खानपान र जीवनशैली परिवर्तनका कारण अहिले मृगौलामा हुने पत्थरी निकै देखिने गरेको छ । अहिले पत्थरीका साइज प्रायः पहिला जस्तो ठूलो नदेखिने भए तापनि संख्यात्मक हिसावले पत्थरीका बिरामी धेरै हुने गरेका छन् । मृगौलामा पत्थरी हुँदा यो ज्यादै पीडादायक समस्याका रूपमा देखिन सक्छ । उपचारका विधि एवं पद्धतिको विकास र उपलब्धता भए पनि उपचार खर्चिलो हुन्छ ।
अझ मृगौलाको पत्थरीका कारण मृगौला फेल भएमा यो ज्यादै खर्चिलो हुन्छ । सामान्य परिवारको त आर्थिक स्थिति नै तहसनहस बनाइदिन्छ । जीवनभर महँगा औषधि खानुपर्दा कतिपयलाई धान्नै नसक्ने स्थिति हुन्छ । तर, खानपान र जीवनशैलीमा सुधार गरेमा मृगौलामा हुने पत्थरीबाट धेरै हदसम्म बच्न पनि सकिन्छ ।
मृगौलाको महत्व, यसमा हुने पत्थरीबाट बच्ने उपाय र पत्थरी भइहालेमा उपचारका विधि सम्बन्धमा पाटन अस्पताल र अल्का अस्पतालमा समेत कार्यरत वरिष्ठ युरोलोजिस्ट डा. पुकार मास्केसँग कुराकानी गरी यो लेख तयार गरिएको छ । यससम्बन्धी विस्तृत विवरण उहाँकै शब्दमाः
मृगौलाको खास काम के हो ?
‘शरीरमा धेरै किसिमका हानिकारक तत्व जम्मा भएका हुन्छन् । शरीरको रगतमा भएका विषाक्त पदार्थहरु फिल्टर गरेर पिसाव बनाउनु र बाहिर निष्कासन गर्ने प्रक्रिया गर्नु मृगौलाको मुख्य काम हो । यस्तै, गरी क्याल्सियमको मेटाबोलिजममा पनि मृगौलाको भूमिका हुन्छ, जसको अभावमा मानिसलाई हाडसम्बन्धी रोग लाग्न सक्छ । बच्चामा यसको अभाव भएमा हाड बांगिन सक्छ । शरीरमा रातो रक्तकोषहरुलाई ठीक अवस्थामा राख्ने अर्थात् रगतको मात्रा बढाउन पनि मृगौलाले महत्वपूर्ण भूमिका खेल्छ । शरीरलाई चाहिने पानी सोसेर राख्नु पनि मृगौलाको अर्को महत्वपूर्ण कार्य हो । शरीरमा अम्ल र छार (Acid and Base) को सन्तुलन मिलाएर राख्न पनि मृगौलाले मद्दत गर्छ । त्यसै गरी, शरीरमा इलेक्ट्रालाइट्स (लवणहरु जस्तैः सोडियम, पोटासियम) को लेवल सन्तुलित राख्न तथा रक्तचापको नियमिततामा पनि मृगौलाको महत्वपूर्ण भूमिका हुन्छ ।
मृगौलाका मुख्य रोग
मृगौलाका रोगलाई विशेषतः सर्जिकल र मेडिकल भनेर छुट्याएर हेर्ने गरिन्छ । सर्जिकल हिसावले हेर्दा मुख्यतः पत्थरीले मृगौलालाई गर्ने असर नै प्रमुख हो । यसबाहेक जन्म जात नै पिसाब नली सुकेर मृगौला सुन्निने, मृगौलामा संक्रमण हुने, मृगौलामा हुने विभिन्न क्यान्सरहरु प्रमुख हुन् । प्रोस्टेटको कारण राम्ररी पिसाब भएन भने पनि कालान्तरमा मृगौलालाई असर गर्न सक्छ । साना बच्चाहरुमा पिसाव बाहिर नआई फर्किएर मृगौलातिर गई मृगौलालाई असर गर्न सक्छ ।
क्याल्सियम पर्याप्त मात्रामा खाने मानिसमा पत्थरी बन्ने सम्भावना कम हुन्छ ।
मेडिकलका हिसावले हेर्ने हो भने संसारभर नै उच्च रक्तचाप र अनियन्त्रित डायविटिज (Diabetes Mellitus) का कारण हुने मृगौला फेलिएर प्रमुख हुन् । यसबाहेक मृगौलालाई असर गर्ने अरु विभिन्न मेडिकल रोगहरु पनि छन् । यी विभिन्न रोगमध्ये पत्थरी, उच्च रक्तचाप र अनियन्त्रित डायविटिज नै मृगौला रोगका प्रमुख कारण हुन् । मृगौला रोगको झन्डै एक चौथाइ हिस्सा मृगौलाको पत्थरीको छ । विश्वभर नै मृगौलाको पत्थरी कमन रोग मानिन्छ । यसबाहेक एसियाली देशहरुमा मृगौलाको क्षयरोग पनि फाट्टफुट्ट पाइने गरेको छ ।
मृगौलामा पत्थरी कसरी बन्छ ?
