नमस्कारमा स्वास्थ्य



रोहिणी घिमिरे

हात जोडेर नमस्कार गर्दा हृदय, ध्वनि र हात एकैपटक प्रयोग हुन्छ । हृदयबाट भाव प्रकट हुन्छ र मुखबाट नमस्कार ध्वनि निस्कन्छ । दुवै हातका पञ्जा जोडेर झुक्दा हात हृदयसँगै टाँसिन्छ । यी सबै प्रक्रियाले नमस्कार प्रक्रिया पूर्ण हुन्छ । यस किसिमको नमस्कारलाई विश्वका अभिवादन प्रक्रियाहरुमध्ये उत्कृष्ट मानिएको छ । कोरोना प्रकोपको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत आगन्तुक पाहुनाहरुलाई हात जोडेर नमस्कार गरी पूर्वीय नमस्कार पद्धतिको महत्व झल्काएका थिए ।

हात जोड्नु उत्कृष्ट अभिवादन:
जे काम गर्दा पनि हात नै अगाडि सर्ने हुँदा हातमा भाइरस हुने सम्भावना अधिक हुन्छ । हात मिलाउँदा यसमा भएको भाइरस अर्को व्यक्तिमा सरी रोग निम्त्याउने हुन्छ । त्यसैले हात मिलाउने, आलिंगन गर्नेजस्ता कुराभन्दा दूरी कायम गरेर दुवैजनाले हात जोडी नमस्कार गर्नु उत्तम हुन्छ । अझ केही झुकेर गरिएको नमस्कारले झनै आदरभाव प्रकट गरेको हुन्छ ।

हाम्रो हातको हत्केलाले सम्पूर्ण जगत्को प्रतिनिधित्व गर्दछ भने पाँच औँलाले पृथ्वी, जल, तेज, वायु र आकाशको प्रतिनिधित्व गरेको हुन्छ । बूढी औँला आकाश, चोर औँला वायु, माझी औँला तेज, साहिँली औँला जल र कान्छी औँलाले पृथ्वी तत्वको प्रतिनिधित्व गरेका हुन्छन् । त्यसैले दुवै हातका औँला जोड्दा माथि बताइएका पञ्चमहाभूत एकै भएर विन्दुस्वरूपको आभास दिलाउँछ । यो सारा ब्रह्माण्ड नै विन्दुस्वरूप हो भन्नु नै अहं र घमण्ड नाश हुनु हो । त्यस्तै औँला भनेका दिमाग, आँखा र कानका दबाब विन्दु ९एचभककगचभ उयष्लत० पनि हुन् । त्यसैले हात जोडेर झुक्दै नमस्कार गर्नु स्वास्थ्यका दृष्टिले उत्कृष्ट मानिन्छ ।

ठाडो पारामा वचनले मात्र ‘गुड मर्निङ’ भनेर कसैलाई अभिवादन गर्दा नमस्कार त हुन्छ, तर हात जेडेर गरिने नमस्कारजस्तो पूर्ण स्वरूप हुन सक्दैन । नमस्कार मन, वचन र शरीरका अंगले पनि गर्नुपर्छ । पूर्वीय दर्शन अनुसार नमस्कार गर्दा तीन थरीका अंग प्रयोग भएको हुन्छ । हृदय, बोली (शब्द) र हात एकैपटक प्रयोग हुन्छ । हृदयबाट भाव प्रकट हुन्छ । मुखबाट नमस्कार शब्द निस्कन्छ । दुवै हातका पञ्जा जोडेर हृदयसँगै टाँसिन्छ । अझ नमस्कार गर्दा केही झुकिन्छ । यी सबै प्रक्रियाले नमस्कार प्रक्रिया पूर्ण हुन्छ ।

