुन, यौनांग देखाउने, अनुचित स्पर्श गर्ने वा अँगालो मार्ने, आफ्ना संवेदनशील अंग छुन दिने, नग्नरुपमा हिँड्नेजस्ता व्यवहार गर्ने गर्न सक्छन् ।

त्यसदेखि बाहेक सिकाउनुपर्ने अन्य विषयहरू, शरीरको हेरचाह तथा सरसफाइ, प्रेमी–प्रेमिकालगायत अन्यसँग संवाद गर्न सञ्चारका सीप, दृढतापूर्वक आफ्ना कुरा भन्न र व्यवहार गर्न, यौन दुव्र्यवहार तथा हिंसा, पुरुष तथा महिलाको सम्बन्ध हुुन् । परिवारका सदस्यहरूसँग पनि यी विषयहरूमा कुराकानी गर्नुपर्दछ । कतिपय बौद्धिक अपाङ्गता भएका व्यक्तिले सन्तान भएमा उनीहरूको हेरचाह गर्न नसक्ने स्थिति हुन्छ भन्ने कुरा पनि अर्को चासोको विषय हो । हेरचाह गर्ने वा सहयोगी व्यक्तिले ध्यान दिनुपर्ने थप कुराहरू उनीहरूले हेरचाह गर्ने वा सेवा दिने व्यक्तिप्रति नै यौन भावना प्रदर्शित गर्न सक्छन् । त्यसैले सीमा निर्धारण गरिनु अति नै आवश्यक हुन्छ ।

अधिकारका कुरा

बौद्धिक अपाङ्गता भएको व्यक्तिमा यति धेरै असजिलो हुँदाहुँदै पनि यौन तथा प्रजनन स्वास्थ्य उनीहरूको पनि अधिकारको कुरा हो भन्ने हेक्का राख्नुपर्दछ । यौन र यौनिकताका विविध पक्षमा जानकारी र सेवा प्राप्त गर्नुको साथै उनीहरूले पनि सम्बन्धको विकास गर्न र यौन आनन्द प्राप्त गर्ने अवसर पाउनुपर्दछ । त्यसै गरी गर्भनिरोधका उपाय प्रयोग गर्न पाउनु पनि अधिकारको कुरा हो । सामान्य व्यक्तिको तुलनामा गर्भनिरोधका साधन प्रयोग गर्ने सन्दर्भमा विशेष ध्यान राख्नुपर्दछ ।

कण्डम वा खाने चक्की सही तरिकाले प्रयोग गर्न उनीहरूलाई निकै गाह्रो हुन सक्छ । त्यसै गरी डिपो वा इम्प्लान्टजस्तो साधनको प्रयोगले गराउने अनपेक्षित योनि रक्तश्रावको व्यवस्थापनमा चनाखो हुनुपर्दछ । आयूसीडी लगाउने बेलामा पनि राम्ररी लठ्ठ पार्न आवश्यक हुनसक्छ । स्थायी उपाय बन्ध्याकरण सन्तानको रहर पुगिसकेपछि गर्ने हो । यी सबै कुरामा उनीहरूको सहमति चाहिन्छ । माथि भनिएका घटनाहरूमा सहमति नलिइएको भए ती गैरकानुनी हुन्छन् र अधिकारको पनि हनन भएको मानिन्छ । यसका साथै घरेलु वा यौनहिंसाबाट मुक्त परिस्थितिमा सुरक्षित जिउन पाउने पनि उनीहरूको अधिकार हो । आवश्यकता हेरी चिकित्सकीय मात्र होइन, कानुनी उपचार पनि खोजिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्