पत्थरी अर्थात् स्टोन भनेको क्रिस्टल नै हो । विभिन्न तत्वहरु मिलेर क्रिस्टल बन्छ । शरीरमा पानीको मात्रा चाहिँ कम छ र क्रिस्टल बन्ने तत्वचाहिँ धेरै भयो भने पत्थरी बन्छ । पानीको मात्रा धेरै भएमा क्रिस्टल बन्ने तत्व घुलिँदै जान्छ र त्यो ठोस बनेर बस्दैन । तर, पानीको मात्रा कम भयो भने त्यसले विस्तारै जम्दै कडा रूप लिन सक्छ । जसलाई हामी स्टोन वा पत्थरी भन्दछौँ । पिसाबमा पानीको मात्रा कमी भयो, ढुंगा बन्ने पदार्थहरु बढ्यो र ढुंगा बन्न नदिने तत्वहरु (Inhibitors) को कमी भएमा ढुंगा बन्छ ।
क्याल्सियम पर्याप्त मात्रामा खाने मानिसमा पत्थरी बन्ने सम्भावना कम हुन्छ । पत्थरी भएको मानिसलाई खानासम्बन्धी सुझाव दिँदा दैनिक दुईपटक दूध, दही, मही आदि दुग्ध पदार्थ खान भन्छौं । यी खाद्य पदार्थहरु पनि खानासँग खाँदा धेरै लाभदायक हुन्छ । यी खाद्य पदार्थमा क्याल्सियमको मात्रा पर्याप्त हुन्छ । पर्याप्त क्याल्सियमको मात्राले मृगौलामा पत्थरी बन्ने प्रक्रियालाई अवरोध गर्न सहयोग गरिदिन्छ । तर कुनै विशेष रोग भइरहेको अवस्थामा भने क्याल्सियम कम खानुपर्ने पनि हुन्छ । केही मात्रामा वंशानुगत कारणले पनि मृगौलामा पत्थरी बन्न सहयोग पुगेको पाइन्छ ।
कस्ता मानिसलाई पत्थरी बढी हुन्छ ?
सामान्यतया मृगौलाको पत्थरी (किड्नी स्टोन) जसलाई पनि हुन सक्छ । विलासी जीवनशैली भएको, मोटो मानिसलाई पत्थरी हुने सम्भावना बढी हुन्छ । प्रसस्त ब्यायाम नगर्ने, फलफूल, हरियो तरकारी कम खाने, मासु, चिल्लो, गुलियो, नुनिलो बढी खानेहरुमा पत्थरीको सम्भावना बढी हुन्छ । डायविटिज, उच्च रक्तचाप हुनेलाई पत्थरीको सम्भावना अधिक हुन्छ ।
पत्थरीबाट बच्ने उपाय
प्रशस्त पानी पिएर, सुन्तला, कागतीको जुस पिएर, जीवनशैली सुधार गरेर र केही औषधिको सहयोगमा मृगौलाको पत्थरीको जोखिम घटाउन सकिन्छ । प्रशस्त पानी पिउनु सबैभन्दा राम्रो हो । पानी प्रशस्त पिएमा पिसाब संग्लो हुन्छ । र पत्थरी बन्ने पदार्थ पनि घोलिएर जान्छ । यदि पिसाब पहेंलो भएमा पानी पर्याप्त नभएको बुझ्नुपर्छ । पानी प्रशस्त नपिएमा पिसाब कम हुन्छ । पिसाब कम हुनु भनेको पत्थरी हुने सम्भावना बढ्दै जानु हो ।
त्यसैले मृगौलामा पत्थरी बन्न नदिनका लागि सबैभन्दा राम्रो उपाय भनेको प्रसस्त मात्रामा पानी पिउनु नै हो । पत्थरी बन्न नदिनका लागि २४ घण्टामा साढे दुई लिटर पिसाब बनाउनुपर्छ । यसका लागि कम्तीमा तीन लिटर पानी दैनिक पिउनै पर्छ । गर्मी ठाउँमा बस्नेहरुले योभन्दा अलि बढी पिउनुपर्ने हुन्छ । मृगौलामा पत्थरी हुन नदिनका लागि यो सबैभन्दा राम्रो उपाय हो ।