केही झुकेर नमस्कार भन्दै हात जोड्दा पूर्णरुमा अभिवादन हुने, बोल्दा निस्केको श्वास र थुक नमस्कार फर्काउने व्यक्तिसम्म नपुग्ने, हात मिलाउँदाको जस्तो कीटाणु सङ्क्रमणको डर पनि नहुने पूर्वीय नमस्कार पद्धति निकै वैज्ञानिक छ ।

पश्चिमी जगत्मा समेत अनुशरण:

कोभिड–१९ महामारीको समयमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत अवलम्बन गरेपछि यस किसिमको नमस्कारले बढी नै महत्व पायो । सन् २०२० मार्च १२ मा अमेरिकाको भ्रमणमा आएका आयरल्यान्डका प्रधानमन्त्री लियो भराड्करसँग भेट्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै हात जोडेर नमस्कार गरे । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको प्रकोप भएको समयमा यस किसिमको नमस्कार जरुरी भएको कुरा उनलाई बताएको समाचार पनि प्रकाशमा आएको थियो । यसअघि राष्ट्रपति ट्रम्प भारत भ्रमणमा आउँदा उनले यस किसिमको नमस्ते सिकेको कुरा पनि चर्चामा आएको थियो ।

कोराना महामारीको समयमा फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोले स्पेनका राजारानीलाई पनि यसै गरी हात जोडेर नमस्कार गरेका थिए । त्यस्तै इजरायली प्रधानमन्त्री नेतान्याहुले हात मिलाउनुको सट्टा अबदेखि नमस्कार गर्न आग्रह गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि हात जोडेर नमस्कार गरेको तस्वीर भइरल भएको थियो । त्यस समयमा कोरोना भाइरस सर्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले अभिवादनस्वरूप एक–अर्कामा हात मिलाउने कार्य रोक्न आग्रह नै गरेको थियो । यसको विकल्प भनेकै हात जोडेर नमस्कार गर्नु भएकाले पश्चिमा मुलुकमा पनि यसको अवलम्बन गरिएको हो ।

स्वास्थ्यका लागि सूर्य नमस्कार:

बिहान सूर्योदय हुँदा दुवै हात जोडेर सूर्यलाई नमस्कार गर्ने हाम्रो परम्परा हो । बिहान बाहिर निस्केर सूर्य नमस्कार गर्दा केही समय भए पनि सूर्यको किरण छालामा पर्छ । बिहानको सूर्यको किरण स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । यस बेलाको सूर्यको किरणले हाम्रो शरीरको छालामा भिटामिन ‘डी’ निर्माण गर्न मद्दत पुग्छ । सूर्यको किरणबाट सोझै भिटामिन ‘डी’ प्राप्त हुने होइन कि यसको किरण छालामा परेपछि त्यहाँ रहेको एक तत्वको सहायताले भिटामिन ‘डी’ बन्ने हो ।

भिटामिन ‘डी’ ले भोजनमा भएको क्याल्सियम शरीरमा शोषण गर्न मद्दत गर्छ । भिटामिन ‘डी’ भएन भने हामीले खाएको खानेकुराबाट क्याल्सियम शोषण हुन सक्दैन । यदि भोजनमा क्याल्सियम मात्र छ र भिटामिन ‘डी’ शरीरले प्राप्त गर्न सकेन भने भोजनमा भएको क्याल्सियमको शोषण हुन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुन्छ । त्यसैले बिहानको घामको किरण छालामा पर्ने गरी केही समय घाममा बस्न चिकित्सकहरू सल्लाह दिने गर्छन् ।

३० मिनेटसम्म छालामा घाम प¥यो भने कालो छाला भएकाहरूको शरीरमा ८ देखि १० हजार, गहुँगोरो छालामा २० देखि ३० हजार र सेतो छाला भएकाहरूको शरीरमा ५० देखि ६० हजार युनिट भिटामिन ‘डी’ उत्पादन हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ । यसका लागि सूर्य नमस्कारका नाममा केही समय बिहानको घाममा निस्कनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्