यसै सम्बन्धमा खानासम्बन्धी पनि विस्तृत अध्ययन धेरै भएका छन् । ती अध्ययनका निष्कर्षअनुसार मृगौलामा पत्थरी हुन नदिनका लागि पशुजन्य प्रोटिन कम खानुपर्छ । खसी, बोका, भेडा, च्याङग्रा, बंगुर, हाँस कुखुरा, अण्डा, माछा कम खानुपर्छ । यसमा रेडमिट, ह्वाइट मिट भन्ने हुन्न सबै कम खानुपर्छ । खाँदै नखाने होइन, शरीरको विकासको लागि यसको आवश्यकता पर्छ, तर अधिक खानु भने हुँदैन । विशेष गरी पत्थरी भइसकेको वा भएको मानिसले चाहिँ अलि कम नै खानुपर्छ ।
मृगौलामा पत्थरी हुन नदिनका लागि नुनको मात्रा सकेसम्म कम खानुपर्छ । चर्को नुन भएका बजारका पाकेटबन्द खानाहरु, नुन धेरै भएका घरका परिकार खानु हुँदैन । नुनमै चोपेर खानेकुरा खाने पनि गरिन्छ । त्यो पनि गर्नु हुँदैन । नुन थपेर खानु हुँदैन । पत्थरी भएकाले त हुँदैहुँदैन । यी दुईवटा कुरा अध्ययनले प्रमाणित गरेका महत्वपूर्ण कुरा हुन् । पत्थरीबाट बच्नका लागि अमिला जातका फलफूलहरु प्रशस्त खानुपर्छ । सुगर भएको छ भने सुन्तलाचाहिँ कम मात्र खानुपर्छ । अमिला जातका फलफूलको जुस पनि बिहान खाएको राम्रो हुन्छ ।
पत्थरीका लक्षणहरु
मृगौलामा पत्थरी हुँदा शुरूमा कुनै लक्षण नदेखाउन सक्छ । मृगौलाले रगत फिल्टर गरेर पिसाब बनाइसकेपछि एउटा कप वा क्यालिक्स (calyx) मा आउँछ । त्यसैमा ढुंगा बनेको छ भने शुरूमा लक्षण नदेखिन सक्छ । कसैलाई सामान्य खालको दुखाइ हुनसक्छ । कहिलेकाहीं संक्रमण हुने, पिसाबमा रगत आउने पनि हुन सक्छ । प्रायः बिरामी अस्पताल आउने भनेको दुखाइ, संक्रमणपछिको ज्वरो वा पिसाबमा रगत आएको अस्थामा नै हो ।
प्रायः संक्रमण हुने, दुखाइ हुने, पिसाबमा रगत आउने, ज्वरो आउने चाहिँ मृगौलाबाट पिसाब आएर बस्ने ठाउँ पेल्भिस (Pelvis) मा ढुंगा अड्किएको कारणले हुन्छ । पिसाब थैली भन्दामाथि रहने पिसाब नली (ureter) वा पेल्भिसमा ढुंगा अड्कियो भने त्यसले पिसाबको फ्लोमा अवरोध गरिदिन्छ । मृगौला तन्किन थाल्छ र बिरामीलाई दुखाइ हुन्छ । सामान्यतया दुख्ने भनेको पिसाबको प्रवाहमा अवरोध आउँदा हो । दायाँ वा बायाँ कोखा दुख्ने हुन्छ । कोखा दुखेर सर्दै नाइटोमुनिसम्म आइपुग्छ । यस्तो अवस्थामा बिरामी अस्पताल आउँछन् । तर, अझै पनि हाम्रो गाउँघरतिरबाट आउने बिरामीमा ढुंगा ठूलो भइसकेपछि पनि थाहा नपाई एकैचोटी मृगौला फेलियरको अवस्थामा पुगेको पनि पाइने गरेको छ । बिरामीलाई नदुखे पनि ढुंगा ठूलो भइसकेको हुन्छ ।
मृगौलामा ढुंगा ठूलो भइसकेर पनि थाहा नपाएको अवस्थामा ढुंगा भित्रभित्रै फैलिएर जरायोको सिङ जस्तो गरी हाँगाबिगा फैलिएको हुन्छ । यस्तो ढुंगाले पिसाबलाई अवरोध गरेको हुँदैन र दुख्दैन पनि । कालान्तरमा चाहिँ त्यसले संक्रमण गरेर, पिसाब अवरोध गरी विस्तारै मृगौलालाई फेलियरको स्थितिमा पु¥याउँछ । यसरी मृगौला फेल भएर बिरामी आउने गरेको पाइन्छ । आजभन्दा १५-२० वर्ष अघिको कुरा गर्ने हो भने ठूलो साइजका पत्थरी धेरै भेटिन्थे । हामीले ७ सेन्टिमिटरसम्मको मृगौलाको पत्थरी निकालेका छौं । तर, आज स्वास्थ्यसम्बन्धी चेतना र अल्ट्रासाउन्ड गर्ने सुविधाको कारण ठूलो साइजका पत्थरी खासै भेटिँदैन । मृगौला वा युरेटरमा आएर बसेका स–साना ढुंगा बढी पाइन्छ ।
मृगौलाको एक भाग क्यालिक्सबाट झरेको ढुंगा पिसाब थैलीमाथिको पिसाब नली वा युरेटरमा आएर अड्कियो भने एकदमै छटपटी हुने गरी दुख्छ । यस्तो बेला इमर्जेन्सीमा आउनुपर्ने गरी नै दुख्छ । अति पीडादायक हुने यो दुखाइ योनाङगसम्म पनि पुग्न सक्छ र रगत पनि आउन सक्छ । पिसाब थैली र मृगौलाको बीचमा हुने नली युरेटरमा पत्थरी बस्दा ज्यादै दुख्छ तर पिसाब थैलीमा आयो भने चाहिँ सामान्यतया मुत्रद्वारबाट बाहिर आउने सम्भावना धेरै हुन्छ ।
कतिपय अवस्थामा भने पिसाबको थैलीमा आएर यसको मुखमा अड्किने पनि हुन्छ । यो बिरलै हुन्छ । प्रोस्टेट ठूलो भएको मानिसमा पिसाबको नली साँघुरिएको छ वा मृगौलाबाट ठूलै ढुंगा झरेको अवस्थामा पनि त्यहाँ अड्किन सक्छ । सामान्यतया पिसाब थैलीमा आएको ढुंगा बगेर जान्छ भनेर हामीले अपेक्षा गरेका हुन्छौं ।
पिसाव नलीको तल्लो भागमा वा पिसाब थैलीमा पत्थरी हुँदा सामान्यतया पिसाब गर्दा एकदमै दुख्ने हुन्छ । छिटछिटो बाथरुम गइरहन मन लाग्छ । हतारै हुन्छ, तर ठूलो स्टोन हुँदा पिसाब एकदमै कम आउँछ । कहिलेकाहीं बन्द नै हुन्छ र मेडिकल इमर्जेन्सी हुन्छ । पिसाबमा रगत देखिन्छ । पिसाब गनाउँछ र वाकवाक लाग्ने बान्ता हुने पनि हुनसक्छ, ज्वरो पनि आउँन सक्छ ।
पत्थरीको उपचार
मृगौलाको पत्थरीको उपचार सामान्यतया दुई किसिमले गरिन्छः मेडिकल र सर्जरी । पिसाब नलीको तल्लो भाग (युरेटर)मा आएर बसेको १० मिलिमिटर भन्दा सानो ढुंगा दुई हप्तादेखि चार हप्तासम्म औषधि दिएर झार्ने प्रयत्न गरिन्छ । त्यो औषधि भनेको पिसाबको नली खुलाउने औषधि हो । साथै दुखाइ कम गर्ने औषधि पनि दिइन्छ । नली खुल्यो भने ढुंगा आफैं झर्न सक्छ । तर, ढुंगा आफैं झरेन भने सर्जरीमार्फत ढुंगा निकाल्नै पर्छ । किन कि नलीमा आएको ढुंगाले पिसाब बन्द गर्छ र मृगौलालाई असर गर्छ । मृगौला सुनिन्छ ।
मृगौलाभित्रको ढुंगाको हकमा यदि क्यालिक्समा बसेको छ र बिरामीलाई कुनै लक्षण देखिएको छैन भने चाहिँ त्यसको अवस्था बारेमा बेला–बेलामा परीक्षण गरेर हेर्न (अब्जर्भ गर्न) सकिन्छ । निकाल्न हतार मान्नु पर्दैन । पत्थरी सानो छ र विरामीलाई दुःख दिएको छैन भने मात्र अब्जर्भ गर्दै पर्खिन सकिन्छ । तर, सामान्यतया के बुझ्नुपर्छ भने पत्थरी भएको मृगौलाभन्दा नभएको राम्रो हो । त्यो नै स्वस्थ अवस्था हो । पत्थरी भएको ठाउँमा कुनै पनि बेला संक्रमण हुन सक्छ । सुविधा छ, प्रविधि छ भने पत्थरी निकाल्नु नै ठीक हुन्छ भन्ने बुझ्नुपर्छ ।
पत्थरी मृगौलाको एक भाग वा क्यालिक्समा नभई पेल्भिसमा आएको छ भने निकाल्नुपर्छ । तत्कालै नभए पनि त्यसका लागि योजना गरेर निकाल्न सकिन्छ । मृगौलाबाट झरेर पिसाब नलीको तल्लो भागमा आएको १० मिलिमिटरभन्दा सानो साइजको पत्थरीलाई बाहिर निकाल्न २ देखि ४ हप्तासम्म औषधि दिएर हेर्दा झरेन भने पिसाब नलीबाट दुरबिन छिराएर लेजर वा अरु कुनै डिभाइसले फुटाएर निकाल्नुपर्छ । पिसाबको नलीको ढुंगा निकाल्न हिजोआज चिरफार आदि गर्नुपर्दैन ।
मृगौलाभित्रको ढुंगाको हकमा चाहिँ ढुंगा धेरै वा ठूलो छ भने कहिलेकाहीं ओपन सर्जरी गरिन्छ । तर, यो एकदमै कम गर्नुपर्ने हुन्छ । वर्षमा एक-दुई जनाको मात्र गरिन्छ । अहिले गरिने भनेको मुख्यतः तीन वटा उपाय छन् । ढुंगा सानो छ, नरम छ (सिटिस्क्यान गर्दा पत्थरीको कडापन थाहा हुन्छ ।) र फुटाइसकेपछि झर्ने ठाउँमा छ भने बाहिरबाट सकवेभ (shock wave therapy) दिएर फुटाउन मिल्छ । यसलाई ईएसडब्ल्यूएल (ESWL) भनिन्छ । तर, बिरामी गर्भवती भएका अवस्थामा, संक्रमण भएका अवस्थामा, रक्तश्राव हुने प्रवृत्ति छ भने यो विधि गर्न मिल्दैन । यसको सफलता दर करिव ८० प्रतिशत छ ।
हाल धेरै प्रयोग गर्ने विधिचाहिँ आरआईआरएस (RIRS) विधि हो । यो विधिमा पिसाब नलीबाट दुरबिन र लेजर डिभाइस छिराएर पत्थरी निकाल्ने कार्य गरिन्छ । यसमा मृगौलाको खण्ड–खण्डमा गएर लेजरमार्फत ढुंगा फुटाएर पिसाब मार्गबाटै टुक्रा पारिएको पत्थरी निकालिन्छ । यसका लागि पनि ढुंगा धेरै कडा हुनुहुँदैन । ढुंगाको लोड पनि धेरै हुनुहुँदैन । र, ढुंगा तुलनात्मक रूपमा सजिलो ठाउँमा नै हुनुपर्छ । ढुंगा ठूलो छ, ज्यादै नै कडा छ र ठाउँ पनि अप्ठेरो छ भने चाहिँ बाहिर पछाडिबाट प्वाल बनाएर ढुंगा निकालिन्छ । यसलाई पीसीएनएल (PCNL) विधि भनिन्छ । बिरामीलाई छनोट गर्न दिँदा पनि हामीले यिनै विधिमध्येमा दिने हो ।
उपचारपछिका सावधानी
कुनै पनि विधिबाट अपरेसन गरेर पत्थरी निकाले पनि पानी प्रशस्त पिउने गर्नुपर्छ । पत्थरी निकालेपछि पनि प्रशस्त पानी पिउनु महत्वपूर्ण हुन्छ । पीसीएनएल विधिमा प्वाल बनाएर पत्थरी निकालिने भएकाले करिव दुई हप्तासम्म बढी बल पर्ने खालको काम गर्नु हुँदैन । शरीरलाई बढी सक्रिय बनाउनुहुँदैन, आराम गर्नुपर्छ । अपरेसन गरेपछि हुने मुख्य खतरा भनेको रक्तश्राव हुनु नै हो । यसमा सावधानी अपनाउनुपर्छ । र, रक्तश्राव भएमा, ज्वरो आएमा तुरुन्तै अस्पताल आउनुपर्छ । मृगौलाको पत्थरीको सर्जरीपछि संक्रमण हुने सम्भावना धेरै हुन्छ । यो एकदमै कमन छ । सर्जरीपछि एउटा स्टेन्ट पाइप राखिएको हुन्छ । दुई हप्ता जतिमा त्यो स्टेन्ट पाइप निकाल्न अस्पताल जानु नै पर्छ । यसमा हेलचेक्राइँ गर्नु हुँदैन ।
यसबाहेक अरू विधिमा खासै समस्या हुँदैन । तर पनि दुख्यो रक्तश्राव भयो, ज्वरो आयो भने तुरुन्त अस्पताल आउनुपर्छ । आरआईआरएस विधिमा चाहिँ दुई-तीन दिन आराम गरेर काममा जान सकिन्छ । मृगौलाको पत्थरी सम्बन्धमा फेसबुक, युटुबलगायतका सामाजिक सञ्जालमा खानासम्बन्धी विभिन्न गलत सूचना पनि राख्ने गरेको पाइएको छ । यसबाट सावधान हुनुपर्छ । दूध नखाऊ, गोलभेंडा नखाऊ भन्ने जस्ता गलत सूचना पनि देखिन्छन् । यसमा सावधानी अपनाउनुपर्छ ।
चिकित्सकले मेटाबोलिक अध्ययन विश्लेषण गरेर स्थिति हेरेर मात्र खानासम्बन्धी सुझाव दिने गरिन्छ । यी सुझाव हरेक बिरामीका लागि फरक हुन सक्छन् । तर, सामाजिक सञ्जालमा सबैलाई एकै किसिमका सुझावहरु दिने गरिएको पाइन्छ । यसले गर्दा बिरामी कतिपय आवश्यक पौष्टिक खाद्य वस्तुबाट वञ्चित हुनुपर्ने स्थिति हुन्छ भने कतिपय अवस्थामा बिरामीलाई खराव गर्ने खाद्यवस्तु पनि खान थालिएको हुनसक्छ । त्यसैले यस्ता कुरामा पत्थरीका समस्या हुनेले मात्र नभई आम मानिसले पनि सचेतता अपनाउन जरुरी छ ।
साथै मृगौला स्वस्थ राख्न पानी प्रशस्त पिउने भन्दैमा अत्यधिक पानी पिउनु हुँदैन । कसैकसैले चाहिँ ‘म दैनिक ६–७ लिटर पानी पिउँछु’ भनेर गर्वका साथ भन्छन् । यसो गरेमा भविष्यमा मृगौलाई बढी लोड पर्न गई समस्या हुनसक्छ । साथै मृगौलाका लागि पनि राति धेरै पानी नखानु नै ठीक हो । राम्रो निन्द्राका लागि पनि राति धेरै पानी पिउनु हुँदैन । निन्द्रा डायविटिज, उच्च रक्तचाप, मस्तिष्कघात, पक्षघात, हृदयघात सबैसँग सम्बन्धित हुन्छ । त्यसैले निन्द्रामा बाधा पुग्ने गरी धेरै पानी पिउनु हुँदैन ।’
मृगौला शरीरको ज्यादै महत्वपूर्ण अंग भएकाले यसलाई रोग लाग्नबाट बचाउन हरसम्भव कोशिस गर्नुपर्छ । मानिसले खानपान र जीवनशैली परिवर्तन लगायतका कार्यमा चासो दिएमा धेरै हदसम्म मृगौलामा बन्ने पत्थरीलगायत अन्य रोगबाट मृगौलालाई बचाउन सकिन्छ । साथै, कम्तीमा वर्षको एकपटक अल्ट्रासाउन्ड गरेमा मृगौलामा पत्थरी बन्दै गरेको भए, बेलैमा पत्ता लगाएर उपचार गर्न सकिन्छ । मृगौलाको उपचार खर्चिलो हुनुको साथै सबैतिर उपचारको उपलब्धता नहुने भएकाले रोग लाग्नबाट बचाउने उपायतिर ध्यान दिनु नै बुद्धिमानी हुन्छ कि ?